Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

खण्डहरमा खिलखिलाउँदै नयाँ जीवन

(0 votes)
खण्डहरमा खिलखिलाउँदै नयाँ जीवन
भक्तपुर–डेकुचास्थित डेरामा छोरा सोनिसलाई काख च्यापेर अन्तर्वार्ता दिँदै थिइन् रस्मिला अवाल । सोनिस भन्नासाथ दिमागमा झलझली आइहाल्छ, भग्नावशेष पन्छाएर झिकिएका बालकको तस्बिर । वैशाख १२ को भूकम्पमा घर भत्किएपछि २२ घन्टा पुरिएका थिए उनी । तिनै सोनिसलाई भेट्ने प्रतीक्षामा थियौं हामी गत सोमबार । पत्रकारको अघिल्लो टोली उनको खबर बुझ्दै थियो । हाम्रो पालो आइसकेको थिएन । त्यत्तिकैमा अर्को हुल पत्रकार आइपुगे । उनीहरू पनि हामीसँगै बसेर पालो पर्खिए । तेस्रो हुल पनि आइपुग्यो । साँच्चै, वैशाख १२ यता सबैको ध्यान यिनै बालकले खिचिरहेका रहेछन् ।
nepali-patro-may
सोनिस अहिले १७ महिनाका भइसके । चर्चित तस्बिरमा धुलाम्मे अनुहारमा देखिएका उनका गालामा लाली चढिसकेछ । आँखामा गाजल टल्किरहेथ्यो । ढोकाबाट हामीलाई देख्नेबित्तिकै मुसुक्क हाँसे उनी ।

भूकम्पको वर्षदिनपछि पनि अवालको डेरामा पत्रकार र सर्वसाधारणको ताँती टुटेको छैन । मुलुकका मात्र होइन, विदेशका नाम चलेका अखबारमा पनि मुख्य समाचार बनिरहेकै छन्, सोनिस । पत्रकार आएको आयै छन् । वैशाख लागेपछि यो क्रम निकै बढेको छ ।

'हिजो जापानका पत्रकार आएका थिए, अस्ति अमेरिका र फ्रान्सबाट मान्छे आए,' अन्य पत्रकार हिँडेपछि रश्मिले हामीलाई सुनाइन्, 'अचेल मलाई अन्तर्वार्ता दिँदैमा भ्याइ–नभ्याइ छ ।' विभिन्नथरी मान्छेलाई घरीघरी उस्तै कुरा बताउनुपर्दा झिँझो मान्दिनन् उनी । बरु भन्छिन्, 'मेरो छोराको कथा नै यस्तै छ, यसमा खुसी र आँसु दुवै मिसिएको छ ।' आमाले यसो भनिरहँदा सोनिस भने आगन्तुकको मुहार नियाल्दै मन्द मुस्काए ।

सोनिस र उनको भोगाइले देशैभरिका भूकम्पपीडितको अवस्था चित्रण गर्छ । स्थानीय शिक्षक दामोदर सुवाल सोनिसलाई भूकम्पले थिचिएर उठ्दै गरेका आमपीडितको विम्ब मान्छन् । अनि, सोनिसको जीर्ण घरलाई भूकम्पमा घरबार गुमाएका सर्वसाधारणको साझा समस्या ठान्छन् । 'त्यसैले सोनिस र उसको घरले सारालाई तानेको छ,' सुवाल भन्छन्, 'पुरिएकाहरू हिँड्न थालिसके तर उनीहरूको घर अझै ठडिन सकेको छैन ।'

यस्तो छ सोनिस बाचेको कथा

भूकम्पले सारा मुलुक रोइरहेका बेला भग्नावशेषबाट २२ घन्टापछि बालक सकुशल निकालिएको खबरले संसारको ध्यान तान्यो । झन्डै १० हजार मानिस गुमाएर शोकको अँध्यारोमा डुबिरहँदा पाँचमहिने बालक आशाको दियो बनेर चम्किए । भग्नावशेषबाट उनलाई जीवितै निकाल्नु कुनै चमत्कारभन्दा कम थिएन ।

