Sunday 4 Bhadra, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

पीडा झिक्दा 'खिल' गढ्छ

(0 votes)
शल्यक्रियापछि घरमै आराम गरिरहेकी कृष्णावती यादव शल्यक्रियापछि घरमै आराम गरिरहेकी कृष्णावती यादव
नेपालगन्ज-कोहलपुर, झन्डवाकी कृष्णावती यादवले उमेर छँदै पाठेघर झिक्नुपर्ला भन्ने कहिल्यै सोचेकी थिइनन् । आठ वर्षअघि खसेको पाठेघरले पीडामाथि पीडा थप्दै लगेपछि सधैं सताउने 'खिल' झिकेर नफाली धरै पाइनन्।


nepali-patro-june
गएको वैशाखमा उनले शल्यक्रिया गरेर मातृत्वको अभिन्न अंग पाठेघर झिकेर मिल्काइन् । एउटा ठूलै पीडा र झन्झटको अन्त्य भयो ।

त्यसयता कृष्णावती शारीरिक रुपमा त स्वस्थ छिन् तर उनको मनमा झन् खराब 'खिल' गढ्यो, आफ्नो शरीर पाठेघरविहीन हुनुको पीडायुक्त खिल । त्यही खिलले बेलाबेला घोचिरहन्छ । पीडा भने बाहिर देखिँदैन, मनभित्रै दबेर बस्छ ।

नेपाली समाजमा ठूलो समस्या बनेर बसेको महिलाको पाठेघर खस्ने समस्यामा शल्यक्रिया अनिवार्य बन्दै गएको छ । समस्याको अन्तिम (तेस्रो) चरणमा पुगेका महिला कृष्णावतीझैं शल्यक्रिया गरेर पाठेघर झिक्न विवश छन् । यसले उनीहरुको बाँकी जीवन भने ग्लानिले भरिन्छ ।

'शल्यक्रिया गरेर झिकेपछि दर्द (पीडा) त सब दूर (टाढा) भएको छ,' कृष्णावतीले भनिन्, 'तर नहुँदाजस्तो राम्रो कहाँ हुन्छ र ?'

सुर्खेत, मेहलकुनाकी कृष्णा बिकले ३२ वर्षको उमेरमा पाठेघर झिकेर फालिन् । उनका दुई छोरा छन् । उनको मनमा अरु सन्तान जन्माउने रहर पनि छैन, तर उनलाई पाठेघर नहुँदा ज्यान आधाजस्तो लाग्ने गरेको छ । 'दुःख, पीडाबाट छुटकारा पाउन शल्यक्रिया गरेर पाठेघर काटेँ, अहिले भने के–के न गल्ती गरेजस्तो लागिरहेछ,' उनले भनिन्, 'जे हुनु भइहाल्यो, अब पछुताएर के गर्ने भनेर चित्त बुझाउँछु ।' शल्यक्रियापछि दुखाइ हटे पनि पश्चातापको पीडाले भने पोलिरहेको उनले सुनाइन् ।

पाठेघर खस्दा महिला भौतिक रुपमा अत्यन्तै पीडामा हुन्छन् । शल्यक्रिया गरेर पाठेघर झिकेपछि त्यो पीडा कम हुन्छ । तर, मानसिक पीडा भने थपिन्छ जसले सधैँ तनाब दिइरहन्छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ चिकित्सक डम्बर खड्काका अनुसार शल्यक्रियापछि महिलाहरुले भोग्ने सबैभन्दा ठूलो पीडा भनेकै मानसिक तनाब हो । 'शल्यक्रियापछि उनीहरुको ज्यान त हल्का हुन्छ, तर 'पाठेघर झिकेपछि सबै सकियो' भन्ने मानसिकताले उनीहरुलाई सताइरहन्छ,' उनले भने, 'यही मनोविज्ञानले शल्यक्रिया गरेका महिला आपूmलाई कमजोर ठान्छन् ।'

खड्काका अनुसार महिलामा आउने यस्तै तनाब कम गर्न शल्यक्रियापछि स्वास्थ्यकर्मीले 'काउन्सिलिङ' गर्ने गरेका छन् तर यसले गहिरोसँग गढेको मानसिकतालाई परिवर्तन गर्न सक्दैन ।

