Sunday 8 Ashwin, 2074 |
Menu
istl

जलाइएको आधा आकाश

(1 Vote)
जलाइएको आधा आकाश
काठमाडौं–राजधानीको वसन्तपुरमा छ दिनअघि भएको तेजाब हमलामा घाइते भएका संगीता पुलामी मगर र सीमा बस्नेत अनुसन्धान क्रममा भेट्न आएका प्रहरी अधिकारीसँग निरन्तर भनिरहेका छन्, ‘हाम्रो अनुहार डढाउनेलाई छिटो समात्नुस् सर! ता कि कुनै चेलीमाथि फेरि यस्तो हमला गर्ने साहस कसैलाई नहोस्!'

ती प्रहरी अधिकारी ‘हुन्छ' भन्दै उनीहरूलाई आश्वस्त पारिरहेका छन्। प्रधानमन्त्री सुशील कोइरालाले नै बालुवाटार पुगेका अधिकारकर्मीसामु तेजाब हमलाको निन्दा गरे। र, भने, ‘दोषीमाथि कडा कारबाही हुनेछ।'
तर, देशका कार्यकारी प्रमुख र अनुसन्धान अधिकारीहरूको आश्वासनभन्दा व्यावहारिक यथार्थ फरक छ।

cover story1

सायद वसन्तपुरमा तेजाबले जलाइएकी संगीता र सीमालाई थाहा छैन, देशभरि दसौं जना दिदी–बहिनी छन्, जसलाई उनीहरूलाई भन्दा अघि नै तेजाबले जलाइयो, आगोले पोलियो।
संगीता र सीमालाई सायद यो पनि थाहा छैन, महिनौं बितिसक्दा पनि ती घटनाका अपराधी फेला परेका छैनन् वा फेला परेर पनि उचित दण्डबिनै छुटेका छन्।
...

‘उनीहरूलाई कुन अस्पताल भर्ना गरिएको छ?' उनले टेलिफोनमा कुराकानी सुरु हुनेबित्तिकै संगीता र सीमाका बारेमा सोधिन्।
‘संगीतालाई सिनामंगलको काठमाडौं मेडिकल कलेज र सीमालाई वीर अस्पताल,' मैले जवाफ दिएँ।
‘ए!' उनले भनिन्, ‘मलाई त स्किन केयरमा लगेको थियो।'
‘अनि कस्तो छ त?' उनले फेरि जिज्ञासा राखिन्।

cover story3
‘संगीता अलि गम्भीर छिन्, उनको निधार, छाती, मुख र आँखामा बढी जलेको घाउ छ,' मैले भनेँ, ‘सीमाको पनि निधार र गालामा चोट छ, तर त्यति गहिरो छैन।'
‘उफ् ...!' उनले लामो सुस्केरा छाडिन्, ‘संगीताको घाउ मेरोभन्दा धेरै ठूलो रहेछ, मुखको चोटले त बढ्तै जलन हुन्छ नि! कति पीडा भयो होला है उनीहरूलाई! कस्ता पापी हुन्छन् मान्छेहरू!'
धनगढीकी यी २१ वर्षीया युवतीले परिचय खुलाउन मानिनन्। ‘चोट लाग्नु लागिसक्यो, फेरि आफ्नो नाम छापेर परिवारको पीडामा थप पीडा थप्नु?' भनिन्, ‘हुन्न।'
उनी संगीता र सीमाको जलन अरूभन्दा बढ्तै अनुभूत गर्न सक्छिन्। किनकि, वर्षदिनअघि ठ्याक्कै यही घाउ उनलाई पनि लागेको थियो। यो एक वर्षमा घाउ धेरै भरिइसक्यो, खाटो बाँकी छ। बाहिरी जलन कम भइसक्यो, भित्री व्यथा उस्तै छ।
२४ मंसिर, २०७०। बिहान ७ बजेको समय।
डम्म कुहिरो लागेको थियो। बाटो सुनसान।
उनी पाँच मिनेट दुरीको कलेज पुग्न ६:५५ मा घरबाट निस्किइन्।
हातमा किताब च्यापेकी थिइन्। चिसो छल्न दुवै हातले किताब अँठ्याएर ज्यान कक्रक्क पारिन्। अनि एक सुरले फटाफट हिँड्न थालिन्।
घरको आँगनै नछेलिँदै पट्टी बाँधेर मुख ढाकेको एक युवक हुरीझैं सामुन्ने आइपुग्यो। अनुहार चिनिन्थेन, तर उसको नियत सफा देखिँदैनथ्यो। हातमा एउटा सिसी बोकेको थियो, जसमा केही तरल पदार्थ देखिन्थ्यो।
उनको ज्यान मुटुसम्मै चिसो भएर आयो। जीउभरि काँडा उम्रिए। न फरक्क फर्केर भाग्ने विचार सुझ्यो न बाटो छलेर अगाडि बढ्ने आँटै गरिन्।
मूर्तिझैं ठिङ्ग उभिइरहिन्।
त्यो केटोले एक निमेष पनि ढिलो गरेन। हातमा बोकेको बोतलको बिर्को खोल्यो। र, त्यसमा रहेको तरल पदार्थ झ्याम्म उनको अनुहारतिर छ्याप्यो।
तेजाब रहेछ।

