Tuesday 25 Mangshir, 2075 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

राजेश पायल राई भन्छन्, ‘म चटके हुँ’

(5 votes)
राजेश पायल राई भन्छन्, ‘म चटके हुँ’
राजेश पायल राईको दाबी छ– किरातहरूको राजखान्दानमा पर्ने उनी रोलक्रम चलिआएको भए अहिले उनी साँच्चीकै राजा हुन्थे । नेपाली संगीतमा ठाँट र चर्चाका दृष्टिले उनी एकप्रकारले राजाजस्तै छन् । उनी आफूलाई चटके भन्न रुचाउँछन् । नयाँ–नयाँ कुरा गरिरहन मन पराउने चटके । उनीसँग सजना बराल र धनबहादुर खड्काले अन्तरंग कुराकानी गरेका छन् ।
nepali-patro-june
कत्तिको फुर्सद छ आजभोलि ?
फुर्सद छ भन्नु कि छैन भन्नु ? हङकङ जाँदै छु । तर, अहिलेसम्म लगेज प्याक गर्न भ्याएको छैन । व्यस्त नै छु भन्नुपर्‍यो।   
कतिऔँ पटकको हङकङ यात्रा हो यो ?
यो मेरो बीसौँ पटक हो । सबैभन्दा धेरैचोटि गएको देश हङकङ नै हो । हङकङमा जति ओहोर–दोहोर मैले मेरो गाउँ (भोजपुर) मा समेत गरेको छुइनँ । र, मैले जति विदेश यात्रा सायद अरू नेपाली गायकगायिकाले गरेका पनि छैनन् ।
हो र ?
वर्षमा सात वटा पासपोर्ट सकिन्छ मेरो । यो त रेकर्ड नै हुन्छ होला ।
अरू पनि केही रेकर्ड कायम गर्नुभएको छ कि ?
चा–चारवटा एल्बम एकै पटक रिलिज गरेँ । छ÷सात सय वटा फिल्मका गीत गाएको छु । यी आफैँमा रेकर्ड हुन् ।
रेकर्ड बनाउने सोख छ कि क्या हो ?
छैन । रेकर्ड बनाउँछु भनेर काम गर्दिनँ । काम आफैँले रेकर्ड बनाइदिन्छन् । यत्ति हो, म लगनशील भएर काम गर्छु ।
संगीतको एउटा उचाइमा पुगिसक्नुभयो । अझै केही गर्ने तिर्खा बाँकी छ ?
म चटके हुँ । चटक देखाएर बाँच्छु । चटकेको तिर्खा कहिल्यै मेटिँदैन । उसलाई सधैँ नयाँ–नयाँ तरिकाले चटक देखाउन मन लाग्छ । त्यसैले ऊ खोज–तलाश गरिरहन्छ । म पनि चुप लागेर बस्नै सक्दिनँ । नयाँ ढंगले काम गर्ने लालसा ममा सदा रहिरहन्छ । नयाँ भाषा, नयाँ भाका र नयाँ सुर–तालका गीत गाउन मन पराउँछु । म एउटै चिजमा सीमित रहन सक्दिनँ ।
विगतका के–के कुरा सम्झिनुहुन्छ ?
भोजपुर सम्झिन्छु । धरान सम्झिन्छु । रेडियोभित्र छिरेर बाजेलाई गीत सुनाउने मेरो सपनाबारे सम्झिन्छु । काठमाडौँ आएको, रेडियो नेपाल धाएको, स्वर परीक्षा दिएको, नातिकाजीलाई भेट्न हप्तौँ कुरेको लगायत धेरै कुरा याद आउँछन् ।
स्वर परीक्षा दिन काठमाडौँ आउँदा तपाईं १३÷१४ वर्षको हुनुहुन्थ्यो क्यारे । त्यो बेलादेखि नै नातिकाजीको फ्यान तपाईं ?
