Sunday 16 Ashwin, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

मुम्बईमा बौद्धिक बेइमानी

(1 Vote)
चार महिनायता सम्पूर्ण तराई, मधेस आन्दोलित छ। आवागमन सहज छैन। यस्तो असहज परिस्थितिमा मुम्बई जानु पर्ने भएकाले पुस ३ गते काठमाडौंबाट जनकपुरसम्म बुद्ध एयरबाट यात्रा गरें।
nepali-patro-june
१२ बजे जनकपुर अवतरण गरेपछि मिथिला चित्रकलाका कलाकार अजित साहलाई गुहारें। उनी स्कुटी लिएर आए। उनको घरमा पाहुना बनें र मिथिला कलाबारे गृहकार्य थालें। मुम्बई जानु पछाडि तीन वटा कारण थिए। प्रथमतः बाह्रौं अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा भाग लिनु, स्वास्थ्य जाँच गराउनु र मिथिला लोक कलासम्बन्धी पुस्तकको पाण्डुलिपिलाई अन्तिम रुप दिनु।

अर्को दिन बिहान ७ बजे जिरो माइल पुगें। त्यहाँ मुम्बई यात्राका नेपाल तिरका आयोजकले एउटा टाटा सुमो प्रबन्ध गरेका थिए। त्यसैमा हामी ९ जना त्यहाँबाट दरभंगा प्रस्थान गर्यौं ।

मौसम घमाइलो नभए पनि गुलाफी जाडो भएकाले गफिँदै १० बजे दरभंगा पुग्यौं। रेलवे स्टेसनको द्वितीय श्रेणीको प्रतीक्षालयमा मालसामान राखेर हामी दरभंगा टावरनजिक होटलमा दिउँसोको भोजन गर्न गए पनि रेल छुट्ला भन्ने पीरले बरु 'गाँस छोड्नु तर साथ नछोड्नु' भन्दै त्यसै फर्कियौं।

हामी सबै सुरक्षित रेलको कम्पार्टमेन्टमा मालसामान बोकेर पस्यौं। आयोजकलाई एक महिना अघि सूचित गरे पनि उनले मेरो सिट आरक्षित गरेका रहेनछन्। म अरुको आरक्षित सिटमा बस्न पुगें जो आइपुगेका थिएनन्। म टिकट नकाटेको यात्रीजस्तो अर्काको स्लिपरमा सुत्ने पक्कापक्की भयो। त्यतिखेर हामी छक्क पर्यौंक, जब ढिलाइका लागि विख्यात बिहारको रेल पनि ठीक समयमा स्टेसनबाट प्रस्थान गर्योर। रेल मुजफ्फरपुर पुग्दा वास्तविक बिहारको बहार हेर्न बाध्य भयौं। स्टेसनमा रेल रोकिनासाथ हुलका हुल बेरोजगार युवा हाम्रो आरक्षित कम्पार्टमेन्टमा सरासर दाखिल भए। तिल राख्ने ठाउँ पनि बाँकी नराखि ढसमस बसे। आरक्षित कम्पार्टमेन्टमा यस्तो भीड होला भनेर मैले कल्पनासमेत गरेको थिइँन। ती युवा सरकारी सेवा प्रवेशका लागि अर्को दिन हुने जाँच दिन बिहारबाट उत्तर प्रदेश यात्रा गर्दै थिए। बिहारका बेरोजगार युवाको जाँच केन्द्र राखिएको थियो, उत्तर प्रदेशको बनारस, गोरखपुर र इलाहाबादमा।

स्थिति कस्तो भयो भने रेलमा उपलब्ध हुने चिया चमेनासमेत पाउनु चुनौतीपूर्ण भयो। हामी बिस्कुट र घरबाट ल्याएको खानेकुरा साटासाट गर्न थाल्यौं। त्यो भीड इलाहाबादसम्म जानेवाला थियो र कुनै ढिलाइ नभए रेल करिब ११ः३० बजे इलाहाबाद पुग्थ्यो।

इलाहाबाद पुगेपछि बल्ल सन्तोषको सास लियौं। हामी सुत्ने चँाजो मिलाउन थाल्यौं। भोको पेट निद्रा लाग्दैन भनेर म स्लिपिङ ट्याब्लेट खाएर सुतें। रात गहिरो निद्रा नपरि झकाएरै बित्यो। अर्को दिन बिहान रेलमै ब्रेकफास्ट, टोस्ट र भेजिटेबल कटलेट खाएको ५० भारतीय रुपैयाँ खत्रक्क तिर्दा जे भए पनि खाएर ज्यान त जोगाउनै पर्योे भन्ने ठानें। दिउँसो पनि ठीकै खानाको सय रुपैयाँ तिर्नु पर्योद।

