Sunday 19 Mangshir, 2073 |
Menu

कार्टुन

republica-headerdiscount-subscribe1

istl

मारामार हुने ठेक्काको सम्झौता नै रद्द

(0 votes)
ललितपुर- कुनै समय ठेक्का प्राप्त गर्न ठूलाठूला शक्ति केन्द्रको पहुँच चाहिने जिल्लाको एउटा ठेक्का ठेकेदार सम्झौता गर्न नआएपछि रद्द भएको छ। ठेक्काका लागि पुनः टन्डर आह्वान गर्दासमेत ठेकेदार कम्पनीले खासै चासो देखाएका छैनन्।
nepali-patro-june
ललितपुर उपमहानगरपलिकाको प्रमुख आयस्रोत मानिएको पर्यटक सेवा शुल्क संकलनसम्बन्धी ठेक्का ठेकेदार कम्पनीले अन्तिम समयसम्म सम्झौता गर्न नआएपछि रद्द गरिएको हो। ठेकेदार सचिन महर्जनसहितको समूहले बोलकबोलमा प्राप्त गरेको ६ करोड बराबरको ठेक्का सम्झौता नभई रद्द भएको हो।

उपमहानगरपालिकाका कार्यकारी प्रमुख भरतमणि पाण्डेले ठेक्का रद्द गरी नयाँ ठेक्का प्रक्रिया सुरु भएको बताए। उपमहानगरपालिकाका राजस्व महाशाखाका डिल्लीराज शाक्यले ठेक्काका लागि जमानत राखिएको ३० लाख रुपैयाँ जफत गरी नयाँ टेन्डर आह्वान गरिएको बताए। उनले कात्तिक २४ गते सार्वजनिक सूचना प्रकाशित गरिएको भए पनि हालसम्म बोलपत्र खरिद वा सूचना जानकारीका लागि कोही नआएको बताए। 'ठेकेदारले सम्झौता गर्न नमानेपछि परिषदको कात्तिक १७ को निर्णयअनुसार टेन्डर आह्वान गरेका छौं,' शाक्यले नागरिकसँग भने।

उपमहानगरले गत वर्ष फागुन २७ गते सार्वजनिक सूचना प्रकाशित गरी तीन वर्षका लागि वार्षिक पाँच प्रतिशत रकम वृद्धिको सर्तमा ६ करोड रुपैयाँ भ्याटबाहेकमा पर्यटक सेवा शुल्क संकलन गर्न टेन्डर आह्वान गरेको थियो। ठेक्का प्रक्रिया पूरा गरी सम्झौता गर्ने समयमा भूकम्प गएपछि ठेक्का प्रक्रिया अवरुद्ध भएको थियो।

भूकम्पपछि करिब दुई महिना ठेक्का प्रक्रिया अगाडि बढ्न सकेको थिएन। साउनमा प्रक्रिया अगाडि बढाउँदा ठेकेदारले सम्झौता गर्न आनाकानी गर्दै आएका थिए। राजनीतिक दल, सरोकारवाला, उपमहानगर र ठेकेदार समूहले विभिन्न समयमा छलफल गर्दासमेत सम्झौता हुन सकेको थिएन। ठेकेदार समूहले अन्तमा ठेक्का सम्झौता नगर्ने तर जमानत राखेको रकम फिर्ता पाउन निवेदन दिएका थिए।

उपमहानगरले कानुनमा भूकम्प जस्ता प्राकृतिक विपत्तिका समय ठेक्का प्रक्रियाका विषयमा उचित व्यवस्था नभएको भन्दै जमानत फिर्ता दिन नसक्ने जवाफ ठेकेदार कम्पनीलाई दिँदै आएको छ। 'छलफलले निकास दिन नसकेपछि हामी थप प्रक्रियामा गएका हौं, अहिले हामी आफैं उठाउँदैछौं,' शाक्यले भने।