नातिकाजीको को चाहिँ फ्यान थिएनन् होला त्यो बेला ? म त झन् संगीतमा रुचि भएको मान्छे ।  उहाँको फ्यान नहुने कुरै भएन । रेडियो नेपाल पुगेका बेला एकफेर उहाँलाई भेटेर आफ्नो आवाज सुनाउने  कत्रो धोको थियो मेरो । तर, उहाँको एसिस्टेन्टले ज्यान गए भित्र पस्न नदिने ! एक हप्ता चिट लेख्दै, पठाउँदै गर्दा पनि भित्र जान पाइनँ । आठौँ दिनमा चिट–सिट केही लेखाइनँ । सीधै ढोका खोलेर भित्र गएँ । ‘म यस्तो–यस्तो मान्छे हुँ, हजुरले मेरो स्वर सुन्दिनुप¥यो’ भनेँ ।  उहाँले ‘सुनाऊ’ भन्नुभयो । केही दिनपछि उहाँकै संगीतमा गीत निकाल्दा मान्छेहरू छक्क परे ।
आफ्नो स्वरको तागत देखेर आफैँ छक्क पर्नुभएको छ कहिल्यै ?
पहिलो चोटि हङकङ जाँदा यस्तो भा’थ्यो । शम्भु राईले नेतृत्व गरेको टोलीमा त्यहाँ गएको थिएँ । उहाँले ‘चारपाँच हजार रुपैयाँ पारिश्रमिक पाउँछौ’ भन्नुभएको थियो । म दंग परेर गएँ । गएर गाउन थालेपछि त मान्छेहरूले स्टेजअगाडि रुमाल ओछ्याएर पैसा हाल्दिन थाले । हेर्दाहेर्दै पैसाको थुप्रो लाग्यो । पछि गन्दा ६० हजार रुपैयाँ जम्मा भएछ । यो कुरा कसलाई सुनाऊँ, कसलाई सुनाऊँ भएर खपिनसक्नु भएको थियो । ‘गीत पनि भयंकर राम्रो गाउँछु कि क्या हो’ भन्ने लागेको थियो ।
यत्तिका वर्षदेखि गाउँदै हुनुहुन्छ । यसबीच धेरै गायक÷गायिका आए, गए । तपाईं टिकिरहनुभयो । तपाईंको माग घटेको छैन । किन होला ?
मुख्य कुरा, गायनको मामिलामा म असाध्यै मेहनती छु । प्रत्येक गीतको कोण–कोणलाई बुझेर गाउने प्रयास गर्छु । यतिसम्म प्रयास गर्छु कि हलमा गएर फिल्म हेर्नेहरू गीत आउँदा ट्वालेट नजाऊन्,  मेरो स्वरले पनि दर्शक बाँधोस् भन्ने लक्ष्य हुन्छ मेरो । दोस्रो कुरा, मेरो स्वर जुनसुकै अभिनेतालाई पनि म्याच हुन्छ । अनि अर्को कारण चाहिँ मेरो व्यवहार हो । मसँग व्यवहार गर्ने तरिका पनि छ । म घमण्ड गर्दिनँ ।
आफूलाई ‘राई इज किङ’ भन्दै हिँड्नुहुन्छ । यो घमण्ड होइन ?
यो त मलाई मिडियाले दिएको उपमा हो । कान्तिपुर साप्ताहिकले एकपटक ‘राई इज किङ’ भनेर छापेको थियो । उसले दिएको उपमा मैले स्विकारेको मात्र हुँ । तर, किरातहरूको इतिहास खोतल्ने हो भने म राजाकै खान्दानभित्र पर्छु । पहिलेको रोलक्रम चलिआएको भए अहिले म साँच्चीकै राजा हुन्थेँ । त्यताको राजा नभए पनि मेरा कृतिले मलाई अहिले पनि राजा नै बनाइदिएका छन् ।
स्टेज उक्लेपछि पानी पनि नखाई लगातार १५÷२० वटा गीत गाइदिनु हुन्छ । यो कसरी सम्भव भएको ?