वैशाख १२ गते मूलढोका–४ की रस्मिला अवाल पाँचमहिने सोनिस र १० वर्षीया छोरी सोनियालाई घरमै छाडेर बाहिर निस्केकी थिइन् । अचानक भूकम्प आयो । हेर्दाहेर्दे बाटाका घर गल्र्याम–गुर्लुम ढले । उनी जेनतेन जोगिइन् । उनको घर पनि पुरानै थियो । अब उनलाई त्यहाँ रहेका आफ्ना सन्तानको चिन्ताले सतायो ।

रस्मिला आत्तिँदै घर पुगिन्, पूरै ढलिसकेको थियो । उनका दुईसहित जेठानीका दुई छोरी त्यहीँ पुरिएका थिए । उनले हारगुहार गरिन् । करिब दुई घन्टाको प्रयास पछि छोरी सोनियालाई सुरक्षित निकालियो । जेठानीका १७ र १५ वर्षका दुवै छोरी मृत भेटिए । पाँचमहिने सोनिसको भने अझै अत्तोपत्तो थिएन ।

अनुकम्पन आइरहेकै थिए । जमिन जति हल्लन्थ्यो, घरका इँटा र माटो उति तल खस्थ्यो । उनी झनै डराइन् । अचानक छोरो रोएको मसिनो स्वर कानमा पर्यो । यसले उनी जीवितै रहेको आशा त पलायो तर कहाँ छन् पत्तो लाग्न सकेन ।

त्यही क्रममा उद्धारका लागि आएको नेपाली सेनाको टुकडीसँग उनले सहयोगको आग्रह गरिन् । सैन्य टोली तत्कालै भग्नावशेष पन्छाउन थाल्यो । तर, उनीहरूले पनि ठाउँ यकिन गर्न सकेनन् । वरिपरिबाट सर्वसाधारण पनि सघाइरहेकै थिए ।

सेनाले राति ११ बजेसम्म अथक प्रयास गर्यो तर सोनिस भेटिएनन् । लगातार अनुकम्पनले असुरक्षा उत्तिकै थियो । सेना राति फर्कन खोज्यो, उनले रोकिन् । उनीहरूले बिहान चाँडै आएर खोज्ने बाचा गरे । रस्मिला भने रातभर भग्नावशेष कुरेरै बसिरहिन् । उनका आँखा एकछिन पनि ओभाएनन् ।

१३ गते बिहान उज्यालो नहुँदै सेनाको टोली आइपुग्यो । उनीहरूले निकै होसियारीसाथ काम गरे । बालक जिउँदै रहेको थाहा पाए पनि अलिकति गल्तीले उनी जोखिममा पर्न सक्थे । अनवरत प्रयासपछि बिहान १० बजे सोनिस सकुशल फेला परे । शोकमा डुबेको मूलढोकामा अचानक खुसी छायो । त्यसको तरंग देशैभर पुग्यो ।

हटेन खण्डहर

मूलढोकास्थित आफ्नो घरको भग्नावशेषछेउ उभिइरहेकी थिइन्, रस्मिला । त्यही खण्डहरमा खेल्दै थिए सोनिस । 'यी छोरो हिँडिसक्यो,' उनले भनिन्, 'तर, यहाँको अवस्था यस्तै छ ।' भूकम्पको लामो समय बित्दा पनि राज्यले वास्ता नगरेपछि चिन्तित छिन् उनी । 'जनतालाई यही खण्डहरमै बस भनेको हो कि,' उनले आक्रोश पोखिन्, 'नत्र केही बाटो त दिनुपर्यो नि ।' भूकम्पमा जीवन जोगाएकालाई बाच्न झनै कठिन भएको उनले सुनाइन् । भूकम्पले एक वर्षअघि भत्काएको घर उस्तै थियो । असरल्ल काठपात, इँटा, माटो पन्छाइएको थिएन ।

