Friday 4 Shrawn, 2075 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'साथीलाई कुखुरा पाल्न दिन्थेँ'

(1 Vote)
'साथीलाई कुखुरा पाल्न दिन्थेँ'
मीनबहादुर भाम लिखित र निर्देशित फिल्म 'कालो पोथी' अहिले फिल्म हलमा चलिरहेको छ । फरक तरिकाले निर्माण गरिएको यस फिल्मले व्यावसायिक सफलता पनि हासिल गरेको छ । फिल्मले यसअघि नै केही विदेशी फिल्म फेस्टिभलमा सहभागी भएर अवार्ड जितिसकेको छ भने स्क्रिप्टबाट पनि केही विदेशी लगानी हासिल गरेको थियो । कर्णालीको कथा र भाषामा बनेको फिल्मका निर्देशक भामसँग डिबी खड्काअनिल यादवको अन्तरंग कुराकानीः
nepali-patro-june

'कालो पोथी'को यो सफलता अपेक्षित हो या अपेक्षा गरेभन्दा बढी ?

मेरो लागि चाहिँ दुइटै होइन । धेरै साथीले मलाई यस्तो खालको फिल्म चल्दैन, हलमा सोज पनि बढी पाइँदैन भन्नुभएको थियो । मेरो मनमा इमानदार भएर बनाएको फिल्म चले पनि नचले पनि ठीकै छ भन्ने थियो । चल्यो भने त झन् आफूलाई 'मोटिभेसन' गर्न र आगामी फिल्म बनाउने पैसा जुटाउन यसले अर्थ राख्छ भन्ने लागेको हो ।

तपाईंको विचारमा यो माहोल सिर्जना गर्न के कुराले काम गर्यो ?

प्रायः सबैले यसको रेडिमेड उत्तर दिन्छन्, 'मौलिक कथा' । अलि–अलि त्यो पनि होला सायद । खासमा मेरो एकदमै व्यक्तिगत कथा थियो । हामीले 'ग्लोबलाइज्ड' हुने बहानामा, मासलाई सम्बोधन गर्ने बहानामा आफ्नो कथा छोडेर परको टिप्छौँ । आफूलाई भन्न मन लागेको वा आफ्नै वरिपरि देखे–भोगेको कथा भन्न खोज्दैनौँ । मैले मेरै कथा लिएँ, मुख्य हतियार त्यही हो । त्यो कथा मेरो थियो, सबैलाई आफ्नो लाग्यो कि ?

फिल्ममा धेरै चिज छ । कर्णालीको संस्कृति छ, द्वन्द्वकालको समय छ । व्यक्तिगत कथा भन्नुहुन्छ । फिल्मभित्र कहाँनेर तपार्इं जोडिनुभएको छ ?

मैले भोगेको जीवनको प्रतिनिधि पात्र त बालकहरू पनि होलान् । तर, समग्रमा भन्ने हो भने मैले देखेको, सुनेको र भोगेका कुरा फिल्ममा छन् । बच्चाका दुईजना 'क्यारेक्टर'मध्ये एकजना सायद म हुँ ।

यस्तो विषयमा फिल्म बनाउँछु भन्ने तपाईंलाई कहिलेदेखि लागेको थियो ?

मैले फिल्म पढ्दाताका नै फिल्म बनाउने भनेर चारपाँचवटा स्क्रिप्ट लेखेँ । यी कुनै पनि यो फिल्मको स्क्रिप्ट चाहिँ थिएनन् । मैले बनाउँछु भनेको पहिलो फिल्म बुद्धिज्मसँग सम्बन्धित थियो । दुई पटक स्क्रिप्टको ड्राफ्ट फाइनल गरेर तेस्रो पटक फेरि बनाउने बेलामा मैले के महसुस गरेँ भने बुद्धिज्म नपढिकन र नजिकबाट नबुझिकन यो फिल्म बनाउन गाह्रो हुन्छ । त्यसपछि म बुद्धिस्ट फिलोसफी पढ्न गएँ । दुई वर्षमा फिल्मको स्क्रिप्ट फाइनल गर्छु भनेर पढ्न गएको थिएँ । पढ्न थालेपछि म यो फिल्म अहिले बनाउन सक्दै सक्दिनँ भन्ने निचोडमा पुगेँ । अब कम्तीमा आठ वर्षअघि त म यो फिल्म छुदिनँ भनेर त्यसलाई पनि बन्द गरे । चारवटा स्क्रिप्टलाई पालैपालो बन्द गर्नुका कारण कुनै बजेट धेरै चाहिने भयो, कुनैमा 'टेक्निकल्ली' निकै गाह्रो हुने अवस्था आयो । यसरी अड्काइरहेको बेला संयोगले अन्तिममा मनमा आएको कथा मेरो पहिलो फिल्म 'कालो पोथी' भयो ।