१५÷२० होइन, २५÷३० वटै गीत गाइदिन सक्छु । अडियन्सको ताप देखेपछि मेरो थकान सुक्छ । पानी–सानी केही चाहिँदैन । जति भन्यो, उति गाइदिन सक्छु । तर, गाइसकेर कोठामा आएपछि मेरो बेहाल हुन्छ । साह्रै थाक्छु त्यतिबेला । स्टेजमा हुँदा चाहिँ मलाई दर्शकको आशीर्वाद मिल्छ क्यारे । त्यसैले त स्वर पनि सुक्दैन, थकाइ पनि लाग्दैन ।
नातिकाजीदेखि रजिना रिमालसम्म सहकार्य गर्नुभएको छ । नेपाली संगीतको स्तर कसरी नियाल्दै हुनुहुन्छ ?
अहिले प्रविधि बलियो भएर आएको छ । गाउन–बजाउन सजिलो छ । गायकगायिका धेरै भएका छन् । संगीत धेरै व्यावसायिक बनेको छ । तर, संगीतको स्तर चाहिँ खस्कियो भन्छन् मान्छेहरू । शाब्दिक हिसाबले खस्केको पनि छ । व्याकरणीय त्रुटि अत्यधिक हुन्छन् । उच्चारण गलत हुन्छन् । गीतको भाव नै टेढो हुन्छ । यद्यपि, मलाई के लाग्छ भने अहिले नारायणगोपाल दाइ हुनुभएको भए उहाँले पनि हाम्रोजस्तै टेढोमेडो गीत गाउनुहुन्थ्यो होला । जमाना बदलिसक्यो । गीतसंगीतको सुरताल फेरिइसक्यो । जमानाअनुसार चल्न सकेन भने गायक फ्लप हुन्छ । त्यसकारण कि त मैले जस्तो ‘मलाई पनि अंग्रेजीमा हाँस्न सिकाइदेऊ न’ खालका गीत गाउनुप¥यो । कि गाउनै छोडे हुन्छ । अंग्रेजीमा कसरी हाँस्ने ? भनेर निहुँ खोज्नु व्यर्थ छ अहिले ।
जिन्दगीमा तपाईंले जति रमाइलो कमैले गरेका छन् रे । के गर्नुभयो त्यस्तो ?
धेरै चिज गरेँ । रमाइलोको त कुनै हद थिएन । मेरो रमाइलो गर्ने माध्यम रक्सी, चुरोट–गाँजा र डिस्को थिए । चुरोट र डिस्कोको त लत नै थियो । रात पर्नासाथ डिस्को छिर्थें । रातभरि नाच्थेँ । बिहान हल्लिदैँ घर जान्थेँ । अरू मर्निङ वाक जाँदा आफू सुत्न गइन्थ्यो । अरू सुत्ने बेलामा मेरो दिन सुरु हुन्थ्यो । जिन्दगी पूरै उल्टो थियो । डिस्को नगएको रात छटपटीमा बित्थ्यो । रातभरि कानमा ढङढङढङ आवाज आइरहन्थ्यो । डिस्को नगई बाँच्नै नसक्ने भएको थिएँ । चुरोट त झन् छिनछिनमै खानुपर्ने । खान हुने, नहुने जुनसुकै ठाउँमा पनि चुरोट खाइदिन्थेँ ।
त्यो दुनियाँबाट कसरी बाहिर निस्किनुभयो ?
मेरो हात÷खुट्टा चल्न छोड्यो । चेक–अप गरेपछि थाहा भयो, अनिद्रा, गाँजा, चुरोट, रक्सीका कारण यस्तो भएको रहेछ । केही समय फिजियोथेरापी गरेँ । त्यसपछि मलाई होश आएजस्तो, बिउँझिएजस्तो भयो । लागुपदार्थ, डिस्को सबै छोडिदिएँ । नयाँ साथीहरू बने । गायनमा पुनः सक्रिय भएँ । सबैले राजेश पायल सुध्रियो भने । तर, मेरा पुराना साथीभाइ, जोसँग म चुरोट÷रक्सी खाने, डिस्को जाने गर्थें, ले राजेश पायल बिग्रिएर खत्तम भयो भने । यो सम्झिँदा खूब हास उठ्छ अहिले ।
