Tuesday 9 Ashwin, 2075 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

अलिकति दोहोरी अलिकति फोहोरी

(1 Vote)
अलिकति दोहोरी  अलिकति फोहोरी
करिब दुई दशकअघि देशमा दोहोरी साँझको जन्म भयो । कुनै बेला दोहोरी साँझ गायन प्रतिभाका लागि राम्रो 'प्लेटफर्म' थियो । यसबाटै दर्जनौँ गायक–गायिकाले आफ्नो करिअर चम्काए । दोहोरी साँझ सभ्य र अनुशासित पनि हुन्थ्यो । तर, अहिले दोहोरी साँझ फोहोरी हुन थालेको छ । ग्राहक तान्ने बहानामा यहाँ छाडा र भद्दा शब्दहरूको जु्हारी मात्रै चल्दैन, यहाँ कार्यरत गायक–गायिकाको श्रम शोषण पनि हुन्छ । बेलैमा दोहोरी साँझलाई मर्यादित र व्यवस्थित गर्न नसकिए यो विकृतिको अखडा नबन्ला भन्न सकिन्न । अम्मर जिसीअनिल यादवले दोहोरी दुनियाँ र यसका उज्याला/अँध्यारा पाटा अवलोकन गरेका छन् ।
nepali-patro-june
गायिका बन्ने सपना सँगालेर १६ वर्षकै उमेरमा रोल्पाकी शान्तिश्री परियार आठ वर्षअघि राजधानी आएकी थिइन् । दोहोरी साँझमा सजिलै काम पाइहालिन् । त्यसअघि कहिल्यै स्टेज नउक्लेकी शान्तिश्री लगत्तै माइक समातेर रेस्टुरेन्टको माहौल तताउन थालिहालिन् । दोहोरी साँझमा अभ्यस्त बन्दै जाँदा धेरैले उनको गलाको सम्मान गरे । रेस्टुरेन्टमा आउने ग्राहककै मायाले समय–समयमा एल्बमहरू निकाल्ने अवसर जुट्न थाल्यो । उनलाई राजधानी बसाइसँगै घरखर्चसमेत टार्न चिन्ता गर्नुपरेन ।

हाल काठमाडौँ, ठमेलस्थित नगरकोट दोहोरीमा कार्यरत शान्तिश्री दोहोरी साँझको स्टेजलाई सपना पछ्याउने मुख्य 'राजमार्ग' ठान्छिन् । टिप्ससमेत गरेर मासिक ४० हजार रुपैयाँ हाराहारी कमाउँछिन् । डेढ सय वटा गीत रेकर्ड गराइसकिन् । 'दोहोरी साँझजस्तो उचित प्लेटफर्म मेरा लागि अरू बन्न सकेन,' उनले भनिन् ।

बाग्लुङका प्रकाश सपूतको ऊर्जावान् कला–गलाले प्रायः साँझ ठमेलको गामबेसी दोहोरी साँझ घन्किरहेको हुन्छ । गायक बन्ने लक्ष्य बोकेर राजधानी पसेका उनलाई पनि यहाँको माहौलसँग परिचित नबन्दै साथ दिने त्यही स्टेज हो । जुन स्टेज रात परेपछि मात्र चलायमान बन्छ । लोकगीतप्रेमी पाहुनाको माया पाएर केही एल्बमहरू निकालिसकेका उनी दोहोरी साँझकै प्रस्तुतिले खारिएका हुन् । 'रात्रीकालीन पेशा भएकाले केही चूनौतीपूर्ण त छ तर दोहोरी साँझ हाम्रा लागि अवसरले भरिपूर्ण प्लेटफर्म हो,' उनको बुझाइ छ ।

लमजुङकी शान्ति सुनार सात वर्षदेखि दोहोरी साँझमै चम्किरहेकी छिन् । गाउँदागाउँदै 'संयोगवश' प्रहरीमा जागिरे भइन् । आधारभूत तालिमका बेलाबाहेक प्रायः साँझ दोहोरी गाउन छुटाइनन् । दर्जनौँ लोकदोहोरी गीत रेकर्ड गरिसकेकी उनी गायनमा जम्न सकेकै कारण संगठनभित्र र बाहिर प्रिय बन्दै छिन् । दर्जनौँ प्रहरी गीत गाइसकिन् । दोहोरी साँझबाट मात्रै मासिक ३५ हजार रुपैयाँ हाराहारी कमाउँछिन् । बिरामी आमाको उपचार र भाइबहिनीको पढाइलेखाइ सबै उनैले धानेकी छिन् । 'गाउँमा कुरा काट्न थालेपछि सुरुसुरुमा आमाले 'घर आइज' मात्र भन्नुहुन्थ्यो,' उनी सुनाउँछिन्, 'अचेल बुझ्दै जानुभयो । खुशी हुनुहुन्छ । आफू भलो त जगतै भलो भनेर सम्झाउँछु ।'

पोखराकी दुर्गा परियार र उनका श्रीमान् मुन्ना गुरुङ दुवैजना दोहोरी साँझमै जमेका छन् । श्रीमान् बजाउने, श्रीमती गाउने । कहिलेकसो दुवैजना माइक समाएर सँगसँगै गाइरहेका भेटिन्छन् । दोहोरी साँझमा काम गर्दा चिनापर्ची भएर बन्धनमा बाँधिएका उनीहरू सन्तुष्ट छन् । 'परिवार खुशी भएपछि अरू के चाहियो र है ?' दुर्गातिर हेर्दै मुन्ना भन्छन्, 'गाउँ–समाजले जे सोचोस् वा भनोस् । हामी आफ्ना सपनाहरू बुन्ने प्रयासबाट पछि हट्दैनौँ ।'