तपाईं हुर्किएको परिवेश (कर्णाली)मा बेला–बेला फिल्म हेर्ने वातावरण मिले पनि फिल्म बनाउनेबारे सोच्न सकिँदैनथ्यो । कसरी तपाईंको दिमागमा फिल्म आयो ?

यसका दुई तीनटा कारण छन् । पहिलो म सानै हुँदा मेरो बुबाले मुगुमा भिडियो हल खोल्नुभयो । रमाइलो के थियो भने सबै साथी मिथुन, धर्मेन्द्र आदि कलाकार बन्न खोज्थे । कपाल पाल्थे, नक्कल गर्थे । फिल्म हेरपछि हिरो हुनुपर्छ भन्ने थियो उनीहरूमा । त्यतिखेर नै मेरो दिमागमा 'त्यहाँ कोही मान्छे त होला जसले हिरो–हिरोइनलाई गाइड गरिरहेको छ' भन्ने कुरा खेलिरहन्थ्यो । त्यो मान्छे निर्देशक हो भनेर धेरै पछि थाहा पाएँ । फिल्म बनाउने मेरो भोक पहिलो पटक त्यहीबेला जाग्यो । बुबाको जागिर टेलिकममा थियो । त्यतिबेला कर्णालीतिर फोन थिएन । आवा (आकाशवाणी) भन्ने थियो । म स्कुलबाट सधैँ त्यहाँ जान्थेँ । हाम्रातिर पढ्ने र जागिर खाने चलन नै हुन्थेन ।

९० प्रतिशत जति बाहिरबाट आएका सरकारी कर्मचारी हुन्थे । उनीहरूले घरमा 'कम्युनिकेसन' गर्ने माध्यम आवा मात्र हुन्थ्यो । घरमा के खबर गरे, घरबाट उनीहरूको के आवा आयो ? हरेक दिन म लुकेर या बुबासँग सोधेर बुझ्थेँ । इन्डिया गएका छोराहरूलाई वृद्ध आमाबुबाले मलाई चिठी लेखिमाग्थे । त्यो काम चाहिँ म गर्थें । त्यसले मान्छेहरूको प्रवृत्ति र व्यवहार बुझ्न मलाई सहयोग ग¥यो । अर्को चाहिँ मेरो लेखन यात्रा नै आवाबाट सुरु भयो । आवा लेख्दा अक्षर–अक्षरको हिसाब हुन्थ्यो । फुलस्टपको पनि पैसा लाग्थ्यो । सक्दो छोटो–मीठो तरिकाले भन्न खोजेको कुरा अभिव्यक्त गर्नुपर्ने हुन्थ्यो । आवाबाट थोरै शब्दमा धेरै कुरा भन्न सिकियो । फिल्मप्रति हुटहुटी त छँदै थियो । १४ वर्षमा एसएलसी दिएँ । घरबाट भागेर काठमाडौँ आए । नाचघरमा अभिनय सिकेँ ।

तपाईंलाई सानैदेखि 'फिल्म बनाउने मान्छे बन्नु थियो' भन्नुभयो । तर, तपार्इंको लवाइखवाइ हेर्दा 'हिरो बन्ने' भोक पनि थियो कि भन्ने पो झल्किन्छ त ?