Acid attacked classroom 02

निधारमा एक थोपा पर्नेबित्तिकै उनलाई जीउभरि एकसाथ करोडौं सुई रोपेजस्तो अथाह जलन हुन थालिहाल्यो। उनले किताब च्यापेको हातले अनुहार ढाकिन्। धन्न बाक्लो कपडा लगाएकी थिइन्। हातको सुरक्षाले अनुहार धेरै जल्न पाएन। निधारको दाहिने भाग र दाहिने आँखामा चोट लाग्यो। सुरक्षानिम्ति उठेका हात भने उनले जोगाउन सकिनन्। भसक्कै डढे।
तेजाबको त्यो हमला ‘घरमा कसैले आगोको गोला फालेजस्तै' लाग्यो उनलाई। उनी जलन सहन नसकेर बेपत्ता च्याँठिइन्। नजिकै घरबाट दाइ र परिवारका अरू सदस्य दौडँदै आए। छरछिमेक पनि झुम्मिए। सबैले वरपर गल्लीमा आक्रमणकारीको खोजी गर्न थाले।
मंसिर मासको डम्म कुहिरोमा आक्रमणकारी अलप भइसकेको थियो।
उपचाररत अवस्थामा अस्पतालको शय्याबाट उनी पनि संगीता र सीमाजस्तो बारम्बार एउटै कुरा दोहोर्‍याइरहन्थिन्, ‘मलाई एसिड छ्याप्ने आक्रमणकारीलाई जसरी पनि पक्राउ गर्नू, ता कि अर्को कुनै चेलीमाथि फेरि यस्तो हमला नहोस्!'
प्रहरी अनुसन्धान सुरु भयो।

cover story2
परिवारको शंका त्यही टोलको एउटा केटोमाथि थियो, जसले पहिले पनि बारम्बार डरधम्की देखाउने र तर्साउने गर्थ्यो। दिनभरि उनीहरूको पसलवरिपरि घुमेर मानसिक तनाब दिइरहन्थ्यो। उनको बिहेको कुरा छिनेपछि त त्यो केटा अलि बढी नै आक्रामक बन्न थालेको थियो। यहाँसम्म कि, कुरा छिनिएको केटाको घर छिरेर परिवारलाई तर्साउनधरी भ्याइसकेको थियो।
पीडितको यही बयानका आधारमा प्रहरीले खोजी सुरु गर्‍यो। नभन्दै त्यही केटो रहेछ। पुस दोस्रो सातातिर पक्राउ परेको उसले आफ्नो अपराध कबुल गर्न ढिलो गरेन।
आक्रमणकारी समातिएपछि उनी ढुक्क भइन्। त्रसित मन अलि हल्का भयो। कम्तीमा आफ्नो ज्यान लिन खोज्ने व्यक्ति सजाय भोगिरहेको छ भन्ने विचारले उनी मनलाई सान्त्वना दिन्थिन्।
त्यो सान्त्वना महिनादिन पनि टिकेन। अदालतले ५० हजार रुपैयाँ धरौटीमा उसलाई रिहा गरिदियो।
पहिल्यैदेखि आपराधिक गतिविधिमा प्रेरित ऊ यो दण्डहीनतापछि झनै सुरियो। पैसा भएपछि कानुनधरी किन्न सकिन्छ भन्नेमा ढुक्क भएको अपराधीलाई लगाम लगाउने को? उसको डरधम्की र दुर्व्यवहार हलक्कै बढ्यो। दिनको दसचोटि घर ओहोरदोहोर गर्न थाल्यो।
यही डरले घरबाहिर हिँडडुल गर्नै छाडिन् उनले। भित्र बस्दा पनि ढोकामा चुकुल टुट्थेन। पर्दा कहिल्यै खुला राखिनन्। मंसिरमा तेजाब हमला भएपछि कलेज जान त बन्दै गरिन्। पछि प्राइभेट फारम भरेर प्लस टु पास गरिन्।
त्यो घटना उनको जीवनको खड्गो बनेर तेर्सिएको थियो। कुरा छिनिसकेको बिहे टुट्यो। त्यो केटा र उसको परिवार यति डरायो, बिहेको कुरा अघि बढाउनै चाहेन। उनी र उनको परिवारले जोरजबर्जस्ती गर्नु पनि भएन।