दोहोरी साँझकै स्टेज उक्लेर गायिका बनेकी सुर्खेतकी स्मृति शाही यसैबाट भएको कमाइले दोहोरी साँझकै मालिक बनिसकिन् । आफ्नो करिअरका लागि दोहोरी साँझकै स्टेज उर्वर ठान्ने उनी आधुनिक, लोक, देउडा गरेर अहिलेसम्म आठ सय जति गीत रेकर्ड गराइसकेको बताउँछिन् । 'दोहोरी साँझ सुरुमा बाँच्ने आधार बन्यो,' नयाँबानेश्वरको मायालु दोहोरीकी सञ्चालक स्मृति भन्छिन्, 'अहिले यसैलाई व्यवसायको आधार बनाउन पाउँदा खुशी छु ।'

०००

शान्तिश्री, प्रकाश, शान्ति, दुर्गा, मुन्ना, स्मृतिहरू 'भाग्यमानी' पात्र हुन् । उनीहरू दोहोरी साँझमै खुशी छन् । कैयौँ पात्र यस्ता छन्– जसले आफूलाई मालिकको धन्दा चम्काउने माध्यमभन्दा पर देख्दैनन् । उनीहरू नाना कारणले साहूको करामत सहिरहन विवश रहेको दुखेसो शुक्रवारलाई पोख्छन् ।

अँध्यारो पाटो

करिश्मा घर्तीमगरले दोहोरी साँझमा काम गर्न थालेको सात वर्ष भयो । उनले यो अवधिमा धेरै खाले साहू झेल्नुप¥यो । साहूको गलत मनसायकै कारण उनले पछिल्लो पटक सुन्धाराको एक दोहोरी साँझको काम त्याग्नुपर्यो । 'साहूले भनेअनुसार चल्न नसकेपछि तलबै नबुझेर चटक्कै छाडिदिएँ,' अहिले अर्को दोहोरी साँझमा काम थालेकी करिश्मा पुरानो साहूका हर्कतहरू सम्झेर अहिले पनि सोच्छिन्, 'कुन दिन यो क्षेत्रमा पसिएछ !'

भएको के रहेछ ? करिश्माका अनुसार दोहोरी साँझकै लागि भनेर हरेक स्टाफलाई एउटा मोबाइल थमाइएको थियो । जुन नम्बर हरेक ग्राहकले पाउँथे । ग्राहकको नम्बर स्टाफले पाउँथे । साँझ पर्न थाल्यो कि ग्राहकलाई फोन लाउनुपथ्र्यो । धेरै ग्राहक डाक्नेले साहूको विशेष सहुलियत पाउँथ्यो । ग्राहक नडाक्नेले कसरी सुख पाउँथे ? 'एक त दोहोरी साँझमा काम गर्नेलाई जल्ले पनि गलत नजरले हेर्छ,' करिश्माले भनिन्, 'झन् चिनेका–नचिनेका सबै ग्राहकलाई फोन गरेर डाक्दा उनीहरूले के सोच्छन् ?' जसरी होस्, ग्राहक बोलाएर रमाइलो गराउनुपर्ने साहूको 'ह्विप' उनका लागि असह्य थियो ।

कुसुम परियारको पीडा बेग्लै छ । साहूले बिजनेस हेर्ने र ग्राहकले शरीर ताक्ने गलत प्रवृत्तिले दोहोरीमा गाउन मुस्किल छ भन्छिन्, उनी । 'पैसाले जे पनि किन्न सकिन्छ भन्ने तुच्छ मानसिकताले काम गर्न दिक्क लाउँछ,' उनी भन्छिन्, 'गाएर मात्र गायिका बनिँदैन भन्छन् उनीहरू । गाउँसमाज त गलत सोच्छ नै । घरपरिवारले पनि साथ नदिँदा दुःख लाग्छ ।'

काठमाडौँ, नयाँ बसपार्कको एक दोहोरीमा काम गर्ने अञ्जु जिरेल 'किन साँझ पर्दो हो' भन्ने स्थितिमा पुगिसकेकी छिन् । गाउँबाट आएलगत्तै दोहोरी साँझमा सीधै काम पाउँदा दंग परिन् । साँझहरू बित्दै जाँदा कामको भार र स्वरूप फेरिँदै गयो । साहूबाट आदेश भयो– 'दोहोरी मात्र होइन, ग्राहकले माग गरेका सब गीत गाउनुपर्छ । जसरी भए पनि ग्राहक हौसिने गीत हुनुप¥यो । गाउने पालो नहुँदा नाच्नुप¥यो । ग्राहकसँग हिमचिम बढाउनुप¥यो । ग्राहकलाई भगवान् ठानेर उनीहरूले भनेजसरी चल्नुप¥यो ।' कामको भार दैनिक बढाउँदै जाने । पारिश्रमिक घटाउँदै जाने । नाकाबन्दी भनेर रेस्टुरेन्टको मेनु महँगियो । अहिलेसम्म ती मेनुमा नाकाबन्दी जारी छ । 'तर, हामी कामदारको तलब टिप्स देखाएर झन् घटाइँदै छ,' अञ्जु भन्छिन्, 'तलब पाँच हजार छ । टिप्सकै आश ग¥यो, बस्यो । चित्त नबुझ्ने काम गर्नु पर्दा मरेको जस्तो लाग्छ ।' गायिका बन्ने सपना देखेर काठमाडौँ आएकी उनी बाँच्नका लागि दोहोरी साँझको विकल्प पनि देख्दिनन् । 'यस्ता फोहोरी काम नहुने अनुशासित दोहोरीमा काम गर्न पाउनु त भाग्यकै कुरा हो,' उनी भन्छिन् ।

