Monday 7 Magh, 2075 |
Menu
istl

सत्ता–स्वामी सम्बन्ध

  • २४ जेष्ठ, २०७१
  • सन्तोष रिमाल/स्वरुप आचार्य
  • Be the first to comment!
(0 votes)
सत्ता–स्वामी सम्बन्ध
भक्तपुर छालिङस्थित पञ्चमहालक्ष्मी श्रीपीठमा गत वैशाख १ गते नेता, व्यापारी र प्रशासकहरूको ठूलो भिड थियो। प्रधानमन्त्री सुशील कोइराला, पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र शेरबहादुर देउवा, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतो लगायत राजनीति र आर्थिक क्षेत्रका एकसे एक गन्यमान्यहरू।

nepali-patro-june
जमघटको उद्देश्य थियो, स्वामी कमलनयनाचार्यद्वारा सञ्चालित यज्ञ।
स्वामीले 'जनतालाई नढाँट्ने, जनमुखी संविधान दिने एवं मातृभूमि र माटोप्रति माया गर्ने' आशीर्वादसहित नेताहरूलाई माटोको टीका लगाइदिए। नेतागणले चुपचाप आशीर्वाद ग्रहण गरे। 
त्यही अवसरमा उनले नेपाल माताको मन्दिर बनाउने प्रस्ताव सुनाउँदै उपस्थित 'शक्तिशाली' हरूसँग सहयोगको आग्रह गरे।
...
२०६९ चैत ८ गते। ओशो सम्बोधी दिवस। नागार्जुनस्थित ओशो तपोवनमा ठूलै चहलपहल थियो। राजनीति, आर्थिक, प्रशासनिकलगायत विभिन्न क्षेत्रका नामी हस्तीहरूको उत्साहपूर्वक सहभागिता थियो।
'समाज परिवर्तन राजनीतिक क्रान्तिले मात्र हुँदैन, बौद्धिक र आध्यात्मिक क्रान्ति पनि चाहिन्छ,' तपोवनका स्वामी आनन्द अरुणले यसो भनिरहँदा पलेँटी कसेर सुनिरहेका थिए, मन्त्री विमलेन्द्र निधि, नरहरि आचार्य, उद्योगपति विनोद चौधरी, उपेन्द्र महतो, जीवा लामिछाने, नेतृ हिसिला यमी, मुख्य सचिव लीलामणि पौडेल, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व प्रधानसेनापति रुक्मांगत कटवाललगायत 'हाइप्रोफाइल' निम्तालु।
मन्त्री निधिले 'आध्यात्मिक गतिविधिमा दिन बितेको' भन्दै खुसीसमेत व्यक्त गरे। त्यसै दिन डोलेश्वर मन्दिर, पाइलट बाबाको आश्रम हुँदै तपोवन पुग्दा ऊर्जावान भएको अनुभव उनले सुनाएका थिए।
...
वैशाखमा विराटनगरमा एकीकृत माओवादीको राष्ट्रिय सम्मेलन चल्दै थियो। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सम्मेलन बहिष्कार गर्दै बाबु भोजप्रसाद, श्रीमती हिसिला र छोरी मानुषीलाई लिएर कैलाश मानसरोवर दर्शनमा निस्किए।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूचीप्रति असहमति जनाएर अशान्त मुद्रामा निस्केका भट्टराईलाई शान्तिका लागि मानसरोवर यात्रा जुरेको थियो। हिन्दु धर्मअनुसार 'भगवान शिवको बासस्थान' मानिने कैलाश मानसरोवर हिन्दु, बौद्ध र जैन धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थलका रूपमा चिनिन्छ।
...
