Wednesday 26 Mangshir, 2075 |
Menu

republica-headerdiscount-subscribe1

दिल धड्किन्छ आफ्नै ढंगमा

(0 votes)
दिल धड्किन्छ आफ्नै ढंगमा

बलिउडरुपी समुद्रमा हरेक वर्ष दर्जनौं जहाज यात्रामा निस्किन्छन्। तर, सबैले यात्रा पूरा गर्दैनन्। कतिले बाटो बिराउँछन् त कति समुद्रमै विलीन हुन्छन्। ‘दिल धडक्ने दो' चाहिँ एउटा त्यस्तो जहाज हो, जसले यात्रुहरुलाई रोमान्चकारी अनुभव दिलाउँदै गन्तव्य चुम्दछ। निर्देशक जोया अख्तरले अघिल्लो फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा'मा जस्तै यसपटक पनि पात्रहरुका भौतिक र संवेदनाका यात्रालाई कथामा बुनेकी छन्।

nepali-patro-june

यात्राले मानिसलाई धेरै कुरा सिकाउँछ, चाहे त्यो भौतिक यात्रा होस् वा संवेदनाको यात्रा। जोयाको निष्कर्ष यही हो।
समुद्रमा तैरिरहेको पानीजहाज स्वच्छन्दता र स्वतन्त्रताको एउटा विम्ब हो। त्यो न कुनै चिजले बाँधिएको हुन्छ न त त्यसको बाटोमा अरु कसैले बाधा उत्पन्न गर्छ। ‘दिल धडक्ने दो'को कथा पनि एउटा स्वतन्त्र पानीजहाजको यात्रासँगै बग्दछ। तारे होटलको सुविधायुक्त उक्त जहाजको यात्रा बाहिरबाट जति शान्त देखिन्छ, त्यसमा यात्रा गर्ने पात्रहरुको दुनियाँ त्यति नै कोलाहलपूर्ण छ।
उनीहरु तथाकथित प्रतिष्ठा, अभिमान र इर्ष्याले ओतप्रोत छन्। उनीहरु भित्रदेखि स्वतन्त्र हुन चाहन्छन् तर समाजको डरका कारण आफैंले कोरेका लक्ष्मणरेखाभित्र खुम्चिन विवश छन्। उक्त विवशता वा मजबुरीले उनीहरुको स्वतन्त्रता लुटिरहेको छ।

दिल्लीको ‘हाई सोसाइटी'का उद्योगपति कमल मेहरा (अनिल कपुर)को कम्पनी ‘आइका' घाटामा चलिरहेको हुन्छ। यद्यपि ऊ आफ्नो साख गिरेको देखाउन चाहन्न। आफ्नो बिहेको वर्षगाँठ उसको लागि कृत्रिम रवाफ प्रदर्शन गर्ने अवसर बनिदिन्छ। आफ्नो खोक्रोपनलाई भव्य वर्षगाँठले छोप्दै उद्योगपति ललित सुदलाई सम्धी र पार्टनर बनाउने उसको स्वार्थ पनि झुन्डिएको हुन्छ।
फिल्ममा प्लुटो नामक एउटा कुकुरले ‘सूत्रधार'को भूमिका निर्वाह गरेको छ। ऊ कमलको घरपालुवा हो। सबैले उसलाई एउटा कुकुरमात्र ठानेका हुन्छन्। जबकि ऊ आफैंसँग वार्तालाप गरिरहने प्रतीकात्मक पात्र हो। ऊ मान्छे र मान्छेका चरित्रहरुको मूल्यांकन गरिरहन्छ। ऊ भन्छ, ‘मान्छेलाई सबैभन्दा बढी खतरा मान्छेबाटै छ। यही खतराबाट बच्न मान्छेले आफ्नो रङ बदलिरहन्छ र यसो गर्दागर्दा ऊ मान्छे कम छेपारो बढी भइदिन्छ।'

 प्लुटोले मनमा खेलाउने कुराहरु जीवनसँग धेरै नजिक, सटिक र काव्यात्मक लाग्छन्। नलागून् पनि किन? उसले बोलेका सबै हरफहरु साहित्यकार जावेद अख्तरले लेखिदिएका हुन् भने उसलाई आमिर खानले आवाज पैंचो दिएका हुन्। यति भएपछि एक विवेकशील प्राणीको दर्जा पाउन प्लुटोलाई कसले रोक्ने?