सरकारले पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया व्यवस्था मिलाएको छ । यसका लागि मध्यपश्चिममा वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पताल, नेपालगन्जको भेरी अञ्चल अस्पताल र दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताललाई शल्यक्रिया गर्न अनुदानसहित जिम्मेवारी तोकिएको छ तर शल्यक्रियापछि हुने मनोत्रासकै कारण उनीहरु हत्तपत्त शल्यक्रिया गर्न मान्दैनन् । तोकिएका अस्पतालमा भएको शल्यक्रिया विवरण हेर्दासमेत यो तथ्य बुझ्न सकिन्छ । सरकारले गत आर्थिक वर्षमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको लागि ३ सय कोटा तोकेकोमा ५५ महिलाले मात्र शल्यक्रिया गरे । चालु आर्थिक वर्षको हालसम्म ६४ जनाले शल्यक्रिया गरेका मेडिकल रेकर्डर विनोद बस्नेतले जानकारी दिए ।

पश्चिम नेपालकै सुविधासम्पन्न मानिने नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा पनि चालु आर्थिक वर्षको हालसम्म ५१ जनाले मात्र शल्यक्रिया गरेका छन् । मेडिकल सुपरिटेन्डेन्ट श्यामसुन्दर यादवले बिगत वर्षमा पनि निकै कम संख्यामा पाठेघरको शल्यक्रिया हुने गरेको बताए । करिब २ सयको हाराहारीमा कोटा पाउँदै आएको राप्ती उपक्षेत्रीय अस्पतालमा पनि महिला शल्यक्रिया गर्न जाँदैनन् । गत आर्थिक वर्षमा ३० वटा शल्यक्रिया गरेको उक्त अस्पतालले चालु आर्थिक वर्षको हालसम्म ५१ जनाको शल्यक्रिया गरेको छ ।

सुर्खेत जिल्ला स्वास्थ्य कार्यालयका प्रजनन स्वास्थ्य अधिकृत रेणु सिंह विशेषगरी कम उमेरका महिलाले पाठेघर झिकेपछि बढी तनाब बेहोर्ने गरेका बताउँछिन् । उनका अनुसार यस्ता महिलालाई सबैभन्दा ठूलो तनाब दाम्पत्य जीवनमा असर पर्छ कि भन्ने हुन्छ । 'पाठेघर झिकेपछि स्वाभाविक रुपमा 'इमोसनल' हर्मन उत्पादनमा कमी आउँछ, यसले गर्दा यौनजीवन पनि प्रभावित हुन्छ,' उनले भनिन्, 'यस्तो अवस्थामा पतिसँगको सम्बन्धमा पनि चिसोपना आउने गरेको देखिन्छ ।' शल्यक्रिया गरेका महिलाले यी समस्या नआए पनि मानसिक रुपमा आपूmलाई समस्याग्रस्त ठान्ने गरेका उनले बताइन् ।

कम उमेरका महिला मात्र होइन, बुढेसकालमा पाठेघर झिक्ने बाध्यतामा पुगेका महिला पनि पश्चातापमा देखिन्छन् । बाँके, हवलदारपुरकी ७० वर्षीया इन्द्रपरी अहिरले गत वर्ष पाठेघरको शल्यक्रिया गरिन् । जँचाउन अस्पताल पुगेकी उनलाई औषधिले निको भइहाल्ला भन्ने लागेको थियो । तर, चिकित्सकले सँधैभरको पीडाबाट छुटकारा पाउन शल्यक्रिया नै गर्नुपर्ने सुझाव दिएपछि उनी राजी भइन् । 'दबाइपानीले निको गरिदिएको भए त राम्रो हुन्थ्यो होला नि,' उनले भनिन्, 'पाठेघर फालेपछि दुःख त लागेको छ ।'