करिश्मा बीसीले तीन वर्षदेखि दोहोरी साँझमा गाइन् । गलामा समस्या आएपछि बिलखबन्दमा परेकी उनलाई डाक्टरले अप्रेसन गर्नुपर्छ भने । जेनतेन राजधानीमा टिकेकी उनी घाँटीको अप्रेसन कसरी गर्न आँट्थिन् ? 'काम गर्दासम्म आफ्ना,' करिश्माको दुखेसो छ, 'गाउन नसक्ने भएपछि के हेर्थे !'

काठमाडौँ, चाबहिलको एक दोहोरी साँझमा वेट्रेसको काम गर्ने मुना पाख्रिन कहिलेसम्म 'दोहोरीको फोहोरी' काम गरेर बस्ने ? यसै भन्न सक्दिनन् । 'साहूले ४५ सय तलब दिन्छु भनेको छ,' उनले भनिन्, 'नाम मात्रको दोहोरी । काम सब फोहोरी–फोहोरी हुन्छ । कहिलेसम्म सहेर बस्ने ? सोच्न सकेकै छैन् ।' उनका अनुसार काम गाउने मात्र हुँदैन । ग्राहकसँग खुल्नैपर्छ । सके पिउने । नसके पिएजस्तो गर्ने । जति सक्यो धेरै रक्सी, बियर पिउन उक्साउनुपर्ने । कमिसनको लोभ देखाएर रक्सीका बोतल बेच्न लाउने । ग्राहकबाट सके जति धेरै टिप्स झार्ने । नदिने ग्राहकसँग हात थाप्नुपर्ने । यस्तै यस्तै ।

गायकका आफ्नै दुःख छन् । गायिकाको सहयोगीमा मात्र सीमित गर्न खोजेको दुखेसो पोख्ने उनीहरू तलब, टिप्स तथा काममा हुने विभेदप्रति असन्तुष्ट छन् । 'केटीको तुलनामा तलब एकदमै कम छ,' रविन लामिछाने भन्छन्, 'काम चाहिँ सबै गर्नुपर्छ । सेवासुविधा भने चित्त दुखाउने खालको हुन्छ ।' उनका अनुसार ग्राहक तथा साहू दुवै पक्षको प्राथमिकता केटीलाई नै हुन्छ । 'दोहोरी साँझबाट गायिकालाई जस्तो अवसर गायकलाई मिल्दैन,' उनी भन्छन् ।

दोहोरीका फोहोरी दृश्य

साँझको ६ बज्दै गर्दा राष्ट्रिय गान बजेर दोहोरी साँझ सुरु हुन्छ । लाग्छ– यो जस्तो सभ्य र भव्य व्यवसाय अरू के हुन सक्छ ? 'स्थायी', 'अस्थायी', 'करार', 'प्रशिक्षार्थी', 'कमिसन बेसिस' । स्टाफ कति–कति ! सुरुसुरुमा स्टाफकै चहलपहल हाबी हुन्छ । ठूलठूलो आवाजमा स्पिकर घन्किन र थर्किन थालेपछि बिस्तारै ग्राहकको आउजाउ सुरु हुन्छ ।

ग्राहकलाई परैबाट नमस्कार टक्य्राइहाल्छिन्, उनी । सुरुमा हेर्दै आँखा तिर्मिराउने गरी महँगो मेनु थमाउँछिन् । स्टेजमा गाउने, बजाउने, नाच्नेहरू टनाटन भरिएका हुन्छन् । 'एउटा कान्छी बनाउने सुर ग¥या, पात्ली–पात्ली कसिलो ज्यान ग¥या', 'दाजुसँग पिरती लाऊँ कि त, आज राति सँगसँगै जाऊँ कि त' जस्ता बोलका गीतले ग्राहक पहिलो घुट्कीमै अगाडि गएर हल्लिन कस्सिइहाल्छन् । तालतालका केटाकेटी छाडा पाराले नाचिरहेको दृश्यले माहोल पूरै भद्दा लाग्छ । गीतका शब्दहरूमा उत्तेजना बढ्दै जान्छ । ग्राहकको नशाको पारो उकालो लाग्दै जान्छ । ग्राहकलाई रक्सीको तालमा डुबाउन खोज्ने युवती छुट्टै हुन्छन् । स्टेजको अगाडि बलिरहेको दियो वरिपरि पैसा थुप्रिने क्रम जारी रहन्छ ।

नयाँ बसपार्कनजिक तल्लो–माथिल्लो तलामा सञ्चालित बाराही र उकाली–ओराली दोहोरी साँझबाट निस्केर गोंगबुको मिर्मिरे दोहोरीमा पुग्दासम्म त्यहाँको माहौल तातिइसकेको हुन्छ । साँघुरो हलमा सञ्चालित यो दोहोरीको स्टेजमा गायकले टाउको निहुराएर गाइरहेका छन् । केटाकेटीको सवालजवाफ यहाँ झन उच्छृंखल लाग्छ । 'आज राति जाने है एकतिर, मज्जा आउने खाटमा कि भुइँतिर', 'तिम्रै स्वागत गर्नलाई कोठाको साजसज्जा, भुइँमा जस्तो खाटमा त के मज्जा' जस्ता छाडा सवालजवाफले ग्राहक र स्टाफहरू मुखामुख गर्दै छिल्लिन्छन् । ग्राहकको बिल बढाउन अनेक हत्कण्डा भइरहेका हुन्छन् । रात छिप्पिँदै जाँदा मातेका ग्राहक र स्टाफहरूबीच खासखुस चल्दै जान्छ ।