त्यसपछि मुम्बईसम्मको बाँकी यात्रा भने सकुशल र सुखद नै भयो। ठीक पुस ६ को बिहान ६ बजे हामी मुम्बई ओर्लियौं। कार्यक्रमस्थल त्यहाँबाट ६५ किलोमिटर पर बिरार भन्ने ठाउँमा राखिएकाले हामीलाई लिन रिजर्भ बस स्टेसन आइपुगेको थियो। हामी ९ जना नेपालीका लागि होटलको कोठा नं १०५ आरक्षित थियो। होटलमा तीन साथीका लागि बेडको व्यवस्था नभएकाले उनीहरूलाई सुत्ने व्यवस्था तल मिलाइयो।

त्यो आराम गर्ने दिन थियो र लन्च निर्धारित समयमा तयार भयो। मिठाइयुक्त भोजनमा मुम्बई र मिथिलाका परिकार थिए। केही साथी त्यहाँको पहाडस्थित जीवदानी देवीको दर्शन गर्न गए। त्यहाँ रिक्सा र रोपवेबाट जान सकिने रहेछ। म चाहीँ होटलमै आराम गर्ने अड्डी लिएर बसें। बेलुका बिरारमा नै विहार गर्न थालंे। कार्यक्रमस्थलमा भव्य मञ्च बनाइएको थियो। भव्य नहोस् किन बिरार महानगरपालिका घोषित भए पनि सबै व्यवस्था नभएकाले त्यहाँका विधायक हरेन्द्र ठाकुरले २५ लाख रुपैयाँ मञ्च निर्माण र साजसज्जाका लागि अनुदान दिएका रहेछन्। मूलद्वारमा राखिएको विज्ञापनमा प्रसिद्ध गायक उदितनारायण र साधना सिन्हाको बडेमानको आकर्षक रंगीन तस्बिर आकर्षणको केन्द्रविन्दु थियो। रात्रिभोज सकिएपछि हामी होटलमा आरामले सुत्यौं।

पुस ७ गते निर्धारित शोभायात्राको समय थियो ११ बजे बिहान तर सुरु भयो एक बजे दिउँसो। शोभायात्रामा धोती र कुर्तामा सजिनुपर्ने उर्दी भए पनि हामीसँग नभएकाले कुर्ता पायजामामा सहभागी भयौं। मुम्बईको मध्यान्ह मनोरम एवं मनोहर थियो। तीन किलोमिटर शोभायात्राले हामीलाई भित्रैबाट तताई दिएको थियो। भव्य मञ्चमा प्रमुख अतिथि र विशेष अतिथि आसिन भइसकेपछि सम्मेलनका महासचिव डा. वैद्यनाथ चौधरी बैजूको अध्यक्षता र बिहार सरकारको सहरी विकासमन्त्री महेश्वर हजाराको प्रमुख आतिथ्यमा उद्घाटन भयो। कार्यक्रममा विभिन्न भाषासेवीलाई मिथिला रत्न उपाधिबाट अलंकृत गरियो। नेपालका नेपाली भाषासाहित्यसेवी नन्दलाल आचार्य सम्मानित भए।

पुस ८ गते बिहानी सत्रको संगोष्ठीको विषय 'प्रवासमा भोगेको कटुमधु अनुभव'को अभिव्यक्ति। विषय सान्दर्भिक भए पनि सहभागीको प्रस्तुति भने प्रशंसनीय हुन सकेन। हामीलाई त्यहाँसम्म यात्रा गराउने जिम्मेवारी लिएका नेपाल तिरका आयोजकको नाम उद्घोषण हुँदा उनको डिग्रीलगायत सबै नालिबेली सविस्तार वर्णन गरिँदा डाक्टर र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यजस्ता व्यक्ति पनि अझै यस्ता निम्न कोटीका मोहबाट मुक्त हुन नसकेको स्रोताले सुनेर स्तब्ध भए।

