Wednesday 28 Kartik, 2075 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

किशोरीमाथि गिद्धे नजर

(9 votes)
किशोरीमाथि गिद्धे नजर
राजधानीमा रहेका थुप्रै खाजाघर, मसाज पार्लर, स्पा, डान्सबार, दोहोरी रेस्टुरेन्टमा हजारौँ किशोरी र बालबालिका काम गर्छन् । खानपिन, रमाइलो र मनोरञ्जन चाहनेलाई उनीहरू सेवा पुर्याइरहेका छन् । उनीहरूको श्रमदेखि यौन शोषणसम्म भइरहेको छ । आन्तरिक बेचबिखन तथा ओसारपसार मौलाएको डरलाग्दो तस्बिर एकातिर छ भने अर्कातिर भूकम्पप्रभावित जिल्लाका गरिब बालिका तथा किशोरीहरू राजधानीको रात्रिकालीन मनोरञ्जन व्यवसायमा जोखिमपूर्ण अवस्थामा काम गर्न ओइरिएका छन् । अम्मर जिसीको रिपोर्ट ।
रेस्टुरेन्ट, डान्स, दोहोरी, क्लब, मसाज, स्पा, क्याबिन (पछिल्लो समय खाजाघरका रूपमा सञ्चालित) लगायत मनोरञ्जन व्यवसायअन्तर्गत पर्छन् । प्रायः रातको बेला चलायमान बन्ने यो व्यवसायको आडमा यौनधन्दा मौलाएको प्रस्ट छ । बालबालिकाको प्रवेश निषेध हुनुपर्ने यो 'एडल्ट सेन्टर्ड' व्यवसायमा बालबालिकाकै चरम दुरुपयोग भइरहेको छ । साहू र ग्राहक दुवैको 'डिमान्ड'मा पर्छन्, बालबालिका र किशोरकिशोरी । उनीहरूको श्रम तथा यौन शोषण हुने गरेको छ ।

काठमाडौँ, ठमेलको डान्सबारमा कार्यरत मञ्जु १६ वर्षकी भइन् । दुई वर्षदेखि उनी नाच्ने, पाहुनालाई स्वागत गर्ने र सर्भिस गर्ने काम गर्छिन् । उनी आफ्नो जीउडालदेखि खुशी छिन् । कारण, उनकै शब्दमा, २२ वर्षकी भन्दा 'अनुगमनकारी'ले पत्याएका छन् । उनको तलब दुई हजार छ । 'तलब कम भए पनि टिप्स १० हजार जति हुन्छ,' उनी भन्छिन्, 'सबै टेबुलमा मलाई बोलाउँछन् । ग्राहकलाई खुशी पार्न सके आफ्नो पनि टिप्स टन्न उठ्छ, साहू पनि दंग पर्छ ।'

काठमाडौँ, सुन्धाराको डान्सबारमा काम गर्ने १७ वर्षीया सनम हप्तादिनको बिदा सकेर काममा फर्किसकिन् । वर्षमा कति दिन बिदा पाइन्छ ? भन्ने पहिलो जिज्ञासामै उनले वास्तविकता खुलाइसकिन्, 'साहूको मुडअनुसार । रिसायो भने एक दिन बिदा बसे तीन दिनको हाजिर काट्दिन्छ । यहाँ स्टाफ नपाएर खोज्न गाउँ पठाएर घर जान पाइयो । १० हजार पैसा पनि दिएर 'तँ जस्ता जति भेटिन्छन् ल्या' भनेको थियो । मेरी एउटी साथी मात्र आई । अरू आउनै मानेनन् ।' उनका अनुसार भनेजति भनेजस्ता केटी ल्यायो भने साहूको प्यारो भइन्छ । धेरैजसो ग्राहक कम उमेरकै केटीबाट आकर्षित हुने भएर साहू पनि त्यस्तैको खोजीमा हुन्छ ।

सञ्जना (१५) दोहोरीमा वेटरको काम गर्छिन् । उनको मुख्य काम ग्राहकलाई रिझाएर बिल बढाउने हो । उनले काम गर्ने दोहोरीमा सबै वेटर लगभग उनकै उमेर हाराहारीका छन् । 'धेरै उमेरका केटीलाई साहूले मन पराउन्न,' उनी भन्छिन्, 'ग्राहक पनि सानैलाई राम्रो मान्छन् । टिप्स धेरै दिन्छन् । बिल पनि धेरै उठ्छ ।'

