9 Mangshir, 2074 |
Menu

republica-headerdiscount-subscribe1

खच्चड होइन, लोकल घोडा!

(2 votes)
खच्चड होइन, लोकल घोडा!
'होइन ओ दाइ, यो घोडा हो कि खच्चड?' फिल्मभित्र निश्चल बस्नेतले सोधेको यो प्रश्न वास्तवमा त्यस्ता नेपाली फिल्मकर्मीप्रति लक्षित देखिन्छ, जसले बलिउडको नक्कल उतार्दै खच्चड फिल्म बनाउँछन्। यस्ता नेपाली फिल्म हिजो पनि बन्थे, आज पनि बन्छन्। 'कबड्डी' टोलीले खच्चड प्रवृत्तिलाई व्यंग्य गर्दै नेपालको पहाडी 'रैथाने घोडा'जस्तै मौलिक फिल्म प्रस्तुत गरेका छन्।
 
  • फिल्म:  कबड्डी
  • रेटिङ:  रेटिङ
  • निर्देशक:  रामबाबु गुरुङ
  • लेखक:  रामबाबु गुरुङ
  • निर्माता:  निश्चल बस्नेत, सुनीलचन्द रौनियार
  • कलाकार:  दयाहाङ राई, निश्चल बस्नेत, रिश्मा गुरुङ, बुद्धि तामाङ, विजय बराल, शिशिर बाङदेल, राजन खतिवडा, कविता आले, अरुणा कार्की, पशुपति राई, पुष्कर गुरुङ आदि।
nepali-patro-june
'कबड्डी'को अर्को डाइलग समेत लोकप्रिय छ, 'मन परेको जुत्ता पो जुत्ता, नत्र खाली खुट्टै ठिक।' यो डाइलग पनि 'नेपाली फिल्मलाई माया गरिदिनुस्' भन्दै रुवावासी गर्नेका लागि कडा प्रहार हो। दर्शकले मन परेको फिल्म जसरी पनि हेर्छन्, मन नपरेको फिल्म जतिसुकै हारगुहार गरे पनि हेर्दैनन्। दर्शकको यो मनोविज्ञानलाई 'कबड्डी'को जुत्तावाला डाइलगले सम्बोधन गरेको छ।
कबड्डी खेल्दा खेलाडीले जति खतरा मोल्नुपर्छ, यस 'कबड्डी' फिल्मका निर्देशक रामबाबु गुरुङले त्यतिकै जोखिम उठाएका छन्। आफ्नो घेरा नाघ्दै विपक्षीलाई 'आउट' गर्नु कबड्डी खेलाडीको उद्देश्य हुन्छ। निर्देशक गुरुङले चाहिँ नेपाली फिल्मको घेरा नाघ्दै परम्परागत फिल्म बनाउनेहरूलाई आउट गर्ने प्रयास यसमा गरेका छन्।
मुस्ताङमा कैयौं नेपाली फिल्मका सुटिङ भए। तर, तीमध्ये धेरैले मुस्ताङका भौगोलिक दृश्यमात्र फिल्ममा उतारे। मुस्ताङलाई सिर्फ एउटा पोस्टरमा सीमित गरिदिए। 'कबड्डी'ले त्यहाँका पात्र, दुःख र जीवनलाई धेरै हदसम्म टिपेका छन्।
विगतका धेरैजसो नेपाली फिल्मले मुस्ताङका नाममा त्यहाँका बलौटे जमीन र नांगा पर्वतलाई मात्रै देखाए, मानौं मुस्ताङ भनेको एकखाले मरुभूमि नै हो। तर, 'कबड्डी'ले मुस्ताङको हरियालीलाई उजागर गरेको छ। फिल्मको कथा र प्रस्तुति उक्त हरियालीले अझ सजीव देखिएको छ। 
मुस्ताङको नुरीकोट गाउँमा वीरकाजी (दयाहाङ राई)ले सोल्टिनी (रिश्मा गुरुङ)लाई एकोहोरो मन पराएको हुन्छ। ऊ जसरी पनि सोल्टिनीलाई बिहेका लागि राजी गराउन चाहन्छ। त्यहीबेला शहरिया विवेक (निश्चल बस्नेत) गाउँ आइपुग्छ। तीन पात्रबीचको तनावले फिल्ममा हास्य रस पैदा गर्दै जान्छ। तर, ढुक्क हुनुस्। यसको बिसौनी परम्परागत नेपाली फिल्मको जस्तो छैन।
फिल्मको कथा एक किसिमको 'डोमेस्टिक ड्रामा' नै हो। त्यसैले दर्शकले घटनाहरूसँग आफूलाई एकाकार गर्ने अवसर पाउनेछन्। फिल्मका पात्रहरू कुनै मंगल ग्रहबाट झरेका प्राणीजस्ता लाग्दैनन्। पात्रका आवेग, मुर्खता र चुरीफुरीले काउकुती लगाइरहन्छ।
