Tuesday 9 Ashwin, 2075 |
Menu

कला

republica-headerdiscount-subscribe1

istl

'काठमाडौंमा सिसाका घर धेरै बनेछन्'

  • मङ्गलबार ८ श्रावण, २०७०
  • सामीप्य तिमल्सेना
  • Be the first to comment!
(0 votes)
'काठमाडौंमा सिसाका घर धेरै बनेछन्'
काठमाडौं - गायक उदितनारायण झालाई चिनाउन 'उनको नामै काफी छ' भन्ने जस्ता 'क्लिसे' विशेषणको जरुरी छैन। लता मंगेशकरले गाएको 'मेरी आवाज ही मेरी पहचान है' भने झैं उदितको आवाज नै उनको परिचयको पर्याय बनेको छ। भारत वर्षमा सर्वाधिक रुचाइएका गायकको लोकप्रियता कति छ भन्ने कुरा गुगलमा उनको नाममा देखाउने १४ लाखभन्दा ज्यादा नतिजाले पनि बताउँछन्।
nepali-patro-june
 १२ वर्षपछि 'एनएफडिसी राष्ट्रिय चलचित्र अवार्ड २०६९'को सिलसिलामा काठमाडौ आएका उदितले दुई दिने बसाइको दौरान पुराना सम्झनाहरु नवीकरण गरे, अवार्डलाई उदितमय बनाए र चाँडै फर्कने बाचा गर्दै मुम्बई हानिए। सोमबार काठमाडौं छाड्नुअघि नागरिकसँग हायात होटलमा उनले बारम्बार भारदहमा बितेका बाल्यकालको सम्झना गरे।

१२ वर्षपछि एअरपोर्टमा झर्दा सबैभन्दा पहिला के सम्झनु भयो? 
काठमाडौंमा मेरा सम्झनाहरु जताततै छरिएका छन्। एकसाथ
धेरै कुरा सम्भि्कएँ। पहिलो कुरा त म मेरो देशको माटोमा छु भन्ने लाग्यो। मेरा सुखका दिन सम्झेँ, दुःखका दिन सम्झेँ। सुख–दुःखमा साथ दिने साथीभाइ सम्भि्कयो।

अहिले के फरक भएछ काठमाडौं मा? 
अलि अलि परिवर्तन देखेँ। सडकहरु चौडा भएछन्। गाडीहरु थपिएछन्। सिसाका घर धेरै बनेछन्। काठमाडौंले राम्रै प्रगति गरिरहेछ जस्तो लाग्यो।

मुम्बई रहँदा पनि काठमाडौको सम्झना आउँछ?
आउँछ नि।

कुन ठाउँको याद बढी आइरहन्छ?
सिंहदरबारको रेडियो नेपाल र पुतलीसडकको मेरो डेरा।

के सम्भि्कनुहुन्छ त्यहाँको?
धेरै कुराहरु। पहिलोपटक गीत गाएको दिन। राम्रो गाइस् भनेर स्याबास्सी पाएको दिन। पैसा नभएर कोठा भाडा तिर्न नपाएको क्षण। (पूरानो दिनमा पुगेका उदित बोल्दाबोल्दै टोलाए। छेवैमा बसेकी पत्नी दीपाले बाँकी कुरा पूरा गरिन् ) 
दीपा : उहाँ त काठमाडौंमा जता हेरे पनि भावुक बन्नुहुन्छ। हिजो बानेश्वरबाट सुन्धारातिर जाँदैगर्दा पनि मलाई उहाँ यो ठाउँमा त्यो गरेँ, त्यो ठाउँ यस्तो हो भनेर बताइरहनुभएको थियो। सिंंहदरबार देखेपछि त बोल्नै सक्नु भएन।

भारदहमा पनि बाल्यकालका यादहरु छन् नि होइन?
एकदमै छन्। भारदहमा मात्र होइन भारतका, कुनौली बजार, बाइसी, फारबिसगञ्ज जस्ता ठाउँमा पनि मेरा सम्झना छरिएका छन्। मैले मेरो बाल्यकाल बडा संघर्ष र दुःखमा बिताएँ। अहिले सम्झँदा पत्यार नै लाग्दैन।

के गर्नुभयो?
म जन्मेको बेला परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक थियो। हुन त हाम्रो परदादाहरु अत्यन्तै धनी हुनुहुन्थ्यो रे। तर म नजन्मिदै कोशीको बाढीले सारा जायजेथा र जमीन लिएर गएछ। त्यहाँबाट हाम्रो परिवार आर्थिक रुपमा कहिलै माथि उठ्न सकेन। पढ्दाखेरि फि तिर्ने पैसा नभएर कतिपटक भोलिदेखि स्कुल नआउनु भन्ने वचनदेखि लिएर अरुले खाजा खाइरहँदा टुलुटुलु हेरेर बस्नु पर्ने बाध्यता झेलेको छु। तर आज म ती सारा दुःखप्रति 'शुक्रगुजार' छु। यही बाध्यताले नै मेरो संगीतलाई निखार्ने मौका दियो।

कसरी?
आफूसँगैका साथीसंगीहरुले राम्रो खाएको लाएको देखेर मलाई पनि त्यस्तै गर्न मन लाग्थ्यो तर पैसा हुन्थेन। त्यही भएर आफ्नो खर्च जुटाउन सानै उमेरदेखि गाउन थालेँ। सानैदेखि स्वरमा साँध लाग्यो। गाएर नै खाजा खाने पैसा पनि आउन थाल्यो। 

