Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

नकाबपोस हुँडारको संजाल

(0 votes)
केही दिन पहिले उप प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले रत्नपार्कनिर सडकको बीचैमा डोरी नाघ्दै सडक पार गरेको फोटो अत्यन्त चर्चित बन्यो। धेरै व्यक्तिले त्यस विषयमा आफ्ना विचार प्रकट गरे।
प्रतीक प्रधान

प्रतीक प्रधान नागरिक दैनिकका प्रधान सम्पादक हुन्। Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-may
कतिले अति अश्लील र अशोभनीय भाषा प्रयोग गरे भने कतिले शीष्ट भाषामा मर्म पुग्नेगरी आफ्ना विचार प्रकट गरे। त्यस्तै अर्को घटनाका प्रमुख पात्र काठमाडौं प्रहरी प्रमुख रमेश खरेल बने। उनले आफ्ना वरिष्ठ अधिकारीका सम्बन्धमा प्रयोग गरेको शब्दका बारेमा पनि सामाजिक संजालमा धेरै प्रकारका विचार आए। यी दुवै घटनामा कतिपय विचार कुनै पनि व्यक्तिले केही मानिसका अगाडि उभिएर प्रकट गर्न सक्दैन। तर फेसबुक वा टि्वटरमा उनीहरु यस्तो घटना सामान्य ढंगले प्रकट गर्छन्।
मनमा दबिएको इच्छा वा भावना धेरै व्यक्ति समक्ष प्रकट गर्न लालायित रहनु एक प्रकारको मानसिक अवस्था हो। कुनै व्यक्ति, समाज, व्यवस्था, धर्म, सम्प्रदायविरुद्ध वा यौनजन्य भावना प्रकट गर्न नपाएर आफैँमा दबिएर बसेको हुन्छ। कुनै उपयुक्त माध्यम भेट्नेबित्तिकै यस्ता भावना प्रकट गर्न व्यक्ति लालायित हुन्छ। केही समय पहिलेसम्म यस्तो भावना प्रकट गर्न स्कुल, कलेज, कार्यालयका सामूहिक शौचालयको प्रयोग धेरै हुन्थ्यो। यस्तो कार्य गर्ने व्यक्ति ज्यादै थोरै हुन्थे तर तिनको मानसिक अवस्था देख्ने धेरै हुन्थे। अहिले पनि सामूहिक शौचालयमा दमित यौनजन्य कुण्ठा प्रकट गर्ने सिलसिला अन्त्य भएको छैन, भलै यस्ता भावना प्रकट गर्नेको संख्याभने जनसंख्याको तुलनामा धेरै घटेको देखिन्छ। तर अहिलेका मानिस धेरै अनुशासित भएकाले त्यसो भएको होइन। यस्तो मानसिक अवस्था भएका व्यक्तिले आफ्ना दमित कुण्ठा व्यक्त गर्ने वैकल्पिक माध्यम भेटाएका कारण ‘शौचालय सिर्जना' कम भएको हो।
आधुनिक युगमा दबिएको भावना प्रकट गर्न लुकेर सार्वजनिक शौचालयमा फोहोर चित्र कोर्ने, यौनजन्य अश्लीलता प्रकट गर्ने र कसैलाई गाली गरिरहनुपर्ने अवस्था रहेन। अब कसैको कुरा काट्न वा गाली गर्न कुनै अर्को व्यक्तिको कानमा भर पर्नु पनि परेन, न त कसैलाई भगवानको कसम खुवाएर स्रोत नखोल्ने आग्रह गर्दै गोप्य कुरा बाँड्नुपर्ने अवस्थै रह्यो।
आधुनिक जमानाका हुँडार जंगलमा तीखा दाँत लिएर आफ्नो समूहसँग घुम्दैनन्। तर जसरी हुँडारको समूहले घाइते अवस्थामा बाघलाई समेत सबैतिरबाट अलि अलि टोक्दै सुस्तरी मृत्यु वरणगर्न बाध्य बनाउँछन् त्यसैगरी सामाजिक संजालका हुँडार पनि आफ्नो सिकार अलिकति कमजोर भएको बेला सबैतिरबाट आक्रमण गरेर त्यसको मन, मस्तिष्क र सामाजिक जीवन थिलथिलो बनाउँछन्।
आधुनिक कम्प्युटर युगमा हुँडारहरुलाई पनि नकाब लगाएर आउने छुट छ। जब नकाबपोस हुँडार संजाल कुनै पनि राजनीतिक नेता वा सामाजिक अगुवाको पछि लाग्छ त्यसबेला उसले विवेक, सामाजिक मान्यता, अनुशासन आदि कुनै सिद्धान्तको परवाह गर्दैन। उसका लागि सबै राजनीतिक नेता चोर हुन् र तिनलाई घोक्रेठ्याक लगाएर देश निकाला गर्नुपर्छ। सबै न्यायाधीश पैसा भरिएको ब्रिफकेसका पुजारी हुन्, सबै प्रहरी फटाहा र तस्करका व्यापारिक साझेदार हुन् वा सबै पत्रकार पैसा लिएरमात्र समाचार लेख्ने पुँजीपति र नेताका दलाल हुन्। जब मानिसले विवेक प्रयोग गर्न बन्द गर्छ अनि उसमा र सडकमा मानसिक सन्तुलन गुमाएर लठ्ठी लिएर बटुवा लखेट्ने मानसिक रोगीबीच कुनै तात्विक भिन्नता हुँदैन। तर सामाजिक संजालमा नकाब लगाएर झुल्कने यस्ता सफेदपोसहरूलाई मानवीयता, शिष्टाचार र विवेक प्रयोग हास्यास्पद तर्क मात्र हुन्। ऊ को हो भनेर कसैले चिनेको छैन भने जिम्मेवार किन हुने?