एकातिर आफूमाथिको भौतिक आक्रमण, अर्कातिर बिहे टुट्दाको मानसिक पीडा– उनी लामो समय विक्षिप्तझैं भइन्। कति पल त जिन्दगी नै व्यर्थझैं लाग्यो।
‘रुमीदिदी (बिभिएस–नेपालकी सामाजिक कार्यकर्ता रुमी राजभण्डारी) ले आडभर नदिनुभएको म आज यसरी तपाईंसँग कुरा गर्न पनि सक्दिनथेँ,' उनले भनिन्, ‘मलाई खासमा तपाईंसँग बोल्ने मनै थिएन, आफ्नो व्यथा यसरी सुनाएर के काम! रुमी दिदीले भन्नुभएर मात्र। उहाँको कुरा टार्न सक्दिनँ। काठमाडौंमा छँदा एक महिना सँगसँगै रह्यौं हामी, खुब देखभाल गर्नुभयो मेरो। मलाई त उहाँ आफ्नै दिदीजस्तो लाग्छ।'
चार–पाँच महिना मात्र भयो, त्यो आक्रमणकारी केटो देखिन छाडेको। उनको आत्मविश्वास बिस्तारै पलाउन थालेको छ। घरनजिकै कलेजमा बिए भर्ना भएकी छन्। सन्तोषको सास फेर्न थालेकी छन्। यसको ठूलो श्रेय रुमीलाई नै दिन्छिन् उनी।
तैपनि डर मरिसकेको छैन। एक्लै कतै जानुपरे अहिले पनि खुट्टा भारी भएर आउँछ। आफू वरपर हिँडिरहेका अपरिचित अनुहारमा पट्टी बाँधिएझैं लाग्छ उनलाई। हातमा सिसी पनि देख्छिन्। कसैसँग ठेस लागे वा कोही फ्याट्टै सामुन्ने आइहाले त एकदमै कहालिन्छिन्। सिसी खोलेर झ्याम्मै त्यही तरल पदार्थ खन्याइदिएको अनुभूतिले जीउभरि काँडा उम्रन्छन्।
त्यही तरल पदार्थ, तेजाब, जसले उनको जिन्दगीको दिशा बदलिदियो।
‘संगीता र सीमाका अपराधी पनि के फेला पर्लान् र खै, फेला परे पनि धेरै दिन थुन्न सक्ने होइनन्,' उनले निराशा व्यक्त गरिन्, ‘यसरी अर्काको ज्यानै लिने गरी तेजाब फ्याल्ने वा आगो लगाइदिनेलाई कडाभन्दा कडा सजाय दिन मिल्दैन?'
‘मलाई एकचोटि संगीता र सीमालाई प्रत्यक्ष भेटेर उनीहरूको घाउ सुम्सुम्याउन मन छ,' उनले भनिन्।
...

महिला हिंसाकै रूप हो, तेजाब हमला

cover story4

कुनै पनि अपराधमा संख्याले प्रवृत्ति झल्काउँछ।
अपराधशास्त्रीहरूको यो भनाइलाई मान्ने हो भने नेपालमा अझै पनि तेजाब हमला प्रवृत्तिकै रूपमा विकास भइसकेको वा मानवीय हिंसाको निम्ति प्रमुख हतियारकै रूपमा प्रयोग हुन थालिसकेको पाइँदैन। तेजाब हमलाका मुद्दा कुनै सार्वजनिक अपराधअन्तर्गत दर्ता हुने, कुनै ज्यान मार्ने महलमा पारिने र कति त सार्वजनिक जानकारीमै नआउने हुँदा वर्षको ठ्याक्कै यति घटना हुन्छ भनी ठोकुवा गर्न सकिँदैन।
‘तेजाब हमला हाम्रो समाजमा नयाँ प्रवृत्ति हो, सात–आठ वर्षअघिसम्म यस्तो घटना सुनिँदैनथ्यो,' प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले शुक्रबार नागरिकसँग भने, ‘त्यसयता भने ठाउँठाउँमा यस्ता घटना नोटिसमा आउन थालेका छन्।' उनको अनुमानमा पछिल्लो समय वर्षको दुइटाजति तेजाब हमला भएका छन्।

