Tuesday 29 Shrawn, 2075 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

घातक पिरती

(0 votes)
घातक पिरती
गालपारा माया भन्थे उहिले। अहिले माया ज्यानमारा पनि हुन थालेको छ। मिठा कुरा गर्दागर्दै प्रेमीले प्रेमिकाका कोखामा छुरा धस्छ। रोमान्स, देहसुख, विवाद अनि हत्या... एउटा डरलाग्दो चक्रमा फसेको छ प्रेम। एकसाथ दुईतीन प्रेमिका घुमाउने प्रेमी 'हिरो' हुन थालेका छन्। आफ्नो मतलब सिद्ध गरेपछि प्रेमिकाको हत्या गर्ने प्रेमीहरूको संख्या बढ्दो छ। प्रेमको यो अस्वस्थ र डरलाग्दो संसार चित्रण गरेकी छिन्, सजना बरालले।
nepali-patro-june

• पुम्दीभुम्दी, पोखराकी चाँदनी बराल र कलिम शेखको प्रेम गाढा थियो। ढेड वर्षसम्म उनीहरू प्रेममा चुर्लुम्म डुबे। देहसुख लुटे। तर, बिस्तारै कलिमलाई चाँदनीप्रति वितृष्णा जाग्न थाल्यो। कहिले पैसा माग्ने, कहिले रिचार्ज कार्ड त कहिले लुगालत्ता किनिमाग्ने चाँदनीको बानीदेखि उनी वाक्क भए। चाँदनीसँगको आफ्नो सम्बन्ध छोराछोरीले थाहा पाउलान् भन्ने पिर पनि थियो उनलाई। उनी चाँदनीबाट टाढिन चाहन्थे। तर, चाँदनीले उनको पिछा छोडिनन्। उनले चाँदनीबाट मुक्त हुने एउटै उपाय देखे– हत्या। विसं २०६९ चैत १२ गते, कलिमले चाँदनीलाई अगाध माया दर्साउँदै आफ्नो काखमा सुताए र केबलको नांगो तारले उनको घाँटी कसेर हत्या गरे। 


• 'बिहेपछि पनि मलाई टर्चर दिन्थी,' अभियुक्त मोहन रानामगरले प्रहरी बयानमा भनेका छन्, 'बिहेअघि गर्भपतन गराएको कुरा खोलेमा मलाई गुन्डा लगाएर मार्ने धम्की दिएकी थिई। उसैले बोलाएकाले म त्यो दिन पर्वत गेस्टहाउस गएको थिएँ। त्यहाँ हाम्रो झगडा पर्योर। मैले आवेशमा आएर उसलाई सिरकले छोपेर चक्कु हानी हत्या गरेँ।' केही दिनअघि सुन्धाराको पर्वत शिखर गेस्टहाउसमा मारिएकी बबिता गुरुङ र मोहनको फेसबुकमार्फत चिनजान भई प्रेम बसेको थियो। मोहनसँग सम्बन्ध हुँदाहुँदै पनि बबिताको अर्कै युवकसँग विवाह भयो। उनले मोहनलाई भुल्न सकिनन्। बारम्बार भेट्न चाहिन्। तर, मोहनका लागि बबिता घाँडो बनेकी थिइन्। 


पहिले प्रेम अनि सेक्स र त्यसपछि हत्या। माथिका घटनाहरूको सार यही हो। शारीरिक सम्बन्ध कायम गरेपछि प्रेमी या प्रेमिकाको हत्या गर्ने 'प्रवृत्ति' देखापर्न थालेको छ। यसको सिकार प्रायः महिला हुने गरेका छन्। पन्ध्रदेखि ३५ वर्ष उमेर समूहका मानिस यो अपराधमा मुछिने गरेको महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी उमाप्रसाद चतुर्वेदीले बताए। अधिकांश केसमा अभियुक्तहरू मृतकको पूर्वप्रेमी हुने गरेको पाइएको छ। 'धेरैले यौनसम्बन्धका कारण हत्या गर्ने गरेका छन,' चतुर्वेदीले भने, 'हिजोआज अधिकांश पुरुषले यौनसन्तुष्टि वा पैसाका लागि प्रेम गर्छन्। जब उनीहरूको उद्देश्य पूरा हुन्छ वा नहुने टुंगो हुन्छ, पुरुष आफ्नी प्रेमिकालाई बेवास्ता गर्न थाल्छ। तर्किन थाल्छ। प्रेमिका अझ नजिक हुन खोज्छे। केटालाई तनाव हुन्छ। र, त्यसबाट छुट्कारा पाउन अनेक आइडिया लगाउँछ। केही उपाय नलागे ऊ प्रेमिकाको हत्या गर्न पनि पछि पर्दैन।' 


