Sunday 19 Mangshir, 2073 |
Menu

कार्टुन

republica-headerdiscount-subscribe1

istl

किसानका खेत बाँझै, ४० प्रतिशत उत्पादन घट्ने

  • १२ मंसिर, २०७२
  • दिलबहादुर छत्याल
  • Be the first to comment!
(0 votes)
धनगढी– उदासीपुर– १ नक्लीपुरका रामदास चौधरीको ४ बिगाह जमीन गहुँ खेती लगाउन नपाएर पुरै बाँझो छ। सिँचाईका लागि पम्पिङसेट चलाउनु पर्छ ।
nepali-patro-june
तर, डिजेल पाउन नसकेर परिवारजनको हातमुख जोड्ने त्यही जमीन पनि वाँझो रहँदा उनलाई छटपटि बढेको छ। हिउँदे खेती लगाउने समय घर्किन लागिसक्यो । 'डिजेलको अभावमा सिंचाई गर्न नपाएर पुरै जमीन बाँझो छ,' रामदासले दुःखेसो पोखे, 'खेती लगाउने समय गइसक्यो, गहुँ खेती कसरी लगाउने अझै केहि टुंगो छैन।' खेत जोत्न पनि ट्याक्टरका लागि डिजेल चाहिन्छ । सिचाई मात्र गर्न सकेमा गोरुले भएपनि खेत जोत्ने उनी बताउँछन्।

उर्मा गाविस ५ धुरहीका नरेन्द्र चौधरी डिजेल खोज्न लागेको एक महिना भइसक्यो। बिभिन्न पम्पमा पुगेर लाइन पनि लागे, तर उनको हातमा एक थोपा तेल परेन। ३ बिगाह जमीन उनको पनि पुरै बाँझो छ। 'तेल नपाएर खेती लगाउन नपाई खेत वाँझो नै रहने भयो भनेर चिन्ता बढ्दै गएको छ,' कृषि विकास कार्यालयमा तेलको सिफारिस लिन लाइनमा लागेका बेला भेटिएका नरेन्द्रले भने, 'तेल पाइँदैन, तेल नभई खेती लगाउन सकिँदैन।'

धनगढी, राजमार्गका बिभिन्न पेट्रोल पम्ममा उनी तेलका लागि लाइन लागेको बताउँछन्। दिनरात लाइनमा बसेर पम्प नजिक पुग्दा तेल सकियो भनेर कयौं पटक रितो हात फर्केको उनी बताउँछन्। एक दुई पटक लाइनमा लागेर पम्पमा पुग्दा जर्किनमा तेल दिदैनौं भनेर उनलाई निराश पार्दै फर्काइदिएका छन्। 'कैयौं पटक लाइनमा बसेर पनि तेल पाइएन, कृषी विकासको सिफारिसपछि पाइन्छ भनेकाले सिफारिस लिन आएको हुँ,' चौधरीले भने।

रामदास र नरेन्द्र कैलालीका किसानका प्रतिनिधि उदाहरण मात्र हुन्। भारतले लगाएको नाकाबन्दीले तेल, मल नपाएर समय घर्किन लाग्दा पनि किसानहरुले हिउँदे खेति लगाउन पाएका छैनन्। घरपरिवारको जिविकोपार्जन मुख्य आधार आफूसँग भएको जमीनमा खेती लगाउन नपाएपछि किसानहरु चिन्तित बनेका छन्। बिगतका वर्षमा मंसिरको पहिलोसातासम्म पुरै गहुँखेती किसानले लगाइसकेका हुन्थे। बिगतमा हराभरा देखिने जमीनमा फाँटहरु अहिले बाँझो रहेर उराठ लाग्दा देखिएका छन्।

। 'तेल र मल नपाएर अहिले सम्म खेती लगाउन नपाउदाँ भोक र निद्रा हराएको छ 'धनगढी नगरपालिका ३ कि किसान मनछोटी रानाले दुःखेसो सुनाइन्। केही दिनभित्रै तेल र मलको जोहो गर्न सकेर खेती लगाउन नपाएर परिवार केले पाल्ने भन्ने चिन्तामा किसानहरु छन्। 'हामी गरिब मान्छेको परिवार पाल्ने आधार यही खेती हो, खेती लगाउने जमीन बाँझो रहे केले परिवार पाल्ने होला,' गदरियाका ३ किसान राजकुमार चौधरीले भने। डिजेलजबाट पम्पसेट चलाएर वोरिङवाट पानी निकालेर जमीनमा सिँचाई गर्ने गरिन्छ। सिँचाई नगरी जमीन जोत्न पनि असजिलो हुने गर्छ भने सिँचाई नगरेको जमीनमा लगाएको गहुँ राम्ररी नउम्रने किसानहरु बताउँछन्।

'सिँचाई नगरी खेती लगाउनुको अर्थ हुँदैन, बाली उम्रँदैन,' उदासीपुर २ का किसान शंकर खाती भन्छन, '२ बिगाह जमीन बाँझो छ।' तेलको अभावमा सिँचाई पनि गर्न नपाएको र खेत पनि जोत्न नपाएको उनको भनाई छ। तेल नपाएर खेती लगाउन नपाएका कैयौँ किसानहरुले तेलको अभावमा थ्रेसर चलाउन नपाएर धानबाली समेत भित्र्याउन पाएका छैनन्।

कृषि बिकास कार्यालय कैलाली योजना अधिकृत तथा सूचना अधिकारी खेमराज जोशीले नकाबन्दीका कारण तेल र मल अभावले यो वर्ष किसानका खेत बाँझै रहने बताएका छन्। कैलालीमा ढिलो खेती लगाउँदा गर्मीले गहुँको दाना पोटिलो नहुने भएकाले मंसिर पहिलो सातासम्म खेती लगाइसक्ने गरे पनि यो वर्ष अहिलेसम्म करिव आधा जमीनमा खेती लगाउन नसकिएको जोशी बताउँछन् । 'तेल र मलको अभावले खेती लगाउन नसकेर कयौं जमीन अझै बाँझो छ,' जोशीले भने ।

प्रतिक्रिया