cover story5
धनगढीकी २१ वर्षीया युवतीमाथि तेजाब छ्यापिएकै वर्ष झापामा समेत यस्तै घटना भयो। साढे दुई वर्षअघि हेटौंडा र तीन वर्षअघि काठमाडौंमा तेजाब हमलाबाट एक–एक युवती घाइते भएको रेकर्ड छ।
झापामा तेजाब हमलामा परेकी १६ वर्षीया किशोरीले यसकारण तेजाबको सिकार हुनुपर्योर, किनकि उनले एक जना केटाको प्रेम प्रस्ताव अस्वीकार गरेकी थिइन्। प्रस्ताव नमानेपछि त्यही केटाले ‘भ्यालेन्टाइन्स डे' को अघिल्लो दिन उनको शरीरमा झन्डै एक लिटर तेजाब खन्याइदिएको थियो।
जीउ नै भतक्कै भिज्ने गरी तेजाब परेपछि उनी पीडाले बेस्कन चिच्याइन्। वरपरका मान्छे तुरुन्तै जम्मा भए। उनलाई धरानको बिपी कोइराला अस्पताल लगियो। उनको शरीर ४० प्रतिशत जलेको थियो। खासगरी अनुहार, घाँटी र कम्मर।
काठमाडौंमा भएको घटना अनुसन्धानमा भने घरायसी रिसइबीका कारण आफ्नै आमाजू र जेठाजुबाट तेजाब आक्रमण भएको खुल्यो।
प्रहरी प्रवक्ता खनालका अनुसार यस्ता प्रकृतिका घटनामा कारक र पीडितको उमेर समूहका आधारमा हेर्दा पारिवारिक झैंझगडा, प्रेममा प्रतिशोध, आपसी रिसिइबीको भावनाले परिचितबाटै हमला भएको देखिन्छ। संगठित आपराधिक गिरोहबाट भन्दा व्यक्तिगत झगडामा तत्कालको आवेगका कारण तेजाब छ्यापिने गरेको उनले बताए।
‘अहिलेसम्म यो आपराधिक प्रवृत्तिका रूपमा देखा परिसकेको छैन, तर हामी सबैलाई गम्भीर हुनुपर्ने अवस्थामा भने ल्याएको छ,' उनले भने, ‘यो महिलामाथि हुने हिंसाको अर्को भयावह रूप हो, जसलाई नियन्त्रण गर्न सबैको ध्यान पुग्नु जरुरी छ।'

cover story6
प्रहरी प्रवक्ता खनालको भनाइलाई आधार मान्ने हो भने तेजाब हमलालाई अलग्गै विश्लेषण गर्नुभन्दा समग्र महिला हिंसासँग जोडेर हेर्नुपर्छ।
यो छुट्टै यसकारण होइन, किनकि यसमा पीडित पक्ष महिला नै छन्।
यसकारण पनि होइन, किनकि यसमा तेजाब भनेको फगत एउटा हतियार मात्र हो, मट्टीतेलजस्तै।
र, जहाँसम्म मट्टीतेलको प्रयोगबाट हुने जघन्य महिला हिंसाको कुरा छ, त्यसको स्थिति भयावह छ। खासगरी तराई क्षेत्रमा।
२०७० चैत ३ गते फागुको दिन बाँके, लक्ष्मणपुरमा रिहाना सेख ढपालीको सात महिनाको कोख रित्तियो। १९ वर्षकी रिहानालाई भैंसी र मोटरसाइकल दाइजो नल्याएको निहुँमा उनकै पति र सासूले मट्टीतेल छर्केर जिउँदै जलाए। काठमाडौंमा लामो उपचारपछि बल्ल उनी गाउँ फर्किइन्।
त्यसको दुई महिनापछि जेठमा बाँके, परस्पुरकी चन्दा नाउलाई तीन बच्चासहित घरभित्रै जलाए, उनका देवर सद्दामले। सम्पत्तिको निहुँमा अनेक बखेडा झिक्ने देवरले त्यस दिन झोसेको आगोमा उनका दुई बच्चा गुमे, चन्दा आफैं पनि तीन महिना उपचारपछि बल्लतल्ल ठिक भइन्।
तेजाब खन्याइएका र आगो झोसिएका यी सबै घटना महिला हिंसाकै प्रतिनिधि रूप हुन्, जसले समाज ‘तालिबानी शैली' तर्फ उद्यत हुँदै गएको आभाष दिन थालेको छ।

