Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

पिउँदा जोड्छ, धोक्दा तोड्छ सम्बन्ध

(0 votes)
पिउँदा जोड्छ, धोक्दा तोड्छ सम्बन्ध
भक्तपुर, कमलविनायकका श्यामकृष्ण प्रजापति ६ दशकदेखि भक्तपुरमा आयोजना हुने विविध जात्रा–पर्वमा सहभागी हुँदै आएका छन्। बाल्यकालमा अभिभावकको पछि लागेर उनी जात्रामा रमाए। किशोर उमेरमा साथीभाइसँग मिलेर रथ ताने। युवा अवस्थामा भैरवको रथ हाँके, जात्राको लिंगो ठड्याए।
nepali-patro-may
यसपटकको बिस्केट जात्रामा भने उनले टौमडीनजिकैको पाटीमा बसेर नियाले।

'जात्रा सधैं रमाइलो,' दुईवर्षे नाति डोर्याबउँदै आएका उनले नागरिकसँग भने, 'जुनसुकै उमेरमा पनि जात्राले उत्तिकै उमंग र खुसी दिन्छ।'

जात्राका बेला समयबजी (च्युरा) सँगै थोरै अइला (रक्सी) पिउँदै आएका उनले यसमा सानैदेखि लत बसेको सुनाए। 'कहिलेदेखि पिउन थालियो, याद छैन,' श्यामकृष्णले भने, 'हरेक पर्व र उत्सवमा अलिअलि खाने गरेको छु।'

लामो समयदेखि जाँड–रक्सी पिउने गरे पनि 'जँड्याहा' भने कहिल्यै नबनेकोमा भने उनी आफैंप्रति गर्व गर्छन्।

नेवार समुदायका विभिन्न सस्कृतिसँग रक्सीको नाता जोडिएको उनी सुनाउँछन्। जात्रा र चाडपर्वमा यो त अनिवार्य सगुन। 'रक्सी जात्रा–पर्वमा खाने हो भन्छौं,' उनले हाँस्दै थपे, 'तर भक्तपुरमा त सधैंजसो जात्रा।' वर्षको पहिलो चाडका रुपमा 'गथामुग चन्हे' मनाएसँगै गुन्ही पुन्ही (जनैपूर्णिमा) आउँछ। त्यसपछि गाईजात्रा, सकिमना पुन्ही, बिस्केट, चासु पुन्ही, सिठीलगायत नागपञ्चमी, बैयागु ख्व, गणेशचौथी, यन्हा पुन्ही, योमरी पुन्ही, ध्यचाकु सल्हुँ, सिलाचन्हे, होली पुन्ही, पाहाँ चन्हे, मातातीर्थ औंसीलगायत थुप्रै पर्व मनाइन्छ भक्तपुरमा।

'सबैजसो जात्रामा जाँड–रक्सीको धेरथोर प्रयोग हुन्छ,' उनले भने, 'यो त मान्छेलाई मात्र होइन, देवतालाई पनि चढाइन्छ।'

संस्कृतिविद तेजेश्वरबाबु ग्वंगः नेवार समुदायमा जन्मदेखि मृत्युसम्मका हरेक कार्यमा रक्सी आवश्यक हुने बताउँछन्। नेवार समुदायमा प्रचलित सगुनमा माछा, मासु, बारा, अन्डासँगै रक्सी पनि आउने उनले सुनाए। 'रक्सीसँग अन्य परिकार पनि मिलाएर खान सिकाइन्छ,' उनले भने, 'संयमित तरिकाले पिउँदा रक्सीले उमंग बढाउँछ, त्यसो नभए नोक्सान।'

रक्सी खानेले भन्दा 'धोक्ने' संस्कारले बढी समस्या ल्याएको उनले देखेका छन्। रक्सी जथाभाबी सेवनले 'इथिकल भ्यालु' तोडिन पुगेको उनको बुझाइ छ। 'हो, रक्सीसेवन कतिपय धार्मिक तथा सामाजिक कार्यसँग जोडिएको छ,' उनी भन्छन्, 'तर कुनै पनि धर्म र समाजले यसको दुरुपयोग गर्न भने स्वीकृति दिँदैन।'

भक्तपुर, ब्यासीस्थित श्रमिक माविका शिक्षक दामोदर सुवाल संस्कृतिसँगै हिँडेको रक्सीमा बजारले प्रभाव जमाएपछि यो 'डरलाग्दो' भएको बताउँछन्। 'जबसम्म यो समाज र परिवारका हातबाट प्यालामा बाँडिन्थ्यो, तबसम्म ठिकै थियो,' उनले भने, 'जब रक्सी बजारको हातमा गयो, तब यो डरलाग्दो पेय बनेको छ।' घरपरिवारमा मात्रा मिलाएर खाइने गरेको चिज बजारमा अनियन्त्रित हँुदा यसको दुरुपयोग भएको उनको बुझाइ छ।