लामो समय प्रजननअधिकार क्षेत्रमा कार्यरत दुर्गा बिक अधिकांश महिलाले लाजको कारण समस्या लुकाउँदा उनीहरु शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुग्ने गरेका बताउँछिन् । उनका अनुसार पहिलो र दोस्रो चरणसम्म झरेको पाठेघरलाई विभिन्न उपायबाट उपचार गर्न सकिन्छ । तर, तेस्रो चरणमा पुगेको पाठेघरलाई शल्यक्रिया गर्नुको बिकल्प हुँदैन । 'महिलाहरु पाठेघर खसेको शंका लागे पनि लाजको कारण समयमै उपचारमा लाग्दैनन्,' उनले भनिन्, 'त्यही कारण समस्या झन् बल्झिँदै जान्छ, अन्ततः पाठेघर गुमाएर पछुताउनुपर्ने अवस्था आउँछ ।'

कतिपय महिलाले पीडा सहेरै बस्ने, तर शल्यक्रिया नगर्ने अडान लिने गरेका उनले बताइन् ।

पाठेघर खसेका महिलाको उपचारमा सक्रिय बाँकेस्थित त्रिवेणी विकास समाजका स्वास्थ्यकर्मी कुश्मा श्रेष्ठ मधेसी तथा सीमान्तीकृत समुदायमा यस्तो समस्या अझै बढी देखिएको बताउँछिन् । उनका अनुसार समस्या बोकेका महिलालाई उपचार गराउन निकै प्रयास गर्नुपर्छ । 'पाठेघर खसेका महिला बरु पीडा सहेरै बस्छन्, समस्या भने बाहिर देखाउँदैनन्,' उनले भनिन्, 'उपचारमा ल्याउन पनि धेरै मिहिनेत गर्नुपर्छ ।'

पाठेघर खसेका र शल्यक्रिया गरेर पाठेघर झिकेका महिलाले विभिन्न शारीरिक, मानसिक र सामाजिक समस्या झेलिरहेका छन् । यो समस्या सामूहिक रुपमै समाजमा छरपष्ट भएको छ । त्यसैले यसको समाधानका लागि पनि उनीहरु अग्रसर हुन थालेका छन् । पछिल्लो समय पीडित महिलाले आफ्नो प्रजनन अधिकार सुरक्षाका लागि चासो दिन थालेका छन् । पाठेघर खसेका र शल्यक्रिया गरिसकेका महिलाले सुर्खेतका विभिन्न गाउँमा सञ्जाल बनाएरै अधिकारका लागि आवाज उठाएका छन् । उत्तरगंगा, लाटीकोइली, मैनतडा, मेहलकुना, छिन्चु, लेखफर्सा, दहचौर, गुमी र घुमखहरेमा प्रजननअधिकार मञ्च गठन गरिएका छन् । ती मञ्चमा समस्या झेलिरहेका महिला संगठित भएका छन् ।

मञ्चका मेहलकुना अध्यक्ष दीपा बिक पीडित महिलालाई घरपरिवारदेखि समाजमा कसैले हेयको दृष्टिले नहेरुन भनेर खबरदारी गरिएको बताउँछिन् । 'कुनै पनि महिलाले जानीजानी यो समस्या बोक्दैन, समस्या त घरपरिवार र समाजले बोकाउँछ,' उनले भनिन्, 'तर समस्या देखिएपछि उल्टै हामीलाई कमजोर ठानेर व्यवहार गरिन्छ, त्यसका विरुद्ध हामीहरु एक भएका छौं ।'

दीपाका अनुसार पीडाबाट मुक्ति पाउन पाठेघर झिकेका महिलाले गाउँमा घरपरिवारदेखि समाजमा विभिन्न यातना खेप्नुपरेको छ । सबैभन्दा बढी त पतिले प्रजनन क्षमता गुमाएको रिसमा पीडा दिन्छन् । एक वर्षअघि पूर्वी सुर्खेतमा एक व्यक्तिले पत्नीको शल्यक्रियापछि 'कोख बाँझो भएको' भन्दै सौता ल्याउन खोजे । यो कुरा उनीजस्तै समस्या भोगिरहेका अन्य महिलाले थाहा पाए । त्यसपछि ती व्यक्तिविरुद्ध महिलाले आवाज उठाए । 'हिंसाको बाहिरी कारण अरू नै बताइन्छ, भित्री कारण भने पाठेघर गुमाएपछिको परिणाम हुन्छ,' गाउँकी एक महिलाले भनिन्, 'हुँदाहुँदा पुरुषले शल्यक्रियालाई सौता हाल्ने अवसर ठान्छन् ।'