साधु, सन्त र तीर्थप्रति देशका शक्तिशाली व्यक्तित्वहरूको सम्बन्धका यी दृश्य करिब/करिब एकै समयका हुन्। मठमन्दिर धाउने, स्वामी–सन्तसँग संगत गर्ने, योग र ध्यानको अभ्यास गर्ने नेता, व्यापारी र कर्मचारीको संख्या हलक्कै बढेको छ पछिल्लो समय। हुँदाहुँदा नेपाली कांग्रेसले त पार्टीको महासमिति बैठक नै कमलनयनाचार्यको गजेन्द्रमोक्षधाम नवलपरासीमा गर्योह।
द्वन्द्वकालमा धर्मलाई 'अफिम' बताउँदै यस्ता कार्यमा बाधा पैदा गर्ने माओवादी अध्यक्ष दाहालले स्वामी कमलनयनाचार्यसँग आशीर्वाद थापेको र उनकै वरिष्ठ नेता भट्टराईले तनाव कम गर्न 'शिव शरण' मा परेको दृश्यले धर्म र राजनीतिको सम्बन्धलाई अझ रहस्यमय बनाइदिएको छ।
१६ औं शताब्दीसम्म विश्वमा धर्मकै राजनीति चल्थ्यो। बिस्तारै राजनीतिशास्त्रीहरूले धर्म र राजनीतिलाई अलग–अलग राख्न भूमिका खेले। अहिले राजनीतिमा 'धर्म निरपेक्षता' शब्द लोकप्रिय हुँदै गएको छ। तर, आस्थाले वा स्वार्थले, सत्तासँग स्वामी र स्वामीसँग सत्ताको सम्बन्ध प्रगाढ नै देखिन्छ।
'को छैनन् मकहाँ आउने?' मुक्तिनाथ बाबासमेत भनिने स्वामी कमलनयनाचार्यले आफ्नै आश्रममा नागरिकसँग भने, 'तमाम नेता र मन्त्रीहरू मकहाँ आउँछन्। यो ठाउँ नै यस्तै हो, कोही भागेर आउलान्, कोही लुकेर आउलान्, कोही यति ठूलो पदको मान्छे यस्तो ठाउँमा गएको कुरा के भन्नु भनेर नभन्लान्। तिनको काँतर र डरपोकपन तिनैले जानून्, तर यहाँ धेरै व्यक्ति आउँछन्।'
स्वामीसँगको यो बढ्दो सत्संगको कारण के हो त?
कमलनयनाचार्य आध्यात्मिक झुकाव बढेकै कारण मानिस आफूकहाँ आए होलान् भनेर विश्वास गरिहाल्दैनन्। आध्यात्मिक गतिविधिमा संलग्नता बढेको भने स्विकार्छन्।
पौराणिक युगको राजनीति धर्मले निर्देशित हुने गरेको शास्त्रहरूमा पढ्न पाइन्छ। त्यसबेला धर्मको पालना गर्नु–गराउनुलाई राजाले प्रमुख कर्तव्य ठान्थे। युद्ध पनि धर्म र अधर्मको पंक्तिमा विभाजन गरिन्थ्यो। इतिहासका विभिन्न कालखण्डमा धर्मका नाममा धेरै युद्ध भएका छन्। केहीलाई 'धर्मयुद्ध' को नाम दिइयो भने कैयौं युद्ध अरू धर्मावलम्बीलाई सिध्याउने मनसायले भए।
आधुनिक नेपालका शासकहरूले पनि घोषित/अघोषित रूपमा सन्त–महात्माहरूलाई आफ्नो सल्लाहकार बनाएका छन्। बाबाहरूको आशीर्वादलाई सत्ता प्राप्त गर्ने र टिकाउने अस्त्र मान्दै आएका छन्। पृथ्वीनाराण शाहको नेपाल एकीकरण अभियानलाई नै योगी गोरखनाथको आशीर्वादसँग जोडेर चर्चा गरिन्छ। राणाकालमा नेपाल आएका शिवपुरी बाबाको भक्त दरबारदेखि जनतासम्म उत्तिकै थिए। १ सय ३७ वर्ष बाँचेका भनिने बाबाले ३७ वर्ष नेपालमै बिताएका थिए।
राजा वीरेन्द्रको खप्तड बाबाप्रति निकै आस्था थियो। त्यो सम्बन्धलाई नजिकबाट बुझेका स्वामी प्रपन्नाचार्य भन्छन्, 'खप्तड बाबाप्रतिको भक्तिकै कारण राजा वीरेन्द्रले काठमाडौंमा आश्रमको व्यवस्था मिलाएर डोटीबाट बाबालाई बोलाइबक्सेको हो।'