पात्रहरूबीचको 'कन्फ्िलक्ट' जति जेलिएको हुन्छ वा जति पत्रपत्र हुन्छ, त्यसमा दर्शकको ध्यान त्यति नै अनुबन्धित हुन्छन्। वीरकाजीको सोल्टिनी, विवेक र आमाबुबासँग बेग्लाबेग्लै 'कन्फ्िलक्ट'को हिसाबकिताब छ। त्यस्तै विवेकको पनि सोल्टिनी, वीरकाजी र अम्बीर (शिशिर बाङदेल)सँग 'कन्फ्िलक्ट'को अलग्गै कारोवार छ।
'साइलेन्स'को शक्तिशाली प्रभावलाई 'कबड्डी'का लेखकसमेत रहेका निर्देशक गुरुङले बुझेका रहेछन्। आवश्यक परेको बेलामात्र बोल्ने वीरकाजी र आवश्यक पर्दासमेत नबोल्ने विवेकमात्र होइन पतरपतर बोलिरहने बुद्धि (बुद्धि तामाङ) र बिके (विजय बराल)लाई समेत ठाउँठाउँमा मौन रहन लगाइएको छ। पात्रहरूको मौनताले संवेदनाका उचाइ, आयतन र घनत्व बढाइदिएको छ। 
कलाकारहरूका स्वाभाविक अभिनय यस फिल्मको अर्को विशेषता हो। दयाहाङले संवाद सम्प्रेषण, शारीरिक हाउभाउ र मुद्रामा अद्भूत क्षमता प्रदर्शन गरेका छन्। 'लुट'जस्तो सुपरहिट फिल्मका निर्देशक निश्चल बस्नेतको अभिनय तारिफयोग्य छ। उनको उपस्थितिले कथाको पात्रलाई न्याय दिन्छ। नयाँ अभिनेत्री रिश्माले समेत सम्भावना देखाएकी छन्।
कलाकारहरू आफ्नो भूमिकामा भावनात्मक तथा मनोवैज्ञानिक रूपले डुबेका देखिन्छन्। कलाकारहरूले 'एक्टिङ' देखाएका छैनन्, वास्तविक मान्छेजस्तै बोलेका छन्, क्रिया गरेका छन्। 'कबड्डी'को अभिनय पक्ष सन्तृप्त देखिनुको कारण 'रियाक्सन सट'हरूको उचित विनिमय पनि हो।
फिल्मले कथा देखाउन 'दृश्य भाषा'को सहारा लिन्छ। 'दृश्य भाषा' मजबुद भएमा फिल्मको कथ्य कसिलो हुने हो। 'कबड्डी'का छायाँकार पुरुषोत्तम प्रधान यस मामिलामा अब्बल देखिएका छन्। पात्रको संवेदना, भाव र मुड अनुसारका फ्रेम र सट पस्किएको छ यसमा। पुरुषोत्तमको रचनात्मक लगानीले फिल्ममा उर्जा थपेको छ। 
मध्यान्तर पुग्दा कथाको 'टेन्सन'लाई जसरी उचालिन्छ, मध्यान्तरपछि त्यसलाई अवतरण गराउन क्रमवद्ध खुड्किलाहरू प्रयोग गर्नुको सट्टा हतारिएको आभास हुन्छ। यसले फिल्मको 'ड्रामाटिक स्ट्रक्चर'को उत्तरार्द्ध भाग केही भत्किन पुगेको छ। तैपनि फिल्म जुन विन्दुमा विसर्जन हुन्छ, त्यसले फेरि सुरुकै आनन्द फर्काउँछ।
नेपाली फिल्मको मुख्य बजारमा अल्पसंख्यक जातिका पात्र र संस्कृतिको उठान खासै हुन पाएको छैन। 'कबड्डी'ले थकाली समुदायका पात्र र संस्कृतिलाई केही हदसम्म देशव्यापी बनाउने आँट गरेको छ। एउटा समाजमा बाहिरी पात्रको प्रवेश हुँदा वातावरण खल्बलिन सक्छ भन्ने सम्भावनातर्फ पनि यसले हल्का संकेत गर्छ।
वीरकाजीले सोल्टिनीलाई फकाउन सक्छ कि सक्दैन? दर्शकले बौद्धिक कसरत गरिरहलान्। निर्देशक गुरुङले भने बहुसंख्यक दर्शकको मन जितिसकेका छन्। कबड्डी खाली खुट्टा पनि खेल्न सकिन्छ। तर, उनले 'मन परेको जुत्ता' लगाउँदै खेलमा विजय हात पारिसकेका छन्।
दीपेन्द्र लामा

२०५७ सालबाट पत्रकारिता सुरु गरेका दीपेन्द्र लामा नागरिक दैनिकमा स्थापना कालदेखि आवद्ध छन्। उनी नेपाल चलचित्र समीक्षक समाजका उपाध्यक्ष हुन्।

फेसबुक: http://facebook.com/dipendralama

प्रतिक्रिया