गैरसरकारी संस्था शक्ति समूहको काठमाडौँ, गोंगबुस्थित रिसोर्स सेन्टरमा भेटिएकी गोंगबुकै डान्सबारमा कार्यरत यशोदा (२३) को अनुभव पनि यस्तै छ । धेरैजसो टेबुलमा १६÷१७ वर्ष उमेर भन्दा पत्याउने खाले वेटरको खोजी हुने उनी बताउँछिन् । 'साना केटी नखोज्ने, जेपीटी (जे पायो त्यही) नगर्ने, नसोच्ने ग्राहक १०० मा १÷२ जना होलान्,' यशोदा भन्छिन्, 'व्यापार चम्किने भएपछि साहूले पनि त्यस्तै खोज्ने त भयो ।'

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको अधिकार क्षेत्रमा कार्यरत संस्था विश्वास, नेपालकी उपाध्यक्ष तारा भण्डारीका अनुसार साहू र ग्राहकले 'डिमान्ड' गरेकै कारण यो क्षेत्रमा कम उमेरका महिला, बालिकाको संख्या बढ्दो छ । पछिल्लो सयम भाँडा माझ्ने, किचेनमा काम गर्ने, रेखदेख गर्नेलगायत कामका लागि बालकहरू समेत प्रयोग भइरहेका छन् । 'ग्राहकले पनि त्यस्तै रुचाउँछन्, साहूले पनि आफ्नो इच्छाअनुसार काम लाउन पाइने भएपछि त्यस्तै खोज्छन्,' उनी भन्छिन्, 'यो क्षेत्रमा बालबालिका र किशोरकिशोरीको प्रवेश डरलाग्दो छ ।'

आन्तरिक बेचबिखन

महिला, बालबालिका बेचिएका खबर आइरहन्छन् । सीमा कटाएपछि हुने बेचबिखनमा मात्र धेरैको आँखा जान्छ । यहाँ त देशभित्रै एक दलालबाट अर्को दलाल र एक स्थानबाट अर्को स्थानमा बेचबिखन र ओसारपसार भइरहेको छ । ट्रान्जिट बन्छ, मनोरञ्जन व्यवसाय ।

काठमाडौँस्थित डान्सबारमा काम गर्दागर्दै राम्रो सेवासुविधा दिने आश्वासनमा धनगढी पु¥याइएका किशोरीहरू बेचिएको पत्ता लागेको छ । 'हामीलाई धनगढीको एउटा कोठीमा पु¥याइयो । त्यो इन्डियनहरूले चलाएका थिए,' भागेर संस्थामा आइपुगेका किशोरीलाई उद्धृत गर्दै विश्वास, नेपालका कार्यकारी निर्देशक विजय लामाले भने, 'आन्तरिक रूपमै बेचिएका यस्ता केही केस हामीसम्म आइपुगेका छन् ।'

मनोरञ्जन क्षेत्रमा काम गर्नेहरू कलाकार, पर्यटक तथा कामदारका रूपमा विदेश जाने 'ट्रेन्ड' मौलाएको छ । दैनिकजसो ग्राहक बनेर जाने दलालहरूसँगको चिनापर्ची अन्तिममा बेचबिखन र ओसारपसारसम्म पुग्ने गरेको देखिन्छ । फकाउन सजिलो हुने भएपछि कम उमेरकै बालिका, किशोरीहरू दलालको छनोटमा पर्छन् । राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनअनुसार मनोरञ्जन क्षेत्रमा कार्यरत बालिका, किशोरी, युवती बेचबिखन तथा यौनशोषणको उच्च जोखिममा छन् । आन्तरिक रूपमा पश्चिमको काठमाडौँबाट पश्चिमको नेपालगञ्ज, दाङ, धनगढी, महेन्द्रनगर तथा पूर्वमा वीरगञ्ज, विराटनगर, झापालगायत सीमा छेउछाउमा धेरै बालिका, किशोरीहरू बेचिने र ओसारपसार हुने गरेको संस्थाहरूको भनाइ छ । राजधानीसम्म गाउँगाउँबाट आउने र यहाँबाट विदेश वा बाहिरी जिल्लामा लैजाने गरिएको संस्थामा आबद्धहरूले बताए ।

