Monday 20 Mangshir, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

दुई जहाज भाडामा लिन टेन्डर आह्वान

(0 votes)
दुई जहाज भाडामा लिन टेन्डर आह्वान
काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले एकैपटक दुई ठूला जहाज भाडामा लिन सोमबार अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ। निगमले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, जहाज उत्पादक र भाडामा जहाज उपलब्ध गराउने कम्पनीका लागि टेन्डर आह्वान गरेको हो। टेन्डर बुझाउने म्याद ४५ दिन तोकिएको छ।
nepali-patro-june
वैशाख ३० बाट आगामी असार १२ सम्म टेन्डर बुझाउन पाइन्छ।
'अन्तर्राष्ट्रिय उडानलाई नियमित र प्रभावकारी बनाउने उद्देश्यले दुईवटा जहाज भाडामा लिन ग्लोबल टेन्डर आह्वान गरेका छौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता गणेशबहादुर चन्दले सोमबार नागरिकसँग भने, 'रामै्र भाउमा जहाज पाउने आशा छ।'
निगम व्यवस्थापनले करिब तीन महिनादेखि जहाज भाडामा लिन प्रयास गर्दै आएको थियो। जहाज भाडामा लिन निगमले गठन गरेको उपसमितिले प्रतिवेदन तयार गरी दुई महिनाअघि सञ्चालक समतिलाई बुझाएपछि समितिले जहाज ल्याउन अनुमति दिएको थियो।
निगम प्रवक्ता चन्दले दुइटै जहाज 'ड्राइ लिज' मा लिन टेन्डर आह्वान गरेको बताए। पाँच वर्षका लागि जहाज भाडामा लिइने उनले जानकारी दिए। ड्राइ र वेट लिज गरी जहाज दुई किसिमबाट भाडामा लिने गरिन्छ।
वेट लिजमा जहाज लिँदा 'जहाज, चालकदल, मर्मत र बिमा' जहाज दिने कम्पनीले व्यवस्था गर्छ भने ड्राइ लिजमा जहाजमात्र ल्याउने गरिन्छ र बाँकी सबै व्यवस्था भाडामा लिनेले बेहोर्नुपर्छ। ड्राइ लिजमा जहाजमात्र आउने भएकाले प्रतिघन्टा उडान भाडा दर वेट लिजमा भन्दा कम हुन्छ।
जति छोटो समयका लागि जहाज भाडामा लियो, त्यति महँगो पर्छ भने लामो सयमलाई लिँदा सस्तो पर्न आउँछ। ड्राइ लिजमा लिँदा पनि चालकदल, मर्मत वा बिमामध्ये एक उतैबाट लिन सकिने विकल्प पनि हुन्छ।
निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसबाट उत्पादित तथा आइएई भि२५७ई इन्जिन जडान भएका ए३२०–२०० सिरिजका दुईवटा 'न्यारो बडी' जहाज भाडामा लिन लागेको हो। यस्तो जहाजमा न्यूनतम १ सय ५० सिट हुन्छन्। तर, निगम व्यवस्थापनले भने कति सिट बनाउने भन्ने निर्णय गरिसकेको छैन।
निगमका अनुसार आगामी कात्तिक ९ बाट जहाज भाडामा लिनेछ। ती जहाजमा बिजनेस र इकोनोमी क्लास दुवै हुनुपर्ने छ। ती जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधार गरी विदेशका विभिन्न गन्तव्यमा उडाइने छ। जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिअनुसार मर्मत गरिने छ।