नैतिकतामा ह्रास
अपराधशास्त्री माधवप्रसाद आचार्यका अनुसार प्रेमपछि हत्या गरिनुका दुइटा प्रमुख कारण छन्– नैतिक धरातलमा ह्रास आउनु र प्रहरी संयन्त्र कमजोर हुनु। भन्छन्, 'प्रेमको नाटक गरेर अर्काको भावनासँग खेलबाड गर्नु भनेको मान्छेको नैतिकपतन हो। जनताको जिउधनको रक्षाका लागि खटिएका प्रहरी प्रशासन चुस्त र सक्रिय नहुँदा आपराधिक क्रियाकलाप बढेका हुन्।' शारीरिक रूपमा केही कमजोर र भावुक स्वाभावका हुने भएकाले महिलाहरू बढी सिकार हुने गरेको उनको विश्लेषण छ। 


मारिनेमध्ये अधिकांश महिला स्वच्छ छविका नहुने प्रहरीहरू बताउँछन्। विवाहपछि पनि आफ्ना पूर्वप्रेमीलाई भुल्न नसकेका, श्रीमान्भन्दा प्रेमीसँगै लहसिन खोज्ने वा एकभन्दा बढी युवकसँग प्रेमसम्बन्ध राख्ने महिला अचानो बन्ने गरेका छन्। सर्लाही, लालबन्दीकी सुन्तलीमाया तामाङ यसको साक्षी हुन्। उनी आफ्नै प्रेमीबाट बलात्कृत भई मारिएकी थिइन्। सुन्तलीमायाको सहायक प्रहरी जवान कृष्णबहादुर बरामसँग चक्कर चलेको थियो। कृष्णलाई उनी 'तिम्रो बच्चा मेरो पेटमा छ, मसँग बिहे गर, नत्र तिम्रो कार्यालयमा गएर बेइज्जत गरिदिन्छु' भन्दै धम्की दिने गर्थिन्। कृष्णले यो कुरा आफ्नो नाता पर्ने पूर्णबहादुर बरामलाई सुनाए। पूर्णलाई पनि सुन्तलीमायाले उस्तै धम्की दिएको थाहा पाएपछि दुवै मिलेर सुन्तलीमायाको ज्यान लिने योेजना बन्यो। सोहीअनुरूप सुन्तलीमायालाई 'बिहे गरौँ' भन्दै कृष्णले बुढानीलकण्ठस्थित चिस्यानी जंगलमा लगे। त्यहाँ बरामद्वयले सुन्तलीमायाको बलात्कारपछि हत्या गरेका थिए। 


हत्यारा प्रेमी 
प्रेमी/पूर्वप्रेमी भनाउँदाको हातबाट मारिने युवती पनि उत्तिकै छन्। आफूले माया गरेको व्यक्ति आफ्नै ज्यानको दुश्मन होला भन्ने अलिकति पनि हेक्का राख्दैनन् प्रेमिकाहरू। छिट्टै विश्वास गर्ने महिलाको स्वाभावले पनि उनीहरू प्रेमीले बिछ्याएको पासोमा पर्ने गरेका छन्। 'हप्ता/१० दिनअघिको कुरा हो,' नयाँ बसपार्कमा लुगापसल सञ्चालन गर्दै आएकी चन्द्रकला थापाले यस्तो विवरण सुनाइन्, 'हाम्रो घरछेवैको विष्णुमति खोलामा १८/१९ वषर्की मृत केटी नग्न अवस्थामा भेटिएकी थिई। अर्कैसँग बिहे गर्न आँटेको भनेर उसको ब्वाइफ्रेन्डले उसलाई मारेको रहेछ। यतै कतैको होटलमा बलात्कार गरेर उसलाई मारिएको भन्ने सुनेकी थिएँ।' अपरिपक्व प्रेम खतरनाक हुने अधिवक्ता फूलमाया रानाभाटले बताइन्। 'सानै उमेरमा गर्लफ्रेन्ड/ब्वाइफ्रेन्ड बनाउने, बे्रक अप र प्याच अपको खेल खेल्ने प्रचलन बढेको छ,' उनले भनिन्, 'ती क्रियाकलापले ईर्ष्या र बदलाका भावना बढाउँछन्। र, युवायुवतीलाई अपराधतर्फ उन्मुख गराउँछन्।'
झुटो प्रेमको लफडामा परी युवतीहरू मारिएका मात्रै छैनन्, समाजको तिरष्कार सहेर बाँच्न बाध्य पनि छन्। कोही भने 'प्रेम'को परिणामलाई सिध्याउने धुनमा स्वयम् अपराधी बनेका छन्। पिठुवा, चितवनकी १७ वर्षीया जमुना (नाम परिवर्तन) टाँडीका राजाराम तिवारीसँग प्रेममा परेकी थिइन्। गाउँबाट नारायणगढको लजमा गई उनीहरूले सेक्स गरे। तर, जब जमुना गर्भवती भइन्, राजाराम उनीबाट क्रमशः टाढिए। उनले भदौमा बच्चा जन्माइन्। बच्चा जन्मनासाथ उनले बालकलाई नजिकैको कुलामा लगेर फालिदिईन्। 'बाउविनाको बच्चा जन्माउँदा मलाई समाजले थुक्छ जस्तो लाग्यो,' उनले प्रहरीमा यस्तो बयान दिएकी छिन्, 'समाजको डरले मैले बच्चालाई कुलोमा फालेकी हुँ।' 