अहिले त अलिकति बुढो पनि हुन थालेँ । अलिकति 'जेन्टलै' भइरा'छु क्या । कमसे कम सर्ट त लाइरा'छु । मलाई अरूले लगाइरहेको, गरिरहेको चिज केही पनि मन पर्थेन । जहिल्यै किन मेरो टेस्टको जस्तो आएन भन्ने खालको महसुस हुन्थ्यो । कलेज गयो, मैले जे खोजिरहेको छु त्यो टिचरले दिनै सकिरहेको छैन भन्ने लाग्थ्यो । जहाँ पनि म एकदमै घमण्डी भएर बस्थेँ । तर, प्रकट गरिनँ । मभित्रको 'इगो'ले मलाई तड्पाइरहन्थ्यो । त्यो 'इगो'ले मलाई 'गाइड' पनि गरिरहन्थ्यो । कहिले पनि म सन्तुष्ट हुन सकिनँ । १४ वर्षको उमेरदेखि नै मेरो दिमागमा फिल्म बनाउने भूत थियो । नाटक चाहिँ 'बेस' बनाउनका लागि गरेँ र सिकेँ । त्यहाँबाट निश्चित अनुशासन र प्रविधि बुझ्छु भन्ने थियो । नाटकले मेहनत गर्न सिकायो, चर्चित हुने भोकबाट मुक्ति दिलायो । सेलिब्रिटीको महसुस नगराउने ठाउँ पनि हो । मैले नाटकमा अभिनय पनि गरेँ । तर, मलाई निर्देशक नै बन्नु थियो ।

'कालो पोथी'भित्र गाउँमा टिकट बेचेर फिल्म देखाइएको छ । तपाईंले पनि त्यसरी फिल्म देखाउनुभयो त ?

मेरा ठूलीआमाको छोराले त्यसरी पैसा उठाएर फिल्म देखाउनुहुन्थ्यो । उहाँसँग म रहर मानेर जान्थेँ । फिल्ममा अण्डासँगको 'एट्याचमेन्ट' चाहिँ मेरो वास्तविक जीवनमा पनि कहीँ न कहीँ थियो । अलि–अलि त फूलबुट्टा भरियो पनि ।

अण्डा मात्रै होइन कुखुरासँग पनि निकै गहिरो सम्बन्ध छ जस्तो देखिन्छ ?

हाम्रो घर धामीझाँक्रीको भनेजस्तो थियो । हाम्रो घरमा कुखुरा छिरायो भने देउता रिसाउने खालको बुझाइ थियो । मलाई बच्चैदेखि चरा, माछा, कुखुरा एकदम मन पथ्र्यो । मलाई केही न केही चराचुरुंगी पाल्न मन लाग्थ्यो । घरमा पाल्न नदिएपछि आफैँले कुखुरा किनेर साथीको घरमा पाल्न दिन्थेँ, म त्यो कुखुरा हेर्न जान्थेँ । त्यसले कति अण्डा पाथ्र्यो, कति चल्ला दियो, त्यसमा चासो राख्थेँ ।

पाईं फिल्म बनाउँछु भनेर काठमाडौँ भागेर आएको रे !

मैले भाग्ने 'प्य्राक्टिस' धेरै गरेँ । टाढा गइनँ सुरुमा । चार घण्टा, एक दिन भागेँ । फिल्ममा लाग्न दिन्न भन्ने लागेर भाग्थेँ । खास त्यस्तो रै'नछ । कक्षा ८ देखि म लागि परेँ । भागेर काठमाडौँ आउनका लागि पैसा जम्मा गर्न थालेँ । एसएलएसी दिएको केही दिनमै भागेर आएँ ।

पैसा चाहिँ कति जम्मा भएछ ?

त्यस्तै १० हजारजति ।

काठमाडौँ आएपछि कहाँ जान्छु वा बस्छु भन्ने थियो ?

गाउँतिरकै एकजना मान्छे चिनेको थिएँ । अस्कल क्याम्पसमा पढ्नु हुन्थ्यो । गाउँमा फोन आइसकेकाले उहाँसँग लुकेर फोनमा कुरा गर्थें । उहाँलाई काठमाडौँ आउने कुरा बताएँ । उहाँले पाहुनाका रूपमा एक हप्ता आश्रय दिने कुरा गर्नुभयो । मलाई लाग्यो– एक हप्ता ठूलो समय हो । त्यसपछि म आएँ । उहाँसँगै बसेँ । उहाँ अस्कलको आईएस्सी टपर, सबैले कुरा सुन्थे । लामै समय अस्कलकै होस्टेलमा बस्न पाएँ ।

त्यसपछि सीधै नाटक, फिल्मतिरै लाग्नुभयो ?
13473753 869365666507035 1831070514 n
झण्डै एक महिनापछि मात्रै नाचघरमा अभिनय सिक्न भर्ना भएँ ।

औपचारिक पढाइ के गर्नुभयो ?