उता, चाबहिलको हाम्रो भेटघाट दोहोरी साँझमा झन् उत्तेजित प्रस्तुतिहरू पस्किइँदै थियो । हरेक टेबुलमा एक जना युवती अनिवार्य उपस्थित थिइन् । लर्बरिएको स्वरमा साहूजी आफैँ उद्घोषण गरिरहेका थिए । ग्राहकलाई पैसाको खोलो बगाउन हौस्याइरहेका थिए– 'मायाको चिनोस्वरूप फलानोले एउटा हात्ती पस्किनुभयो', 'फलानोबाट पनि माया पाउने आशा छ ।' कैयौँ गुणा महँगो रेट लिस्ट नहेर्दै केटीहरू फ्याटफ्याट बियरको बिर्को तोडिरहेका थिए । कमिसनको आशाले पनि उनीहरू धेरैभन्दा धेरै पेय बेच्न खोज्थे । टेबुलतिरका दृश्य हेर्न लायक थिएनन् । ग्राहकहरू सेटिङ मिलाउँदै बाहिरिन खोज्थे । तर, केटीहरू मान्दैनथे । 'बन्द नहुँदै गयो भने जागिर जान्छ' भन्दै युवतीहरू अन्तिम समयसम्म बस्न भन्दै थिए । गतिविधिजस्तै वातावरण पनि फोहोरी थियो ।

दोहोरी साँझको छवि बिग्रँदै गएकोमा दुःखी छिन्, १२ वर्षदेखि दोहोरी साँझमा गाउँदै आएकी बाग्लुङकी निता पुनमगर । हजारौँ मान्छेलाई रोजीरोटी दिलाएको, मनोरञ्जनको साधन बनेको तथा लोक संस्कृतिको जगेर्नामा ठूलो भूमिका खेलेको दोहोरी साँझलाई व्यवस्थित गर्नतिर बेलैमा सोच्नुपर्ने आवश्यकता उनी देख्छिन् । नयाँ आउने आधुनिक शैलीका भनिएका कलाकार र चाँडै धनी बन्ने सोचका सञ्चालकका कारण यो क्षेत्रको छवि धमिलिएको उनको बुझाइ छ । 'नयाँ आउने भाइबहिनीले यसको मर्म बुझ्न नसक्दा छाडा बन्दै गएको छ,' उनी भन्छिन्, 'गलत काम गर्नेलाई सबै मिलेर लखेट्नुपर्छ ।' उसो त उनले पनि रातको बेला खराब चरित्रका व्यक्तिहरूको सामना गर्नु नपरेको कहाँ हो र ? रक्सी पिएका ग्राहक, साहू, ट्याक्सी चालक । सबैसँग भिडेर आफू जोगिएको अनुभव उनले सुनाइन् ।

दोहोरी सञ्चालकको दादागिरी

कर्मचारी वा गायक–गायिकाले एउटा दोहोरी साँझमा काम छाडेपछि अर्कोमा काम पाउने सम्भावना धेरै कम हुन्छ । त्यसको कारण हो, दोहोरी साहूको शक्ति । एक जना स्टाफले छोड्यो भने 'सर्कलुर' जारी हुन्छ– यसलाई कुनै रेस्टुरेन्टले नराखोस् ।

राजधानीस्थित नयाँ बसपार्क आसपास रहेका लोकदोहोरी सञ्चालकहरूले त्यहाँ काम गर्ने कलाकारमाथि सिन्डिकेट लाद्न खाजेको समेत पाइएको छ । 'एउटा दोहोरी साँझमा काम गर्ने कलाकारले काम छोड्यो भने उसलाई बसपार्क क्षेत्रका दोहोरीसाँझमा काम नदिन उर्दी जारी गरिँदो रहेछ,' राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान उपत्यका शाखाका अध्यक्ष शिव हमालले भने, 'भर्खरै एकजना नाम चलेका गायक त्यसको शिकार हुनुभयो । कहीँ पनि काम नदिनू भन्दै सूचना टाँस्दै हिँड्ने ती सञ्चालकलाई हामीले चौकीमा लगेर कागज गराएर माफी मगायौँ ।' थोरै पारिश्रमिकमा सधैँभरि काम पेलाउन खोज्ने साहूको नियतका कारण यस्तो भएको उनको अड्कल थियो ।
IMG 1396
लुटिन्छन् ग्राहक