डरलाग्दो तथ्यांक

टीडीएच नामक संस्थाका अनुसार काठमाडौँ उपत्यकामा सञ्चालित मनोरञ्जन क्षेत्रमा १३ हजार हाराहारी महिला कार्यरत छन् । जसको एक तिहाई १८ वर्ष मुनिका बालिका छन् । सन् २०१३ देखि २०१६ सम्म विभिन्न गैरसरकारी संस्थाहरूले १२ सय ३२ बालिका र १ सय १ बालकलाई यौनशोषणबाट मुक्ति दिलाएर संरक्षण गरिरहेको टीडीएचले जनाएको छ । शक्ति समूहका अनुसार मनोरञ्जन व्यवसायमा कार्यरतमध्ये ९३ प्रतिशतले यौनदुव्र्यवहार सहन्छन् । ३७ प्रतिशत किशोरी ग्राहकको यौनप्यास मेटाइदिन बाध्य छन् ।

माइती नेपालका अनुसार देशभर सञ्चालित डान्स तथा रेस्टुरेन्टमा २५ हजार महिला, बालबालिका कार्यरत छन् । माइती नेपालको तथ्यांकअनुसार ठमेलमा सञ्चालित मसाज पार्लरमध्ये ८० प्रतिशतमा यौन व्यवसाय हुने गरेको छ ।
यो सवालमा एकीकृत तथ्यांकको अभाव छ । यसमा कार्यरत गैरसरकारी संस्थाहरू आ–आफ्नै तवरले काम गरिरहेका छन् । नेटवर्क बनेको भनिए पनि प्रभावकारी समन्वय भइरहेको देखिन्न । सरकारी निकायहरू गैरसरकारी संस्थाकै तथ्यांकहरू केलाउँदै बस्छन् । पछिल्लो उदाहरण हो, केन्द्रीय बालकल्याण समिति । समितिका कार्यकारी निर्देशक तारक धितालले कार्यक्रम नै आयोजना गरेर कार्यपत्र प्रस्तुत गरे । जसमा गैरसरकारी संस्थाले गरेका कामको लिस्टभन्दा थप केही थिएन ।

संघसंस्थाको सम्पर्कमा आएका घटना केलाउँदा बालिका, किशोरीहरूको दर्दनाक अवस्था छर्लंग हुन्छ । गेस्ट हाउसमा काम गर्ने १५÷१६ वर्षकी एक किशोरीले दिनमा सात जनासम्मको यौनप्यास मेटाउन बाध्य हुने गरेको, रक्सीले मातेका मान्छेहरू झम्टिन आउने गरेको, लाख रुपैयाँसम्मको लोभ देखाउने गरेको, कान्छी श्रीमती बनाउँछु भनेर फकाउनेजस्ता तीता कथाहरू संस्थामा सुनाउने गरेका छन् ।

गैरसरकारी संस्थाका अनुसार ठमेल, सुन्धारा, नयाँ बसपार्कबाहेक चाबहिल, कलंकी, कोटेश्वर, बौद्ध आदि स्थानमा पनि क्याबिन रेस्टुरेन्ट र डान्सबारमा बालिका तथा किशोरीहरूलाई काममा लगाइने र उनीहरूको शोषण हुने गरेको छ ।

काममा धकेल्ने आमाबाउ

आफैँले जन्माएका छोराछोरीलाई यस्तो जोखिमपूर्ण काममा धकेल्ने कुरा त्यति विश्वसनीय लाग्दैन । केही यस्ता आमाबुबा पनि छन्, जो यौनधन्दामा लाउने अभ्यास भन्दै छोरीलाई केटाहरूसँग कोठामा एक्लै थुनिदिन्छन् । यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरूका अनुसार सानै उमेरमा छोराछोरीलाई यस्ता काममा लाग्न कर गर्ने आमाबुबा यही समाजमा छन् । केही आमाहरू आफू काम गर्ने ठाउँमै छोराछोरीलाई जबर्जस्ती लाइरहेका छन् ।

आमाको करले क्याबिनमा काम गर्न बाध्य किशोरी हुन्, प्रविणा । उनकी आमाले क्याबिनबाट आफू निकालिएपछि घरखर्च चलाउन भन्दै छोरीलाई स्कुल छुटाएर त्यही काममा लगाइदिइन् । 'आमालाई बुढी भनेर कामबाट निकालेपछि मलाई लाइदिनुभयो,' अहिले काठमाडौँ, नयाँ बसपार्कको रेस्टुरेन्टमा काम गर्ने प्रविणा भन्छिन्, 'त्यसमा जबर्जस्ती ग्राहक खुशी पार्न पठाएपछि भागेर अहिले रेस्टुरेन्टमा वेटर गर्दै छु । यहाँ पनि डर त हुन्छ । तर, पहिलाको जस्तो छैन ।' उनले कमाउने मासिक पाँच हजार रुपैयाँ पनि महिना पुग्यो कि आमाकै हातमा पर्छ ।

