Wednesday 26 Mangshir, 2075 |
Menu

republica-headerdiscount-subscribe1

एक अर्गानिक खुराक 'सुन्तली'

(0 votes)
एक अर्गानिक खुराक 'सुन्तली'
भारतबाट नेपालको पहाडतिर क्रिकेट खेलमात्र भित्रिएको छैन। बेलाबखत भयानक गुण्डाहरुको पनि घुसपैठ भइरहन्छ। फिल्म 'सुन्तली'मा यस्तै हुन्छ। भारतको सीमावर्ती क्षेत्रबाट बजरंग नामक अपराधी (प्रमोद अग्रहरि) एउटा पहाडी गाउँमा अचानक झुल्किन्छ। उसको उपस्थितिले गाउँमा डर र आतंकको बतास चल्छ।
  • फिल्म:  सुन्तली
  • रेटिङ:  रेटिङ
  • निर्देशक:  भाष्कर ढुंगाना
  • लेखक:  प्रवीण अधिकारी
  • निर्माता:  प्रचण्डमान श्रेष्ठ, जया शाह
  • कलाकार:  प्रियंका कार्की, सूर्यमाला खनाल, प्रमोद अग्रहरि, राजकुमार पुडासैनी, कर्मा, अर्पण थापा आदि।
nepali-patro-june
बजरंगको उपस्थिति व्यंग्यात्मक छ। ऊ गाउँ छिर्नासाथ त्यहाँको शक्ति समीकरण बिथोलिन्छ। तीन वर्षअघि गुमनाम पलायन भएकी केटी सुन्तली (प्रियंका कार्की) त्यही बजरंगका कारण शक्तिशाली बन्छे। वास्तवमा बजरंगलाई आफ्नो लोग्नेका रुपमा सुन्तलीले नै गाउँमा ल्याउँछे। भारतका शक्तिकेन्द्रहरुलाई आफ्नो पक्षमा पार्न प्रयास गरिहाल्ने नेपाली राजनीतिक प्रवृत्तिप्रति फिल्म 'सुन्तली'ले बजरंग पात्रमार्फत् व्यंग्य गरेको मान्न सकिन्छ।
'सुन्तली'ले नेपाली फिल्म, सामाजिक संरचना र न्याय प्रणालीप्रति समेत व्यंग्य गरेको छ। व्यंग्य भन्नाले सस्तो हास्य–प्रहसन होइन, कलात्मक लाग्छन् फिल्मका हास्य प्रसंगहरु। नेपाली फिल्मको चालु फर्मुलाप्रति गरिएको व्यंग्यले केतन मेहताको सन् १९८८ को फिल्म 'हिरो हीरालाल'को हल्का सम्झना गराइदिन्छ।
निर्देशक भाष्कर ढुंगाना र लेखक प्रवीण अधिकारीले 'सुन्तली'को यथार्थ 'प्लट'मा फेन्टासीको कलेबर पोतिदिएका छन्। फिल्ममा कलाकारहरुको नृत्य, संवाद सम्प्रेषण, हिँडाइ र हाउभाउ सबैलाई कोरियोग्राफ गरिएको छ। फ्रेमभित्र पात्रहरुको 'प्लेसमेन्ट'मा पनि कोरियोग्राफी भेटिन्छ। यसले फिल्मलाई लय र लचकता दिएको छ। इन्स्पेक्टर सापकोटा (राजकुमार पुडासैनी)को अन्तिम फ्लाइङ किकले फिल्मको फेन्टासी चरित्रलाई मजबुत बनाउँछ।
हवल्दार (आशान्त शर्मा) सधैं आफ्नो कैदी (विपिन कार्की)सँग हत्कडीमा गाँसिएर हिँड्छ। नेपालका न्यायदाता र अपराधीहरु एकअर्कासँग जोडिएर रहेको तीतो सत्यको विम्ब लाग्छ यो। फिल्मको अन्त्यमा हवल्दार पनि अपराधमा होमिन्छ।
चिनमाया सुवेदार्नी (सूर्यमाला खनाल) समाजको सामन्ती पात्रको प्रतिनिधित्व हुन्छे। गाउँमा रहेको आफ्नो शासनलाई निरन्तरता दिन चाहन्छे। छोरा सुन्दर (कर्मा)ले बिहे गरेर नाति जन्माओस् भन्ने उसको सपना हुन्छ। तर, त्यहीबेला बन्ध्याकरण गराऔं भन्दै ‰याली पिटाउनेहरुले पानी धमिल्याउँछन्। सुन्तलीले त्यही धमिलो पानीमा माछा मार्छे।
गाउँमा सुन्तलीको पहिलोपटक अवतरण हुँदा सबैका आँखा च्यातिन्छन्। मिठाईमय वातावरणमा सुन्तलीले नयाँ स्वाद र आकर्षण थपिदिन्छ। उसको दर्शन पाउन व्याकुल हुन्छन् गाउँका भलाद्मीहरु। रुप र मिठो वचनका भरमा सुन्तलीले सबैलाई आफ्नो वशमा राख्छे।