स्वामी प्रपन्नाचार्य स्वयं पनि राजा वीरेन्द्रको आग्रहमा आठ वर्ष राजपरिषद स्थायी समितिका सदस्य भएका थिए। पशुपतिमा बस्ने चुनचुन बाबा तत्कालीन शासक वर्गका आकर्षण थिए।swami-2
नेपालका प्रभावशाली व्यक्तिदेखि सामान्य नागरिकलाई समेत प्रभावित तुल्याएका साई बाबाका चमत्कार र जादुमय शक्तिको ठूलो चर्चा हुन्थ्यो। आशीर्वाद स्वरुप सुनको लकेटदेखि नाडी समातेको भरमा रोग निको भएका तिलष्मी चर्चा गाउँ/सहरमा सनसनाउँथे। यही चर्चाले तानेर उनको दर्शनार्थ भारतको पुट्टपर्ती जाने नेपालीको संख्या बढ्यो। उनका नाममा ठाउँ–ठाउँमा आश्रम बने।
आश्रम आकर्षण 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अफिसमा ओशो र आनन्द अरुणको तस्बिर सजाएका छन्। ओशो संन्यासीसमेत रहेका कार्कीको आध्यात्मिक लगाव बेलाबखत चर्चाको विषय बन्दै आएको छ।
बाल्यकालदेखि नै साधु–सन्तको संगतमा परेको बताउने उनी आफ्नो पहिलो गुरु परमहंश योगानन्दलाई मान्छन्। योगानन्दको आत्मकथा 'अटो बायोग्राफी अफ अ योगी' पढेपछि पुस्तकले देखाएबमोजिम साधनाको बाटोमा लागेको कार्की बताउँछन्। पछि उनी खप्तड बाबा, शिवपुरी बाबा, चुनचुन बाबा र श्यामचैतन्य बाबाका भक्त भए। 
मुख्य सचिवबाट हटाइएपछि उनी पाइलट बाबाको संगतमा पुगे। डेढ वर्ष पाइलट बाबाकै आश्रम (भारतका विभिन्न) मा बिताए। 'अहिले काममा अल्भि्कएँ, बाबासँग भेटघाट अलि पातलो छ,' कार्की भन्छन्। पाइलट बाबासँग सम्बन्ध पातलिए पनि काठमाडौं वरपर बस्ने बाबाहरूसँग उनको संगत बाक्लो छ। उनी तपोवनका स्वामी आनन्द अरुण र कमलनयनाचार्यसँग बारम्बार भेटघाट गर्छन्।
'सन्तहरूले परमात्माको बाटो व्यावहारिक रूपमा देखाउँछन्। गुरु स्वच्छन्द हुन्छन्, स्वयंमा स्थिर हुन्छन्, उनले गर्ने व्यवहार नै शास्त्र हो। त्यस्ता महात्माको समिपमा बसौं–बसौं लाग्छ, उनीहरूका कुरा सुनौं–सुनौं लाग्छ,' उनी सन्तमोह यसरी पोख्छन्।
कालीबाबाको भक्तका रूपमा चिनिन्छन् तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी। कालीबाबाले मन्त्र सुनाएकाले उनीप्रति आदर र सामीप्य रहेको त्रिपाठी चर्चा गर्छन्। उनी आफूलाई धर्मप्रति आस्थावान् मान्छन्। मठ–मन्दिर जानु र साधु–सन्तको सामीप्यमा रहनु उनको प्राथमिकतामै पर्छ।
'तर, सबै जोगी साधु हुँदैनन्। वास्तविक साधक पहिचान गर्न सके लाभ मिल्छ, नक्कली साधुको फेला परे दुःख पाइन्छ,' चमत्कार देखाएर भिड एकत्र गर्न रुचाउने बाबालाई उनी नक्कली मान्छन् र त्यस्ताबाट बच्न सल्लाह दिन्छन्।
नेपालको आध्यात्मिक क्षेत्रमा उनी भारतीय सन्तको प्रभाव देख्छन्। ठूलो पन्डालमा प्रवचन दिने, चेलाको संख्या बढाउन रुचाउने, चमत्कार देखाउनेहरूप्रति आफ्नो विश्वास नरहेको प्रस्ट्याउँछन्। खप्तड बाबा र शिवपुरी बाबालाई उनी उच्च कोटिका बाबाका रूपमा व्याख्या गर्छन्। 