काठमाडौँमा बस्दै आएकी सिन्धुपाल्चोककी १४ वर्षीया रीताकी आमा पनि छोरीलाई यौनकार्यमा संलग्न गराउन उद्यत थिइन् । चेन्ज नेपाल नामक संस्थाका अनुसार उनकी आमाले विभिन्न खाले केटाहरूलाई घरमै बोलाउँथिन् । आफूसँग चक्कर चलाइरहेकै बेला छोरीलाई पनि कहिलेकसो केटाहरूसँग एक्लै कोठामा थुनिदिनेसम्म गरिन् । यो जानकारी पाएपछि चेन्ज नेपालले रीताको उद्धार ग¥यो ।

चितवनकी १२ वर्षीया सीतालाई उनकै बुबाले आफू काम गर्ने खाजाघरमा ल्याइपु¥याए । लगत्तै उनी बेपत्ता भइदिए । खाजाघरले ती बालिकालाई यौनकार्यमा लाग्न प्रेरित ग¥यो । दबाब दियो । धम्क्यायो । अन्तिममा उनी त्यही काम गर्न बाध्य भइन् ।

'यहाँ त यस्ता बाउ पनि देखियो, जो छोरीलाई नाच्न बाध्य पारेर त्यही रेस्टुरेन्टमा छोरीकै पैसाले मदिरामा मस्त हुन्छन्,' विश्वास, नेपालका फिल्ड स्टाफ विष्णु पनेरुको अनुभव छ, 'छोरीलाई खाजाघरका नाममा चलिरहेका क्याबिनमा काम गर्न बाध्य पार्ने आमाबाउ धेरै देखेँ ।'

शहरमा जुवा चल्ने खाजाघर तथा रेस्टुरेन्ट पनि छन् । जहाँ बालिका, किशोरीलाई छेउमा बस्न बाध्य पारेर उनीहरूसँग दुव्र्यवहार गरिन्छ । 'मेरा लागि यो लक्की छ भन्दै उनीहरूलाई छेउमा राखेर मनपरी गर्नेहरू पनि छन्,' विश्वास, नेपालका कार्यकारी अधिकृत विजय लामा भन्छन्, 'सर्भिसमा लाउने नाममा बालिका, किशोरीको विभिन्न खाले शोषण भइरहेको छ ।' उनका अनुसार केहीबाहेक डान्स, क्लब, दोहोरीमा पनि बालिका, किशोरीमाथि चरम शोषण छ ।

जे देखियो

अधिकांश क्याबिन (हालका रेस्टुरेन्ट एन्ड बार तथा खाजाघर) मा साना उमेरकै बालिका, किशोरी धेरै देखिन्छन् । ग्राहकलाई लुटपाटकै शैलीको पैसा झार्ने खेल सिकाउँछन्, सञ्चालकहरू । साना उमेरका देखेपछि ग्राहक आउने मानसिकताका कारण त्यस्ता बालिका, किशोरीलाई ग्राहक बोलाउनसमेत लगाइन्छ ।

गोंगबुको रिमझिम, न्यु रिलेसन र पूजा नामको क्याबिन रेस्टुुरेन्टमा दुई÷तीनजना बालिका, किशोरी देखिन्थे । उनीहरू ग्राहक फकाउन काखमै बस्न खोज्थे । ५० रुपैयाँको जुुसलाई साढे चार सय लिएको भन्दै एक ग्राहक झगडा गर्दै थिए । नेपाल रेस्टुरेन्ट व्यवसायी संघ, पुरानो बानेश्वरको प्रमाणपत्र देखाउँदै त्यहाँका साहू भन्दै थिए, 'बकाइदा लाइसेन्स लिएर क्याबिन चलाइएको छ । जहाँ गएर भन्ने हो भन्दिए हुन्छ ।'

सोह्रखुट्टे प्रहरीले केही दिनअघि सोह्रखुट्टेकै खाजाघरबाट एकजना १२ वर्षीया र क्षेत्रपाटी खाजाघरबाट १५ वर्षीया दुई किशोरीलाई उद्धार ग¥यो । उनीहरूलाई सञ्चालकले यौन कार्यमै लगाउने गरेको सोह्रखुट्टे प्रहरीका डीएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

