Wednesday 4 Bhadra, 2076 | August 21, 2019
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

समुद्र नांगै देखिन्छ

(0 votes)
समुद्र नांगै देखिन्छ
मान्छेहरू समुद्रसँग जिस्किन औधी मन पराउँछन्। बटारिएर आउने छालसँग तिनलाई कुनै डर छैन। त्यसको उत्ताल छालले मान्छेको शरीरलाई लछार्दै आफूमा समाहित गराउने दृश्य जति चित्ताकर्षक छ उति नै भयंकर पनि लाग्छ मलाई। भारतको गोवास्थित 'सिन्क्वेरिम बिच' मध्याह्नदेखि नै भरिभराउ छ। एउटा ठूलो भीड सिन्क्वेरिम बिचमा समुद्रको लहरमा आफूलाई हेलिरहेका छन्, बेपर्वाह। रूपमा नग्न, अर्धनग्न वा खोलयुक्त जे भए पनि सारमा सबै नै जिन्दगी केहीबेरका निम्ति भुल्न चाहन्छन्। सिन्क्वेरिम, कालांगुट, बागालगायतका बिचको स्पर्शबाट प्राप्त कोलाज अनुभूतिबाट त्यही पाठ सिकेको छु मैले।
nepali-patro-may

समुद्र मान्छेलाई जिन्दगी पढाइरहेको छ। मान्छेहरू समुद्रसँग एकाकार भएर जिन्दगी सिकिरहेका छन्। म भने पानीदेखि डराउने मान्छे। एकप्रकारको 'हाइड्रोफोबिया' छ मलाई। समुद्रको मज्जा लिन भनी यो दूरस्थ प्रदेशमा आएको छु। म कसरी यो प्रिय प्रकृतिसँग नहेलिई त्यसै फर्केर नेपाल जान सकुँला! म घुँडासम्म भिज्न आफूलाई मानसिकरूपले तयार पार्छु। त्यसभन्दा पर पुग्ने साहस छैन मेरो। समुद्रको मज्जा लिन गएको म, मेरो पोशाक देखेर कतिपय मान्छे अचम्म मानेर हेरिरहेको जस्तो लाग्छ। घुँडामुनिसम्म आउने हाफ पाइन्ट र टिसर्टमा छु म। प्रायः मानिस, जो समुद्रसँग एकाकार भइरहेका छन् ती मेरोभन्दा निकै कम लुगामा छन्। के समुद्रलाई नग्नता मन पर्छ?

'पाइन्ट उपर खिँच, किसको दिखा रही हो?' मेरो छेउमा रहेको एक भारतीय युवाले आफ्नी पत्नीलाई आदेश दियो। आदेश दिइरहँदा उसका आँखा भने बिकिनीमा सजिएकी निकटतम एक विदेशी गोरीतिर तन्किरहेका स्पष्ट देखिन्थे। ती युवतीको पाइन्ट तिनको नाइटोको थोरैमात्र तल पुगेको थियो। कुनै आपत्ति प्रकट गर्नुपर्ने अवस्था थिएन। पतिको आदेशलाई शिरोपर गर्दै तिनले आफ्नो पाइन्ट माथितिर तानिन्। तर, पाइन्ट माथि जान मानिरहेको थिएन। उनको हातमा केही महिनाको बच्चा थियो। त्यो बच्चा बोक्न युवा तयार थिएन सायद। उखरमाउलो गर्मीमा समुद्री तटमा रहेकी उनले निधारको पसिना पुछिन्। उनीतिर उत्सुकताको नजरले हेर्ने सायद ममात्र थिएँ। कसलाई कसको के मतलब? मलाई पनि के मतलब! तर, जिन्दगीको पाठ पढ्न आएका मान्छेमध्ये कोहीकोही पात्र आफ्नी पत्नीलाई अरुले हेर्लान् भन्ने चिन्तामा हुँदा रहेछन्! अचम्म लाग्यो। सोही कारण मेरा आँखा अन्त कतै भए पनि कान भने तिनै भारतीय जोडीको संवादमा अडिएको थियो।