म सुरुमा भागेर आए पनि पछि घरमा थाहा भइहाल्यो । एसएलसीको रिजल्ट आएपछि थप पढ्नु प¥यो । पढ्ने कुरामा घरको सहमति नै थियो । त्यसपछि मैले जीवनमा यति पढेँ कि पढ्ने कुरै सकियो जस्तो लाग्थ्यो । घरको मान्छेका लागि एउटा विषय पढेँ, मन परेको कुरा अर्काे पढेँ र फिल्म सँग जोडिएको कुरा पनि पढेँ । मैले इन्टरमेडिएट र ब्याचलर तीनटा विषयमा गरेँ । मास्टर्स मात्रै दुइटा भयो । घरका लागि कर्मस, मेरा लागि नेपाली साहित्य र फिल्मका लागि ओस्कारमा फिल्म स्टडिज पढेँ । मास्टर्समा भने राजनीतिक विज्ञान परिवारका लागि र स्क्रिप्ट लेखन अड्किएपछि बुद्धिज फेलोसोपी आफ्ना लागि पढेँ ।

पढाइमा निकै रुचि पनि रहेछ !

पढ्न त यति धेरै पढ्थेँ कि मैले पत्रिकामा आउने श्रद्धाञ्जली पनि नबिराई पढेको छु । पढ्न छाडेको दिन घरबाट पैसा आउने रोकिन्थ्यो, यस कारण पनि पढेँ । दाइदिदी पढन्ते थिए, मैले नपढी हुन्नथ्यो पढेँ । अन्य कुरा पढ्न त आफूलाई निकै रुचि लाग्थ्यो । मलाई श्रद्धाञ्जली पढ्न यस कारण मन पथ्र्याे कि उसको स्ट्याटस थाहा हुन्थ्यो । कहाँसम्म उसका शाखासन्तान रहेछन् भन्ने थाहा हुन्थ्यो । यसरी लेखाजोखा राख्न खूब मज्जा लाग्थ्यो ।

द्वन्द्वको कथालाई छुनुभएको छ । तर, आफू चाहिँ 'बायस्ड' हुनबाट उम्किनुभयो । चाहेर हो वा नचाहेर ?

राजनीतिक विचारधारा आफ्नै खालका हुन्छन् । तर, सिर्जना गर्दा बीचमा बस्न सक्नुपर्छ । मलाई पत्रकारिता खूब मन पर्छ । किनभने, एउटा रिपोर्टरले दुईतिरका कुरा दुरुस्तै राख्छ, आफ्नो उपस्थिति कहीँ देखाउँदैन । त्यस्तै, मलाई पनि दुवैतिरका कुरा राख्नु थियो, आफ्नो उपस्थिति जनाउनु थिएन । म कसरी दुईतिरबाटै अलग्गिने भनेर मैले लामो समय सोचेँ । प्रयास गरेँ । हामी जज होइन, कसैलाई राम्रो भन्ने कसैलाई नराम्रो भन्ने । सुरुदेखि नै सर्जकका रूपमा तटस्थ नै छु र रहने प्रयास गर्नेछु ।

फिल्म बनाउँदा जोखिमपूर्ण ठानिने स्थानीय कलाकारको प्रयोग, लङ सट र वाइड सिनजस्ता कुरा पनि तपाईंले प्रस्तुत गर्नुभएको छ । डर थिएन ?