सन् २००८ देखि महिलाहिंसाविरुद्ध काम गर्दै आएको ‘अग्नि हिंसापीडित नेपाल' (बिभिएस–नेपाल) को अध्ययनमा महिला हिंसाका अधिकांश घटनामा मागअनुसार दाइजो नल्याएको, प्रेमविवाह र यौनसम्पर्कको प्रस्ताव अस्वीकार गरेको, छोरा जन्माउन नसकेको, बोक्सीको आरोप, जग्गाजमिन विवाद लगायत कारण देखिएका छन्। यस्तै घरायसी र व्यक्तिगत कारणले महिलाहरू मट्टीतेल खन्याएर जिउँदै जलाइएका छन्, तेजाब हमला गरेर डढाइएका छन्।
प्रहरी रेकर्ड र संघसंस्थाको अनुगमनका आधारमा सानातिना विवादको निहुँमा आफ्नै पत्नी, बुहारी, भाउजू, प्रेमिकाको जीवनलीला समाप्त पार्न खोज्ने घरेलु तथा महिला हिंसापीडकको फेहरिस्त लम्बिँदैछ। बिभिएस–नेपालका अनुसार गएको वर्षमात्र ४० जना महिला जिउँदै आगोमा जलाइए।
महिला हिंसाको यो तस्बिर यतिमै सकिँदैन। यसको अर्को भयावह रूप हो, बलात्कार।
नेपाल प्रहरीले केही समयअघि उपत्यकाका तीन जिल्ला र पाँच क्षेत्रीय कार्यालयबाट प्राप्त तथ्यांकका आधारमा दिनहुँ दुई जनाभन्दा बढी महिला बलात्कारको शिकार हुने गरेको तथ्यांक सार्वजनिक गरेको थियो। प्रहरीसम्म आइपुगेका विवरणका आधारमा यस्तो निष्कर्ष निस्किए पनि वास्तविक तथ्यांक अझ भयानक रहेको प्रहरी स्वयं स्विकार्छ।
तराई–मधेसको अवस्था अझ कहालिलाग्दो छ। मध्यतराईका सर्लाही, रौतहट, बारा, पर्सा र मकवानपुरमा आर्थिक वर्ष २०६९/७० यताका साढे दुई वर्ष अवधिमा १ सय ८४ यौनहिंसाका घटना भए, जसमा सयभन्दा बढी पीडित बालिका छन्।
अपराधशास्त्रीहरूले भनेझैं संख्याले अपराधको प्रवृत्ति देखाउँछ भने महिलाहरूलाई जिउँदै जलाउनु र बलात्कारको सिकार बनाउनु एउटा गम्भीर आपराधिक प्रवृत्तिका रूपमा देखा परिसकेको छ।
...

