Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

भूकम्प, सेयरबजार र अर्थतन्त्र

(0 votes)
आधुनिक अर्थशास्त्रको सामान्य मान्यता छ, ओलम्पिक र विश्वकप फुटबलजस्ता खेल भएको मुलुकमा अर्को वर्ष अर्थतन्त्र ओरालो लाग्छ। ठूला भूकम्प वा त्यस्तै प्राकृतिक प्रकोप भएको मुलुकमा त्यसको अर्को वर्ष अर्थतन्त्र उकालो लाग्छ।
राजु नेपाल

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-may
कारण स्पष्ट छ, खेल हुनुभन्दा ७–८ वर्षअघिदेखि सो राष्ट्रले खेलका निम्ति भौतिक निर्माणमा हरेक वर्ष अर्बौं डलर खर्च गर्छ। तर, जब खेल सकिन्छ तब त्यस प्रकारको खर्च शून्य हुन्छ र अर्थतन्त्र ओरालो लाग्छ। प्राकृतिक प्रकोपले कुनै देशमा धनजनको नोक्सानी भएपछि सरकारले अर्बौं डलर पुनर्निर्माणमा खर्च गर्छ र अर्थतन्त्र उकालो लाग्छ। यो क्रम धेरै वर्षसम्म कायम रहन्छ। नेपालको अहिलेको अवस्था दोस्रो प्रकारको हो।

नेपालमा गत सालको भूकम्पमा परी झन्डै ९ हजार मानिसले ज्यान गुमाए। १० अर्ब डलरबराबरको भौतिक सम्पत्तिको क्षति भयो। तीन महिनाजति त राहतमै लाग्यो। त्यसपछि पुनर्निर्माणमा गएर आर्थिक स्थिति उकालो लाग्नुपर्ने बेलामा भारत सरकारको अमानवीय नाकाबन्दी सुरु भयो। नाकाबन्दीले नेपालको अर्थतन्त्र भूकम्पले भन्दा कैयौँ गुणा बढी तहसनहस गर्योर। अहिले नाकाबन्दी छैन, भूकम्पले क्षति गराएका सबैजसो संरचना पुनर्निर्माणको पर्खाइमा छन्। अब नेपालको आर्थिक विकासको दर उच्च हुनेछ। यसका लक्षण देखापर्न थालिसके। अबको खाँचो भनेको सरकारको जाँगरमात्रै हो। किनकि, भूकम्पपीडितहरू राहतको पर्खाइमा छन्। पैसा दिन दाताहरू तयार छन् र अधिकार सम्पन्न पुनर्निर्माण प्राधिकरण पनि छ। अबको समस्या के? त्यो भनेको प्रधानमन्त्रीले पुनर्निर्माणलाई आफ्नो प्रमुख एजेन्डामा नपार्नु नै हो।

कुनै देशको आर्थिक वृद्धिको अवस्था कस्तो छ भनेर हेर्ने धेरै आधारमध्धे सेयरबजारको सूचकांक पनि एउटा हो। सेयरबजारको सूचकांकले सबैखाले उद्योग र व्यापारको प्रतिनिधित्व गर्छ। देशका प्रमुख उद्योगमा लगानी र बैंकको ऋण प्रवाहले पनि भविष्य कस्तो हुन्छ भन्नेबारे अनुमान गर्न सकिन्छ। अरु कुरा जेजस्तो भए पनि अहिले पुनर्निर्माणमा सरकारी इच्छाशक्ति उच्च हुनु जरुरी छ।

भारतीय नाकाबन्दीको प्रभाव लामो समयसम्म पर्ने हुँदा आगामी वर्षको आर्थिक वृद्धिदर कमजस्तो देखिए पनि सेयरबजारले भने नेपालको अर्थतन्त्र सुधारोन्मुख भएको संकेत दिएको छ। एकातिर बैंक तथा बीमा कम्पनीहरूले बढाउनुपर्ने पुँजी, अर्कोतिर प्रतिकूल समयमा पनि नाफामा देखिएको बढोत्तरीले ग्राहकको मनोबल उच्च रहेको जनाउँछ। तीन महिनाअगाडि ११२० को हाराहारीमा रहेको नेपाल स्टक एक्सचेन्जको सूचकांक गत साताको अन्त्यमा १४४० पुगेको छ। हरेक दिनजसो नयाँ उचाई छुँदै गरेको यो सूचकांकले कतिलाई त अन्योलमा समेत पारेको छ। यसको बढ्ने क्रम रोकिएको छैन। कुनै ठूलै प्रतिकूलता ननिम्तिएमा यो सूचकांकलाई करिब १८०० सम्म पुग्न कसैले रोक्न सक्ने छैन। अझ यो त्रैमास त वर्षान्त पनि भएकाले ऋण र ब्याज चुक्ताका निम्ति पैसाको जोहो गर्न पनि सेयरबजार केही हदसम्म माथि लाने वा जाने हुन्छ।