सोनिसको दिनचर्या

सोनिस निकै चञ्चल छन् । बिहान ६ बजेतिर उठ्नेबित्तिकै आमाले कालो चिया र बिस्कुट दिन्छिन् । त्यो खाएपछि बिहानभर दिदीसँग खेल्छन् । होमवर्क गर्न लागेको कलम तानिदिन्छन् । 'कापीमा केर्न खोज्छ अनि हाँस्छ,' रस्मिला सुनाउँछिन् ।

दिउँसो लिटो त कहिले चाउचाउ खान्छन् सोनिस । बिहानबेलुका दाल–भात खान्छन् । चकलेट निक्कै मन पराउँछन् । उलाई भेट्न आउने अधिकांशले बिस्कुट, चकलेट ल्याइदिन्छन् । 'मोबाइल चलाउन खोज्छ । बाइक चढ्ने रहर गर्छ । मोटर देख्यो कि हाँस्छ, धुलोमा खेल्न खोज्छ,' रस्मिलाले भनिन् ।

यसै वर्ष मंसिर २९ गते सोनिसको पहिलो जन्मोत्सव मनाइयो । आमाले उनलाई सगुन खुवाइन् । यसपालिको बिस्केटमा निकै रमाए उनी । लिङ्गो ठड्याउने जात्रा हेरे, बाजाको धुनमा नाचे । 'त्यहाँ बाजा बजेको देखेपछि अहिले घरमा आएर भाँडा बजाउन थालेको छ,' रस्मिलाले हाँस्दै भनिन्, 'साह्रै चञ्चल छ, रमाइलो बनाइदिएको छ हामीलाई ।'

पीडितप्रति सरकारको चालचलनले भने उनी निराश छिन् । सरकारको अनुदान कहिले आउने, थाहा छैन । घर भत्केको तर आफ्नो नाममा लालपुर्जा नभएकाले सहयोग पाउने आशा धमिलो भएको सुनाउँछिन् उनी ।

तस्बिरका अर्का पात्र

२२ घन्टासम्म पुरिएका बालकको सकुशल उद्धारको त्यो तस्बिरमा एक नेपाली सेनाको अनुहार पनि देखिन्छ । कतै उनले सोनिसलाई काखामा लिएको देखिन्छ त कतै अनुहारको धुलो उडाउँदै गरेको । उनी हुन्, नेपाली सेनाका सुबेदार दीपक राई ।

भूकम्पले जनधन क्षति गरेपछि १ नम्बर विपत् व्यवस्थापन गण, सुन्दरीजलमा कार्यरत उनी टोलीसँगै भक्तपुर पुगेका थिए । जताततै बीभत्स दृश्य, रुवाबासी चलिरहेको थियो । अधिकांश पुराना घर भत्किसकेका थिए । मान्छे चौर र खेतमा आइपुगेका थिए ।

मूलढोकानजिकै एउटा घर भत्कँदा चार जना मान्छे पुरिएकोमा दुई जनाको मृत्यु भइसकेको खबर थियो । जीवितमध्ये एक जनालाई दुई घन्टामै निकालिए पनि पाँचमहिने बच्चा निकाल्न नसकिएको खबर सेनामा पुग्यो ।

त्यसलगत्तै राईसहितको टोली मुभ भयो । 'घटनास्थल र परिवेश हेर्दा हामीलाई पुरिएको बालक जिउँदो भेटिएलाजस्तो लागेको थिएन,' उनले भने, 'तर पनि होसियारीसाथ भग्नावशेष पन्छाउँदै खोजी जारी राख्यौं ।'

लगातार अनुकम्पनले वरपरका जीर्ण घर भत्कने खतरा थियो । नेपाली सेनाको भोलिपल्ट बिहानै खोज्ने भन्दै राति ११ बजे फर्कियो । तर, दीपकको मनमा रातभर त्यही बालकको आइरह्यो । कानमा उसकी आमाको चित्कार गुन्जिरह्यो । बिहान झिसमिसेमै उनीहरू मूलढोका पुगिहाले ।