पाठेघर खस्दा सहनै नसकिने दुःख खेपेका महिलाले सुख पाउन शल्यक्रिया गर्ने गरे पनि झन् अर्को मानसिक पीडा निम्तने गरेको उनले बताइन् ।

कम छैन सन्तुष्टि पनि

खसेर तेस्रो चरणमा पुगेको पाठेघरलाई शल्यक्रिया गर्नु सबैभन्दा राम्रो विकल्प हो तर शल्यक्रियापछि स्वास्थ्यलाई ख्याल गर्दै सन्तुष्टि लिन सकेमा दाम्पत्य जीवन सुखमय हुने अनुभवी बताउँछन् । पाठेघर शल्यक्रिया गरेकी कोहलपुरकी ५५ वर्षीया रुपाना यादव जसरी ज्यान हल्का भएको खुसी छन्, त्यसैगरी उनका पत्नी रामप्रघट पत्नी खुसी भएकोमा दंग छन् । 'पहिला त उनको दुःखले मलाई पनि दुःखी बनाउँथ्यो,' उनले भने, 'शल्यक्रियापछि उनलाई पनि सुख छ, हामी पनि खुसी ।'

लामो समय पाठेघर खस्ने समस्याको उपचारमा संलग्न जाजरकोट, कार्कीगाउँ हेल्थपोष्टका अहेव यशोधा पुन बच्चाको रहर पूरा भइसकेका महिलाको मात्र तेस्रो चरणमा पुगिसकेको पाठेघर शल्यक्रियाबाट झिक्ने गरिएको बताउँछिन् । 'बच्चाको रहर पूरा भएको छैन भने 'सिलिङ' गरेर भए पनि पाठेघर रोकथाम गरिन्छ,' उनले भनिन्, 'त्यसैले प्रजनन क्षमतालाई कारण देखाएर महिलामाथि पीडा थोपर्नु हुँदैन ।' शल्यक्रिया गरेका महिलाले पनि आत्मबल बलियो बनाएर आफ्नो बाँकी जीवन सुखमय बनाउन तल्लिन हुनुपर्ने उनको सुझाव छ ।


प्रतिक्रिया

ग्यास सिलिन्डर चुहिएपछि...

ग्यास सिलिन्डर चुहिएपछि...

काठमाडौं– मंगलबार बिहान ९ बजे टेकु सुगम ग्यासका कामदार सुरेन्द्र बलामी सिलिण्डर बोकेर कालीमाटी स्थित चटपटे टहरामा ग्यास जोड्न खोज्दै थिए। त्यही ग्यासबाट एक्कासी आगोको मुस्लो निस्कियो र फैलियो। फैलिएको...

फेरियो प्रणाली, फेरिएन उपलब्धि

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२...

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

सिलिन्डर विस्फोटबाट ३ को मृत्यु भएपछि एचपी ग्यासमाथि प्रतिबन्ध

काठमाडौं- ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यासको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। जेठ ७ गते ललितपुर मंगलबजारमा 'एचपी ब्राण्ड'को ग्यास बिस्फोटमा परी धनजनको क्षती भएपछि सरकारले...

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

जाजरकोटवासीलाई चामल छैन

जाजरकोटवासीलाई चामल छैन

जाजरकोट- चामल सकिँदा जाजरकोटवासी छाक टार्ने समस्याले पिरोलिएका छन् तर खाद्य संस्थानको सदरमुकामस्थित गोदाम भने भरिभराउ छ। जाजरकोटका दुर्गम गाउँका लागि सरकारले छुट्ट्याएको नियमित कोटाको चामल ठेकेदार लापरवाहीले समयमा ढुवानी...

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै...

नयाँ शक्तिको 'समृद्धि सपना'

नयाँ शक्तिको 'समृद्धि सपना'

काठमाडौं- काभ्रे बनेपाका संदीप घोरसाइने पेशाले सवारी चालक हुन्। राजनीतिमा खासै चासो नराख्ने उनी आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रममा चर्को घाम सहेर बसे। पार्टी संयोजक डा.बाबुराम...