रमाइलो साँझ बिताउन परिवारसँग दोहोरी साँझ जाने धेरै व्यक्ति अप्ठेरोमा पर्छन् । कोही मूल्यका कारण त कोही त्यहाँको माहौलका कारण । 'काठमाडौँमा परिवार लिएर जान लायक दुईतीनटा बाहेक दोहोरी देख्दिनँ म,' नियमित दोहोरी जाने आईटी व्यवसायी सोहन मल्लाह भन्छन्, 'कतै पैसा रित्याउन खोजिन्छ, कतै फोहोरी काम हुन्छन् । धेरैजसो त रातमा सोझासाझा ग्राहक लुट्नै खुलेका जस्तो लाग्छ ।' लगभग सबै दोहोरीमा २० रुपैयाँको पानी डेढ सय, २ सय ५० को बियर छ सय रुपैयाँ । मूल्य यसरी तोकिएको हुन्छ । 'दोहोरीमा साहू, कलाकार, वेटर सबैबाट लुटिएको ग्राहक बाहिर निस्कँदा ट्याक्सीबाट लुटिन्छ । कोठामा पुग्दासम्म गोजी रित्तिइसकेको पत्तो पाउँदैन उसले,' सोहनले भने, 'केटीको विषयमा समय–समयमा झगडा पनि मच्चिन्छ, दोहोरी साँझहरूमा ।'
for cover
साहूजीसँग सम्बन्ध

केही महिनाअघि काठमाडौँ, बानेश्वरमा रहेको एक दोहोरी साँझका सञ्चालकले त्यहीँ कार्यरत एक गायिकालाई पिटे । गायिका पिटेको खबर राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानसम्म पुग्यो । ती गायिकालाई क्षतिपूर्ति दिलाएर प्रतिष्ठानले झगडा साम्य बनाइदियो ।

प्रजापति पराजुली
पहिलो दोहोरी साँझका सञ्चालक
‘दोहोरीमा अनुशासन छैन’
मैले २०५० साल फागुन २३ गते नेपालमै पहिलोपल्ट पोखरामा ‘दोहोरी रेस्टुरेन्ट, दोहोरी साँझ’ खोलेँ । मैले यो दोहोरी इखले खोलेको हुँ । त्यसअघि केही गजल साँझमा फाटफुट दोहोरी गाइन्थ्यो । तर, दोहोरी कलाकारलाई जहिल्यै दोस्रो दर्जाका रूपमा व्यवहार गरिन्थ्यो । मैले त्यतिबेला सरगम गजल हाउस, पोखरामा महिनाको दुई दिन दोहोरी गाउने भनेर १५ सय तलबमा सम्झौता गरेको थिएँ । दोहोरीका कलाकारप्रति हेपाहा प्रवृत्ति देखेर मैले तलब नलिँदै काम छोडेर आफ्नै दोहोरी खोलेँ ।
मेरो दोहोरी साँझ ग्राहकको खुट्टो हाल्ने ठाउँ नहुने गरी चल्न थाल्यो । लगत्तै पोखरामा आधा दर्जन दोहोरी साँझ भटाभट खुले । अनि मात्र काठमाडौँमा पहिलो पल्ट पुकार दोहोरी साँझ खुल्यो । मैले चार वर्ष चलाएर दोहोरी साँझ बन्द गरेँ । मैले त्यतिबेला ६ बजेबाट १० बजेसम्म दोहोरी चलाउँथेँ । म आफैँ गाउँथँे ।
त्यतिबेलाका दोहोरी साँझमा धेरै अनुशासन थियो । पहिले–पहिले दोहोरी साँझमा केटी वेटर एकदमै कम हुन्थे । तर, पनि ग्राहकलाई खुशी पारिएकै थियो । अहिले दोहोरी साँझमा केटी वेटर बढी राखिन्छन् । धेरै वेटरहरू छोटा र भद्दा पहिरनमा पाइन्छन् । यस्तो हर्कतले दोहोरीलाई नै नंग्याउने काम गरेको छ । अहिलेका कलाकारमा पनि अनुशासन छैन । पहिले–पहिले दोहोरी साँझमा टिपिकल भाका गाइन्थ्यो । अहिले त ‘लग्यो भने ऊसँगै जानी हो, दियो भने बियर नि खानी हो !’ भन्दै दोहोरीका नाममा जथाभावी गाउँछन् । पहिलेजस्तो सकारात्मक सोचका साथ एकदमै कमै दोहोरी साँझ चलेका छन् । पहिले दोहोरी साँझमा ग्राहक लोकदोहारी सुन्न भनेरै परिवारसहित आउँथे । अहिले चाहिँ केटी पाइन्छ भन्ने नियत लिएर जान्छन् । कुन बेला दोहोरी सकिएला र यो केटी लिएर जाउँला भन्ने सोचमा ग्राहकहरू हुन्छन् । यस्तो डरलाग्दो प्रवृत्तिको अन्त्य हुन जरुरी छ ।


‘दोहोरी साँझ राम्रो प्लेटफर्म हो’

सुनितामी परियार, दोहोरी साँझकी गायिका
कलाकार बन्ने सपना देखेर सन्धिखर्क, अर्घाखाँचीबाट काठमाडौँ आएकी म चार वर्षदेखि दोहोरी साँझमा गाउँदै छु । क्लासिकल म्युजिकको विद्यार्थी पनि हुँ । संगीतलाई निरन्तरता दिन र काठमाडौँमा बाँच्नका लागि दोहोरीमा गाउनैपर्ने बाध्यता छ । काममा रमाइरहेकी पनि छु । यहाँ काम गरेरै पढाइ पूरा गर्दै छु । यही कामबाट कमाएको पैसाले चारवटा एल्बम पनि निकालियो । दोहोरी साँझ संघर्ष गर्नेहरूका लागि सजिलो माध्यम हो । देशविदेश जाने प्लेटफर्म बन्छ । प्रतिभालाई सम्मान गर्नेहरूसँग भेट हुन्छ ।
दुःख पनि छन् । रातिको काम भएकाले सबैले सोचेजस्तो व्यवहार गर्दैनन् । हेर्ने दृष्टिकोण नै गलत छ । दुईचार जना नराम्राले गर्दा यो क्षेत्र नै बदनाम भयो । हेलाँहोचो भोग्नुपर्छ । दोहोरी साँझ मैले छोड्ने कोसिस पनि गरेँ । तर, सकिनँ । यो त नशाजस्तै रहेछ ।