प्रेम, रोमान्स, झगडा र हत्या
प्रेमका कारण यौन दुर्व्यवहारमा पर्ने युवतीको संख्या बढ्दो भएकोे जिल्ला अदालत, चितवनका दिनबन्धु बरालले बताए। 'प्रेम विकृतिका रूपमा फैलिएको छ,' उनले भने, 'अहिलेका केटाकेटी आफ्ना आवश्यकता पूरा गर्न प्रेम गर्छन्। एकभन्दा बढी व्यक्तिसँग प्रेम गर्ने फेसन आएको छ। यसले उनीहरूको जीवनै धरापमा पारेको छ।' सामाजिक सञ्जाल, मोबाइल फोनलगायत प्रविधिको सहजताले प्रेमलाई हल्काफुल्का बनाइदिएको छ। 'फेसबुकमा चिनेकै भरमा जो कोहीलाई विश्वास गर्छन् केटीहरू,' लिटिल एन्जल्स कलेजमा कक्षा ११ मा पढ्ने सुगारिका केसीले भनिन्, 'मायामा अन्धो भइयो भने जे पनि हुन सक्छ।' महाराजगञ्जस्थित सनराइज म्यानपावरमा कार्यरत २० वर्षीया प्रिया लामा भने एकअर्काको विश्वास जित्नसके प्रेम सच्चा र प्रगाढ हुने बताउँछिन्। भन्छिन्, 'एकअर्कालाई विश्वास दिलाउनसके कुनै समस्या आउँदैन।' उनी स्वयम् पाँच वर्षदेखि प्रेम सम्बन्धमा छिन्। 


गोंगबुका १७ वर्षीय अजय श्रेष्ठलाई चाहिँ केटीहरू नै उत्ताउलो भएकाले यो समस्या बढेको भन्ने लाग्छ। 'लभ पर्योै भन्दैमा केटीहरू जे गर्न पर्न तयार हुन्छन्,' उनको बुझाइ छ, 'त्यस्ता उत्ताउली केटीलाई केटाले फसायो भन्न मिल्दैन।' 'मल्टिपार्टनर रिलेसनसिप'का कारण अहिलेका युवतीको चरित्र खस्किएको २३ वर्षीया संगीता गुरुङको भनाइ छ। 'चार/पाँचवटा ब्वाइफ्रेन्डलाई एकसाथ झुलाउँछन् केटीहरू,' उनले भनिन्, 'कसैगरी केटीको चरित्र लिक भएमा मामिला भयानक बन्छ।' उनकै भाइ पर्ने एक युवकले गर्लफ्रेन्डको 'डबल डिलिङ' चरित्र थाहा पाएपछि कलेजमै उनलाई खुकुरी प्रहार गरेका थिए। 'धन्न! त्यो केटी बाँची,' संगीताले भनिन्, 'भाइ अहिले जेलमा छ।' 