क्लोजअप सर्ट नलिनु, ब्याकग्राउन्ड स्कोर नराख्नु, लामो टेक लिनु र नयाँ कलाकार लिनुजस्ता कुरा डेब्यू डाइरेक्टरका लागि विश्वभरि नै चुनौतीपूर्ण काम मानिन्छ । मेरो फिल्ममा त भाषा पनि नबुझिने । यसरी मसँग पाँचवटा बाधा थिए । लगानीकर्ताले पनि सोधे– 'पाँच–पाँचवटा बाधा छिचोल्न सक्छौ ?' मलाई लाग्यो, त्यसो नगर्दैमा खतरै हुने भन्ने पनि छैन । नगर्दा जहाज डुब्ने नै पनि होइन । मलाई भन्न मन लागेको कथा मेरा तरिकाले भन्छु । नतिजा सेकन्ड कुरा हो । सबैलाई भनेको थिएँ– हामी यसको नतिजामा होइन, निर्माण प्रक्रियामा रमाउनुपर्छ । एउटा प्रोजेक्ट ज्यान फालेर ग¥यो, अर्काेमा काम गर्न नपरिदियो हुन्थ्यो भन्ने लाग्यो भने के गर्ने ? कहाँबाट किनेर ल्याउने ऊर्जा ? हामी कुन बाटो जाँदैछौँ भन्ने पक्का गरौँ, कहाँ पुगिन्छ भनेर नसोचौँ । चोर्न नै गएका हौँ भने पनि इमानदारिताका साथ चोर्छाैं भनेको थिएँ । टिममा सबैको 'अन्डरस्ट्यान्डिङ' पनि यही थियो, प्रक्रियामा 'इन्जोय' हुन छाड्यो, त्यो दिन फिल्म बनाउनै छाडिदिन्छौँ ।

फिल्म बनाउँछु भनेर फिल्डमा उत्रेकै १५ वर्षपछि फिल्म बनाउनुभयो । त्यसमा पनि आफ्नै कथा, आफ्नो भाषा । यत्रो दुःख गरेको चिज अरूले नहेर्देलान् भन्ने पिर थिएन ?

म अरूको चिजमा खास चासो राख्दिनँ । म बिहेमा सबैले दौरा सुरुवाल लगायो भनेर त्यस्तै लगाउनेमा पर्दिनँ । हामी खानामा मसला राख्दा पल्लो घरकोलाई बास्ना मन पर्र्ला कि नाइँ भनेर सोच्छौँ त ? सोच्दैनौँ । जे मन पर्छ त्यही हाल्छौँ । मलाई पनि मेरो मन परेको कुरा गर्नुथियो । बास्नो पल्लो घरकोलाई पनि मन परिरहेको छ । खुशी छु । हामीले गल्ती त्यही गरिरहेका हुन्छौँ कि अरूका कुरामा बढी चासो राख्छौँ । त्यसले न आफ्नो मनको कुरा पूरा हुन्छ, न अरूकै ।

दुःख त खूब भयो होला ?

एउटा किसानले बन्दा फलाउन जति दुःख गर्छ, त्यत्ति गरेको हो । बन्दा फलाउने काम सजिलो हो र ? हामी कलाकर्मी आफ्ना दुःख सुनाएर समवेदना बटुलन खोज्छौँ । पेशा कुन सजिलो छ र ? त्यो पेशामा राम्रो उत्पादन दिन कहाँ मेहनत पर्दैन र ? म त झन् लाटो देशको गाँडो तन्नेरी भएँ । नेपाली फिल्मले भेनिसमा अवार्ड पाएको थिएन । मैले पाएँ । वाहवाही बटुल्यो । खासमा दुई किलोको बन्दा फलाउन गरेको मेहनतमा पाँच किलोको फल्यो भनौ । किनकि, व्यावसायिक रूपमा पनि सफल भयो ।

तपाईंको अर्काे फिल्म कहिले आउँछ ?

समय लाग्ला । हतार छैन । सायद २०२० मा । एउटा भिक्षुको प्रेमकथामा फिल्म बनाउन खोज्दै छु । म अहिले त्यो फिल्मको कुन 'फेज'मा छु पनि भन्दिन्छु । अहिले म मीनबहादुर भाम, आफ्नै तरिकासहित बाँचिरहेको छु । आफ्नै शैली र बानी छ । म त्यही मेरा बानी कटौती गर्दै छु । त्यसपछि मैले बनाउन लागेको व्यक्तिको बानी ममा ल्याउँछु । त्यसपछि पनि स्क्रिप्ट लेख्न थाल्नुअघि एउटा कुरामा फेरि सजक हुनु छ, हरेक पात्रमा लेखकको बौद्धिकता नओकलियोस् । हामीकहाँ यहीँनेर समस्या छ, हरेक पात्रले लेखकको बौद्धिकता ओकलिरहेको हुन्छ । यसमा म सचेत छु, हुनुपर्छ ।

Leave a comment

जन्डिसले कलाकार बनाएपछि... सक्किगो नि !