बीचबीचमा कुनै दिन वा सातामा केही अंकले घटे पनि बजार बढ्ने कुरामा सबै निश्चिन्त भए हुन्छ। अहिले पनि बजारमा बिक्री गर्नेको भन्दा खरिद गर्नेकै चाप बढी छ। बैंक तथा वित्तीय संस्थाका अग्राधिकार र बोनस सेयरको बाढी आउन बाँकी नै छ। यो क्रम रोकिन अर्को एक वर्ष लाग्छ। मर्जरका प्रक्रियाहरू पूरा हुन अझ धेरै समय लाग्न सक्छ । तसर्थ, यो अवधि सेयरबजारका लगानीकर्ताका निम्ति स्वर्णिम देखिन्छ।

संसारका हरेक सेयरबजारमा केही यस्ता लगानीकर्ता हुन्छन्, जो बजारको उचाईमा प्रवेश गर्छन् र तल्लो स्थितिमा बेच्छन्। यसको अर्थ ती सधैँ घाटा खानेखालका हुन्छन्। नेपालको अहिलेको बजारको स्थिति हेर्दा साना लगानीकर्ता बजारमा प्रवेश गरेकै छैनन्। ती लगानीकर्ता बजार १७०० भन्दा माथि पुगेपछि प्रवेश गर्ने अनुमान गर्न सकिन्छ। जब साना लगानीकर्ता बजारमा प्रवेश गर्छन् तब बजारले स्थिरता प्राप्त गर्छ। तर, नियमित लगानीकर्ताहरू करिब १८०० को अंकसम्म ढुक्क भएर लगानी गर्न सक्छन्। कुन कम्पनी छान्ने भन्नेचाहिँ कम्पनीकै हिसाबकिताब हेरेर निर्णय गर्नुपर्ने हुन्छ। अहिलेको लगानीकर्ताको लगानी हेर्दा बैंक र बीमा कम्पनी नै अगाडि छन्।

सेयर सूचकांक बढ्नुका पछाडि बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरूको पुँजी वृद्धि, राम्रोसँग नचलेका वा प्रतिफल बाँड्न नसक्नेको मर्ज एउटा कारण हो भने लगानीकर्ताको आत्मबल अर्को प्रमुख कारण हो। हिजोका दिनमा जस्तो एउटा व्यक्ति वा कम्पनीले सेयरबजारलाई तल–माथि लानसक्ने स्थिति अहिले छैन। १५५० अर्ब रुपैयाँबराबरको पुँजीकरण भएको नेपालको सेयरबजार परिपक्व हुँदै गएको अर्को उदाहरण दैनिक करिब १५० कम्पनीका सेयर र १ अर्ब रुपैयाँको कारोबार पनि हो। संस्थागत लगानीकर्ताहरू र म्युच्युअल फन्डहरू न्यून भएको हाम्रोजस्तो सानो बजारमा त्यो परिमाणको कारोबारलाई अत्यन्त सकारात्मक मान्नुपर्छ। धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकको बजारप्रतिको सकारात्मक धारणाले पनि बजारलाई माथि लान मद्दत गरेको छ। अबका दिनका लागि राष्ट्र बैंकले विश्वका अरु देशमा चलेका सेयरबजारसँग सम्बन्धित विभिन्न आर्थिक उपकरण ल्याएमा बजार अझ माथि जान्छ।