रक्सी आफूहरुको समुदाय–संस्कृतिमा वषर्ौंदेखि अन्तरघुलित रहेको उनी सुनाउँछन्। सुत्केरी आमालाई पोषिलो आहारका रुपमा छ्याङ (जाँड) खुवाउने चलन रहेको भन्दै उनले साना नानीहरुलाई पनि छ्याङको रसमा च्युरा भिजाएर (पोकबजी) खुवाइने गरेको उनले बताए।

समुदायमा मदिराको प्रवेश कहिले र कसरी भयो भन्ने यकिन नभए पनि उनी किसानले अन्नलाई रुपान्तरण गरेर रक्सीको रुपमा भण्डारण गरिने गरेको अनुमान गर्छन्। 'उति बेला अन्न भण्डारण गर्ने तरिका थिएन,' उनले अनुमान गरे, 'सम्भवतः यसलाई रक्सीमा रुपान्तरण गरेर राख्ने चलन भएको हुन सक्छ।' उनी पहिलेको समयमा रक्सी उमंग र उत्साहको स्रोतका रुपमा रहेको मान्छन्।

उनले भनेजस्तो रक्सी सेवन नेपालमा पनि कहिलेदेखि सुरु भयो भन्ने यकिन छैन। यहाँका विभिन्न संस्कार र सांस्कृतिक पक्षसँग पनि मदिराको सोझो सम्बन्ध जोडिएको पाइन्छ। भक्तपुरमा जस्तै काठमाडौं र ललितपुरमा पनि नेवार समुदायले परम्परादेखि मनाउँदै आएका जात्रामा रक्सीको प्रयोग हुने गरेको छ।

काठमाडौंमा इन्द्रजात्रा, पाटनमा मच्छिन्द्रनाथको जात्रा मुख्य रुपमा मनाइन्छ। यी जात्रामा रक्सी सगुनको रुपमा प्रयोग हुने गरेको छ। यीबाहेक अन्य जात्रा र पर्वमा पनि रक्सीको प्रयोग हुने गर्छ। 'रातो मच्छिन्द्रनाथको रथ तानेसँगै ललितपुरमा जात्राको सुरुआत हुन्छ,' ललितपुर च्यासलका इन्द्र अवाल भन्छन्, 'त्यसपछि रथ जता गयो, उतै भोज चल्छ।'

यसरी खाइने भोजमा 'अइला' अनिवार्य प्रयोग हुने उनी सुनाउँछन्। 'जात्रालाई भनेर अहिलेबाटै जाँड–रक्सी बनाउन थालेका छन्,' उनले भने, 'रक्सी आफन्तलाई स्वागत गर्ने प्रमुख परिकार पनि हो।'

नेवार समुदायजस्तै उपत्यकामा रहँदै आएका र उपत्यकाबाहिरका अन्य आदिवासी जनजातिको संस्कृतिमा पनि रक्सीको गहिरो सम्बन्ध छ। तामाङ, गुरुङ, शेर्पाका ल्होसार हुन् या अन्य समुदायका जात्रा, तिनमा जाँड र रक्सीको प्रयोग अनिवार्यजस्तै छ।

कवि विक्रम सुब्बा मानव समाजमा रक्सीको प्रवेश औषधिको रुपमा भएको सुनाउँछन्। अतिथि स्वागतको 'सगुन' बन्दै रक्सी बिस्तारै परम्परागत तथा आधुनिक भोजनको 'आइटम' बन्न पुगेको उनले बुझेका छन्।

'लिम्बू समुदायमा स्वागत पेयका रुपमा अतिथिलाई 'तोङ्वा' दिने चलन छ,' उनले भने, 'यसमा संस्कार घुलेको हुन्छ।'

आफ्नो समुदायमा रक्सी देवीदेवतालाई समेत चढाउने गरेको उनी सुनाउँछन्। 'किरातीले रक्सी र अक्षता चढाउँछन्,' उनले भने, 'अन्य कतिपय समुदायले पनि रक्सी चढाउने गरेको देखिन्छ।' कोठा चोख्याउने काममा समेत रक्सी प्रयोग हुने उनी सुनाउँछन्। कतिपयले अझै पनि रक्सीलाई औषधिको रुपमा प्रयोग गर्ने गरेको उनी बताउँछन्। वैद्यहरुले झोल औषधि बनाउँदा नकुहियोस् भनेर रक्सी मिसाउँछन् भने आधुनिक मेडिसनमा समेत यसको प्रयोग हुने गरेको छ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमाल रक्सीको प्रयोग कहिलेदेखि हुन थालेको यकिन नभए पनि आदिवासी जनजातिका विभिन्न जात्रा तथा चाडपर्वमा लामो समयदेखि रक्सी प्रयोग हँुदै आएको सुनाउँछन्।