आयोजक हुनु पनि अहोभाग्यको कुरो हुँदो रहेछ। आयोजकले आर्थिक लाभमा अत्यधिक आसक्ति देखाउनु पनि फेसन भैसकेको छ अचेल। सबै पारदर्शी हुनुपर्नेमा अपारदर्शी हुनु अशोभनीय हो। सबै सहभागीको बाटो खर्चको जिम्मा लिएपछि मूल आयोजकसँग सबैको रकम भुक्तानी लिनु र सहभागीलाई कन्चो पनि नदिनु सर्वथा लोलुपताको पराकाष्ठा हो। मुम्बई महानगरमात्र होइन 'माया नगरी' पनि हो र यहाँ चेलीबेटी बेचबिखनको परम्परा लामो भए पनि बुद्धिजीविलाई पनि त्यस्तै व्यवहार गर्नु बौद्धिक बेइमानी हो। सबै सहभागीको रकम कुम्ल्याएर दादरस्थित सुविधा डिपार्टमेन्टल स्टोरमा आफ्ना परिवारका लागि महँगा लुगाफाटा खरीद गर्नुलाई निर्लज्जताबाहेक के भन्न सकिन्छ।

हिजोआज उपभोग्य सामग्रीजस्तै भाषा, साहित्य र संस्कृतिको पनि मोलतोल हुनु बिडम्बना हो। धन्न बाटो खर्चको अभावमा नेपाली बुद्धिजीवि/लेखक मुम्बईमा बन्धक हुन परेन। दृश्यावलोकनको खर्च रकम आयोजकसँग बुझेर सबै खर्चको बोझ सहभागीको टाउकोमा हाल्नु बौद्धिक दिवालियापन हो। आयोजक भएर पनि हरेक वर्ष यस्तो आर्थिक लाभ लिनेलाई के भन्ने? मैले दुई वर्षअघि पनि मुम्बई राम्रोसँग घुमफिर गरिसकेको भए पनि सहयात्रीलाई साथ दिनु न्यायसंगत लाग्यो। मुम्बईको मनोरम मौसममा गेट वे अफ इन्डिया, मरिन ड्राइभ, चौपाटीका साथै महालक्ष्मी दर्शन र भ्रमण जतिपल्ट गरे पनि आनन्द आउँछ। त्यसै पनि मलाई मुम्बईको मौसम सबैभन्दा बढी मनपर्छ।

नेपाल तिरका आयोजकले आफूलाई बृहस्पति नै ठानेपछि स्वदेश र विदेश सबैतिर यस्तै अशोभनीय स्थिति सामना गर्नु्पर्छ। मिथिलावासी मञ्चप्रिय हुन्छन्। अपमानित भएरै पनि मञ्चमा बस्ने लोभ त्याग्न सक्दैनन्। आफ्नो मपाईं सिद्ध गर्न सिद्धहस्त हुन्छन्। आफूलाई सर्वज्ञ ठानेर अरुलाई खसाल्ने र खुट्टा तान्न खप्पिस हुन्छन्। विदेशका कार्यक्रममा सामेल हुँदा पनि आफ्ना अशोभनीय आनीबानी परिवर्तन गर्न रुचाउँदैनन्। यस्तै कटुमधु अनुभव सँगालियो यसपल्टको मुम्बई यात्रामा।

मैथिली भाषा, साहित्य र संस्कृति प्रतिको अभिरुचिले गर्दा आफूले १५ हजार रुपैयाँ आर्थिक हानि बेहोर्नु पर्योर। मलाई पश्चाताप पनि लाग्न थालेको थियो, यो रकममा एउटा मैथिली भाषा, साहित्य र संस्कृतिसम्बन्धी पुस्तक प्रकाशित हुन सक्थ्यो। यो साहित्यिक अवदान अविस्मरणीय हुन सक्थ्यो तर सम्भव भएन। सभा/गोष्ठीमा सहभागी हुनु महत्वपूर्ण होइन अपितु कुनै कृति प्रकाशित गराउनु उपलब्धिपूर्ण हुन जान्छ। यस्तै निष्कर्ष निकालेर आइन्दा कुनै राष्ट्रिय र अन्तर्राष्ट्रिय संगोष्ठीमा भाग लिन सय पटक सोच्नुपर्ने भएको छ। यस्तै बेलामा भनिएको होला हिन्दी भाषाको यो उखान– 'अब पछताते क्या भया, जब चिडिया चुग गई खेत'।

Leave a comment

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...