सेयरबजार करिब ११०० बाट १४००को अंकमा पुग्दा बजारले झन्डै ३ सय अर्ब रुपैयाँ नयाँ पुँजी निर्माण गरेको छ। त्यो भनेको नेपालको वार्षिक बजेटको झन्डै एकतिहाइ हो। यसलाई अर्थतन्त्रको सुधारको प्रमुख कारण मान्नुपर्छ। हरेक साल बजारमा आउने नयाँ सेयरहरू र बजारको उछालले वार्षिक बजेटबराबरकै रकमको निर्माण गरेमा देशको आर्थिक विकासमा त्यसले ठूलो टेवा पुर्याकउँछ। यो असम्भव भने देखिँदैन। यो क्षेत्र साना लगानीकर्ताका लागि भरपर्दो आम्दानी र लगानीको स्रोत पनि हुन सक्छ।

एउटा अर्को तथ्य हेर्दा गत तीन महिनामा वाणिज्य बैंकबाट मात्रै ८० अर्ब रुपैयाँबराबरको नयाँ कर्जा प्रवाह भएको छ। त्यति नै अनुपातमा अन्य वित्तीय संस्था र सहकारीको पनि ब्यापार बढेको छ। एकातिर ठूला परियोजनाहरू सुरु भएका छैनन्, तर पनि एक त्रैमासमा १५० अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह हुनु भनेको साना उद्यममा धेरै कर्जा जानु हो। साना ब्यापार र उद्योगले अर्थतन्त्रलाई चलायमान बनाउन ठूलाले भन्दा धेरै मद्दत गर्छन्। साथै, साना उद्यमहरू गाउँकेन्द्रित हुने हुँदा साना कर्जाले ग्रामीण विकासमा टेवा दिन्छ। देशको प्रमुख उद्योग होटलहरूको निर्माणले यो अवधिमा तीव्रता पाएको छ। १० वटाजति अन्तराष्ट्रियस्तरका ठूला होटल र रिसोर्ट बन्दैछन् वा बनिसके। यो वर्षको बुकिङ राम्रो भएका खबर आउन थालिसके। यसले पनि अर्थतन्त्रको सकारात्मकताको संकेत गर्छ।

सिंगो देश पुनर्निर्माणको पर्खाइमा छ। दोलखाको चरिकोटदेखि गोरखाको बारपाकका घर, पाटीपौवा, सडकमात्र नभई काठमाडौँकै धरहरा र भक्तपुरको चाँगुनारायण मन्दिरसमेत कुन दिन सरकार आउला भनेर बाटो कुरेर बसेका छन्। सरकारी तथ्यांकअनुसार अहिलेसम्म दुई प्रतिशत पनि काम हुन सकेको छैन। प्राधिकरणले काम अगाडि बढाउनै सकेको छैन। सरकार जनताको घर बनाउनेभन्दा धरहराको खाका कोर्ने र रानीपोखरीको जिर्णोद्धार गर्ने कामलाई प्रचार गर्दैछ!

अघिल्लो साल सरकारले अनुमान गरेको ७ सय अर्ब रुपैयाँले पुनर्निर्माण सम्पन्न नहुने पक्का छ। तर पनि सरकारको ध्यान त्यता छँदैछैन। आर्थिक र जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय यो सरकारको प्रथमिकतामा कहिल्यै परेन र पर्ने छाँट पनि छैन। सरकार राजनीतिक विषयमा नै बढी अल्भि्कन चाह्यो। कुनै दिन सरकार ढल्ने कारण पुनर्निर्माण नै बन्यो भने अचम्म नमाने हुन्छ। किनकि, यो वर्षाको याम भूकम्पपीडितहरूको लागि अत्यन्त कष्टकर हुनेछ। वर्षायामसम्म पनि केही नगरेमा सरकारको अस्तित्व समाप्त हुनेछ। तर, सरकार आफैले आकलन गरेको ७ सय अर्ब रुपैयाँको पुनर्निर्माण कोषको एकतिहाइमात्र पनि आगामी वर्ष दिनभित्र खर्च गरेमा नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि जानेछ। विपक्षी वा सरकारमा भएका एमालेबाहेकका अन्य दलले यो कुरा बुझेर कि त सरकारलाई काम गर भन्नुपर्यो कि त सरकारको विकल्प खोज्नुपर्योर। प्रधानमन्त्रीको पहिलो दिनदेखिको कार्यशैली हेर्दा केही नहुने पक्का भइसकेकाले दोस्रो विकल्प नै उत्तम हुने देखिन्छ।

प्रतिक्रिया