9 Mangshir, 2074 |
Menu

दर्किन्छ झरी, रुझ्दैनन् दर्शक!

(1 Vote)
दर्किन्छ झरी, रुझ्दैनन् दर्शक!
नेपाली निर्माताहरु फिल्म बनाउन ५०–६० लाख रुपैयाँ खर्चेको गफ दिन्छन्। फिल्म हेर्दा सही ठाउँमा लगानी गरिएको पाइँदैन। फिल्मको मेरुदण्ड मानिने कथालाई विश्वसनीय र तथ्यपूर्ण बनाउनु निर्मातानिर्देशकको पहिलो दायित्व हो। यसका लागि समय र पैसाको कुनै लोभ गर्न हुँदैन।
  • फिल्म:  नोभेम्बर रेन
  • रेटिङ:  रेटिङ
  • निर्देशक:  दिनेश राउत
  • लेखक:  सुवास गिरी, आर्यन सिग्देल
  • निर्माता:  छेतन गुरुङ
  • कलाकार:  आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, शिशिर राणा, केशव भट्टराई आदि।
nepali-patro-june
अहिले हलमा चलिरहेको 'नोभेम्बर रेन' एउटा त्यस्तो फिल्म हो, जसको कथा निर्मातानिर्देशकले तर्कसंगत बनाउन सकेका छैनन्। फिल्मको कथानुसार सन् १९८२ मा जन्मेका बालक र बालिकाको मुटु शल्यक्रिया गरेर साटिन्छन्। यसमा दोहोरो त्रुटि छ। पहिलो, नेपालमा अहिलेसम्म मुटुको प्रत्यारोपण भएकै छैन। सन् १९८२ मा झन् के हुन्थ्यो र? अर्को र हास्यापद त्रुटि चाहिँ संसारमै दुई मान्छेको मुटु शल्यक्रिया गरेर एकअर्कामा साटिँदैन।
संसारभर अहिले वर्षेनी ३५ सय मुटु प्रत्यारोपण गरिन्छन्। ब्रेन डेथ भएका वा भर्खरै निधन भएकाको शरीरबाट मुटु निकालेर अर्को व्यक्तिको शरीरमा प्रत्यारोपण गरिन्छ। दुवै जीवित व्यक्तिबीच मुटु आदानप्रदान गरिँदैन। 'नोभेम्बर रेन'मा भने दुई पात्र आयुष (आर्यन सिग्देल) र शीतल (नम्रता श्रेष्ठ) एकअर्काका मुटु साटेर ३२ वर्षको उमेरसम्म बाँचिरहेका हुन्छन्।
मुटु प्रत्यारोपण गरेका व्यक्ति सरदर १५ वर्ष बाँच्ने गर्छ। अपवादको रुपमा सबैभन्दा बढी ३१ वर्ष बाँचेका व्यक्ति अमेरिकाका टोनी हुसम्यान हुन्। 'नोभेम्बर रेन'का आयुष र शीतल दुवैले यो कीर्तिमान भंग गरेका छन्। अस्वस्थ मुटु भएको आयुषमात्र होइन मुटु प्रत्यारोपण गरेपछि शीतलको आयु पनि खतरामा हुनुपर्ने हो। तर, लेखक छेतन गुरुङ र निर्देशक दिनेश राउतलाई वैज्ञानिक पक्ष थाहा रहेनछ।
फिल्मको पटकथा फाइनल गर्नुअघि कुनै डक्टरसँग छलफल वा रिसर्च गरेको भए 'नोभेम्बर रेन'मा यस्तो अक्षम्य गल्ती हुँदैनथ्यो। आफ्नो समाजको मौलिक कथा खोज्नुको सट्टा विदेशी फिल्मको नक्कल गर्दा पनि यस्तो गल्ती हुनपुगेको हो। सन् २००३ को कोरियाली सिरियल 'समर सेन्ट'को कथाबाट धेरै मात्रामा प्रभावित छ 'नोभेम्बर रेन' फिल्म।
अपरिचित युवकसँग भेट हुँदा युवतीले आफूमा अनौठो तरंग पैदा भएको महसुस गर्छे। पटकपटक भेटघाट र आत्मीय बन्दै गएपछि युवक र युवती दुवैले एउटा रहस्य थाहा पाउँछन्। युवककी दिवंगत पूर्व प्रेमिकाको मुटु उक्त युवतीमा प्रत्यारोपण गरिएको हुँदोरहेछ। त्यसैले युवतीले युवकलाई कहीँ चिनेको वा भेटेको आभास हुँदोरहेछ। 'समर सेन्ट'को यो कथा 'नोभेम्बर रेन'को जस्तो हावादारी चाहिँ छैन।