पानी खेल (वाटर स्पोर्ट्स) चलिरहेको थियो। तर, मजस्ता पानीसँग डराउनेका निम्ति सबैभन्दा उपयुक्त खेल केवल डुंगा चढेर परसम्म जानु थियो। मैले डुंगा चढ्नका निम्ति आफूलाई तयार पारेँ र अढाई सयको टिकट किनेँ। १५ जना अट्ने सोही डुंगामा थिइन् तिनै युवती, जो आफ्नो पतिको आदेशले नाइटो छोप्ने प्रयत्न गर्दै थिइन्। समुद्र किनारदेखि निकै पर पुर्यागयो त्यस डुंगाले, मलाई जिन्दगीको मझधारमा पुगेको अनुभूति भयो। त्यसले १५ मिनेटजति समुद्रमा घुमायो हामीलाई। मेरा उमेरका अरु पनि जोडी थिए त्यहाँ। हावा चलेका कारण डुंगा हल्लिरहेको थियो। मलाई आफ्नो जिन्दगी पनि हल्लिरहेको अर्थात् एकतमासले नचलेको महसुस भइरहेको थियो। डुंगाबाट ओर्लंदा झन्डै कम्मरसम्म आउने पानीमै थियौँ हामी।

एक जना मस्ताना (देख्दा भद्र लाग्ने)ले अचानक आफ्नी पत्नीलाई अँगालोमा बाँधेर पानीमा डुबाइदिए। यस्तो लाग्थ्यो, उनी समाज तथा परिवारका कारण पत्नीसँग त्यसरी छिल्लिन कहिल्यै पाएका थिएनन्। त्यहाँ तिनको समाज थिएन, परिवार पनि थिएन। महिला पतिलाई छल्दै भाग्न खोजिरहेकी थिइन्। विचरी सोझी महिला, पतिको आक्रमणको सिकार बनिहालिन्। उनको धोती पानीको शक्तिशाली लहरले माथितिर तान्न थाल्यो र अन्त्यमा त्यो फुस्कियो। तर, उनको लाज पानीले केहीबेर जोगाइदियो। केहीबेरमा लहर उनलाई छाडेर अधिक पानी भएतिरै लाग्यो। पति छेउमा बसेर खित्का छोडेर हाँसिरहेका थिए भने महिला लाजले भुतुक्कै भएकी थिइन्।

अप्रिलको अन्तिम दिन मोबाइलको 'वेदर एप्स'ले ३८ डिग्री सेल्सियस तापक्रम देखाइरहेको थियो। अप्रिल–मे पानी पर्ने महिना हो। तर, विश्वचर्चित गायक स्टेभी वन्डरको लोकप्रिय गीत 'आई जस्ट कल्ड टु से आई लभ यु'को दोस्रो अन्तरामा रहेको एक पंक्तिजस्तै 'नो अप्रिल रेन'को अवस्था थियो समुद्रवरपर। साँच्चै मुसलधारे वर्षा हुँदा समुद्रको प्रतिक्रिया कस्तो हुन्छ होला? पूरा हुन मुस्किल मेरो उत्सुकता चुलियो।

बिकिनीकी गोरी बालुवामा लम्पसार परिरहेकी थिइन्। उनकै छेउमा भारतीय एक अर्धबैँसे महिला साडी, चोलो र चप्पलसहित उसैगरी बालुवामा लडिरहेकी थिइन्। तिनलाई आफ्ना कपडा गह्रुँगा लागिरहेका थिए। घुँडाभन्दा माथि पानी नपार्ने विचारले म किनारमा उभिइरहेको थिएँ, तर केहीबेरमा एउटा लहर यसरी आयो, मेरो छाती पूरै भिजाएर बिलायो। म उभिएको समुद्री बालुवाको जमिन त्यो लहरले पूरै हल्लाएर गयो। म निथ्रुक्कै भएँ। सोही दिन दाह्री काटेको अनुहारमा नुनिलो पानी पर्नाले चहराउन थाल्यो।

