Wednesday 4 Bhadra, 2076 | August 21, 2019
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

मदन भएको भए!

(0 votes)
जबजब संकट पर्छ मानिस अनायास भन्न थाल्छन्– 'मदन भण्डारी भएका भए...।' २३ वर्षअघि पत्याउनै नसकिने रहस्यमय सवारी दुर्घटनामा परी दिवंगत भएका भण्डारीले लामो सार्वजनिक जीवन बिताउन पाउनुभएन। भूमिगत जीवन त्यागेर ०४७ सालको मध्यतिर सार्वजनिक भएका उहाँ साढे दुई वर्षमै ०५० जेठ ३ गते मारिनुभयो। यति छोटो अवधिमा पार्टी कार्यकर्तादेखि आमजनता र अन्तर्राष्ट्रिय समुदायमा समेत उहाँले जुन छाप निर्माण गर्नुभयो, त्यही कारण आज पनि संकटका बेला जनता उहाँको नाम उच्चारण गर्छन्।
nepali-patro-may
उहाँ जम्माजम्मी एक पटक संसद् सदस्य निर्वाचित हुनुभयो। पार्टी पंक्तिबाहिर सार्वजनिक छवि निर्माण गर्नका लागि त्यही घटना नै उहाँको जीवनको सर्वाधिक महत्वपूर्ण साबित भयो। किनभने, आफ्नै पार्टीसमेत संलग्न संयुक्त सरकारका प्रधानमन्त्री र ठूलो दलका सभापति कृष्णप्रसाद भट्टराईसँग चुनाव लड्ने उहाँको जोखिमपूर्ण फैसलाले जति तरंग ल्याएको थियो, काठमाडौँका दुई क्षेत्रको सानदार विजयपछि त्यसले भण्डारीलाई बेग्लै उचाईंमा पुर्याूइदियो। फलस्वरूप भण्डारी बरालिन लागेको कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय निर्वाचनको मार्गमा ल्याउने प्रमुख अभियन्तामात्र साबित हुनुभएन, त्यसलाई नेपालमा वैकल्पिक लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्ने भाष्यकारसमेत प्रमाणित हुनुभयो।

नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारी एकजना पानी ढलो मानकका रूपमा स्थापित हुनुभएको छ। आज नेपालको कम्युनिस्ट आन्दोलनमा जति पनि बहस र छलफल हुन्छन्, ती उहाँद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको पक्षमा वा विपक्षमा केन्द्रित हृुन्छन्। पुष्पलालले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेर जुन ऐतिहासिक काम गर्नुभएको थियो, त्यसमा परिवर्तित परिस्थितिमा प्राण भरेर जनताका बीचमा लैजाने काम निःसन्देह भण्डारीले गर्नुभएको छ। पूर्वी युरोपमा एकपछि अर्को गरी समाजवादले धक्का खाइरहेको र विश्वव्यापीरूपमा समाजवाद प्रतिरक्षात्मक अवस्थामा पुगेका बेला नेपालमा पनि त्यसलाई कसरी बचाइराख्ने भन्ने जोखिम थियो। त्यस्तो कम्युनिस्ट पार्टीलाई खोपीको देउता बनाउने र खुला प्रतिस्पर्धा जस्तो उच्च राजनीतिक प्रणालीलाई बुर्जुवाको पोल्टामा एकलौटी छोडिदिने कुराले कम्युनिस्ट पार्टीलाई जनताबाट त अलग गर्थ्यो नै, परिवर्तित परिस्थितिअनुरूप असान्दर्भिकसमेत साबित गर्थ्यो। यही मूल मान्यताबाट प्रेरित भएर भण्डारीले जोखिमपूर्ण कदम उठाउनुभएको थियो, जसले नेपालमा कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय आन्दोलनका रूपमा स्थापित गर्ने भूमिका निर्वाह गरिरहेको छ।

सशस्त्र संघर्ष र अवैधानिक बाटोको कार्यनीतिमा हिँडिरहेको कम्युनिस्ट आन्दोलनलाई त्यसबाट बाहिर निकालेर जनताका बीचमा आफ्नो लोकप्रियता नाप्न लगाउने नेता भण्डारी नै हुनुहुन्थ्यो। उहाँले त्यसलाई जनताको बहुदलीय जनवाद नाम दिएर तात्कालिक कार्यक्रमका रूपमा सूत्रीकृत नगरेको भए अरु कैयौँ मुलुकमा झैँ नेपालमा पनि कम्युनिस्ट आन्दोलन छिन्नभिन्न हुने खतरा थियो। जनताका बीचमा जाने, जनताले विश्वास गरेमा नेतृत्व गर्ने, हारेमा प्रतिपक्षमा बस्ने जुन कार्यनीति उहाँले अघि सार्नुभयो, त्यसले ०४८ सालमा एमालेलाई प्रमुख प्रतिपक्षका रूपमा वैकल्पिक शक्तिमा स्थापित गर्यो् भने उहाँले देख्न नपाए पनि ०५१ सालमा सरकारको नेतृत्व गर्ने अवस्थामै पुर्याकयो। यसबाट कम्युनिस्ट आन्दोलनको लोकतन्त्रीकरणमा भण्डारीको दूरदर्शिता सबैले महसुस गर्न सक्ने गरी स्थापित भएकै कारण उहाँ झन्झन् सान्दर्भिक बन्दै जानुभएको छ।