मायाप्रेम पनि त खूब गरियो होला नि त्यो बेला ?
एकतर्फी प्रेम धेरै गरियो । धेरैजनासँग आकर्षित भइयो । तर, कसैलाई आई लभ यू भन्न सकिनँ । ‘रिजेक्टेड’ भइएला कि भन्ने डरले सधैँ कापिरहेँ म । कहिल्यै मुख खोल्न सकिनँ ।
घरगृहस्थी टुंगो लाउने बेला भएन र अब ?
भयो । चाँडै टुंगो लागोस् भन्ने चाहन्छु ।
तपाईंले नै लगाउने होला नि टुंगो त ?
म यतिबेला ठूलो अन्तद्र्वन्द्वमा छु । यत्तिका वर्ष आफ्नै मर्जीले काम गरियो । ममी–पापासँग छलफल पनि गरिएन खासै । त्यसैले घरबारको पाटो चाहिँ अभिभावकलाई छोड्दिऊँ कि भन्ने लाग्छ कहिले । तर, फेरि सोच्छु बिहे गर्ने मैले हो । जिन्दगी मैले बिताउनुपर्छ । यस्तो कुराको निर्णय त आफैँले गर्नुपर्छ भन्ने लाग्छ । यही दुइटा कुराले पिरोलिरहन्छन् ।
बिहे गरौं भन्ने फ्यान पनि त होलान् ?
घरमैं पुर्‍याएर विवाह गर्ने प्रस्ताव राख्नेदेखि ब्लडले लेटर लेख्नेसम्मका फ्यानको बेलिबिस्तार त केही समयअघि शुक्रवारसँगको कुराकानीमा लगाइसकेँ । भर्खरै अमेरिका जाँदा अचम्मकै बालिका फ्यान भेटेँ । उहाँ अहिले १२ वर्षको हुनुभयो । भन्नुहुन्छ, ‘म तपाईँसितै विहे गर्छु, ६ वर्ष कुर्नुस् ।’ उहाँहरु मेरो कलालाई मनपराउनुहुन्छ, त्यसैले त्यही लेभलको डिल गर्छु ।
अभिभावकले के भन्नुहुन्छ ? कत्तिको प्रेसर आइरहेको छ ?
प्रेसर त आउने नै भयो । मैले गर्दा भाइले समेत पालो पाएको छैन । कतिले त जिस्काएर ‘हाइवेमा बिग्रिएको थोत्रो ट्रक’ समेत भन्छन् मलाई । आफू पनि गुड्न नसक्ने, पछाडिका गाडीलाई समेत अघि जान नदिने थोत्रो ट्रक हुँ रे म । ममी–पापासँग चाहिँ छलफल गर्ने मौकै मिलेको छैन । उहाँहरू लन्डनमा बस्नुहुन्छ । म यता । फोनमा यस्तो कुरा के गर्नु ?
गाडीको कुरा गरिहाल्नुभयो । कुन ब्रान्डको गाडी चलाउनुहुन्छ ?
बसाइको टुंगो छैन । कहिले कता, कहिले कता पुगिरहेको हुन्छु । त्यसैले गाडी किन्न पाएको छैन । २०४६ सालमा पहिलो चोटि गाडी देख्दा कम्ता छक्क परेको थिइनँ । भोजपुरबाट हेलिकप्टर चढेर काठमाडौँ आउँदा गाडी देखेको थिएँ । ‘के रैछ यस्तो आफैँ गुड्ने साधन’ भनेर हेरेको हे¥यै भएँ । त्यही बेलादेखि गाडी किन्ने सपना देखेको हुँ । तर, किन्नै पाएको छैन ।
गाडीभन्दा पहिले हेलिकप्टर चढ्नुभएको रहेछ । पहिले हेलिकप्टर किनेर गाडी किन्ने सुर हो कि ?
होइन, होइन । त्यतिविघ्न धन कमाइसकेको पनि छैन । त्यत्रो विलासी पनि छुइनँ म । अब बिस्तारै गाडी चाहिँ किन्नुपर्ला ।