आलोक नेम्बाङको 'सानो संसार' र सुदर्शन थापाको 'मेरो एउटा साथी छ'जस्तै 'नोभेम्बर रेन' कोरियाली फिल्मको एउटा ठिमाहा संस्करण हो। कथा, पात्रको संवेदना, संवादको लय र दृश्यको शृंगारका मामिलामा पनि 'नोभेम्बर रेन'मा कोरियाली संक्रमण पाइन्छ। हिन्दी होस या कोरियाली, नक्कल गर्नुलाई संक्रमण नै मान्नुपर्छ।
यसअघि 'आई एम सरी' बनाएका निर्देशक राउतले 'नोभेम्बर रेन'मा आफू पहिलेभन्दा परिष्कृत भएको छनक दिन सकेका छैनन्। फिल्मलाई 'इमोसनल' बनाउन खोजेका छन्। दर्शकको सक्दो सहानुभूति बटुल्ने दाउ उनको देखिन्छ। तर, कथानकको आवश्यकतालाई उनले न्याय दिन सकेका छैनन्।
फिल्मको पटकथामा 'प्लट प्वाइन्ट'हरु रोचक छन्। तर, ती 'प्वाइन्ट'हरुलाई जोड्ने रेखा दरिलो र प्रष्ट छैन। कथालाई भावनात्मक रुपमा बलियो बनाउने 'घटना'हरुको अभाव यसमा छ। निर्देशक र लेखकको 'भिजुयल पर्सेप्सन' फितलो भएकोले फिल्म 'टकिङ हेड्स'मा सीमित भएको छ। हरेक दृश्यमा पात्रहरु देखा पर्छन् र डाइलगबाजी गरिरहन्छन्। 
प्रकाश, रङ र प्रप्सजस्ता दृश्यको भौतिक पक्षमा मिहिनेत गरिएको छ। मनोविज्ञान, भावना र संवेदनाको पक्षमा भने मिहिनेत पुगेको छैन। पात्रहरु डाँको छाडेर रुन्छन्। तर, ती रोदनले दर्शकलाई खासै चिमोट्दैन। दर्शकलाई रुवाउन पात्रहरु रुनै पर्दैन। सिर्फ पात्रहरुको संवेदना दर्शकको मुटुसम्म आइपुग्नुपर्छ।
आयुष र शीतलबीच निकै घनिष्ठ प्रेम बसेको देखाइन्छ। उनीहरु एकअर्काप्रति गम्भीर र समर्पित पनि छन्। तैपनि उनीहरुको प्रेम विश्वासलाग्दो देखिँदैन। किनभने उनीहरुको घनिष्ठतालाई पुष्टि गर्ने दृश्यहरु लेखकले बुनेका छैनन्। पटकपटक दर्किने 'नोभेम्बर रेन'मा दर्शक नरुझ्नुको कारण यही हो। 
दृश्यलाई हराभरा, रंगीचंगी र सिनेमेटिक बनाउन छायाँकार राजेश श्रेष्ठ सफल छन्। यद्यपि उनको काम एकनाशको छैन। रेस्टुरेन्टको बदलिएको रुप देखेर आयुषको बुबा प्रफुल्ल हुन्छ। त्यसमा रेस्टुरेन्टका इन्टेरियरलाई बुबाको 'प्वाइन्ट अफ भ्यु'बाट देखाइँदैन। जसले गर्दा रेस्टुरेन्टको हुलिया साँच्चिकै सुन्दर भएको हो भन्ने लाग्दैन।
आर्यन र नम्रताको अभिनय विगतमा जस्तो हुन्थ्यो, यसमा त्यस्तै छ। छुल्ठिम गुरुङले सम्भावना देखाएकी छन्। 'नोभेम्बर रेन'मा आर्यनको काम हेर्दा उनी 'स्टेरियोटाइप्ड' अभिनेता हुन्छन् कि भन्ने शंका गर्न सकिन्छ। उनले आफ्नो अभिनयमा विविधता पस्किन सक्नुपर्छ। सौगात मल्ल, दयाहाङ राई र अर्पण थापाजस्ता अभिनेताको बढ्दो त्रे्कज उनका लागि ठूलो चुनौती बनिसकेको छ।
अमेरिकी ब्यान्ड 'गन्स एन्ड रोजेज'ले सन् १९९२ मा 'नोभेम्बर रेन' बोलको गीत रिलिज गरेको थियो। ८ मिनेट ५७ सेकेन्ड अवधिको उक्त सुपरहिट गीत उर्जावान भएकोले श्रोताका लागि लामो लागेन। अपरिपक्व कथ्य संरचनाका कारण नेपाली फिल्म 'नोभेम्बर रेन' चाहिँ लम्बाचौडा घिसिपिटी लाग्न सक्छ।
दीपेन्द्र लामा

२०५७ सालबाट पत्रकारिता सुरु गरेका दीपेन्द्र लामा नागरिक दैनिकमा स्थापना कालदेखि आवद्ध छन्। उनी नेपाल चलचित्र समीक्षक समाजका उपाध्यक्ष हुन्।

फेसबुक: http://facebook.com/dipendralama

प्रतिक्रिया