पूर्व अर्थमन्त्री शंकर कोइराला कमलनयनाचार्यका भक्त हुन्। मन्त्री हुँदा भक्तपुरको छालिङस्थित खोला तटबन्ध गर्न र गुरुको आश्रम बनाउन तीन करोड रुपैयाँ सहयोग दिएको विषयले उनी विवादमा तानिएका थिए। धर्मकै कारण उच्च पदमा पुगेको कुरा उनले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन्। कोइरालाको सहभागिता कमलनयनाचार्यको च्यारिटेबल ट्रस्टमा उपाध्यक्षका रूपमा छ।
ठूला भक्तमा ध्यान
स्वामीको आकर्षणले भक्तहरूलाई मात्र तानेको छैन, प्रतिष्ठित भक्तहरूलाई दाहिना राख्ने चाहना स्वामीहरूमा पनि उत्तिकै देखिन्छ।
देशमा प्रख्यात नेता र व्यापारीका नजरमा रहेका स्वामी कमलनयनाचार्य आफूलाई पनि नेता नै मान्छन्। 'हामी साधुहरू झन् धेरैको नेतृत्व लिन्छौं, तर राजनीतिक नेताले जस्तो जथाभावी, सक्ने–नसक्ने आश्वासन बाँड्दैनौं। हाम्रो नेतृत्व सात्विक प्रकृतिको हुन्छ,' उनी भन्छन्, 'सरकारी स्तरबाट राम्रो कार्यको थालनी होस् भन्ने सन्देश दिन म बेलाबखत नेताहरूलाई आश्रममा निम्त्याउँछु, उहाँहरू आउनुहुन्छ।'
सत्तामा रहेका व्यक्तिको खाँचो स्वामीहरूलाई पनि पर्छ भन्न उनी हिच्किचाउँदैनन्। अरूको हित, कल्याण र व्यथा हटाउन यात्रा गर्नेलाई साधुका रूपमा व्याख्या गर्दै उनी भन्छन्, 'कुटी, ओडारमा बसेर तपस्या गर्ने सन्तहरूलाई सांसारिक शक्तिको आवश्यकता पर्दैन। समाजलाई नै आफ्नो गुफा मानेर सामाजिक यात्रा गर्ने हामीजस्तालाई पनि सारोगाह्रो पर्छ। विद्यालय, अस्पताल, मन्दिर आदि बनाउन अग्रसर रहेकाले सरकारी सहयोग चाहिन्छ, त्यसका लागि म भक्तहरूसँग आग्रह गर्छु।'
काठमाडौं गोल्फुटारस्थित मुक्तिनाथ बाबा सेवाश्रम, छालिङको पञ्चमहालक्ष्मी श्रीपीठ, इँट्टाखेलको मुक्तिनाथ शालिग्राम मन्दिर, नवलपरासीको गजेन्द्र मुक्तिहरि मन्दिर, नवलपरासीकै लक्ष्मीनारायण मन्दिर, बाग्लुङको रंगबेंकटेश मुक्तिनारायण मन्दिर, पर्वतको बेंकटेश मन्दिर र मुस्ताङको शालिग्राम गण्डकी मन्दिर कमलनयनाचार्यको अग्रसरतामा निर्माण भएका हुन्। छालिङमा 'नेपालमाता' को मन्दिर निर्माणमा सहयोग जुटाउन उनी लागिपरेका छन्।
तपोवनका स्वामी आनन्द अरुणले पनि प्रतिष्ठित भक्त कमाएका छन्। नेता, व्यापारी, कूटनीतिज्ञ, कर्मचारी, कलाकार उनको आश्रममा बाक्लै आउजाउ गर्छन्। उनकै हातबाट ओशो संन्यासी बन्नेहरू थुप्रै छन्।
सत्ता र शक्तिभन्दा सन्त निकै माथि हुने तर्क गर्दै उनी भन्छन्, 'योगीकहाँ राजा पनि सरल बनेर जानु हाम्रो सनातन संस्कृति हो। हामी पनि ठूला र साना भनेर भेदभाव गर्दैनौं। आश्रमलाई ऋषिलोकजस्तो बनाउने प्रयत्न रहन्छ हाम्रो, जहाँ बाघ र बाख्रा सँगै पानी खान सकून्।'