'उद्धारको अन्तिम चरणमा बच्चा रोएको मधुरो आवाज मेरो कानमा पर्यो,' उनले भने, 'तब मात्र बच्चा जिउँदै छ भन्नेमा विश्वस्त भएँ ।' माटाको धुलो र खुर्सानीको पिरोले त्यहाँका वातावरण निक्कै कष्टप्रद रहेको उनी सम्झन्छन् । यी सब छिचोल्दै जब उनी शिशुनजिक पुगे, निकै खुसी भए ।

पाँचमहिने सोनिस उल्टिएको कुर्सीमुनि सुतिरहेका थिए । खुट्टा अलिकति किचिएको थियो । अनुहार धुलाम्मे थियो । सुबेदार राई नजिकै गए अनि शिशुलाई बिस्तारै बाहिर निकाले । निस्सासिलो वातावरणबाट खुला स्थानमा आएलगत्तै शिशु मुस्कुराएको उनले बताए । 'जिन्दगीको निकै खुसीको क्षण थियो त्यो,' उनले भने, 'हाम्रो टोली निकै हर्षित भयो ।'

केही क्षणमै शिशुलाई अस्पताल लगियो । राई फेरि अन्यत्र खटिइहाले । सोनिसको उद्धार गरेको तस्बिर पत्रिकाका अघिल्ला पृष्ठमा छापिँदा उनी भक्तपुरका गल्लीमा उद्धार गर्दै थिए । 'काममै जुटिरहेका बेला शिशुसहित आफ्नो तस्बिर पत्रिकामा छापिएको देखेँ,' उनले भने, 'एकछिन हेरेँ, फेरि आफ्नै काममा लागेँ ।' केही दिनमै सोनिसको परिवारले राईको टोलीलाई बोलाएर धन्यवाद दियो ।

गत बिहीबार राईलाई भेट्न जाँदा उनी गणमा विपत् व्यवस्थापनसम्बन्धी तालिम लिँदै थिए । टाउकोमा हेल्मेट, हातमा पन्जा लगाएका उनी भूकम्पले भत्केको घरमा मानिसको कसरी उद्धार गर्ने भन्ने तालिम सिक्दै छन् । उनी असिनपसिन थिए तर अनुहारमा मुस्कान थियो । 'यो मानिसको जीवन बचाउने तालिम हो,' उनले भने, 'यसमा सहभागी हुँदा खुसी लाग्छ ।' राईले उद्धार गरेर आमालाई जिम्मा लगाएयता सोनिसलाई भेटेका रहेनछन् । केही दिनअगाडि खिचेको सोनिसको तस्बिर क्यामेरामा देखाउँदा हर्षित भए उनी । 'ओहो, निकै ठूलो भएछ,' उनले भने, 'जीवन सार्थक लागेको छ ।' फुर्सद मिलाएर सोनिसलाई भेट्न जाने उनले बताए ।

१ नम्बर विपत् व्यवस्थापन गण, सुन्दरीजलका गणपति प्रमुख सेनानी जगदीश खड्का भूकम्पको समयमा यस गणले ९ व्यक्तिको जीवितै उद्धार गरेको बताउँछन् । विपत्मा खटिएर काम गर्ने दीपक राईसहित पाँच जनालाई प्रधानसेनापतिले प्रशंसापत्रसहित 'कम्बिनेसन ब्याच' प्रदान गरेका थिए । 'विपत्को घडीमा जनतामाझ पुगेर काम गर्न पाउँदा खुसी छौं,' खड्काले भने, 'विपत्मा खट्न नेपाली सेना सधैं तयारी अवस्थामा छ ।'

सोनिसको उद्धार तस्बिरसँगै आममानिसमा नेपाली सेनाप्रतिको आस्था झनै प्रगाढ भएको छ । 'सेना लडाइँ लड्ने मात्र होलाजस्तो लाग्थ्यो, यो घटनापछि उसको काम जीवन बचाउनेजस्तो लाग्यो,' अवालका छिमेकी विक्रम संगाछी भन्छन्, 'नेपाली सेनाको अथक प्रयासले बचाएको बालक आँखैअखि खेलिरहेको देख्दा गर्व लाग्छ ।'