सुख–दुःख र मर्दापर्दा यसको प्रयोग हुने उनी बताउँछन्। पछिल्लो समय रक्सीको अनियन्त्रित प्रयोगले समस्या सिर्जित हुन थालेको उनी बताउँछन्।

'साइनो गाँस्ने र कुटुम्ब गाँस्नेसम्मको कार्यमा यसको प्रयोग हुन्छ,' उनी भन्छन्, 'यो संस्कृतिसँग जोडिएको छ।' साइनो गाँस्ने काममा प्रयोग हुँदै आएको रक्सी पछिल्लो समय साइनो टुटाउने अस्त्रजस्तो बनेकोमा भने उनी चिन्तित छन्।

पछिल्लो समय जात्रा–पर्वमा परम्परागत र अन्य जुनसुकै बेला आधुनिक मदिरा प्रयोग गर्ने चलन बढेसँगै यो झगडाको कारक पनि बन्न थालेको छ।

'सगुन बनेर सम्बन्ध जोड्दै आएको रक्सी पछिल्लो समय बढी नै नशालु बनेर सम्बन्ध तोड्ने कारक बन्दैछ,' महासंघका अध्यक्ष कुम्हाल थप्छन््, 'मिलाएर खाँदा औषधिको काम गर्दै आएको यो चिज जथाभाबी पिउँदा विषालु बन्दैछ।'

आदिवासी जनजातिमा प्रयोग हँुदै आएको रक्सी पछिल्लो समय बाहुन–क्षत्री समुदायले पनि पिउन थालेको उनी सुनाउँछन्।

रक्सी संस्कृतिमा यो कतिसम्म घुलेको छ भने यसबाट घरमा रहेका जनावरसमेत अछुतो छैनन्। कतै खेत जोत्ने गोरुलाई थकान हटोस् भनेर पियाइन्छ त कतै फूर्तिलो बनाउन खुवाइन्छ। भक्तपुरको नवदुर्गास्थानमा दसैंको समयमा सिँदुर र तेल दलिएका राँगोलाई ( खँम्य) जाँड, रक्सी खुवाएर दर्शकमाझ दौडाउने गरिन्छ।

नवमीको रात त्यही राँगोलाई महिषासुरको प्रतीक मानी ब्रह्मायणी मन्दिरमा नवदुर्गा गणले बलि चढाइन्छ।

रक्सीको सांस्कृतिक महत्व अझै पनि छ। बिहे–पर्वमा मात्र होइन, जन्म र मृत्युमा समेत रक्सीले चोखिने संस्कृति कायमै छ। तर यसको अत्यधिक प्रयोग हुन थालेपछि सर्वसाधारण डराउन थालेका छन्। रक्सी 'विषालु' बन्न थालेको उनीहरुको बुझाइ छ।

कुनै समय रक्सी बनाउन जान्ने बुहारी खोज्ने समुदाय रक्सी नखाने केटा–केटी खोज्न थालेका छन्। कतिपयले अहिले सांस्कृतिक कार्यहरूमा जाँडरक्सीलाई सांकेतिक प्रयोगमा मात्र प्रयोग गर्न थालेका छन्।

'मैले मेरो छोरालाई सगुन खुवाउँदा अन्डामा रक्सी छर्किदिएँ मात्र,' दामोदर सुवाल थप्छन्, 'पछिल्लो समय यसमा देखिएको विकृतिले रक्सीदेखि डर लाग्न थालेको छ।'

प्रतिक्रिया

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति...

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा...

राजमार्गमा छैन फुटपाथ

भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

सिन्धुपाल्चोक- कालु तामाङ तातोपानी बसेर मजदुरी गर्थे। उनको गाउँ कागुनेमा कोदो रोप्ने चटारो थियो। खेताला नपाएर आजित पत्नीले राति सुत्ने बेलामा उनलाई फोनबाट गुनासो गरिन्। कालुले बिहानै कोदो रोप्न आइपुग्ने...

राजधानी भित्रनेलाई कडा जाँच

राजधानी भित्रनेलाई कडा जाँच

काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको...

नजलेका काठको क्षतिपूर्ति सिफारिस

डडेल्धुरा- जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न राजनीतिक दलसँग आबद्ध काठ ठकेदारको दबाबमा आगलागी नभएका काठसमेतको क्षतिपूर्ति दिलाइदिने प्रपञ्च गरिरहेको छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र लुम्बिनीबाट जारी गरिने

भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको...

लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै

भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।