Tuesday 10 Ashwin, 2074 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

भन्सार नाकामा कन्टेनर स्क्यानिङ तयारी

(0 votes)
भन्सार नाकामा कन्टेनर स्क्यानिङ तयारी
काठमाडौं-मुलुकका भन्सार नाकामा हुने चोरी पैठारीलाई निरुत्साहित गर्न सरकारले सामान ल्याउने कन्टेनर नै स्क्यानिङ गर्ने मेसिन राख्ने तयारी गरेको छ। तातोपानीलगायत केही ठूला भन्सार नाकामा चोरी तस्करीका घटना नरोकिएपछि भन्सार विभागले कन्टेनर नै स्क्यानिङ गर्ने मेसिन जडान गर्न लागेको हो।
nepali-patro-june
भन्सार नाकामा परिचालित कर्मचारीले व्यापारिक फर्मले पेस गर्ने प्रज्ञापनपत्रअनुसार सामान आयात गर्न अनुमति दिन्छन्। तर, केही व्यवसायीले कन्टेनरका विभिन्न भागमा लुकाएर सुनलगायत सामान चोरी तस्करी गर्दै आएका छन्। यसैलाई रोक्न कन्टेनर नै स्क्यानिङ गर्ने तयारी विभागले गरेको हो।
‘भन्सारका कर्मचारीले प्रज्ञापनपत्रमा उल्लेख भएअनुसार सामान ल्याउन अनुमति दिँदै आएका छन्,' विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले शुक्रबार नागरिकसँग भने, ‘तर कतिपय व्यापारीले कन्टेनर र अन्य सवारी साधनका भित्री भागमा लुकाएर चोरी तस्करी गर्ने गरेका छन्। कर्मचारीले सवारीसाधन खानतलासी गर्न नसक्ने र लुकाएर ल्याउने क्रम पनि नरोकिएकाले गाडी नै स्क्यानिङ गर्न लागिएको हो।' 
उनले तातोपानी, वीरगन्ज, भैरहवालगायत केही ठूला भन्सार नाकामा बेला–बेला चोरी तस्करीका घटना हुने देखिएकाले पहिलो चरणमा यिनै नाकामा मेसिन जडान गर्न खोजिएको बताए। महानिर्देशक ढुंगानाले यसका लागि उपमहानिर्देशक दामोदर रेग्मीको अध्यक्षतामा एक समिति गठन भएको जानकारी दिए। ‘यो–यो भन्सार नाकामा मेसिन राख्नुपर्ने आवश्यक देखियो भन्ने समितिको प्रतिवेदनका आधारमा काम अगाडि बढाइने छ,' उनले भने। समितिले नाकामा मेसिन राख्ने स्थानलगायतका अन्य सबै प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ। 
ढुंगानाले कन्टेनर स्क्यानिङ गर्ने एउटा मेसिनलाई कम्पनी र अन्य सुविधा हेरेर २० करोड रूपैयाँसम्म पर्ने बताए। ठूला भन्सार नाकामा यस्तो मेसिन राख्न सके नाकाहरुबाट हुने चोरी–तस्करी धेरै हदसम्म कम हुने उनले दाबी गरे। विकसित मुलुक सबैले भन्सार नाकामा यस्तै मेसिन राख्ने गरेका छन्। पूरै कन्टेनर नै स्क्यानिङ गरेर हेर्ने व्यवस्था भएपछि व्यापारीले लुकाएर सामान ल्याउने हिम्मत गर्ने छैनन्। 
अहिले तातोपानी भन्सार नाकाबाट आउने मालवाहक सवारी साधनका भित्री भागमा विभिन्न किसिमले फल्स बटम बनाई महँगो धातु सुन ल्याउने गरिएको छ। प्रहरी र राजस्व अनुसन्धान विभागको सक्रियतामा यस्ता केही व्यापारी पक्राउ परेका पनि छन्। 
विभागले आयातमा भइरहेको अवैध कारोबारलाई निरुत्साहित गर्ने उद्देश्यले अधिकांश भन्सार नाकामा कन्टेनरमार्फतमात्र सामान ढुवानी गर्ने व्यवस्था मिलाएको छ। अहिले तातोपानी भन्सार नाकाबाट आयात हुने सामान सबै सिलबन्दी कन्टेनरमार्फत आउने गरेका छन्। आगामी वैशाख १ देखि यो व्यवस्था मेची, विराटनगर, वीरगन्ज, सुक्खा बन्दरगाह, भैरहवा, नेपालगन्ज,कैलाली र रसुवा नाकामा पनि लागू गरिनेछ।