कमल र निलम (सेफाली शाह)ले आफ्नो बिहेको ३० औं वर्षगाँठको निम्तो–कार्ड छपाएर साथीभाइलाई बाँड्छन्। त्रु्कजको सयर र टर्की भ्रमणसहितको १४ दिने ‘मोजमस्ती'को निम्तो देखेर सबै खुसी हुन्छन् तर छोरी आयशा (प्रियंका चोपडा) भने दुःखी हुन्छे। बाबुआमाको वर्षगाँठको निम्तो–कार्डमा दर्शनाभिलाषीका रुपमा आफ्नो नाम नदेख्दा उसको चित्त दुख्छ। कार्डमा उसको भाइ कविर (रणवीर सिंह)को भने नाम हुन्छ।
यसो हुनुको कारण पनि प्लुटोले खुलाइदिएको छ। ऊ मनमनै बर्बराउँछ, ‘एकचोटी बिहे गरेपछि छोरी बाबुआमाका लागि पराई भइदिन्छ, तर छोराले जतिपटक बिहे गरे पनि ऊ बाबुआमाका लागि पराई हुँदैन।' बिहे गरेर लोग्नेको घर गइसकेकीले आयशालाई बाबुआमाले कार्डमा नसमेटेका हुन्। यो कुरा भाइ कविरलाई खट्किन्छ। ऊ पछिसम्म दिदीलाई भनिरहन्छ, ‘कार्डमा तिम्रो पनि नाम हुनुपर्थ्यो।'
फिल्ममा लंैगिक समानताको मुद्दा अर्को एक दृश्यमा समेत जोडतोड उठाइएको छ। आफूले महिलाप्रति समान व्यवहार गरेको छु भन्ने धाक देखाउन मानव (राहुल बोस)ले छाती फुलाएर भन्छ, ‘मैले पत्नी (प्रियंका)लाई व्यापार–व्यवसाय गर्न अनुमति दिएको छु।' तर, उसको त्यो रवाफ सन्नी (फरहान अख्तर)को एउटै प्रश्नले छियाछिया हुन्छ। ‘तपाईंले चाहिँ आफूलाई मन लागेको काम गर्न अनुमति लिनु नपर्ने, तपाईंकी पत्नीले चाहिँ तपाईंसँग अनुमति लिनुपर्ने? यो कसरी समानता भयो र?' सन्नीको यो प्रश्नले मानवको माथा पन्चर हुन्छ।
छोराछोरीको भलोका लागि भन्दै आफ्नो स्वार्थपूर्ति गरिरहने प्रवृत्ति कमल र निलममा पनि पाइन्छ। त्यसैले उनीहरु छोरा कविरको बिहे उद्योगपति ललितकी छोरी नुरीसँग भएको हेर्न चाहन्छन् र छोरालाई दबाब पनि दिन्छन्। छोराको झुकाव चाहिँ फरहा अलि (अनुष्का शर्मा)तिर हुन्छ। छोरी आयशालाई पनि ज्वाइँ मानवसँग मिलेरै बस् भन्ने सल्लाह उनीहरु दिन्छन्। तर मानवप्रति आयशाको धारणा के छ? उनीहरु बुझ्न तयार छैनन्।
छोराछोरीको बिहे सफल बनाउन कमल र निलम सधैं मरिमेट्छन्, तर आफूहरुकै ३० वर्षे वैवाहिक सम्बन्ध कुन हालतमा पुगेको छ, त्यसको चाहिँ लेखाजोखा गर्दैनन्। एउटा दृश्यमा कमलले खाटमा पल्टेकी पत्नी निलमको हात समातेर माया पोख्न खोज्छ। त्यतिबेला निलमले ‘किन एक्टिङ गर्नुभएको? हामीलाई कसैले पनि हेरिरहेको छैन,' भन्छे। कमल झस्किन्छ र तकिया बोकेर अर्कै कोठामा सुत्न जान्छ। दुनियाँको अगाडि मात्र पत्नीलाई माया गरिटोपल्ने कमलप्रति निलमको कडा व्यंग्य हो यो। कमलले हृदयदेखि नै माया गरे पनि आफूलाई विश्वास हुनेछैन भन्ने संकेत निलमको उक्त संवादमा झल्किन्छ।