'जहाज भाडामा दिने कम्पनीले प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै पेस गर्नुपर्छ,' प्रवक्ता चन्दले भने, 'पाँच वर्ष जहाज दिँदा लाग्ने कुल भाडाको शून्य दशमलव एक प्रतिशत हिस्सा प्रतिबद्धता रकम स्वरूप टेन्डर पेस गर्ने बेलामा बुझाउनुपर्छ। यस्तो रकम भने पछि फिर्ता हुन्छ। टेन्डर फारमको १० हजार रुपैयाँ लाग्छ। यो भने फिर्ता हुँदैन।'
उनका अनुसार भाडामा ल्याइने जहाजको उमेर बढीमा १० वर्ष हुनुपर्ने छ। मुलुकको हवाई नीतिअनुसार १५ वर्षभन्दा बढी उमेर भएका जहाज आयात गर्न पाइँदैन। 'भाडामा जहाज दिने कम्पनीले दुईजना प्रशिक्षक पाइलट पनि ६ महिनाका लागि उपलब्ध गराउनुपर्छ,' उनले भने।
अन्तर्राष्ट्रिय उडान गरिरहेका निगमका पाइलटहरू अमेरिकी जहाज निर्माता कम्पनी बोइङका जहाज उडाउन प्रशिक्षित छन्। उनीहरू साढे दुई दशकदेखि बोइङ उडाइरहेका कारण एयरबसका जहाज उडाउन पुनः तालिम लिनुपर्छ।
निगमले चाँडै नै एयरबससँग जहाज खरिद सम्झौता गर्ने र त्यसपछि एयरबसले निगमका पाइलटलाई तालिम उपलब्ध गराउने चन्दले जानकारी दिए। भाडाको जहाज काठमाडौं आउने बेलासम्म निगमका पाइलट एयरबसका जहाज उडान प्रशिक्षित हुने उनले बताए।
निगमले हाल एयरबससँग खरिद गर्न लागेको जहाज पनि भाडामा लिन खोजिएको जस्तै ए३२०–२०० सिरिजको हो। यसमा १ सय ५० सिट हुने भए पनि निगम भने यसमा सिट बढाएर १ सय ६४ बनाउने योजनामा छ।
निगम र एयरबसबीच दुईवटा ए३२०–२०० जहाज खरिद–बिक्रीका लागि गत चैत २३ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि वैशाख ९ मा प्रतिबद्धता रकम (बैना) स्वरूप एयरबसलाई ५ लाख अमेरिकी डलर पठाएकेा थियो। द्विपक्षीय समझदारीअनुसार एयरबसले निगमलाई सन् २०१५ फेब्रुअरी (२०७१ फागुन) मा पहिलो जहाज आपूर्ति गर्ने मिति दिएको छ। त्यसको दुई महिनापछि दोस्रो जहाज दिनेछ।
सुरुमा नयाँ नआउन्जेल भाडामा लिने योजना भए पनि निगम व्यवस्थापनले अहिले भने एकैचोटि पाँच वर्षका लागि लिन लागेको हो। चन्दका अनुसार भाडामा जहाज आएपछि निगमसँग तीनवटा ठूला जहाज हुनेछन्। तीन जहाज भएपछि उडान संख्या सातामा ३३ सम्म पुग्नेछ। हाल दुई बोइङ ७५७ बाट सातामा २२ वटासम्म उडान गरिरहेको छ।
भाडाको जहाज आएपछि तिनलाई भारतको नयाँदिल्ली र युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईका लागि पनि उडाउने योजना छ। निगमले डेढ वर्षदेखि दिल्ली र तीन महिनादेखि दुबई उडान स्थगन गरेको छ। विगतमा दिल्लीका लागि दैनिक उडान गर्थ्यौ भने दुबईका लागि सातामा चार उडानसम्म गरेको थियो।
निगमले हाल १ सय ९० सिट क्षमताका दुई बोइङ ७५७ जहाजबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। यहाँबाट कतारको दोहा, हङकङ, थाइल्यान्डको बैंकक र मलेसियाको क्वालालम्पुर गइरहेको छ। तर, निगम व्यवस्थापनले आगामी असार २६ (जुलाई १०) बाट पुस १६ (डिसेम्बर ३१) सम्म हङकङ उडान स्थगन गर्ने निर्णय वैशाख २३ मा गरेको थियो। उसले हाल हङकङका लागि सातामा तीन उडान गरिरहेको छ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...