भण्डारीले संसारमै कतै नभएको विचार अघि सार्नुभएको होइन। यो विचार न त कतै पनि बहस नभएको नै हो। छिमेकी भारतको पश्चिम बंगालमा कम्युनिस्टहरूले निर्वाचन उपयोग गरेर सरकार बनाइसकेका थिए भने युरो कम्युनिज्मका नाममा युरोपेली मुलुकहरूमा पनि कम्युनिस्टले संसद्को उपयोग गर्न थालिसकेका थिए। तर, त्यतिले नेपालमा केही फरक पर्नेवाला थिएन। किनभने, कम्युनिस्ट आन्दोलनमा बहसका नाममा रहेका जडता सबैलाई थाहै छ। अहिले पनि स्टालिनका कति प्रतिशत गल्ती थिए भन्नेबारेमा कतिपय कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीमा बहस हुने गर्छन्। अनि दिउँसो घाम लागेका बेला छ भने पनि अहिले कति प्रतिशत रात र कति प्रतिशत दिन हो भनेर निरर्थक बहस हुन बेर लाग्दैन। यस्तो बेलामा सशस्त्र संघर्ष भन्दै व्यक्ति हत्याको पृष्ठभूमिबाट अघि बढेको कम्युनिस्ट पार्टीलाई एकैपटक प्रतिस्पर्धाको मैदानमा लैजानु चानचुने कुरा थिएन। त्यही गरेवापत् नेपालको एकथरी कम्युनिस्ट धाराले उहाँमाथि संशोधनवादीदेखि प्रतिक्रियावादीसम्मका आरोप लगाउन बाँकी राखेन। तर, कालान्तरमा उहाँको विचार कति दूरदर्शी र आवश्यक रहेछ भन्ने कुरा प्रमाणित हुँदै गएको छ।

नेकपा (माओवादी) ले भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई कुनै नीति, सिद्धान्त र विचार नै होइन, कम्युनिस्ट आन्दोलनको पतन हो भन्ने निष्कर्ष निकालेर 'जनयुद्ध'को थालनी गर्योन। १० वर्ष सशस्त्र युद्ध लडेपछि आफू र मुुलुक दुवैलाई अपूरणीय क्षति पुर्याषएर उक्त पार्टी अहिले संसदीय अभ्यासमा सहभागी भएको छ। राज्यसत्ता प्रतिक्रियावादी भयो, राजनीतिक दलहरूमाथि प्रतिबन्ध लाग्यो, जनतालाई कुनै अधिकार दिएन र कम्युनिस्ट पार्टीले वैधानिक बाटोबाट काम गर्न पाएन भने त्यस्तो अवस्थामा हतियार उठाउने कुरालाई भण्डारीले कहीँकतै अस्वीकार गर्नुभएको छैन। तर, माओवादी जनयुद्ध त्यस्तो बेला सुरु भएको थियो, जतिबेला नेपालमा कम्युनिस्ट आन्दोलन ठूलो आकर्षणको विषय थियो र संसद्मा सबैभन्दा ठूलो दलका रूपमा उपस्थित थियो। लोकप्रिय र जनमुखी काम गर्दागर्दै डराएर एमालेलाई हठात सरकारबाट हटाइएको थियो। तत्काल निर्वाचन भएमा एमालेले सहजताका साथ बहुमत ल्याउने पक्कापक्की थियो। अनि मुलुकमा सबैले आफ्ना विचार निर्वाधरूपमा राख्न पाउने, संघ–संगठन गर्न पाउने संवैधानिक व्यवस्थासहित बहुदल स्थापना भएको पाँच वर्षमात्रै भएको थियो। त्यस्तो बेलामा ०५२ फागुन १ गते माओवादीले हतियार उठाउनु सैद्धान्तिकरूपमा त कहिल्यै सही प्रमाणित हुँदैन नै, त्यो स्वयं नेपाली दिमागको उपज थियो वा नेपालका विरुद्ध कतै बुनिएको षड्यन्त्र थियो भन्ने पनि खोजकै विषय बनेको छ। जे होस्, १७ हजारभन्दा बढी मानिसको ज्यान लिएर, अर्बौंको राष्ट्रिय सम्पत्ति नोक्सान गरेर र मुलुकलाई बीसौँ वर्ष पछि धकेलेर आज माओवादी पार्टी जुन अवस्थामा आइपुगेको छ, त्यो बाटो भण्डारीले बहुदलीय व्यवस्था आउनुअघि ०४६ भदौमा आयोजित तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनमै खनिसक्नुभएको थियो।