सुन्धाराको प्रियसी र सपना दुइटा नाम एउटैमा भएको क्याबिन रेस्टुरेन्ट छ, जहाँ 'अन द स्पट' यौन कार्य पनि हुन्छ । बालिका, किशोरीहरू नै यहाँका रोजाइमा पर्ने स्टाफ हुन् । ठमेलमा सञ्चालित मसाजहरू धेरैजसोले स्पाको रूप लिए । त्यस्ता स्पा, मसाजमा पनि बालिका, किशोरीको संख्या धेरै देखिन्छ । युनिक मसाजमा एक अनुमानित १६÷१७ वर्षीया किशोरी भन्दै थिइन्, 'यहाँ काम गर्न लागेको पाँच वर्ष भइसक्यो ।' उनले 'मसाज–ससाज जे गर्न मन छ, त्यही सुविधा दिने गरेको' भन्दै आउने ग्राहकलाई कोठा–कोठामा लिएर जाँदै थिइन् । नाम नलेखी स्पा र मसाज मात्र लेखिएका यस्ता धन्दामा बालिका, किशोरीको बाक्लै जमात देख्न सकिन्छ ।

शक्ति समूहको रिसोर्स सेन्टरमा कार्यरत कार्यक्रम संयोजक नर्वदा सोराली मगरका अनुसार केही दिनअघि १२ वर्षीया एक बालिका डान्सबारका साहूबाट कुटिएको भन्दै सेन्टरमा आइन् । 'बुझ्दै जाँदा त्यहाँ कार्यरत किशोरीलाई साहूले नै गर्लफ्रेन्ड बनाउने विषयमा विवाद भएको रहेछ,' उनले भनिन्, 'पछि नानीको बुबालाई बोलाएर कुरा गर्दा उनी कुरा मिलिसक्यो भनेर सम्पर्कविहीन भए ।'

गैरसरकारी संस्थाहरू 'कारबाहीमा उत्रन ठूलो चुनौती छ' भन्दै पन्छिन्छन् । उनीहरूका अनुसार चुनौती यस्ता छन्ः पहिलो, सञ्चालकहरूको पहुँच माथिसम्म छ । केहीका सञ्चालक त प्रहरी अधिकृतका गर्लफ्रेन्ड र श्रीमती तथा नातेदार छन् । नेता र आसेपासेको पनि लगानी छ । दोस्रो, गुण्डागर्दीको त्रास छ । तेस्रो, पीडितहरू विभिन्न कारणले बोली फेरिदिन्छन् । कारबाहीका लागि सरकारी निकायको सहयोग नहुने, कानुनी स्पष्टता नभएकोलगायत समस्या संस्थाहरू औँल्याउँछन् ।

विश्वास, नेपालका अनुसार आठदेखि १३ वर्ष उमेरका बालबालिका क्याबिन, खाजा घर, मसाजमा धेरै छन् । त्योभन्दा माथि उमेर समूहका बालबालिका तथा किशोरकिशोरी डान्स, दोहोरी, क्लबहरूमा ज्यादा हुन्छन् । महिलाका निम्ति महिला मञ्चकी मिडिया कोअर्डिनेटर रश्ना ढकालका अनुसार भूकम्प बालबालिका यो क्षेत्रमा प्रवेशको ठूलो बहाना भएको छ । त्यसबाहेक पारिवारिक कलह, शहरको आकर्षण, आधुनिक जीवनप्रतिको चासो मुख्य छन् । 'साथै, बालिका, किशोरीलाई सजाउने वस्तुका रूपमा बुझ्ने र दुरुपयोग गर्न सजिलो हुने ठानेर दलालहरू उनीहरूकै पछि लाग्छन्,' ढकालले भनिन् ।

प्रतिरक्षाको तालिम लिँदै

मनोरञ्जन क्षेत्रमा कार्यरत महिला तथा किशोरीहरू प्रतिरक्षा तालिम लिइरहेका छन् । आइलाग्नेमाथि जाइलाग्ने तालिम दिँदै छन्, संघसंस्था । महिलाका निम्ति महिला मञ्च, नेपालले अहिले ८० जनालाई 'फाइट ब्याक ट्रेनिङ' दिइरहेको छ । अन्य संस्थाले पनि रातको समयमा दुव्र्यवहार भइहाल्यो भने कसरी बच्ने भनेर सुरक्षा तालिम दिने गर्छन् ।