कमल र निलमले छोराछोरीमाथि लगाम बाँधेको प्लुटोलाई चित्त बुझ्दैन र मनमनै एउटा वाक्य फुराउँछ, ‘मान्छे खुसी हुनलाई प्रेममात्र भएर पुग्दैन, एक हदसम्मको स्वतन्त्रता पनि चाहिन्छ।'
अभाव र गरिबीमा बाँच्नेहरुलाई लाग्नसक्छ, धनीहरु जतिको खुसी यो दुनियाँमा को होलान्? जबकि धनले मान्छेलाई खुसी दिँदैन। उनीहरु पनि अनगिन्ती कारणले दुःखी छन्। धनी कुनै उडनतस्तरीबाट ओर्लेको ‘पिके' होइन। धनी र गरिबका बोक्रा फरक हुन् तर गुदी उही। जोयाले ‘दिल धडक्ने दो'मा यो कुरा प्रमाणित गरिदिएकी छन्। 
फिल्मको अन्त्य परम्परागत बलिउड फिल्मको भन्दा फरक छ। दर्शकको कल्पनाशीलतालाई ‘स्पेस' छोडिदिएको छ। आखिर दिल धड्किनलाई पनि ‘स्पेस' चाहिन्छ। धड्कनको मामिलामा प्लुटोले फिल्ममा आग्रह गर्छ, ‘हरेक दिल आफ्नै ढंगले धड्किन्छ। त्यसलाई त्यसरी नै धड्किन देऊ।'
फिल्मले सम्भ्रान्त वर्गको, परिवेश र मनोविज्ञानलाई टपक्क टिपेको छ, जुन हिन्दी फिल्ममा कमै हेर्न पाइन्छ। मिडिल एजका पात्रलाई नायक–नायिका बनाउनु पनि नौलो हो। अनिल कपुर र सेफाली शाहले उक्त भूमिकालाई जीवन्त उतारिदिएका छन्। 
जहाज डुब्दैन बरु यसका यात्रुहरुका मर्मस्पर्शी व्यथामा दर्शकहरु डुब्छन्। जोया अख्तरले ‘दिल धडक्ने दो'बाट फेरि एकपटक आफूलाई योग्य क्याप्टेन अर्थात् प्रतिभाशाली फिल्म निर्देशक साबित गरेकी छन्। उनले भाइ फरहान र बुबा जावेदका प्रतिभालाई समेत सदुपयोग गरेकी छन्।

फिल्मः दिल धडक्ने दो (पाँचमा तीन तारा)
निर्देशकः जोया अख्तर
निर्माताः रितेश सिधवानी, फरहान अख्तर
लेखकः रीमा काग्ती, जोया, फरहान र जावेद अख्तर
कलाकारः अनिल कपुर, सेफाली शाह, प्रियंका चोपडा, रणवीर सिंह, अनुष्का शर्मा, राहुल बोस, फरहान अख्तर आदि।
दीपेन्द्र लामा

२०५७ सालबाट पत्रकारिता सुरु गरेका दीपेन्द्र लामा नागरिक दैनिकमा स्थापना कालदेखि आवद्ध छन्। उनी नेपाल चलचित्र समीक्षक समाजका उपाध्यक्ष हुन्।

फेसबुक: http://facebook.com/dipendralama

प्रतिक्रिया