Leave a comment

सेक्सी ज्यान

सेक्सी ज्यान

आजभोलिका महिला आफ्नो शारीरिक संरचनाप्रति एकदमै सचेत भएका छन्। शरीरलाई सुडौल बनाउन उनीहरू धेरै मेहनत गर्छन्। सुगठित शरीरका लागि हेल्थ क्लब, जिम धाउने महिलाको संख्या दिनानुदिन बढ्दै गएको छ। राम्रो...

फलकाओले म्यानचेस्टर छाड्ने

कोलम्बियाली स्ट्राइकर राडामेल फलकाओले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाड्ने भएका छन्। हप्ताको २ लाख ६० हजार पाउन्ड पाउनेगरी फ्रेन्च क्लब मोनाकोबाट म्यानचेस्टर युनाइटेड आएका फलकाओले तिघ्राको चोटका कारण राम्रो खेल्न...

महामूर्खलाई आलु-मुलाको माला

महामूर्खलाई आलु-मुलाको माला

महामूर्खहरूको शहर अर्थात् वीरगञ्ज। यहीँबाट सुरु भएको हो, होलीको अवसरमा उत्कृष्ट रचना दिने सर्जकलाई 'महामूर्ख'को उपाधि दिने चलन। २०४९ सालमा स्थानीय साहित्यिक संस्था मैथली साहित्य परिषद्ले वीरगञ्जमा होलीको अवसरमा महामूर्ख...

पालमुनि बास त्रासैत्रास!

पालमुनि बास त्रासैत्रास!

वैशाख १२ को ठूलो भूकम्पपछि असंख्य नेपालीको बास पालमुनि छ। पालमुनि असुविधामात्रै छैन, असुरक्षा पनि छ। बालिका र किशोरीहरू बढी जोखिममा छन्। चेलीबेटी बेचबिखनमा संलग्न गिरोह र दलाल विपद्मा चौका...

'सेलिब्रिटी होइन, क्रिकेटर हुँ म'

'सेलिब्रिटी होइन, क्रिकेटर हुँ म'

नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुर्याआएपछि पारस खड्कालाई भ्याइ–नभ्याइ छ। कीर्तिपुरमा गएर अभ्यास गर्नु, सम्मान थाप्नु छँदै छ। विभिन्न ठूला हाउस उनलाई ब्रान्ड एम्बेसडर बनाउन दौडधुप गरिरहेका छन्। न्युजिल्यान्डमा अर्को महिना हुने...

मञ्च–रंगमञ्च : कल्पनाशीलताको सीमा

मञ्च–रंगमञ्च : कल्पनाशीलताको सीमा

नाटकमा कल्पनाशीलताको कुनै सीमा हुन्न। असीमित कल्पनाशीलतामा नै नाटकको सौन्दर्य प्रस्फुटित हुन्छ। नाटकको सीमित चारदिवारीभित्र असीमित दृश्यहरूको परिकल्पना गरिएको हुन्छ। यो सबै कलात्मक सिर्जनशीलतामा मात्र सम्भव छ।

दशैँ : एक पर्व र प्रकोप

दशैँ : एक पर्व र प्रकोप

दशैँको सुरुवातकृषि युगलाई भव्यतापूर्वक भोगेर अगाडि बढेको दुनियाँका सबै समाज र जातिका परम्परागत चाडपर्वमध्ये बाली लगाउने र बाली भित्याउने समयका चाडपर्व विशेष महत्वका रहिआएका छन्।

'साथीलाई कुखुरा पाल्न दिन्थेँ'

'साथीलाई कुखुरा पाल्न दिन्थेँ'

मीनबहादुर भाम लिखित र निर्देशित फिल्म 'कालो पोथी' अहिले फिल्म हलमा चलिरहेको छ । फरक तरिकाले निर्माण गरिएको यस फिल्मले व्यावसायिक सफलता पनि हासिल गरेको छ । फिल्मले यसअघि नै...