यो लेखको सार कसैले पनि कसैका विरुद्ध बोल्न, लेख्न वा सामाजिक संजालको ‘टाइमलाइन'मा विचार व्यक्त गर्न हुँदैन भन्ने होइन। तर जो जे बोली रहेको छ त्यसको जिम्मेवारी लिने आँट र साहस त हुनुपर्छ भन्ने आग्रह हो। धेरै युवा जमात जो देश छाडेर विदेशमा बसिरहेका छन् तिनीहरू केही मात्रामा आफ्नो परिचय नलुकाई मनमा लागेका विषयमा निश्चिन्त विचार अभिव्यक्त गरिरहेका हुन्छन्। त्यसबाहेक अन्य धेरै जना कुनै जाली परिचय बनाएर आफूलाई लागेका विद्रुप विचार रौसिँदै पोखिरहेका हुन्छन्। यस्ता नकाबपोस हुँडारको विचारले समाजलाई सकारात्मक दिशामा अघि बढ्न मद्दत गर्दैन बरु यस समाजले हरेक प्रकारको गल्तीलाई एकै प्रकारको सजाय दिँदो रहेछ त्यसैले राम्रो काम गरेर सानो कुरामा बदनाम हुनुभन्दा आफ्नो स्वार्थपूर्ति हुने जतिसुकै घीनलाग्दो काम गरेपनि हुँदोरहेछ भन्ने सन्देश दिन्छ। मुला चोरलाई पनि मृत्युदण्ड दिने हो भने ज्यान मारेर डकैती गर्नुमै धेरैले फाइदा देख्न बेर छैन। किनभने बदमासीजस्तो भएपनि समातिएको अवस्थामा समाजले दिने सजाय एउटै हुने हो भने के फरक पर्ने भयो र?
समाजमा कुनै पनि विषयमा टीकाटिप्पणी हुन नहुने, समाजमा प्रतिष्ठित व्यक्तिका विषयमा केही नराम्रो लेखिनु नहुने भन्ने पटक्कै होइन। तर त्यसरी लेख्ने व्यक्ति को हो? के कारणले उसले कुनै घटनालाई एउटा खास दृष्टिकोणले हेर्‍यो र भोलि उसलाई उसैले लेखेका विषयमा जिम्मेवार बनाउन सकिन्छ कि सकिँदैन भन्ने चाहिँ महत्वपूर्ण विषय हुन्। सबै नकाब लगाएका व्यक्तिको विचारमा मात्र डोरिन थाल्यो भने समाज अराजकता तिर लम्कँदैन? त्यसैले समाजको कुनै पनि क्षेत्रमा जनताको हितका लागि कार्य गर्ने व्यक्ति वा संस्थाले नकाबपोस संजालको झुन्डको डरमा गल्ती हुने डरले केही नगरी हातै बाँधेर नबसुन्। हामीले सचेत हुनुपर्ने विषय यही हो। त्यसैले सामाजिक संजालमा आबद्ध भएका वा नभएका सबैले टाइमलाइनमा आउने विचार कति विचार योग्य हुन् र कति होइनन् भन्ने मनन गर्नुपर्छ। गुहु र गोबरको फरक छुट्याउन नसक्ने हो भने समाजको विकास हुनुपर्छ भनेर आवाज उठाउनु पनि पाखण्डमात्र हुन जान्छ।