दण्डहीनता नै कारण

cover story7
कानुनविदहरू महिला हिंसा बढ्नुमा दण्डहीनतालाई मुख्य जिम्मेवार ठहर्यापउँछन्।
‘अधिकांश घटनामा या त अपराधी पक्राउ नै पर्दैनन् या पक्राउ परे पनि कम सजायमै उन्मुक्ति पाउँछन्,' कानुनविद सरजराज थापा भन्छन्, ‘फितलो कानुन र अझ फितलो कार्यान्वयनकै कारण महिलामाथि हिंसा गर्नेहरूको मनोबल बढेको छ।'
जस्तो, संगीता र सीमाका दोषी अझै पक्राउ परेका छैनन्। आक्रमणकारीको सम्भावित स्केचसम्म कोरे पनि व्यक्ति तथा घटनाको उद्देश्य पहिचान गर्न प्रहरी टाढै छ। जति ढिलाइ हुँदै जान्छ, सर्वसाधारणमा असुरक्षाको भावना उति बढ्छ। हमला गर्नेहरू हौसिन्छन्। धनगढीकी ती २१ वर्षीया युवतीलाई पनि कुन दिन त्यो केटा फर्केर आउँछ र फेरि तेजाब खन्याउँछ भन्ने भय अझै छ। कोखको सन्तान गुमाएकी रिहानाले अझसम्म न्याय पाउन सकेकी छैनन्। उनको लोग्नेलाई प्रहरीले पक्रन सकेको छैन।
दण्डहीनताका यस्ता उदाहरण थुप्रै छन्।
‘जबसम्म कानुनले कुनै पनि हालतमा उन्मुक्ति पाइँदैन भनेर सुनिश्चित गर्न सक्दैन, तबसम्म यो प्रवृत्ति रोक्न गाह्रो पर्छ,' थापाले भने।
अधिवक्ता सपना प्रधान मल्ल पनि महिलाविरुद्ध हुने सबै किसिमका हिंसामा गम्भीर र संवेदनशील हुनुपर्ने समय आइसकेको बताउँछिन्।
तेजाब हमलाका धेरैजसो घटनामा कुटपिटको महलअन्तर्गत मुद्दा अघि बढाइएको र चार महिनासम्म मात्र कैद सजाय भएका उदाहरण छन्। उनका अनुसार तीन वर्षसम्म सजाय हुने गरी पनि मुद्दा चलाउन सकिन्छ। ज्यान मार्ने अभिप्रायले आक्रमण भएकाले चोटपटक जस्तो भए पनि, अंगभंग जति गहिरो भए पनि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएर हदैसम्म कारबाही गर्नुपर्नेमा उनको जोड छ।
पीडित पक्षबाटै पीडकको नाम सार्वजनिक नहुनु महिलाहिंसामा दण्डहीनता बढ्नुको अर्को कारण हो। यसले अनुसन्धान प्रक्रियामै समस्या ल्याएर दोषीहरूले सजायबाट उन्मुक्ति पाएका उदाहरण थुप्रै छन्।
नेपालगन्जकी हेमाकुमारीलाई घाँटीमुनिको सबै भाग जल्ने गरी उनका पतिले आगो झोसिदिए। काठमाडौंको वीर अस्पतालमा उपचार गर्दागर्दै उनको मृत्यु भयो। जीवनको अन्तिम क्षणमा पनि उनले ‘म आफैं जलेकी हुँ' भन्दै प्राण त्यागेकी थिइन्। यसको कारण के भने, लोग्नेले मर्न लागेकी हेमालाई तर्साएका थिए, ‘तँ त मर्ने भइहालिस्, पोल खोलिस् भने म जेल जान्छु, बच्चाको बिजोग हुन्छ।'
छोराछोरीको भविष्यको कुरा आएपछि हेमा चुप रहिन्। पछि प्रहरी अनुसन्धानबाट मात्र यो कुरा खुल्यो।
कतिपय अवस्थामा जाहेरी दिन नजाने प्रवृत्तिले महिला हिंसाका दोषीले उन्मुक्ति पाउँछन्। कानुनविद थापा झन्डै चार वर्षअघि सल्यानमा भएको घटना सम्झन्छन्। ‘त्यहाँ एक साताभित्र झन्डै आधा दर्जन महिलाको झुन्डिएर मृत्यु भयो, सबैले आत्महत्या गरे भनियो, के ती सबैले पालैपालो आत्महत्या नै गरेका थिए त?' उनले भने, ‘त्यो घटना महिला हिंसाको बीभत्स रूप हुन सक्थ्यो, जाहेरी दिन कोही नआउँदा घटना सामसुम भयो।'
दण्डहीनताको यस्तो प्रवृत्ति सल्टाउन तेजाब छ्याप्ने वा आगो झोस्नेजस्ता घटनालाई सम्बोधन गर्ने गरी छुट्टै कानुनको टड्कारो आवश्यकता देख्छिन्, बिभिएस–नेपालकी कार्यक्रम प्रबन्धक कृपा राणा शाही।
बंगलादेशले सन् २००२ मा यससम्बन्धी छुट्टै कानुन बनाएर कडा सजाय दिने प्रावधान ल्याएपछि तेजाब हमलाका घटना ७५ प्रतिशत कम भएको रेकर्ड छ। बेलायतस्थित एसिड सर्भाइर्स ट्रस्ट इन्टरनेसनलका अनुसार सन् २००२ मा बंगलादेशमा ४ सय ९६ घटना भएका थिए भने २०११ मा यो संख्या सयमा झर्यो५।
‘कानुन कडा भयो र कार्यान्वयन प्रभावकारी रह्यो भने हमला गर्नेहरू निश्चितै हच्किने रहेछन्,' उनले भनिन्, ‘घटनाको प्रकृति हेरेर प्रहरीले आफ्नातर्फबाट पनि अनुसन्धान अघि बढाउने अभ्यास सुरु गर्नुपर्छ।'
उनको भनाइमा दुर्घटना, आत्महत्याको प्रयास वा ज्यान मार्ने अभिप्रायमध्ये कुन हो भन्ने कुरा पीडित पक्षको बयानबाट मात्र होइन, घटनाको प्रकृतिबाट पनि खुट्टिन्छ। ‘पीडित महिलाले घरायसी वा सामाजिक दबाबका कारण पीडकलाई उन्मुक्ति दिने गरी बयान दिए पनि डाक्टरी रिपोर्टका आधारमा प्रहरीले छानबिन अघि बढाउन सक्ने व्यवस्थालाई कानुनले नै सुनिश्चित गर्नुपर्छ,' उनले भनिन्।

