Tuesday 14 Bhadra, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

सहकर्मी पक्राउपछि विमानस्थलमा कडाइ

  • सोमबार १० भाद्र, २०७०
  • शिक्षा रिसाल
  • Be the first to comment!
(0 votes)
सहकर्मी पक्राउपछि विमानस्थलमा कडाइ
काठमाडौं — वैदेशिक रोजगार विभागले काम गर्न विदेश जाने नेपालीले अन्तिम श्रम स्वीकृति माग्न जाँदा भिसामा लेखिएको अरबी भाषाको नेपाली अनुवाद अनिवार्य पेस गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
nepali-patro-june
विभागको अन्तिम श्रम स्वीकृति शाखाका सबै कर्मचारीलाई छानबिनका लागि भन्दै अख्तियारले पक्राउ गरेपछि विभागले यो कदम चालेको हो। गैरकानुनी लाभ लिएर फर्जी कागजात बोकेका नेपाली कामदारलाई बाहिरिन दिएको आशंकामा छानबिन गर्न अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीलाई समेत पक्राउ गरेको थियो । सहकर्मी पक्राउ परेपछि अध्यागमनका कर्मचारीले शनिबार दर्जनौं कामदारलाई कागजात नपुगेको भन्दै विमानस्थलबाट फर्काइदिएका थिए ।

आइतबार अन्तिम श्रम स्वीकृति लिन विभाग पुगेकालाई कागजातको कमी देखाउँदै कर्मचारीले फर्काए। कर्मचारीले सेवाग्राहीलाई विदेशमा रोजगारी दिने कम्पनीसँग गरेको सक्कली करारपत्र, भिसामा लेखिने अरबी भाषाको नेपाली अनुवादलगायत थप कागजातसहित आउन अह्राए।

अन्तिम श्रम स्वीकृतिका लागि विभाग पुगेका सिन्धुपाल्चोकका धनबहादुर लामा आइतबार 'बेलुकी ६ बजेको टिकट छ' भन्दै विभागका निर्देशक दिवस आचार्यसँग अनुनय गरिरहेका थिए । 'विदामा नेपाल आएको थिएँ। सक्कली करारपत्र ल्याइएन । अहिल त्यो नभई श्रम स्वीकृति नपाइने भएछ,' लामा भन्दै थिए, 'आजै साँझ ६ बजेको टिकट छ । पैसा खेर जाने भयो ।'

झापाका विजयकुमार बस्नेतले कतारी भिसामा लेखिएको अरबी भाषाको नेपाली अनुवाद नहुँदा स्वीकृति पाएनन् । उनी पनि दुईमहिने घरबिदा सकाएर कतार फर्किन लागेका थिए । झापाकी रामकुमारी नेम्वाङ पनि निर्देशकसँग श्रम स्वीकृतिको लागि अनुरोध गर्न विभाग पुगेकी थिइन् । 'सोमबार एक बजेको फ्लाइट छ, अहिले आएर सक्कली चाहिन्छ भनेर रोकियो, इमेल पठाइसकेपछि पनि सक्कली नै चाहिन्छ रे,' उनले गुनासो गरिन् ।

शनिबार अध्यागमन कार्यालयले फर्काएकामध्ये धेरैजसो बिदामा घर आएर फर्किनेहरु भएको विभागका निर्देशक आचार्यले बताए । उनका अनुसार, सक्कली करारपत्र र भिसामा भएको अरबी भाषाको अनुवाद नभएकाले ती कामदारलाई अध्यागमनले फर्काएको थियो । शनिबार फर्किनेमा अन्तिम श्रम स्वीकृतिमा उल्लिखित कम्पनीको नाम र पेसा अनलाइनमा रुजु गर्दा 'लेबर कार्ड'मा नदेखिएकाले पनि फर्काइएका हुन् । 'लेबर कार्ड'का कारण फर्किनेमा संयुक्त अरब इमिरेट्स जान लागेका कामदारसमेत थिए ।

विभागले कामका लागि खाडीबाहेक अन्य मुलुक जान खोज्नेलाई पनि कडाइ गरेको छ । युरोपमा स–साना केटाकेटीको हेरचाह र अन्य घरायसी काम (अउ पेयर)मा जान लागेकी कास्कीकी सावित्री पौडेल पनि जर्मन भाषाको करारपत्रको केही अंश अनुवाद नभएका कारण श्रम स्वीकृति नपाई फर्किनुप¥यो ।