‘कतिपय ग्राहकले हेप्छन्’
रविन लामिछाने, दोहोरी साँझका गायक
मेरो घर गोरखा हो । अहिले मास्टर्स अध्ययनरत छु । पाँच वर्ष भयो, मैले नगरकोट दोहोरी साँझमा काम गर्न थालेको । मेरो सानैदेखिको रुचि थियो, गायक बन्ने । त्यसका लागि सजिलो थिएन । साँझ ७ बजेदेखि राति १२ बजेसम्म काम गर्नुपर्छ । यहाँ काम गर्दाका सुखदुःख दुवै छन् । कतिपय ग्राहकले स्वरको प्रशंसा गर्छन् । यहीँबाट विदेशमा कन्सर्ट गर्नलाई सम्बन्ध पनि बन्छ । मलाई त लाग्छ दोहोरीमा काम गर्ने कलाकारले बाहिरको कन्सर्टका लागि बढी अवसर पाउँछ । तर, दुःख पनि छन् । कतिपय ग्राहकले साह्रै हेपेर बोल्छन् । कतिपयले त ठाडै ‘केटी मिलाइदे’ भन्छन् । म उद्घोषक पनि हुँ । त्यसैले कतिपय ग्राहकले उनीहरूको  रोजाइका गीत छिटो आएन भन्दै गाली गर्ने र थर्काउने पनि गर्छन् । दोहोरी साँझमा हामी पुरुषको भन्दा महिलाको तलब बढी हुन्छ । काम उनीहरूभन्दा हामीले बढी गरे पनि तलब उनीहरूकै बढी हुन्छ । यो कुरा सम्झेर कहिलेकाहीँ हीनताबोध हुन्छ । दोहोरी साँझमा ग्राहक केटीकै लागि आउँछन् भन्ने मानसिकताका कारण पनि यसो भएको हो । मैले दोहोरी साँझमा काम छोड्न प्रयास नगरेको पनि होइन् । दिनमा २५–३० वटा गीत गाउनुपर्छ । एकचोटि त मेरो घाँटी नै बिग्रियो ।
पाँच घण्टा काम गर्दा टिप्ससहित महिनामा ३०÷३५ हजार रुपैयाँ कमाइन्छ । तर, पनि यो सम्मानित पेशा बन्न सकेको छैन । अहिले पनि मेरो परिवारमा यो काम गर्नलाई पूर्ण समर्थन छैन । अर्को कुरा, दोहोरी साँझमा काम गर्छु भन्दा अझै पनि कोठा पाउन मुस्किल छ ।

विकृति बढेकै हो’
शिव हमाल, अध्यक्ष
उपत्यका शाखा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान
काठमाडौँमा अहिले ६१ वटा दोहोरी साँझ छन् । पोखरामा १८, नारायणघाटमा दुई, धरान, मुग्लिन, सुर्खेतलगायत ठाउँमा एक–एक वटा छन् । अन्य जिल्लामा पनि खुल्ने क्रम जारी छ । मैले पनि १० वर्ष दोहोरी साँझमा गाएको छु । दोहोरी साँझ गाउनेका लागि जीविकोपार्जन गर्ने माध्यम हो । यो रियाज गर्ने ठाउँ पनि हो । तर, दोहोरी साँझ अहिले पहिलेभन्दा विकृत भइरहेको कुरा पनि साँचो हो । पहिले दोहोरी साँझमा संस्कृति, सभ्यता र संस्कार थियो । अहिले यो सब मेटियो । अहिले मात्र व्यावसायिकता बाँकी छ । पहिले दोहोरी साँझमा गाउन ट्रायल दिनुपथ्र्यो । अहिले त एकैचोटि स्टेज चढ्न पाइन्छ । कलाभन्दा जवानीलाई महŒव दिइन्छ । जसरी फिल्ममा हिरोइनभन्दा हिरो हाबी हुन्छन्, ठीक त्यसैगरी लोकदोहोरी साँझमा गायकभन्दा गायिका हाबी हुन्छन् । यहाँ त पुरुष डमी मात्र हुन् । उनीहरूको काम मात्र– ‘यो फलानो राम्रो छ, तँलाई पाल्छ, बिहे गर’ भनेर उत्तर फर्काउने हो । दोहोरी साँझ महिलाहरूको सम्बन्धका कारण चल्छ भन्ने मान्यता व्याप्त छ । अभ्यास पनि त्यस्तै भइरहेको छ ।
दोहोरी साँझ हाम्रा लागि पाठशाला हो । त्यसैले यो क्षेत्र विकृत हुँदा चित्त दुख्छ । यहाँ नयाँ–नयाँ र नचलेका गायिकालाई आर्थिक र मानसिक शोषण पनि गरिन्छ । गुण्डागर्दी पनि भइरहेको छ । यसलाई व्यवस्थित गर्न हामी योजना बनाएरै अघि बढ्दै छौँ । अहिले अग्रज लोकस्रष्टाका गीत दोहोरी साँझमा गाइनुपर्छ भनेर हामीले भनिसकेका छौँ । काम गर्नेले लाउने पहिरन र उनीहरूको आनीबानीलाई अनुशासित बनाउने काम गरिरहेका छौँ । अर्को दुःख लाग्दो कुरा के हो भने दोहोरी साँझमा अत्यन्तै राम्रा–राम्रा प्रतिभा पनि छन् । तर, उनीहरू दोहोरी साँझमै सीमित छन् र हुन्छन् । कतिपय त घामको उज्यालो नै देख्दैनन्, बाहिरी संसार नै चिन्दैनन् । रातभरि काम गर्छन् अनि दिउँसो ढिलासम्म सुत्छन् । अनि साँझ काम गर्ने बेला हुन्छ । तयार हुन्छन् । अनि फेरि काममा गइहाल्छन् ।  