बालबालिकाको संलग्नता रोक्ने, व्यवसायलाई कानुनको दायरामा ल्याउने, दोषीलाई कडा कारबाही गर्ने हो भने मनोरञ्जन व्यवसाय नै व्यवस्थित हुने देख्छिन्, कार्यकारी अधिकृत सिर्जना पुन । 'नाचेर वा गाएर पनि जीवन चलाउन सक्ने विकल्पलाई सुनिश्चित गर्नुपर्छ,' उनी भन्छिन्, 'रात्रिकालीन व्यवसायमा कार्यरतलाई हेरिने गिद्धेदृष्टि बदलिनुपर्छ । त्यसपछि अरू समस्या समाधानमा सबै जुटेर लाग्नुपर्छ । सरकारी निकायसँग इच्छाशक्ति हुने हो भने यो व्यवसाय व्यवस्थित बन्न समय लाग्दैन ।' प्रहरी, प्रशासनलगायत निकाय यो व्यवसायको दुरुपयोग कायम राख्न चाहिरहेको आरोप उनको छ ।

हक जमाउन खोज्ने सञ्चालक
keti kinbech
गैरसरकारी संस्थाहरू यतिसम्म निरीह छन्, सञ्चालकबाट जोगिनै मुस्किल पर्छ । आउटरिच भनिने अनुगमन, डाटा संकलन, कामदारको समस्या बुझ्नेलगायत काममा जान सञ्चालकबाट तर्किन उनीहरूलाई हम्मेहम्मे पर्छ ।
फिल्डमा काम गर्ने कर्मचारीहरू सञ्चालकलाई थाहा नदिएर कामदार महिला, किशोरीसम्म पुग्ने गरेका छन् । पछिल्लो समय कामदारमा केही सकारात्मक प्रभाव परेको भन्दै एक संस्थाकी पदाधिकारी भन्छिन्, 'पहिला त कामदारले पनि संस्था भनेपछि कुरै सुन्न मान्थेनन् । अचेल समस्या पर्दा सुनिदिने भनेर राम्रो प्रभाव पर्दै छ । साहूहरूको त कुरै छोडौँ, उनीहरू डलरवादी भनेर लखेट्न खोज्छन् ।'

उनका अनुसार साहूहरू रोजगारी दिएर ठूलो गुन लाएको भन्दै कामदारमाथि हक जमाउन पाउनुपर्ने कुतर्क गर्छन् । 'हामीले यत्रो जागिर दिएका छौँ' भन्दै केही समस्यै सुन्न चाहन्नन् । 'बालबालिकालाई काममै लाउन नहुने, अझ यस्तो जोखिमपूर्ण काममा लगाउने जस्तो अपराध गर्दा पनि खुलेर कारबाहीमा उत्रन नसक्नु हाम्रो पनि लज्जा हो,' संस्थाका ती पदाधिकारीले भने, 'यत्रो रोजगारी गुम्यो भने पनि ठूलो तनाव हुने देखिन्छ । समस्याको उचित समाधान गर्न सबै सम्बद्ध निकायले व्यवस्थित योजना बनाएर तत्काल लाग्नैपर्छ ।' प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने रात्रिकालीन व्यवसायको अनुगमन समिति पनि दबाब, प्रभावमा परेर समस्या समाधान गर्न र पीडितको गुनासो सुन्न सक्षम नदेखिएको गुनासो छ ।

‘आमाबाहेक कसैलाई थाहा छैन’
सम्झना (१६)
म टेकुको डान्सबारकी स्टाफ हुँ । डान्सर र वेटरको काम गर्नुपर्छ । बुबाले अर्को बिहे गरेपछि सिन्धुपाल्चोकबाट सानैमा आमासँग काठमाडौँ आएँ । घरखर्च चलाउन गाह्रो भएपछि काम खोज्न थालेँ । सजिलो काम यही हुँदो रहेछ । जसले पनि सजिलै काम पाउने । महिनामा नौ हजार जति कमाउँछु । राति काम गर्नुपर्ने, सबैको कचकच सुन्नुपर्ने, साहूले यसो गर–उसो गर भनिरहने, रक्सी लागेका मान्छेसँग बोल्नुपर्ने । काम एकदम गाह्रो छ ।  आमा र भाइबहिनीका लागि पनि केही त गर्नैपर्छ । अहिले विश्वास, नेपाल संस्थामा कम्प्युटर सिक्दै छु । भविष्यमा समाजसेवी बनेर मजस्ता केटीहरूका लागि लड्ने सपना छ ।


‘सबैको तारो हामी’
आस्था (२४)