दण्डहीनता मात्र कारण हो त?

protest against acid attack 04

फितलो कानुन र नाम मात्रको कार्यान्वयनले निश्चित रूपमा महिला हिंसाका घटना बढिरहेका छन्। तर, यो मात्र कारण होइन। महिला–पुरुष समानताप्रति कमजोर सामाजिक चेतना स्तरले पनि हिंसाको घटना बढाएको छ।
महिला हिंसाको भयावह तथ्यांक र अझ त्यसमा पनि बढी पीडित बालिकाहरू हुनुले के दर्शाउँछ भने हामीले जतिसुकै समानताका कुरा गरे पनि समाजले महिलालाई इज्जतको व्यवहार गर्न सिकेकै छैन। सम्पत्तिमाथि पहुँच र बराबरको अंश अधिकारलाई फगत आर्थिक पक्षसँग जोडेर हेरिन्छ। त्यसले महिला सशक्तीकरण र अझ त्योभन्दा बढी प्रत्येक बालक र बालिकामा सानैदेखि ‘हामी समान हौं' भन्ने धारणा विकास गराउँछ भन्ने चेतना धेरैले बुझेकै छैनन्।
आज पनि धेरै सभासदले दिल खोलेर आमाका नाममा नागरिकता दिने अधिकार सुनिश्चित गर्न चाहेका छैनन्। यसले ल्याउनसक्ने समस्यातिर उनीहरूको ध्यान छ, तर यसले सदियौंदेखि उत्पीडित र आफ्नै घर–समाजमा दोस्रो दर्जामा खुम्चिन बाध्य महिलालाई कसरी बराबरको अधिकारमा पुर्यांउँछ भन्ने ख्यालै गरेका छैनन्।
झट्ट हेर्दा यी विषय महिलामाथिको यौन हिंसासँग असम्बन्धितझैं लागे पनि कुनै न कुनै रूपमा जोडिएकै छन्।
‘निर्धालाई थिचोमिचो गर्नु प्रकृतिको नियम हो। ओरालो लागेको मृगलाई बाछाले पनि खेद्छ,' कानुनविद थापा भन्छन्, ‘त्यही भएर महिला हिंसा अन्त्य गर्ने हो भने उनीहरूलाई राजनीतिक, सामाजिक र आर्थिक रूपमा बराबरी हैसियतमा पुर्या उनु अपरिहार्य छ।'
यसका लागि महिला र पुरुष समान हुनुपर्छ, महिला हिंसा अन्त्य गरिनुपर्छ भन्ने नाराबाट मात्र यथार्थमा ठोस उपलब्धि हासिल हुँदैन। उपलब्धिका निम्ति दण्डहीनताको अन्त्य मात्र पनि पर्याप्त छैन। सामाजिक चेतना स्तर वृद्धि र महिला–पुरुषको पूर्ण समानताबाट मात्र यो सम्भव छ।
‘महिला हिंसाका सबालमा आम प्रतिक्रिया नै परम्परागत रहँदै आएको छ,' बिभिएस–नेपालकी कृपा भन्छिन्, ‘कसैलाई मट्टीतेल खन्याइयो वा तेजाब छ्यापियो भने सिनेमालाई दोष दिइन्छ, अझ बलात्कारका घटनामा त केटीहरूले लगाउने खुकुलो पहिरनमाथि आक्षेप लगाउने गरिन्छ। तर, यो सामाजिक विभेदको नतिजा हो, महिलाप्रतिको आम दृष्टिकोण संकुचित हुनुको परिणाम हो। हिंसा अन्त्य गर्न सबभन्दा पहिला त्यसको कारण खोजेर निर्मूल गर्नतिर जानुपर्छ।'
महिला हिंसा अन्त्य गर्ने उद्देश्यले सञ्चालित चेतनामूलक कार्यक्रम पनि हिंसाको कारणतर्फ नै केन्द्रित हुनुपर्ने कृपाको राय छ। तेजाबको खुलेआम बिक्री कसरी रोक्ने भन्ने बहस तत्काल सुरु गर्नुपर्ने उनको जोड छ।
हुन त विगतमा पनि तेजाब बिक्रीबारे बहस नभएको होइन। प्रयोजन नै नखुलाई सहज ढंगमा तेजाब किन्न सकिने खुलापनले यस्ता अपराध हुन सक्ने तर्क गर्दै कडाइ गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो। स्थानीय प्रशासन र प्रहरीले तेजाबलगायत गम्भीर प्रकृतिका रसायनको बिक्री प्रणाली व्यवस्थित गर्ने दाबी पनि गरे तर सुधार भएन।
‘यसमा कडाइ गर्नैपर्छ,' प्रहरी प्रवक्ता खनालले भने, ‘रसायन बिक्रीवितरण अनुगमन गर्ने निकायले यसतर्फ ध्यान पुर्यापएर तत्काल कडा कदम चाल्नुपर्छ।'