कसरी आउन थाल्यो पैसा?
यसमा मेरो दाजु दिगम्बर झाको ठूलो योगदान छ। कही मेला छ भन्ने थाहा पायो कि उहाँले हिँड जाउँ भनेर लिएर जानुहुन्थ्यो। मेलामा एउटा दुइटा गीत गाएपछि मन पराउनेले चाराना पाँचाना खुसी भएर दिन्थे। कहिलेकहीँ मेलामै नाच्ने बाईहरु पनि गीत गाउन लगाएर पैसा दिन्थे। बिहेबारीमा समेत गीत गाएर पैसा पाउँथेँ।

पहिलोचोटि कति पैसा कमाउनु भएको थियो याद छ?
पाँच रुपैयाँ। एकजनाको बारातीमा गएको थिएँ। प्रति गाना चार आना दिन्छु ल गीत गा भनेर भन्नुभो। त्यहीँ मैले पाँच रुपैयाँ आउने गरी गाएँ। 

तपाईं कोशी छेउको मान्छे, माछा चाहिँ कतिको मार्नुभयो?
बहुतै मारियो। बाढी आएको बेला जाल थाप्यो भने माछा ज्यादा पर्थे। त्यही भएर अरु बेलाभन्दा पनि वर्षाको बेला कोशीमा जाल थाप्न गइन्थ्यो। यसरी थापेको माछाले टोकरी भरेर घर लैजाँदा ठूलै काम गरेर आएजस्तो लाग्थ्यो। वर्षाभन्दा अरु बेला चाहिँ बल्छी थापिन्थ्यो। बल्छीमा ठूल्ठूला माछा पर्ने हुनाले जालभन्दा पनि मलाई बल्छी थाप्न मजा लाग्थ्यो। आज पनि खोला देख्यो भने कोशीमा बल्छी थापेको याद आइहाल्छ।

भारदहबाट काठमाडौं कहिले आउनुभयो?
२०२८–२९ सालमा आएँ। हाफ पाइन्ट र चप्पल लगाएर सय रुपैयाँ लिएर आएको थिएँ। जम्मा १५ वर्षको थिएँ हुँला।

कसले दिएको थियो सय रुपैयाँ?
जगदिश झाकी श्रीमतिले। उहाँलाई मेरो स्वरमा ठूलो भरोसा थियो। 

काठमाडौंमा स्थापित हुन चाहिँ कतिको संघर्ष गर्नुभयो?
संघर्ष गरेँ पनि र गरिन पनि। त्यसबेलाका सप्तरी जिल्लाका सभापति कृष्णदेव झा, सञ्चारमन्त्री चतुर्भुज सिंह र नेता जगदिश झा तीनै जनाले केटो होनहार छ भनेर काठमाडौं आउने बित्तिकै राजाको जन्मोत्सवमा गाउने अवसर मिलाइदिनु भयो। पछि उहाँहरुले नै रेडियो नेपालमा जागीर सिफारिस गरिदिनु भयो। तर जागीरका लागि मेरो उमेर नै पुगेको थिएन। तैपनि के–के गरेर मिलाइदिनु भयो। तर रेडियोबाट जति पैसा आउँथ्यो त्यसले मेरो खर्च पुग्दैनथ्यो। पैसाको दुःख चाहिँ मुम्बईमा स्थापित नहुँदासम्म भोगियो। 

मुम्बई नै पुगेपछि चाहिँ कति वर्ष लाग्यो तपाईंलाई स्थापित हुन?
लगभग १५ वर्ष जति। नेपालबाट गएपछि त दस वर्ष मैले त्यहाँका स्टुडियोका दरबाजा चहारेर नै बिताएँ। म काठमाडौंबाट १९७८ मा मुम्बई पुगेको थिएँ। दुई वर्षपछि नै 'उन्नीस बिस' भन्ने फिल्ममा राजेश रोशनको संगीतमा गाउने मौका त पाएँ तर त्यसले मलाई स्थापित गराउन मद्दत गरेन। ठ्याक्कै दस वर्ष मुम्बईका गल्ली नापेपछि १९८८ मा 'पापा कहते है' गाउन पाएँ। त्यसपछि भने दुःखका दिन देख्नु परेन।

आजभोलि त बलिउडको पार्श्व गायनमा तपाईंको आवाज उति सुनिन्न नि?
२५ वर्ष सम्म निरन्तर गाएँ। नयाँ पुस्तालाई पनि त मौका दिनु पर्यो? नि। फेरि संगीतमा परिवर्तन आइरहेको छ।

धेरै भाषाका गीत गाउनुहुन्छ? नेपाली संगीतको विकास अरुको दाँजोमा कहाँ छ?
एकदम राम्रो स्थानमा छ। अरुभन्दा पनि नेपालको लोकगीत बहुत अच्छा छ। मैले ३४ भाषामा गीत गाइसकेँ। नेपालको संगीत अरुको दाँजोमा कम लाग्दैन।

'उदित'जस्तै बन्ने चाहना राख्ने थुप्रै गायकहरु संघर्षरत छन्, त्यस्तालाई तपाईंको टिप्स के छ?
गड गिफ्टेड गला, हार्ड वर्क, अनेस्टी, प्यासन, सबैको ब्लेसिङ, हाँसेर आफ्नो काममा लाग्ने बानी। बस् यति कुरा हुनपर्योस, जताततै उदितैउदित पाउनुहुनेछ।

प्रतिक्रिया