मेरो घर तेह्रथुम हो । काठमाडौँ आएको ११ वर्ष भयो । जागिर पाइन्छ भनेर गाउँले दाइसँग लागेर ६ कक्षा पढ्दापढ्दै भागेर यता आएँ । आउनेबित्तिकै डान्सबारमा काम पाएँ । भाँडा माझ्ने, सरसफाइ गर्नेबाट काम सुरु भयो । बढुवा भएर वेटर, होस्टेस (गेस्टको स्वागत गर्ने), डान्सर, क्याप्टेन (अर्डर लिने), सबै भएँ । डान्सबारको काम चित्तै बुझेन । र, अहिले दोहोरीको हेड वेटरमा छु । मलाई यो लाइनका धेरै कुरा थाहा भइसके ।  डान्सबारमा सुरुमा काम गर्दा चक्करै लाग्यो, त्यो माहोल देखेर । कान खाने स्पिकर, सब आफ्नै तालमा, कहिले कताबाट तान्ने, कहिले कताबाट चिमोट्ने, जबर्जस्ती रक्सी खुवाउने, के के हो के के ! हैरान भइयो । अलि राती त पुलिसका ठूला मान्छे, नेता, व्यापारी आउने । डान्सबारमा नांगै नाच्नेहरू पनि देखियो । अहिले सम्झँदा पनि लाज लागेर आउँछ । साहूले तालिम दिन्थ्यो । को आए के भन्ने, कसरी भन्ने, ग्राहकलाई कसरी खुशी पार्ने ? सबै सिकाउँथ्यो । साहूले भनेका मान्छेसँग जान नमाने कुटपिट पनि गर्ने भन्या । नाङ्गो नाच्ने अहिले त छैन क्यारे । कुनैमा त कहिलेकसो अचेल पनि साना केटीलाई नांगै नचाउने गरेको खबर सुनिन्छ ।
यस्तामा काम गर्ने सबैलाई समाजले नराम्रो सोच्छ । सबैलाई शरीर बेच्ने ठानिन्छ । गलत नगर्नेलाई पनि एउटै खाल्डामा हाल्दिन्छन् । संस्थामा लाग्यो भनेर साहूले हामीमाथि शंका गर्छ । ग्राहक, साहू, संस्था, पुलिस सबैको तारो हामी हौँ ।

   
‘भूकम्पपछि स्थिति झन् खराब’
सिर्जना पुन, संस्थापक अध्यक्ष
महिलाका निम्ति महिला मञ्च, नेपाल
सशस्त्र द्वन्द्वले गाउँमा बस्न सकिने अवस्था रहेन । दाङबाट राजधानी आएर क्याबिनमा काम सुरु गरेँ । जतिबेला मलाई क्याबिन भनेकै के हो ? थाहा थिएन । क्याबिनको म्यानेजर भएँ । त्यहाँको काम चित्त नबुझेर दोहोरीमा लागेँ ।
सानैदेखिको गाउने सोखले पनि दोहोरीमा काम गर्दा ठीकै लाग्यो । धेरै पीडा खेपियो । धेरै खाले ग्राहक र साहू सामना गरियो । कैयौँ पटक माइकले ग्राहकलाई बजार्नुप¥यो । यसै गरी साढे तीन वर्ष गुजारेँ ।
डा. रेणु राजभण्डारीबाट ओरेकको तालिम लिएँ । मैले त्यतिबेलै बुझेँ, मनोरञ्जन क्षेत्रमा काम गर्नुलाई समाजले गलत बुझ्छ । त्यसलाई काम ठान्दैन । आफूजस्तै महिला, बालिकाको समस्या बुझ्न र समाधान गर्न थाल्नुपर्छ भनेर मलगायत सँगै काम गर्ने साथीहरू मिलेर संस्था खोल्यौँ । त्यसपछि कैयौँ भयानक समस्याबारे जानकार भएँ ।
यो क्षेत्रमा बालिका, किशोरीको संख्या धेरै रहेको कुरा सत्य हो । तर, यो होइन कि यो क्षेत्र नै गलत हो । धेरैको रोजीरोटी जुटाइरहेको यो क्षेत्र सरकारी निकायको बेवास्ताले अव्यवस्थित बन्यो, अमर्यादित बन्यो, अपमानित भयो । साहूहरूको पहुँच माथिसम्म छ । कानुन स्पष्ट छैन । प्रहरी श्रम विभागलाई देखाउँछ । श्रम विभाग प्रहरीलाई देखाउँछ । गलत नजरका कारण समाजले नै यसमा कार्यरत महिलालाई जबर्जस्ती यौनकर्मी बनाइरहेको छ । सडकमा पु¥याइरहेको छ । भूकम्पपछि स्थिति झन् खराब भयो । झन् धेरै महिला, बालिका यो क्षेत्रमा ओइरिएका छन् । जसले चुनौती थप बल्झाएको छ ।
यो क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिनुपर्छ, कामको सम्मान हुनुपर्छ, कामदारको सुरक्षा हुनुपर्छ, श्रम ऐन लागू हुनुपर्छ, बालबालिकाको प्रवेश रोक्नुपर्छ ।