आफ्नो आश्रममा आउने सबै एउटै तलामा बस्ने, एउटै भान्साको खाने र उस्तै व्यवहार पाउने उनको भनाइ छ। 'यहाँ आउनेहरू पनि पद र प्रतिष्ठा बाहिरै छाडेर आश्रममा प्रवेश गर्छन्। यहाँ कुनै खाले विभेद छैन। आध्यात्मिक साम्यवाद छ,' उनी भन्छन्। 'पावरफुल' भक्तका कारण कामकाजमा सजिलो भएको बताउन उनी हिच्किचाउँदैनन्। त्यसको दोष उनी नेपालमा विधिको शासन नहुनुलाई लगाउँछन्। 
'मान्छे नचिने धारा, बिजुली र टेलिफोन लाइन पनि लिन सकिँदैन। फाइल जहाँको त्यहीँ अड्किन्छ। घुस खुवाउन पैसा छैन, मान्छे चिनेकाले यस्ता काममा सजिलै हुन्छ,' सबै शक्ति नेतासँग भएको र देशमा सिस्टम नभएकाले शक्तिमा रहेकाहरूको आवश्यकता परेको उनी स्विकार्छन्।
तर, शक्तिको पखेटा हुन्छ। न यो जीवनपर्यन्त कुनै नेतासँग टिक्छ, न स्वामीसँग।
स्वामीहरूलाई पनि सधैं शक्तिले पच्छ्याउँदैन भन्ने उदाहरण हुन्, डा. स्वामी प्रपन्नाचार्य। 
'थला परेको स्वामीलाई भक्तहरूले पनि वास्ता गर्दैनन्,' ९२ वर्षका यी सन्त वृद्ध र अस्वस्थ शरीरका साथ पशुपति मृगस्थलीमा दिन गुजारिरहेका प्रपन्नाचार्य यस्तै अनुभूति गरिरहेका छन्।
कुनै समय उनी राजाका प्रिय थिए। शक्ति उनको वरिपरि झुम्मिन्थ्यो। अहिले विरलै कोही भक्त उनको आश्रममा पुग्छन्। पशुपति क्षेत्र विकास कोषले दिने मासिक १० हजार रुपैयाँले उनी र उनका दुई सहयोगीले गुजारा चलाउनुपरेको छ।
'पैसा हुँदा बचाएको भए अहिले दुःख हुँदैनथ्यो भन्छन् सहयोगीहरू। तर, मैले मठ–मन्दिर निर्माणमै भएको सम्पत्ति खर्च गरेँ,' उनी आफूलाई पैसा जम्मा गर्ने साधुका रूपमा उभ्याउन चाहँदैनन्। 
नेपालमा साधु–सन्तको सानिध्य खोज्ने नेता, व्यापारी छन्जस्तो उनलाई लाग्दैन। त्यसो त कुनैबेला भक्तको अभिनय गर्दै नेताहरू उनको आश्रम धाउँथे, जसको भित्री अभीष्ट ज्ञान लिनेभन्दा आफूलाई राजनीतिमा लगाउने हो भन्ने उनले बुझेका थिए।
धनी, व्यापारीहरू त उनलाई झन् स्वार्थी लाग्छन्। एकपटक उनी देशको ठूलै व्यापारीको घर गएका थिए। 'केही माग्नै गएजसरी ती व्यापारी तर्किएको देखेपछि दोहोर्या एर कसैको घर गइनँ,' उनी भन्छन्।
नेपालीमा विद्वान र सन्त चिन्ने क्षमता नै छैन भन्छन् उनी। 'जो सन्त–महात्माकहाँ गएको देखिन्छ, त्यो पूरै नाटक हो। ज्ञान लिन होइन, जनताका अगाडि आफूलाई धार्मिक जस्तो देखाउन उनीहरूले यस्तो नाटक गरेका हुन्,' उनी नेताहरूप्रति अलि बढी नै क्रुद्ध छन्, 'नेपालको राजनीति स्वार्थी र फटाहाहरूको समूह हो जसलाई ज्ञान र विद्वानको जरुरत नै हुँदैन। नेता आश्रममा गएका देखिन्छन् भने त्यहाँ पनि स्वार्थ लुकेको हुन्छ, धर्म र ज्ञानका लागि होइन।'
अध्यात्म कि आश?
स्वामी आनन्द अरुणको बुझाइमा नेताका जीवन बडो दुःखमय छ। तनाव, द्वन्द्व र प्रेसर कम गर्न उनीहरू आश्रम पुग्छन्। उचित मार्ग पहिल्याउन, सही निर्णय गर्न र आनन्द पाउन साधुसन्तको संगत खोज्छन्। 
सर्सर्ती हेर्दा सकारात्मक लाग्ने अध्यात्म र राजनीतिको सम्बन्ध यत्तिमै सीमित छ त? 
पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव एवं आध्यात्मिक चिन्तक गोविन्द टण्डन यो सम्बन्धभित्र अरू केही लुकेको हुन सक्ने लख काट्छन्।
'आखिरीको गन्तव्य धर्म/अध्यात्म नै हो। नेता/कर्मचारी पनि विभिन्न धाम र साधुसन्तकहाँ धाएको देखिन्छ। तर, उनीहरू साँच्चै आध्यात्मिक हुँदैछन् कि छैनन् व्यवहारमा देखिनुपर्योर,' टण्डन अर्थ्याउँछन्, 'प्रशासन प्रमुख आध्यात्मिक भए आफ्नो संस्थालाई भ्रष्टाचारको अखडा हुन दिँदैन, मन्दिर धावनसँगै नकारात्मक सोच र घुसखोरी पनि बढ्यो भने आध्यात्मिक भएँ भन्न मिल्दैन।'
प्रवचन सुन्ने, यज्ञमा जाने, मठमन्दिर धाउने र घुस पनि खाने नेता/कर्मचारीलाई उनी अध्यात्मको खोल ओढ्ने निकृष्टको सूचीमा राख्छन्। निधारमा टीका र गलामा माला लगाएर चाहिने/नचाहिने काम गर्नेहरू टण्डनका अनुसार ढोंगी हुन्।
'कोही आध्यात्मिक भएको प्रमाण आचरणमा देखिनुपर्छ,' उनी भन्छन्, 'आफूलाई साधु दाबी गर्नेमा पनि समस्या देख्छु। साधु भनेको अहंकार शून्यको अवस्था हो। केही साधुको लेख/रचनामा अहंकारको गुञ्जायस देखिन्छ। गृहस्थमा रहेकामा अहंकार देखिनु ठूलो कुरा मान्दिनँ। तर, घरपरिवार त्यागेर हिँडेकाहरू ठूलो घर चलाउन लागिपरेको देख्दा उदेक लाग्छ।'
गृहस्थ जीवन त्यागेकाले आध्यामिक केन्द्रका नाममा संघ/संस्था चलाउन थालेपछि सांसारिक समस्यामा फस्ने उनी टिप्पणी गर्छन्।
दानको विषयमा सिद्धान्त छ– एउटा हातले दिएको अर्को हातलाई थाहा नहोस्। तर, हाम्रो समाजमा दान प्रतिष्ठाको विषय बन्छ। धेरै दिनेको विज्ञापन गरिन्छ। टण्डन भन्छन्, 'यो त आध्यात्मिक आचरण नै भएन नि। अध्यात्म भनेको स्वधर्म हो, मानवता हो। म त अध्यात्मका क्षेत्रमा काम गर्नेहरूमै होडबाजी देख्छु। आफूले सिकाउने कुरा आफैंले पालना नगरेको देख्छु।'

सक्कली–नक्कली 
नक्कली स्वामीको बिगबिगी अख्तियार प्रमुख कार्कीले निकै अनुभव गरेका छन्।
'७५ प्रतिशत मानिस पेटका लागि गेरुवस्त्र लगाउँछन्, १५ प्रतिशत अल्छीका कारण, ५ प्रतिशत चोट सहन नसकेर। बाँकी थोरै गेरुधारी मात्र असली योगी हुन्,' उनी योगीको वर्गीकरण गर्छन्। 
'सही स्वामी कसरी चिन्ने?'
'जसको समिपमा आनन्द मिल्छ, शरीरलाई ऊर्जा मिलेको अनुभव हुन्छ, उही नै सच्चा स्वामी हो। जोसँग बस्दा भागूँ–भागूँ लाग्छ, ती नक्कली हुन्,' उनी भन्छन्। 
आफू जो सन्तसँग जोडिएका छन्, उनीहरूबाट भाग्नु नपरेको बताउँछन् कार्की।
'स्वामीहरू पहिला भक्त बनाउँछन्, अनि प्रयोग गर्छन् भनिन्छ, हो?'