बालुवामा पल्टिरहेकी गोरीको बिकिनीबाट चियाइरहेका तिनका अंगहरूलाई त्यही छालले छोपिदियो। तिनको छर्लंगै देखिएका अंग केहीबेरका निम्ति हराए। गोरी आफ्ना उन्नत नितम्ब घाममा सेकाउनतिर लागिन्। उता, साडी–चोलोमा रहेकी अर्धबैँसेको कपडा भने आफूसँगै सोहोरेर लान खोज्यो लहरले। यस्तो लाग्थ्यो, समुद्र ती भारतीय अर्धबैँसेलाई केही खुल्न सिकाइरहेको थियो भने गोरीलाई अलि बन्द गर्न आदेश दिइरहेको थियो। अनि मलाईचाहिँ आफ्नो नजिक आउन निमन्त्रणा गर्दै थियो।

फेरि आयो अर्को लहर, उक्त लहरले ती दुवैजनालाई केही पर घिसारेर लग्यो। तिनीहरू बेस्सरी कराए, तर आनन्दमा, उत्तेजित हुँदै। यस पटक भने म पूरै भिजिसकेको थिएँ। नुनिलो पानीले मलाई निथु्रक्कै पारिदिएको थियो। अनुहारमात्र होइन, टाउकोसमेत भिजेको थियो।

सूर्य समुद्रमा डुब्ने प्रयास गरिरहेको थियो। सूर्य क्रमशः रातो डल्लो बन्दै गइरहेको थियो। त्यसको तापक्रममा गिरावट आइरहेको थियो। बालुवा विस्तारै सेलाउँदै गएकाले मान्छेहरू खाली खुट्टा त्यसमा टेक्न सक्ने बन्दै गएका थिए। समुद्र किनारमा दर्शनार्थीको भीड बढ्दो थियो। सहयात्री नवीन र दीपेन्द्र भर्खरै 'सी एड्भेन्चर' सकेर आएका थिए। नवीन प्यारासुटको मस्ती लुटेर आएको थियो भने दीपेन्द्र मान्छे डुबाउने गहिराइको छालमा पौडी खेलेर। 'बालुवाको तातोमा तपाईंले ढाड केहीबेर राख्नु भयो भने दुःखाइ कम हुन्छ,' तिनले मलाई सल्लाह दिए। म पनि के कम, सहयात्रीको सल्लाह मान्ने सुरसारमा लागेँ। मन्द तातोको स्पर्शले साँच्चै नै दुःखाइ कम भएको जस्तो अनुभूति भयो।

साँझ छिप्पिँदै थियो, समुद्री तट जोडाजोडीले भरिभराउ बन्ने क्रममा थियो। मजस्ता बिजोडी भने अब बाटो लाग्नु पर्ला भन्ने मनोविज्ञानमा थिए। तर, मलाई भने साँझको समुद्र हेर्ने लोभले ग्रस्त पारिरहेको थियो।

छाल मान्छे खोज्दै किनारको छेउसम्म आइरहेको थियो। छालको आयतन विस्तारै मधुरो देखिन थालेको थियो। समुद्र क्रमशः कालो बन्दै जाँदै थियो। लाग्छ, उज्यालोमा नांगो देखिने समुद्र रात पर्दै गएपछि लुगा लगाउँछ! लुगा लगाएको समुद्र देख्न सकिन्न। अब छाल होइन, त्यसको सुमधुर आवाजमात्र मान्छेसम्म आउन थालेको थियो। म त्यो आवाजले मुग्ध बनिरहेको थिएँ। बिकिनी पनि बोझ लागेर फाल्नेको संख्या बढिरहेको थियो। मान्छे एक पटक पुनः अबोध बालक बन्ने प्रयासमा थिए। तिनीहरूको नग्नताप्रेमले त्यही बताउँथ्यो। साँच्चै कहाँ गइन् होला ती साडी–चोलोमा समुद्रमा हेलिने अर्धबैँसे? अनि ती पति–पत्नी?

समुद्रको अनुहार कालो–निलो बन्दै गइरहेको थियो। म विस्तारै छाललाई छल्दै परपर भागिरहेको थिएँ। केही बेरअघि हेलिएको छाल अहिले डरलाग्दो बनेको छ। मलाई अँध्यारोमा पानीको छेउ पर्न पनि डर लाग्न थालेको छ। तर, कैयौँ मान्छे (प्रायः जोडी) छाल आएतर्फ अघि बढिरहेका थिए। तिनलाई किन डर नलागेको होला? के यो डर मेरा निम्तिमात्र आविष्कार भएको हो? कि यो डर प्रेममा परेका मानवका निम्ति झिनोमसिनो कुरा हो?