मंगलबार उड्ने तयारीमा रहेकी उनलाई रोजगार विभागका कर्मचारीले अन्तिम श्रम स्वीकृतिपछि मात्र टिकट 'कन्फर्म' गर्न सुझाए । 'दूतावासले भिसाका लागि कन्फर्म भएको विमानको टिकट ल्याउन भन्छ । विभागले श्रमपछि मात्र टिकट काट्नू भन्छ । अलमल परेँ,' हातमा भिसा लागेको पासपोर्ट समाएकी उनले भनिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कामको लागि विदेश जाने व्यक्तिलाई श्रम स्वीकृति दिँदा अधिकार दुरुपयोग गरेको भन्दै विभाग र अध्यागमनका ४७ कर्मचारीलाई पक्राउ गरेपछि दुवै निकायले विदेश जाने कामदारमाथि कडाइ थालेका हुन् ।

ती कर्मचारीमाथि म्यानपावर कम्पनीले पेस गरेका फर्जी कागजात गैरकानुनी लाभ लिई कम्प्युटरमा इन्ट्री गरेको आरोप लगाइएको छ । साथै गलत अनुवाद र गलत कागजातलाई ठीक छ भनी फाइल पेस गर्ने गरेको आरोपसमेत उनीहरुमाथि छ । प्रोग्रेसिभ प्लेसमेन्ट, सन्ना इन्टरनेसनल र एडभान्स रिक्रुटमेन्टका व्यवसायीले विभागका कर्मचारीसँग मिलेर नक्कली कागजात बनाएको अख्तियारको आरोप छ ।

'वर्किङ भिसा'का लागि विदेश जाने जोसुकैले वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई सोको निस्सा (स्टिकर) लिनुपर्छ । यसका लागि निवेदन र लाग्ने शुल्कबाहेक रोजगारदातासँगको करारपत्र, राहदानी, भिसा, मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण प्रमाणपत्र, अभिमुखीकरण तालिम प्रमाणपत्र, करार अवधीको बिमालगायत कागजात विभागमा पेस गर्नुपर्छ । करारपत्र र भिसा अंग्रेजीबाहेक अन्य भाषामा भए सोको अंग्रेजी अनुवाद पनि बुझाउनुपर्छ । विगतमा करारपत्रको प्रतिलिपि मात्र पेस गर्दा पनि श्रम स्वीकृति पाइने गरेकोमा अख्तियारको कारबाहीपछि सबै कागजात सक्कली बुझाउनुपर्ने भएको छ ।

अध्यागमन कार्यालयले शनिबार विदेश जान लागेको १७० कामदार रोकेपछि वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका अधिकारीबीच छलफल भएको छ । छलफलमा दुवै विभागबीच वातावरण सहज बनाउन प्रयास गर्ने निर्णय भएको वैदेशिक रोजगार विभागका महानिर्देशक विनोद केसीले बताए । त्यस्तै अध्यागमन विभागका महानिर्देशक शरदचन्द्र पौडेलले शनिबार विमानस्थलबाट फर्काइएका कामदारलाई कागजातको थप अध्ययन गरी पुनः पठाउन सक्ने बताए । अख्तियारले सहकर्मी पक्रेको आक्रोशमा नभई विदेश जाने कामदार गलत कागजातका कारण नफसुन् भनी थप सचेत भएकोले शनिबार कामदार रोकेको उनको भनाइ छ । 'हाम्रो काम श्रम स्वीकृति हेर्ने र सामान्य सोधपुछ गर्ने हो । 'ड्राइभरको काममा जाने लागेको कसैलाई गाडी चलाउन आउँदैन भने त्यसमा निगरानी राखिएको मात्र हो,' पौडेलले भने ।

यो वर्ष साउनमा ४५ हजार नौ सय ३७ नेपाली रोजगारीका लागि विदेश गएका छन् । रोजगार विभागका अनुसार, मलेसिया जानेको संख्या सबैभन्दा बढी छ । एक महिनाको अवधिमा १६ हजार ६ सय १२ जना मलेसिया गएका छन् । कामदार धेरै जाने अन्य मुलुकमा दोस्रोमा कतार (१० हजार ७ सय ७५), तेस्रोमा साउदी अरब (५ हजार ७ सय ५२) र चौथोमा युनाइटेड अरब इमिरेट्स (५ हजार ६ सय ९१) रहेको छ । साउनमा कामका लागि विदेश जानेमध्ये ४३ हजार २८ जना पुरुष र दुई हजार नौ सय नौ महिला छन् ।

प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...