‘दोहोरीमा प्रतिभा मर्छ’
अञ्जान बाबु, गायक
मैले २०६० देखि छ वर्ष दोहोरी साँझमा गाएँ । यो अवधिमा आधा दर्जन लोकदोहोरी साँझमा काम गरेको थिएँ । यो अनुभवले भन्छ– दोहोरी साँझ लुट्ने धन्दा मात्र भइरहेको छ । यस्ता दोहोरी साँझसँग लोक जोड्नु हुँदैन । लोक त उहिल्यै हराइसक्यो । यहाँ जसरी पनि ग्राहकसँग पैसा फुत्काउने कुरा हुन्छ । कलाकार र वेटर सबैले यो कुटनीति जानेका हुन्छन् । दोहोरी साँझ धाइरहने ग्राहक फलानो दोहोरीमा फलानो गायिकासँग गाउने भनेरै पुगेको हुन्छ । दोहोरी साँझमा गायकहरू त गायिकाको सहयोगी मात्र हुन्छन् । यहाँ काम गर्नलाई केटासँग प्रतिभा अनिवार्य छ । केटीको चाहिँ रूप महŒवपूर्ण हुन्छ । केटीले त गाउन नजाने पनि हुन्छ, बरु यहीँ आएर सिक्छन् भन्ने मानसिकता साहूको हुन्छ । दोहोरी साँझमा ग्राहकलाई फुर्काउन र आकर्षित गर्नलाई धेरै गरिन्छ । उसको नाम बोलाएर गाइदिने । राम्रो भनिदिनुपर्छ । जहाँ ग्राहकको रूपको वर्णन गरिन्न, जहाँ उनीहरूको नाम लिइन्न, त्यहाँ टिप्स झर्ने कुरै हुन्न । नशामा लट्ठिएको मान्छेले संस्कृति भन्ने कुरै सोच्दैन । त्यस्तो ठाउँमा संस्कृतिको सम्मान हुन्छ भन्नु एक किसिमको अर्धचेतना नै हो ।
गायक–गायिकाले पनि ग्राहकको टेबल हेरेर र उसको मनोविज्ञान बुझेर मात्र गीत प्रस्तुत गर्छन् । चाबहिलको दोहोरीमा काम गर्दा साहूले सधैँ मलाई हप्काइरहन्थ्यो– के गा’को गीत ? ग्राहक तान्ने गरी गाउनुप¥यो नि ! ग्राहक र साहू दुवैको अपेक्षा उच्छृंखल र उत्तेजित पार्ने गरी गीत गाइदेओस् भन्ने हुन्छ ।
दोहोरी साँझमा काम गर्नेहरूका लागि सबथोक नै यही हुन्छ । उनीहरूको दुनियाँ नै यही हुन्छ । उनीहरूका लागि रात दिन र दिन रात हुन्छ । दोहोरी साँझमा गलालाई फाइदा पुग्ने गरी होइन, ग्राहकाई फाइदा पुग्ने गरी गाउनुपर्छ । दह्रो चिच्याउनुपर्छ । केही अपवादलाई छाड्ने हो भने यहाँ त राम्रो प्रतिभा झन् मर्छ जस्तो लाग्छ । उसको स्वर झन् निखारिँदै जाने होइन, बिग्रिँदै चाहिँ जान्छ । दोहोरी साँझ यस्तो क्षेत्र हो, जहाँ पसेपछि निस्किन पनि सकिँदैन । र, त्यहीँ मनखुशी भएर रमाइरहन पनि सकिँदैन ।



‘दोहोरी    साँझ मर्यादित हुनुपर्छ’