समुद्रको छालले अर्धनग्नहरूको लाज बेलाबेलामा छोपिदिएकै थियो। अहिले नग्नहरूकै लाज पनि अँध्यारोले पूरै जोगाइदिएको छ।

Leave a comment

माधवको सादगी

माधवको सादगी

माधवकुमार नेपाल अर्थात्, नेपाली राजनीतिका एक हस्ती। २०५६ सालको संसदीय निर्वाचन प्रायोजनका लागि तस्बिर खिच्न जाँदा उनी आफ्नो चर्चित जुँगा मिलाउँदै थिए।

यी दिनहरूमा...

यी दिनहरूमा...

जोनाथन वेटले आफ्नो कविता ‘द सङ अफ द अर्थ' (धर्तीको गीत) को अन्तमा भनेका छन्, ‘पोएट्री इज द प्लेस, होयर वी सेभ द अर्थ' (कविता नै त्यो ठाउँ हो, जहाँ...

'पर्खन्छौं तर खोइ विकल्प?'

'पर्खन्छौं तर खोइ विकल्प?'

काठमाडौं- भक्तपुरको सूर्यविनायक बस स्टपमा थुप्रै यात्रु बस पर्खंदै छन्। कोही हतारमा देखिन्छन्, कोही तनावमा। एक युवक परबाट सरर साइकलमा आए। बस पर्खेर बसेकातर्फ नजर घुमाए, मुस्कुराउँदै अघि बढे।

काव्य आन्दोलन वरिपरि

काव्य आन्दोलन वरिपरि

नागरिकताको नाम- शालिग्राम खतिवडा। साहित्यिक नाम- गण्डकीपुत्र। पश्चिम गण्डक क्षेत्रमा भेटिनुपर्ने यी कवि कोसीमा भेटिन्छन्। पूर्वी विराटनगरदेखि करिब नौ किलोमिटर दुरीमा रहेको झोराहट गाविसका रैथाने बासिन्दा हुन्, उनी।

धुलोमुनिको फाइल

धुलोमुनिको फाइल

अहिलेविसं २०८७ वैशाख।बुदहीको जिन्दगीको बायोडाटामा एउटा वाक्य थपियो– पशुपति प्रताप पुस्तकालयको पियन। त्यही पियनको जागिर उसको लागि भयंकर ठूलो उपलब्धि हो। त्यसैले बिहानैदेखि अनुहारमा अस्थिर र बेचैन भाव थियो। यस्तो...

निद्रा जित्दै फुटबलप्रेमी

निद्रा जित्दै फुटबलप्रेमी

ब्राजिलमा जेठ २९ गतेबाट सुरु भएको विश्वकप फुटबल जारी छ। जित्ने आशा गरिएका कतिपय टिम सुरुवाती चरणमै बाहिरिसकेका छन्। सेमिफाइनल चरणको खेल पनि सकिएको छ। मन पराएको टिमले जित्दा यहाँका...

गुञ्जनका दिदीबहिनी

गुञ्जनका दिदीबहिनी

विश्वका एक महान् साहित्यकार स्यामुएल बेकेटबारे मैले कतै पढेको थिएँ– उनी आफूलाई उपन्यासकार सम्झन्थे तर दुनियाँले उनलाई नाटककार बढी सम्भि्कदियो। साहित्यकारको नियतिलाई कति सहज वा असहज रूपमा लिन सकिन्छ, म...

पाँच करोड जिन्दावाद

पाँच करोड जिन्दावाद

‘पाँच करोड जिन्दावाद...! पाँच करोड जिन्दावाद...!' निद्रामै नारा लगाउँदै मुठ्ठी उचालेर छारेरोग लागेजसरी तन्किन थालेपछि जहानले अत्तालिँदै मलाई उठाइछन्, ‘ए बूढा के भो? किन कराएको निद्रामा? पाँच करोड चिठ्ठा परेको...