छोटो सार्वजनिक जीवन व्यतीत गरे पनि भण्डारी आममानिसका मनमनमा जीवित रहनुका पछाडि उहाँको प्रभावकारी वाक्कला एउटा कारण होला, तर मुख्य कुरा उहाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई दिशाहीनता र जडताबाट बाहिर निकाल्नु हो। चीनपन्थी कि रुसपन्थी भन्दै आफैभित्र अनावश्यक विवादमा रुमल्लिने बानी परेका अनि दस्तावेजमा सीमित कम्युनिस्ट आन्दोलनलाई जनताको भरपर्दो शक्ति बनाउने कुरा यत्तिकै सम्भव थिएन। त्यसका लागि २४–२५ वर्ष उमेर समूहका युवाले खोलेको नेकपा (माले) मात्रै पर्याप्त थिएन। भण्डारी कति दूरदर्शी हुनुहुन्थ्यो भन्ने कुरा त नेकपा (मार्क्सवादी) सँगको एकीकरणले पनि बताउँछ। मालेसँग संगठन थियो, तर सार्वजनिक छवि भएका नेता थिएनन्, अनि मार्क्सवादीसँग मनमोहन अधिकारी, साहना प्रधान, भरतमोहन अधकिारीजस्ता सार्वजनिक छविका नेता थिए, तर संगठन थिएन। कत्ति पनि अप्ठेरो नमानेर भण्डारीले मनमोहनलाई आफ्नो औपचारिक नेतामात्र बनाउनुभएन, कहिल्यै पनि हामी फरक पार्टीबाट आएका मानिस हौँ भन्ने अनुभूति हुन दिनुभएन। फलस्वरूप त्यो पार्टी एकताको ऊर्जाले नेकपा (एमाले) लाई बेग्लै आकर्षणको केन्द्र बनाउन सफल भयो। आवश्यकता के हो र त्यसलाई कसरी उपयोग गर्नुपर्छ भन्ने सफल उदाहरण यस प्रकरणमा पनि देख्न सकिन्छ।

जनताका कान ठाडा हुनेगरी भण्डारीको तिख्खर आवाजमा गुञ्जिएको राष्ट्रियताको गुञ्जन सायदै कुनै नेपालीले भुल्न सक्ला। टनकपुर सम्झौताका नाममा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको सन्धिका विरुद्ध सम्झौताहीन रूपमा उभिएर भण्डारीले नेपाली जनतामा अभूतपूर्व राष्ट्रिय भावना जागृत गराउनुभएको थियो। जे गर्ने हो, बिनाहिच्किचाहट र प्रष्टसँग भन्ने स्वभाव नै वास्तवमा उहाँप्रति अरु नेता–कार्यकर्ताको विश्वास र आकर्षणको कारण बनेको छ। कम्युनिस्ट आन्दोलनभित्र 'संसद्वाद' वा 'संसद्मुखी' भन्ने शब्दलाई नकारात्मक र जातच्युत भएको रूपमा बुझिन्छ। एकपटक कुनै पत्रकारले उहाँलाई सोधेको 'तपाईं संसद्मुखी हुनुभयो नि?' भन्ने प्रश्नमा उहाँको स्पष्ट जवाफ थियो, 'हो हाम्रो मुख संसद्तिर फर्केको छ। संसद्बाट जनताको समस्या समाधान हुन्छन् भन्ने ठानेर हामी संसद्मा गइरहेको छौँ। अनि संसद्तिर हिँड्दा मुख पछाडि फर्काउने कुरा भएन।' थाहा छैन, आजका नेताले जे गरिरहेका छन्, हिम्मतका साथ त्यो कुरा रक्षा गर्न सक्छन् कि सक्दैनन्!

भण्डारीको चर्चा गरिरहँदा कम्युनिस्टहरूले एउटा कुरामा प्रष्ट हुनैपर्छः अब डोकोमा नअटाउने कम्युनिस्ट पार्टीको कुनै सैद्धान्तिक आधार छैन। सबैले बुझ्नेगरी भन्नुपर्दा नेपालमा दुईमात्र कम्युनिस्ट पार्टी सम्भव छः एक, मत हाल्ने र अर्को मत नहाल्ने। एमाले, एमाओवादी, जनमोर्चा, माले, संयुक्त, नेमकिपाजस्ता निर्वाचनमा जनताका बीचमा जाने र उनीहरूको मतका आधारमा तय भएको आकारमा बस्ने दलका अलगअलग सैद्धान्तिक अस्तित्व नै छैन। अनि दस्तावेजमा क्रान्तिका कुरा गर्ने, कुनै समस्या नभएका बेला हतियारबन्द संघर्षको रुमानी सपनामा हराउने र त्यही दिशामा लाग्नुपर्छ भनिरहने मोहन वैद्य, नेत्रविक्रम चन्दहरूको अर्को पार्टी हुन सक्छ। डा. बाबुराम भट्टराईजस्ता कम्युनिस्ट आन्दोलनबाट थाकेकाहरूको त कुरै गरिरहनु परेन।

प्रतिक्रिया