बद्री पंगेनी
वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान
हामीकँहा पेशालाई सम्मान गर्ने संस्कार नै छैन । काम गरेर खाने मान्छेलाई हेर्ने दृष्टिकोण नै गलत छ । दुई दशकअघिदेखि नै मैले दोहोरी साँझमा गाउन थालेका हुँ । काठमाडौँमा स्थापना भएको पहिलो पुकार दोहोरी साँझमा पनि मैले गाएँ । अहिले आफैँ कमलादीमा निरमाया दोहोरी साँझ सञ्चालन गरिरहेको छु । अझै पनि दोहोरी साँझमा गाउँछु । ‘ओए भाइ यता आइज’ भन्दै तलबाट ग्राहकहरूले बोलाउने गर्छन्् । ‘तिमी जस्तोले पनि यहाँ गाउने हो ? बरु के सहयोग गर्नुपर्छ हामी गर्छौं’ भन्दै होच्याएर बोल्नेहरू पनि मैले भेट्छु । सुरुमा सम्मान गर्छन्, नमस्कार गर्छन्, पछि रक्सी खाइसकेपछि सुन्नै नसकिने शब्द प्रयोग गर्न थाल्छन् । ग्राहकले यस्ता खाले अभद्र व्यवहार चाहिँ नगरिदिऊन् भन्ने हरेक कलाकारको अपेक्षा हुन्छ । अझै पनि दोहोरी साँझलाई अरूले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन । यहाँ पैसा कमाउने हेतुले मात्र खुलेका दोहोरी साँझ धेरै छन् । अहिले दोहोरी साँझतिर स्टेजमा पुरुषले नेपाली पहिरन कम लगाएको पाइन्छ । शब्द चयनमा अनुशासन देखिँदैन । गायनका मामिलामा गायक–गायिकाकाहरू अलि भद्दा सुनिन्छन् । व्यापार बढाउने उद्देश्यले हिन्दी गीत गाउन थालिएको छ । दोहोरी साँझमा यस्तो गीत गाइनु सरासर गलत हो । मेरो दोहोरी साँझमा हिन्दी गीतको ‘ह’ पनि बज्दैन । परिवारमा बसेर सुन्न मिल्ने गीतमात्र गाउँछौं । ग्राहक लोभ्याउनलाई महिला कलाकारको नृत्य पनि अलि भड्किलो खालको हुन्छ भन्ने पनि सुनिरहेको छु । हामीकहाँ त्यस्तो हुँदैन । हामी धेरै व्यापार गराउने नाममा कलाकार र वेटरहरूलाई ग्राहकसँग टेबलमा बसेर खान पठाउँदैनौँ । यो संस्कार अन्य केही दोहोरी साँझमा पनि छ । दोहोरी साँझ व्यवस्थित र मर्यादित हुनुपर्छ भन्नेमा जहिल्यै सजग छु ।

Leave a comment

लोकदोहोरी : गाउने भद्दा नाच्ने छाडा

लोकदोहोरी : गाउने भद्दा नाच्ने छाडा

लोकगीतले लोक, अझ भनौँ, नेपालीका दुःखसुखका कथा भन्नुपर्ने हो। हाम्रा मौलिकता र संस्कृतिलाई बचाउनुपर्ने हो। तर, अचेल लोकदोहोरीले संगीतकै हुर्मत लिन थालेको छ। लाजै त्यागेको छ लोकदोहोरीले। शब्द सस्ता र...

युवा साथीहरूलाई चिठी

युवा साथीहरूलाई चिठी

युवा मित्र,तपाईंमध्ये कैयौँलाई 'राजनीतिु मन पर्दैन। तर, यो मन नपरेको राजनीति हो कि राजनीतिको दैनिक चलखेलरु म अलि गहिरो कुरा गर्न खोज्दै छु। पत्रपत्रिका, टेलिभिजन, रेडियो आदि सबै सञ्चारमाध्यमले चौबीसै...

पानसँग कन्डम फ्री

भारतीय राज्य बिहारको कटिहार जिल्लामा रहेको नन्दलाल नामक व्यक्तिको पानपसलमा पान किन्नेले कन्डम निःशुल्क पाउँछ।

अक्सिजनभन्दा जरुरी पैसा

अक्सिजनभन्दा जरुरी पैसा

नेतादेखि समाजसेवीसम्मका सपना–जपना पैसा हुने देश हो यो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको पैसालाई हातको मैला ठान्ने विचार मनन गर्ने फुर्सद कसलाई छ र? 'फास्ट एन्ड फरवार्ड' तन्नेरी पुस्ता पैसाका लागि पनि...

शर्मिलाको 'नो कमेन्ट'को चाहना

शर्मिलाको 'नो कमेन्ट'को चाहना

काठमाडौँ, कमलपोखरी स्थायी घर भएकी सुन्दरी शर्मिला थापा दन्तचिकित्सा पढिरहेकी छिन्। पाँच फिट तीन इन्च उचाइ भएकी थापाको जिउडाल बान्की परेको छ। गत वर्ष मिस ई-कलेजमा पार्टिसिपेट भएपछि उनलाई ग्ल्यामरको...

कोकाकोला ज्यानका लागि कसरत

कोकाकोला ज्यानका लागि कसरत

'कोकाकोला ज्यान'– अशिष्मा नकर्मीका लागि बनाइएको गीत हो यो। निर्माण क्रममा रहेको फिल्म 'अधकट्टी'मा राखिने यो गीतमा अशिष्माले 'कोकाकोला ज्यान' देखाउनुपर्नेछ। यो चुनौती उनलेे सहर्ष स्विकारेकी छिन्। 

'डिजाइन भनेको घरको रूपमात्रै होइन'

'डिजाइन भनेको घरको रूपमात्रै होइन'

प्राडा गोकर्णबहादुर मोत्रा 'स्ट्रक्चरल इन्जिनियर' हुन्। उनी यतिबेला उपत्यकामा रहेका भौतिक संरचनामा महाभूकम्पपछि पुगेको क्षति अध्ययन गर्ने टोलीको नेतृत्व गरिरहेका छन्। 'वैशाख १२ मा आएको भूकम्पको क्षति अध्ययन, अनुसन्धान तथा...

चौथो अंगमा कोढ सल्किनुअघि

सञ्चारमन्त्री हुनेबित्तिकै डा. मीनेन्द्र रिजालले धुवाँदार घोषणा गरे– ‘पत्रकारितालाई मर्यादित बनाउँछु।' उनको बोलीको मजबुन थियो– ‘पत्रकारिता जगत् एकदम अमर्यादित र भ्रष्ट छ।'