जुट्दैछन् हातहरू

protest2
वसन्तपुर तेजाब हमलामा परेर घाइते संगीता र सीमाको उपचारनिम्ति शुक्रबार दिउँसो वसन्तपुर डबलीमा आर्थिक सहयोग संकलन कार्यक्रम चलिरहेको थियो।
‘सारथि' नामक संस्थाले चलाएको उक्त कार्यक्रममा केही घन्टामै सहयोगका हात बढाउनेहरूको लाम लाग्यो। कतिपय विद्यार्थीले टिफिनको निम्ति ल्याएको पैसाधरी अर्पण गरे। पौने २ बजेसम्म ३३ हजार रुपैयाँ संकलन भयो, जुन संगीता र सीमाकी आमालाई हस्तान्तरण गरियो।
त्यही कार्यक्रममा आफ्नो तलबको १० प्रतिशत घोषणा गरे, वीर अस्पतालको इएनटी विभागमा कार्यरत भुवन कपालीले।
‘यस्तो घटना त जसलाई पनि पर्न सक्छ,' उनले भने, ‘भोलि मेरै छोरीलाई यस्तो भयो भने के गर्ने? हामी सबै एकजुट भए मात्र यस्तो घटना निरुत्साहित हुन्छन्, अपराधीलाई समात्न प्रहरीलाई दबाब पुग्छ।'
वसन्तपुरको तेजाब हमलाले सबैको मन घोचेको छ। देश–विदेशबाट सहयोग गर्नेहरू अघि सरेका छन्। तर, महिला हिंसाका यस्ता घटनामा आर्थिक पक्षसँगसँगै पुनःस्थापना मुद्दा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यसमा सबभन्दा नराम्रो पक्ष भनेको पीडितहरूलाई अनुहारको घाउ देखाएर ‘लौ बर्बाद भयो' भनी तर्साउने प्रवृत्ति छ। सुन्दरता गुम्नु नै सबभन्दा ठूलो क्षति हो भनेजस्तो गरी पीडितलाई सहानुभूति दिइन्छ। सबैले एउटै कुरा दोहोर्याुउँदा उनीहरूलाई पनि होजस्तै लाग्न थाल्छ। शारीरिक पीडामा डुबेकाहरू मानसिक रूपले समेत विक्षिप्त हुँदै जानुको कारण यही हो।
‘सबभन्दा पहिला त आगो वा तेजाबले दिने घाउलाई हेर्ने दृष्टिकोण नै बदल्न जरुरी छ,' बिभिएस–नेपालकी कृपा भन्छिन्।
अर्कातिर, जुन परिवारका सदस्यबाट आगो लगाइयो वा तेजाब खन्याइयो, त्यही घरमा आश्रित हुनुपर्ने बाध्यता छ धेरै महिलामा। आर्थिक रूपमा सबल नहुनुको नतिजा हो यो। यसको निम्ति सरकारले नै पुनःस्थापना केन्द्र स्थापना अघि बढाउनुपर्ने उनको जोड छ जहाँ पीडित महिलाहरू स्वतन्त्रतापूर्वक जीवन बाँच्न सक्छन्, आर्थिक रूपमा आत्मनिर्भर बनेर।
‘सहयोगनिम्ति अग्रसर व्यक्ति तथा संघसंस्थाले पनि यसतर्फ विचार पुर्याडउनुपर्छ,' उनले भनिन्।
सबभन्दा महत्वपूर्ण कुरा, संगीता र सीमाजस्ता पीडितलाई न्यायको प्रत्याभूति दिलाउनुपर्छ। उनीहरूका दोषीलाई जसरी पनि पक्राउ गरिन्छ र सजाय दिलाइन्छ भन्ने देशका कार्यकारी प्रमुख, गृहमन्त्री र प्रहरी अधिकारीको बाचालाई व्यवहारमा उतारेर देखाउनुपर्छ। ता कि, संगीता र सीमाले फेरि भनिरहनु नपरोस्, ‘
हाम्रो अनुहार डढाउनेलाई छिटो समात्नुस् सर! ता कि कुनै चेलीमाथि फेरि यस्तो हमला गर्ने साहस कसैलाई नहोस्!'

प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...