इन्टरनेट र सामाजिक सञ्जालको विकास भएपश्चात सामाजिक सञ्जालमा नकाबधारी वा खुल्ला परिचय बोकेका संजाल सदस्यहरूको प्रादुर्भाव भएको हो। राईडर विश्व विद्यालय, अमेरिकाका मनोविज्ञानका प्राध्यापक जोन सुलर भन्छन्, जब कसैको आँखामा आँखा जुधाएर कुरा गर्नु पर्दैन त्यसबेला कुनै पनि व्यक्ति अलि बढी निर्धक्क हुन्छ र उसले आफ्ना धेरै व्यक्तिगत पाटा सजिलै खोल्ने संभावना रहन्छ। यस प्रकारको प्रवृत्तिलाई उनी अनलाइन हिचकिचाहटमुक्ति (अनलाईन डिसइनिभिसन) भन्न रुचाउँछन्। यस्तो हिचकिचाहटबाट मुक्त व्यक्तिमा कोहीसँग बढीनै नजिक पुग्ने, आफ्नो गोप्यता सुनाउने, कसैको बढी नै प्रशंसा गर्ने, कसैसँग कुनै कुरामा चित्त बुझेको छैन भने अलि बढी नै खोइरो बोल्ने प्रवृत्ति हुन्छ। साइबर साइकोलोजी एन्ड बिहेभिअर नामक जर्नलको सन् २००४ नोभेम्बरको अंकमा सुलरले यस्ता व्यवहारलाई सौम्य हिचकिचाहट मुक्ति भनेका छन्। अर्थात् यस्तो व्यवहारले कतिपय अवस्थामा बढी कुरा खोलेकोमा सम्बद्ध व्यक्तिलाई नै दोषी महसुस हुनुबाहेक यस प्रवृत्तिले ठूलो हानि पुर्‍याउँदैन।
तर सुलरका अनुसार सौम्य हिचकिचाहट मुक्तिबाहेक कतिपय व्यक्ति अनलाइनमा जाँदा घृणा व्यक्त गर्ने, अति नमीठो भाषा प्रयोग गर्ने, रिस देखाउने, कसैलाई धम्क्याउने, कसैको बेइज्जत गर्ने कार्य पनि गर्छन्। यस्तो अवस्थालाई सुलर विषालु हिचकिचाहट मुक्ति भन्छन्। मनोविज्ञानमा यस्तो अवस्था किन हुन्छ? किन मान्छे अनलाइनमा अलि बढीनै दुष्ट वा धेरै कमलो हुन्छ? भन्नेजस्ता विषयमा उनको अध्ययनले धेरै जानकारी दिएको छ। तर उनको अध्ययनको अन्य बुँदाबाहेक हाम्रो अवस्थामा प्रयोग भएको मानसिक प्रवृति भने सौम्य र विषालु हिचकिचाहटको एक प्रकारको मिश्रण हो।
सूचना प्रविधिको वर्तमान युगमा आफ्नो परिचय लुकाउन सजिलो ठानेर कसैले जथाभावी लेख्छ भने त्यो नादानीमात्र हो। कुनै पनि व्यक्तिको कम्प्युटरको विशेष परिचय हुन्छ, उसले कुन इन्टरनेट प्रयोग गरेको छ भन्ने पनि सजिलै ठम्याउने प्रविधि छन्। अर्थात् कुन देशको कुन इन्टरनेट सेवा प्रदायकको कुन ग्राहकको कुन कम्प्युटरबाट के खबर सम्प्रेषित भयो भन्ने सजिलै थाहा पाउन सकिने वर्तमान अवस्थामा नकाबपोस हुँडारहरुले नकाबको सहारामा कसैको व्यक्तिगत इज्जतमा सधैँ खेल्नसक्छु भन्ने नसोचे पनि हुन्छ।
प्राविधिक कुरो जे भए पनि सम्पूर्ण आधुनिक युगका टाइमलाइनका प्रयोगकर्ताले नकाबपोस हुँडार र खुल्ला निडर विचारकबीचमा फरक छुट्याउन सक्नुपर्छ। हामीले समाजमा सही र सहीका बीचमा र गलत र गलतका बीचका दूरी पनि जान्नुपर्छ होइन भने नकाबपोसहरूले समाजमा धेरै विष फैलाउँछन् र हामीलाई मानव मल र गोबरबीचको फरक पनि निर्क्योल गर्न गाह्रो हुनेछ।

प्रतिक्रिया