ठेकेदार समूहका सचिन महर्जनले भने ठेक्काको पहिलो वर्षमै साढे तीन करोड घाटा हुने देखिएपछि समूहले सम्झौता रद्द गर्ने निर्णय गरेको बताए। उनले यस वर्ष डेढ करोडसम्मको घाटा बेहोर्न समूह तयार रहे पनि त्योभन्दा बढी नसकिने बताए। 'तीन वर्षको ठेक्कामा पहिलो वर्ष नै त्यति ठूलो घाटा उठाउन सक्ने अवस्था नरहेपछि सम्झौता गरेनौं,' महर्जनले भने।

सुनसान पाटन दरबार क्षेत्र

नेपालमा पर्यटक आउने मुख्य समयमा पाटन दरबार क्षेत्र पर्यटक शून्यप्रायः भएको छ। दरबार क्षेत्रमा आउने पर्यटकका लागि हातमा क्युरियो समान लिएर बेच्ने हकरसमेत दिक्क मान्दै बसेको देख्न सकिन्छ। उपमहानगरपालिकाले भदौ २० देखि आफैं सेवा शुल्क उठाउँदै आएको भए पनि दैनिक एकपटक मात्र दुई लाख रुपैयाँ उठाएको अनुभव छ। त्यसयता दैनिक ३५ हजारदेखि पचास हजार मात्र औसतमा शुल्क उठाउँदै आएको छ। राजस्व महाशाखा प्रमुख महर्जनले भदौयता ५० लाख मात्र उठ्न सकेको बताए।

उपमहानगरका चार जना नगर प्रहरीसहित १० जना संकलनकर्तालाई मंगलबजार, पाटनढोका र पुल्चोकमा खटाएर सेवा शुल्क उठाउँदै आएको छ।

यता, पर्यटनका लागि खोलिएको सुन्दरी चोक र पाटन संग्रहालयले समेत दैनिक १५ देखि २० वटा टिकटमात्र बिक्री हुने गरेको जानकारी दिएको छ। संग्रहालयका कर्मचारी अविनाश तिवारीले अघिल्लो वर्ष सिजन मानिएको असोजदेखि फागुनमा दैनिक न्यूनतम पचासदेखि दुई सयसम्म पर्यटकले संग्रहालय अवलोकन गर्ने गरेको बताए।

एकद्वार प्रणाली असम्भव जस्तै

पाटन दरबार क्षेत्रमा रहेको संग्रहालय र पाटन क्षेत्रमा प्रवेशवापत लिने शुल्कलाई गाभेर एकमुष्ट एकै स्थानमा रकम संकलन गर्ने योजना असम्भव रहेको उपमहानगरपालिका कार्यकारी प्रमुख भरतमणि पाण्डेले स्पष्ट पारेका छन्। कार्यकारी प्रमुख पाण्डेले संग्रहालयले लिने शुल्क र उपमहानगरले लिने शुल्कको प्रकृति नै फरक रहेकाले गाभ्न नसकिने बताए। बिहीबार प्रधानमन्त्री कार्यालयमा प्रगति विवरणबारे जानकारी दिन गएका पाण्डेले त्यहाँसमेत संग्रहालयको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका थिए। पाण्डेले भने, 'संग्रहालयले उठाउने राजस्व हो। हामीले आन्तरिक शुल्क उठाएका हौं। करको प्रकृति नै फरक छ, प्रस्ताव आएको छ तर कठिन छ।'

पाटन क्षेत्रमा आउने पर्यटकका लागि निश्चित सेवा शुल्क उपमहानगरले ठेक्का लगाएर उठाउँदै आएको थियो। सार्क राष्ट्रका पर्यटकका लागि दुई सय र त्यसबाहेक सबैका लागि पाँच सय सेवा शुल्क तोकिएको छ। यस्तै, पाटन संग्रहालयले समेत इच्छुक पर्यटकबाट चार सय र दुई सयका दरले शुल्क लिने गरेको छ।

प्रतिक्रिया