चर्चित तस्बिरका फोटोग्राफर

भक्तपुर, झौखेल–८ का अमूल थापाले वैशाख १३ गते बिहान खिचेको सोनिस अवालको तस्बिरले नाम र दाम दुवै दिलायो । भूकम्पपछि घर फर्कंदै गर्दा उनी मूलढोका पुगेका थिए । अघिल्लो दिन त्यहाँ उद्धारमा जुटे । भोलिपल्ट त्यहाँको तस्बिर पनि खिचे जुन संसारप्रसिद्ध भयो । उनी एकाएक चर्चामा आए । 'मलाई पनि यो तस्बिरले निकै खुसी दियो,' उनी भन्छन्, 'मैले खुसीको तस्बिर खिचेको थिएँ ।'

भूकम्पले घर भत्केको पीडासमेत भुलेर बालकको उद्धारमा खटिएका उनी सुरुमा निकै तनाबमा थिए । 'जब बच्चालाई जीवित देखेँ, मेरो सबै पीडा हरायो । सबै जना ताली बजाइरहेका थिए,' उनी भन्छन् ।

सोनिसकी आमा अमूलप्रति कृतज्ञ छिन् । 'त्यो तस्बिरले सोनिसलाई माया गर्नेको संख्या निकै बढ्यो,' उनी भन्छिन्, 'मानिस भेट्न आउँथे, खुसी भएर फर्कन्थे ।'

प्रतिक्रिया

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति...

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा पासमा लागू डिजिटल प्रणाली अहिले १४ वटा वडामा...

राजमार्गमा छैन फुटपाथ

भक्तपुर- अरनिको राजमार्गको सूर्यविनायक–बनेपा सडकखण्डमा बटुवाहरू असुरक्षित रुपमा हिँडन बाध्य छन्। यसको एक मात्र कारण दुई लेनको उक्त सडकखण्डमा बटुवा हिँडनका लागि फुटपाथ नै छैन।

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

जुरे पहिरोपीडित उपेक्षित : 'प्रकृति र सरकार दुवै निर्दयी'

सिन्धुपाल्चोक- कालु तामाङ तातोपानी बसेर मजदुरी गर्थे। उनको गाउँ कागुनेमा कोदो रोप्ने चटारो थियो। खेताला नपाएर आजित पत्नीले राति सुत्ने बेलामा उनलाई फोनबाट गुनासो गरिन्। कालुले बिहानै कोदो रोप्न आइपुग्ने...

राजधानी भित्रनेलाई कडा जाँच

राजधानी भित्रनेलाई कडा जाँच

काठमाडौं- राजधानी भित्रिने यात्रुलाई प्रहरीले मुख्य नाकामा कडा जाँच गर्न थालेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले नागढुंगालगायत विभिन्न ठाउँमा जाँच कडा पारेपछि यात्रुले सास्ती पाएका छन्। के कारणले जाँच गरिएको...

नजलेका काठको क्षतिपूर्ति सिफारिस

डडेल्धुरा- जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न राजनीतिक दलसँग आबद्ध काठ ठकेदारको दबाबमा आगलागी नभएका काठसमेतको क्षतिपूर्ति दिलाइदिने प्रपञ्च गरिरहेको छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र लुम्बिनीबाट जारी गरिने

भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको...

लुम्बिनीको अखण्ड शान्तिदीपको ज्योती सगरमाथा आधारशिविर लगिदै

भैरहवा—गत बर्षको भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको असर र अन्तरराष्ट्रिय जगतमा फैलिएको भ्रमलाई चिर्दै पर्यटन प्रवर्द्दन गर्ने उदेश्यले बुद्धजन्मस्थल लुम्बिनीको शान्तिदीपको ज्योती सगरमाथा आधार शिविर लगीने भएको छ।