जब सुन्तली सम्झेर चिनमाया मुर्मुरिन्छे। उसले हातमा आइपुगेको फूललाई निकै बेर नियाल्छे। अनि खलमा कोचेर कुट्छे। सुन्तलीप्रतिको उसको आक्रोश उक्त दृश्यमा प्रतीकात्मक रुपमा आएको छ।
फिल्मको रोचक पात्र टेलर मास्टर श्याम पनि हो। उसले गाउँलेहरुका कपडा र आफ्नो मुख दुवै 'सिलाएको' छ। ऊ बोल्दैन। नाम पनि लेखेर बुझाउँछ। गाउँका प्रायः पुरुषहरु सुन्तलीलाई नंग्याउने लोभ पाल्छन् तर श्याम चाहिँ उसलाई रंगीचंगी लुगामा सजाइरहन्छ।
एउटा अर्थपूर्ण 'क्रस कटिङ' वा 'प्यारेलल एडिटिङ'ले फिल्मको उचाइलाई बढाइदिएको छ। एकातिर चिनमायाले बजरंगलाई पत्रिकाको आगोमा कसम खुवाउँदै आफ्नो कित्तामा डोर्यााउँछे भने त्यति नै बेला सुन्तलीले आँसु तप्काउँदै श्यामलाई आफ्नो चंगुलमा फसाउँछे। यो 'क्रस कटिङ'ले फिल्मको कथामा ठूलो परिवर्तन ल्याइदिन्छ।
पात्रहरुका अवचेतनमा दबिएका यौनिकतालाई सुन्दर ढंगमा प्रकट गर्न फिल्म सफल भएको छ। चिनमायाले छोरालाई यौवनप्रास खुवाउनु, सुन्तलीले लालमोहनका दुइटा दाना बोक्नु, श्यामले जनेन्द्रियको चित्र भएको कागजमा जुलेबी खानु आदि दृश्यमा यौनिकता झल्किन्छ। तर, ती दृश्यहरु शालीन छन्।
कुनै पनि कुराको 'ओभर एक्सपोजिसन' हुनु अधिकांश नेपाली फिल्मको कमजोरी हो। दृश्यबाट बु‰ने कुरालाई संवादबाट र वारम्बार उस्तैखाले घटना देखाएर बुझाइरहनु 'ओभर एक्सपोजिसन' हो। 'सुन्तली' यो कमजोरीबाट मुक्त छ। 'एक्सपोजिसन' निर्देशकको नियन्त्रणमा छ।
यस फिल्मका ९० प्रतिशत दृश्यहरु 'स्टाटिक' खिचिएका छन्। पात्रका क्रियाहरु र प्रप्सको 'इन्स्टलेसन' कि भर्टिकल छन्, कि होराइजन्टल। यसले गर्दा 'स्टाटिक' भएका दृश्यहरु ज्यामितीय रुपमा सन्तुलित र कलात्मक मामिलामा अब्बल ठहरिएका छन्। यसप्रकारको खिचाइले चिनमायाको उक्त गाउँ नेपाली परम्परागत आदर्शमा आधारित समाज हो भनेर चिनाएको छ।
फिल्मका संवादहरु तारिफयोग्य छन्। पात्रहरुले ठेट र घोचक शब्द छनोट गर्छन्। नेपाली भाषाको मौलिकता र मिठास पस्किन सक्नु 'सुन्तली'को उपलब्धि हो। लेखक अधिकारीलाई यसको जस जान्छ।
प्रियंकाले सुन्तलीको भूमिका उतार्न आफ्नो अभिनयलाई निखारेकी छन्। २०४० र ५० को दशकमा टेलिसिरियलमा छाएकी कलाकार सूर्यमाला खनालले यस फिल्मबाट धमाकेदार कमब्याक गरेकी छन्। राजकुमार पुडासैनी राजेश हमालको 'डुप्लिकेट'मा फिट छन्।
धेरैपछि नेपाली फिल्ममा मौलिक गीत सुन्ने अवसर दिन्छ 'सुन्तली'ले। नत्र अचेल नेपाली फिल्महरुमा हिन्दी शैलीका गीतहरुकै बाहुल्य छ। त्यसैले 'पानीबिना के कम र पँधेरी' गीतका लागि कम्पोजर जेसन कुँवरको काँधमा धाप मारिनुपर्छ।
मेसिन होइन हातले बुनेको कपडाजस्तो, ट्रयाक होइन एनालगमा अंकित गरिएको गीतजस्तो, पोस्टर होइन क्यानभासमा उतारिएको चित्रजस्तो लाग्ने फिल्म 'सुन्तली' स्वास्थ्यलाई खराबी नगर्ने एउटा शुद्ध अर्गानिक खुराक हो।
दीपेन्द्र लामा

२०५७ सालबाट पत्रकारिता सुरु गरेका दीपेन्द्र लामा नागरिक दैनिकमा स्थापना कालदेखि आवद्ध छन्। उनी नेपाल चलचित्र समीक्षक समाजका उपाध्यक्ष हुन्।

फेसबुक: http://facebook.com/dipendralama

प्रतिक्रिया