नागरिकको जिज्ञासमा उनले भने, 'त्यो त स्वामीहरूको स्तरमा भरपर्ने कुरा हो। मैले त्यस्तो अनुभव गरेको छैन। तर, केही काम गर्नुपर्दा शक्तिसँग जोडिनु स्वामीहरूको पनि बाध्यता होला। काम गर्न सजिलो हुन्छ भनेर कसैले आफ्नो भक्तको नाम प्रयोग पनि गर्लान्।'
सन्त–महन्त आकांक्षाबाट मुक्त भए राजा र रंकमा फरक देख्दैनन् भन्छन् कार्की। उनी चुनचुन बाबालाई राजा र रंकमा फरक नदेख्ने सन्तको कोटिमा राख्छन्। पशुपतिको एउटा सानो कोठामा बस्ने, ओछ्यानमा रोगी र घाइते भुस्याहा कुकुर राखेर आफू भुइँमा सुत्ने ती बाबाको सोच देखेर एकदिन कार्की छक्कै परेछन्। राजासँग दरबारमा भेट्ने निम्तो लिएर आएका प्रमुख एडिसी टीका धमलालाई समेत चुनचुन बाबाले 'राजासँग भेट्न त मिल्छ तर उहाँ मेरो दरबारमा आउनुपर्छ' भनेर फर्काइदिएको कार्की सम्झन्छन्।
'हो, चुनचुन बाबाजस्तो सोच भएकाहरू खास सन्त हुन्। तर, यस्ता सन्त विरलै भेटिन्छन्,' उनी भन्छन्। 
स्वामीजस्तै भक्त पनि सक्कली र नक्कली दुवै खाले हुने नेता त्रिपाठी बताउँछन्। धर्मको आलोचना गर्ने कम्युनिस्ट नेताहरू जब आश्रम–आश्रम धाएको दृश्य देख्छन्, त्यतिबेला उनी ठान्छन्, 'उनीहरूले आफ्नो राजनीति बलियो बनाउन यसो गरेका हुन्, आस्था भएर होइन। मैले संगत गरेको र मैले उनीहरूलाई बुझेको आधारमा भन्दा उनीहरूमा कुनै व्यक्तिगत रुचि छैन। सामाजिक र राजनीतिक बन्धनका कारण यस्तो कार्यक्रममा देखिन्छन्।'

प्रचण्डलाई भनेँ, तपाईँ अस्तव्यस्त हुनुहुन्छ : स्वामी आनन्द अरुण

swami-3

नेपालको गरिबीको कारण आर्थिक होइन, मानसिक हो। राजनीतिक क्रान्तिले मात्र समाज रूपान्तरण हुँदैन। बौद्धिक र आध्यात्मिक क्रान्ति पनि चाहिन्छ। आशोले भन्नुभएजस्तो भौतिक धरातलमा भएको आध्यात्मिक विकासमात्र टिकाउ हुन्छ। हाम्रो समृद्ध बन्ने तरिका नै सही छैन। यस्तो समृद्धि सार्थक हुन्छ, जहाँ मुस्कान हराउँदैन। 
एकदिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले हाम्रो आश्रम आएका बेला भन्नुभयो, 'म एकदमै व्यस्त छु।'
मैले भनेँ, 'होइन, तपाईं अस्तव्यस्त हुनुहुन्छ।' 
मेरो कुरा सुनेर उहाँ हाँस्नुभयो। 
आध्यात्मिक आवश्यकता नेपालमा मात्र होइन, संसारमै बढेको छ। मान्छेको मनमा आश्रम जाँदा र स्वामीको आशीर्वादले प्रगति हुन्छ भन्ने भावना छ भने त्यो गलत हो। हामी चमत्कारमा विश्वास दिलाउँदैनौं। हामीकहाँ शान्ति छ, यहाँ रिल्याक्सेसनको अनुभूति हुन्छ र विपरीत विचारधाराका व्यक्तिबीच पनि प्रेमपूर्वक वार्तालाप हुन्छ। 
त्यसो त सन्त पुरुषको आशीर्वाद लिनु नराम्रो होइन। त्यसले मनभित्रको ताप शान्त हुन्छ। तनाव लिएर आएकाले शान्ति पाउँछन्। म त भन्छु यहाँका सबै नेताले आश्रम गएर ध्यान गर्नुपर्छ। छ दिन काम गरेपछि कम्तीमा एक दिन त मेडिटेसन गर्नैपर्छ।

प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...