जन्डिसले कलाकार बनाएपछि... सक्किगो नि !

'आप्पुई', 'सक्किगो नि' जस्ता थेगो अहिले धेरैका जिब्रोमा झुन्डिएका छन्। हास्य टेलिसिरियल 'भद्रगोल'मा जिग्री बोरोले प्रयोग गर्ने यी शब्द र फरक स्टाइल चर्चित छन्। जिग्री बोरोका रूपमा रुचाइएका उनी कुमार...

कैँचीको टक्कर

केही दिनअघि मात्रै चलचित्र जाँचपास समितिले फिल्म 'नतिजा'को सेन्सर रोकिदियो। फिल्ममा हट दृश्य राखिएको भन्दै ती हटाएपछि मात्रै सेन्सर गर्ने अडान राख्यो। सेन्सर बोर्डले आफ्नो फिल्मका मुख्य दृश्यमा कैँची चलाएको...

काली दमिनीदेखि रूपासम्म

काली दमिनीदेखि रूपासम्म

ललितपुरको झम्सिखेलस्थित मोक्ष रेस्टुरेन्टमा सोमवार दिया मास्के आँखामा कालो चस्मा, बुट्टेदार सर्ट्स र कालो पारदर्शी लेगिंग्समा प्रकट भइन्। 'म काली दमिनीलाई भेट्न आएको!' उनको गेटअप हेरेर ठट्यौलो शैलीमा मैले भनेँ।...

ग्ल्यामरस गर्मी

ग्ल्यामरस गर्मी

जान्नेसुन्नेहरू भन्छन्– विभिन्न कारणले पृथ्वीको तापक्रम बढिरहेको छ। मान्छेहरूका मुखबाट हरेक साल अघिल्लो सालभन्दा गर्मी बढेको टिप्पणी सुन्न पाइन्छ। गर्मी भन्नेबित्तिकै पसिना, अपच, आलस्यलाई सम्झने पनि मनग्गे छन्। तर, यही गर्मीको...

फिट त रहनैपर्छ

फिट त रहनैपर्छ

नयाँ पुस्ताको जिब्रैमा झुन्डिएको शब्द हो– क्लब। क्लब भनेपछि बिहानपख हेल्थ क्लब बुझ्ने नयाँ पुस्ताले दिउँसो फुटबल क्लब त साँझमा डान्स क्लब बुझ्छ। सुगठिलो ज्यान बनाएर शारीरिक रूपमा फिट रहन...

हिरोइन भनेको मन पर्दैन : ऋचा शर्मा

हिरोइन भनेको मन पर्दैन : ऋचा शर्मा

अभिनेत्री ऋचा शर्माले अघिल्लो साता चलचित्र विकास बोर्डले प्रदान गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन्। उनीसँग धनबहादुर खड्का र अनिल यादवले अन्तरंग कुराकानी गरेका छन्।

अंगदानः सार्थक बन्छ जीवन

अंगदानः सार्थक बन्छ जीवन

कल्पना गर्नुस्, तपाईंको मृत्युपछि तपाईंका आँखामार्फत कसैले यो संसार हेरिरहेको हुनेछ । तपाईंले मरणोपरान्त गर्ने आँखादानले कसैको जीवनले उज्यालो पाउनेछ। आँखामात्र होइन, नेपालमा छाला र मिर्गौला पनि दान गर्न सकिन्छ।...

सकियो कोपरासी अभियान

सकियो कोपरासी अभियान

मलेसियामा रहेका गैरकानुनी कामदारलाई स्वदेश पठाउन कोपरासी इमिग्रेसन मलेसिया बरहाडले थालेको अभियान मंगलवारदेखि सकिएको छ। मलेसिया सरकारले अवैधानिक रूपमा रहेका र राहदानी नभएका नेपाली कामदारलाई स्वदेश फर्कनका लागि यात्रा अनुमतिपत्र...