महानिर्देशक ढुंगानाले ठूला भन्सारमा कन्टेनरका लागि स्क्यानर मेसिन राखेजस्तै सर्वसाधारणले झिटीगुन्टाअन्तर्गत ल्याउने सामान जाँचका लागि पनि स–साना स्क्यानिङ मेसिन राख्ने तयारी गरेको जानकारी दिए। उनले यसका लागि सर्वसाधारणको आवागमन र भन्सार नाकामा असहज नपर्ने गरी ठाउँको व्यवस्था गरिने बताए। 
महानिर्देशक ढुंगानाले भन्सार नाकालाई आधुनिकीकरण गर्दै व्यापार सहजीकरणमा सहयोग गर्न पनि विभागले काम थालेको जानकारी दिए। ‘अहिले संसारका ६० मुलुकले सञ्चालनमा ल्याएको आशिकुडा वर्ल्ड प्रणाली लागू गर्न विभाग अन्तिम तयारीमा पुगेको छ,' उनले भने। आशिकुडा वर्ल्ड आधुनिक भन्सार जाँचपास प्रणालीका रूपमा अङटाडले विकास गरेको प्रणाली हो। 
उनका अनुसार यो प्रणाली लागू गर्न विभाग र संयुक्त राष्ट्रसंघ व्यापार र विकाससम्बन्धी सम्मेलन (अङटाड) बीच केही समयअगाडि सम्झौता भइसकेको छ। एसियाली विकास बैंकले ४५ करोड रुपैयाँ (४.५ मिलियन अमेरिकी डलर) सहयोग दिएको छ। सहयोग रकममध्ये १० करोड ९२ लाख रुपैयाँ आशिकुडा वर्ल्ड सफ्टवेयरलाई भन्सार जाँचपास प्रणालीअनुरुप विकास गर्न र कर्मचारीको क्षमता विकास गर्न लगानी गरिने उनले बताए। बाँकी रकम यो प्रणाली सञ्चालनका लागि आवश्यक डाटा सेन्टर, अन्तर भन्सार सूचना सञ्जाल निर्माणलगायत काममा खर्च गरिनेछ। 
यो प्रणालीको वीरगन्ज, विराटनगर र तातोपानी भन्सार कार्यालयमा नमूना परीक्षण गरिनेछ। यसपछि क्रमशः अन्य सबै भन्सार कार्यालयमा लागू गरिनेछ। यो प्रणालीको माध्यमबाट सेवाग्राहीले भन्सार जाँचपाससम्बन्धी प्रज्ञापनपत्रलगायत सम्पूर्ण कागजात सूचना सञ्जालको पँहुच भएको जुनसुकै स्थानबाट वेभमार्फत चौबिसै घन्टा सम्बन्धित भन्सार कार्यालयमा पेस गर्न सक्नेछन्। यसबाट व्यवसायको लागत र समय बचत भई व्यापार सहजीकरणमा सहयोग पुग्ने ढुंगानाले बताए। 
सरकारले वर्षौंदेखि आयातित सामानमा न्यून बिजकीकरणको समस्या व्यहोरिरहेका बेला आशिकुडा प्रणाली लागू भए धेरै हदसम्म समस्या निदान हुने उनले बताए। उनका अनुसार यो प्रणालीमार्फत भन्सार नाकामा कुन कम्पनी वा व्यवसायीले कुन सामानको मूल्य कति घोषणा गर्योल भन्ने तथ्यांक भन्सार कार्यालयसँगै राजस्व चुहावट हेर्ने सबै निकायमा एकैसाथ पुग्छ। भन्सार नाकामा सामानको मूल्य थोरै घोषणा गर्ने र त्यही वस्तु महँगो मूल्यमा बेच्ने व्यवसायी वा कम्पनीलाई यो प्रणालीले समात्ने ढुंगानाले बताए। ढुंगानाले भन्सारमा अनलाइनको माध्यमबाट अनुगमन गर्ने व्यवस्था मिलाउन लागेको पनि जानकारी दिए। 
महानिर्देशक ढुंगानाले व्यापार सहजीकरणकै लागि विभागले आयात–निर्यातमा कोडको व्यवस्था गर्न लागेको पनि जानकारी दिए। ‘अहिले धेरै व्यवसायीले धेरै किसिमका सामान ल्याउने प्रचलन छ,' उनले भने, ‘अब कुन व्यवसायीले के सामान ल्याउँछन् भन्ने पहिचान गरेर त्यसैअनुरुप कोड व्यवस्था गरिनेछ।' उनका अनुसार यसले व्यापार सहजीकरणमा सहयोग पुर्‍याउनेछ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...