Leave a comment

चर्चाका लागि चर्तिकला

चर्चाका लागि चर्तिकला

फिल्म क्षेत्रमा टिक्नका लागि, बिक्नका लागि फिल्मकर्मीले चर्चामा रहनुपर्छ। अखबार र टीभीमा छाउनुपर्छ। फिल्म चलाउन निर्माता–निर्देशकले प्रचार गर्नुपर्छ। यी सामान्य सत्य हुन्। तर, चर्चाका लागि जे पनि गर्न तयार हुने...

घातक घाम

घातक घाम

जाडो बढ्दै गएपछि हामी घाममा निस्किन मन पराउन थालेका छौँ। तर, ब्राजिलको शहर साओ पाउलोछेउको एउटा गाउँका कतिपय मानिसलाई घाममा निस्किने सुविधा कहिल्यै उपलब्ध हुँदैन। किनकि, घाममा निस्किनासाथ मानिसको छाला...

अरूका अंगसँग खेलबाड

इजरायलमा फोरेन्सिक अनुसन्धानका लागि मानव अंगको अभाव खड्किएपछि उसले प्यालेस्टिनीहरूको शरीरबाट त्यो अभाव पूर्ति गर्न थालेको समाचार हालसालै प्रकाशित भयो। स्विडेनको शीर्ष पत्रिकाले यो समाचार छापेपछि इजरायलले पत्रिकालाई 'यहुदीविरोधी'को बिल्ला...

ल्हारक्यालको लकर

ल्हारक्यालको लकर

माननीय सभासद् ल्हारक्याल लामाको लकरमा गोली भेटिएपछि कमरेड तरंगित भए । उनलाई असाध्यै रिस पनि उठ्यो । कमरेडको रिस माननीय सभासद्प्रति भन्दा पनि अध्यक्ष कमरेडप्रति तीव्र थियो । उतिबेला ल्हारक्याल...

‘मुम्बईमा जम्न सपनामात्रै काफी हुँदैन'

‘मुम्बईमा जम्न सपनामात्रै काफी हुँदैन'

नवलपरासीको रामनगरबाट १५ वर्षअघि मुम्बई पुग्दा राम पाण्डेलाई बलिउडको कुनै मतलब थिएन। एउटा घर र एउटा मोटरसाइकलको सपना बोकेर मुम्बई पुगेका उनले त्यहाँ बाँच्नका लागि अनेक थोक गरे। संघर्षकै क्रममा...

आन्तरिक लोकतन्त्र कि गुट सशक्तिकरण?

संविधानसभा निर्वाचन सम्पन्न भएको तीन महिना बितिसक्दा पनि देशमा निर्वाचनको रौनक सकिएको छैन। दलभित्र आन्तरिक लोकतन्त्र बलियो नहुँदासम्म त्यसका नेताहरूले लोकतन्त्रको स्याहारसुसार गर्न सक्दैनन् भन्ने टीकाटिप्पणीबाट घेरिएका प्रमुख दुई दलका...

खोटाङमा प्रतिभाको खोजी

खोटाङमा प्रतिभाको खोजी

खोटाङमा जिल्लाव्यापी गायन प्रतियोगिता 'भ्वाइस अफ खोटाङ' सुरु भएको छ। 'समतामूलक समाज निर्माणका लागि सांगीतिक अभियान' भन्ने नाराका साथ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आयोजनामा बाक्सिलाबाट सुरु गरिएको 'भ्वाइस...

तन्नेरी सिध्याउने रोग

तन्नेरी सिध्याउने रोग

धेरै पढ्थ्यो, फलानो त खुस्केछ! गाँजा खान्थ्यो, साथी त खुस्केछ! कसैले असामान्य व्यवहार देखायो भने ऊप्रति हुने केही टिप्पणी हुन् यी। तर, मानसिक रोगको परिधि विशाल छ। नेपाली समाजमा यस...