प्रेमी–प्रेमिकाबीच केही दूरी हुनु अत्यावश्यक भएको १९ वर्षीया मञ्जु पौडेलले बताइन्। 'लभ पर्नासाथ पोजेसिभ भइहाल्छन् केटाकेटीहरू,' उनले भनिन्, 'आफ्ना सारा कुरा एकअर्कालाई सुनाउँछन्। र, स–साना क्रियाकलापमा पनि हक जमाउन खोज्छन्। केटालाई बिस्तारै यी हर्कतदेखि झ्याउ लाग्न थाल्छ। त्यसपछि ऊ केटीलाई युज गर्छ र फाल्दिन्छ।' बिहेअघिको यौनसम्बन्ध प्रेमपछि हत्या गरिनुको प्रमुख कारण भएको कालोपुलकी सपना श्रीवास्तवको बुझाइ छ। भन्छिन्, 'पुरुष भन्ने जातै स्वार्थी हुन्छ। बिहे गर्छु भन्दै ललाई–फकाई प्रेमिकाको इज्जतसँग खेल्छ। पछि, 'भएजति देखिसकेँ अब केको बिहे?' भन्दै केटीलाई छाडिदिन्छ। प्रेमिकालाई मार्न पनि हिचकिचाउँदैन पुरुष।' 


'लिभिङ टुगेदर' र 'सेक्स बिफोर म्यारिज'को अवधारणा मौलाएको छ नेपालमा। गर्भपतनले कानुनी मान्यता पाएयता यो प्रचलन अझ व्यापक बनेको हो। यी कारणले पनि प्रेम, रोमान्स, विवाद र हत्याका शृंखला दोहोरिएको अपराधशास्त्री आचार्यको बुझाइ छ। चितवनकी २० वर्षीया सपना पौडेलले रमेश भनिने अमरसिंह कार्कीसँग कोठा सेयर गरेकै कारण मृत्युवरण गर्नुपर्योी। सपनासँग सम्बन्ध हुँदाहुँदै अमरले मुना नामकी केटीसँग पनि चक्कर चलाएका थिए। जब मुनाको विषयमा अमर र सपनाबीच विवाद हुन थाल्यो, अमर सपनादेखि चिढिए। र, उनले जेठ ३ गते राति भित्तामा टाउको ठोकाएर सपनाको हत्या गरे। अमरलाई प्रहरीले पक्राउ गरेपछि उनीसँग प्रेमसम्बन्धमा रहेकी मुनाले आत्महत्या गरिन्।
विदेशी फिल्म, संगीत र संस्कृतिको प्रभाव परेको छ नेपाली समाजलाई। युवा वर्ग पाश्चात्य जीवनशैली अपनाउन खोज्दै छ। प्रेम र रोमान्सलाई स्त्रि्कनमा देखाएझैँ सहज र सरल रूपमा लिन थालिएको छ। प्रेम जो कोहीले जेसुकै धन्दाका लागि प्रयोग गर्ने सस्तो वस्तु बनेको छ। घरखर्च चलाउनदेखि यौनप्यास मेटाउन वा बाइकमा पेट्रोल हाल्नसमेत प्रेमको नाटक गरिन्छ। जति धेरै जना पट्याउन सक्यो, उही पहलमान कहलिने अवस्था छ अहिले। यसरी खेलाँचीका रूपमा प्रयोग गरिने प्रेम कालान्तरमा मृत्यु बनेर आउने गरेको छ। आचार्य भन्छन्, 'कलेज पढ्ने युवायुवती एक/दुइटा भेटमै प्रेममा पर्छन्। डेटिङ जान्छन्। यौनकार्यमा संलग्न हुन्छन्। त्यसपछि पैसाका कुरा, गर्भका कुरा र सामाजिक प्रतिष्ठाका कुराले उनीहरूबीच मतभेद सुरु हुन्छ। अन्ततः हत्याजस्तो जघन्य अपराधमा मुछिन पुग्छन्।'


कम छैनन् युवती पनि 
नक्कली प्रेमको फन्दामा परेका युवतीहरू हत्याको सिकार र हत्यारा दुवै बन्ने गरेका छन्। धोकाको बदला हत्यामा लिने महिला पनि प्रशस्त छन् हाम्रो समाजमा। तर, पुरुषको तुलनामा कमै महिलाले आफ्ना प्रेमी/पूर्वप्रेमीको हत्या गर्ने गरेको डिएसपी उमाप्रसाद चतुर्वेदीले बताए। 'अधिकांश महिलाले चोखो प्रेम गर्छन्,' उनले भने, 'त्यसलै धोका दिनेलाई मार्नेभन्दा आफैँ मर्ने (आत्महत्या गर्ने)को संख्या बढी छ।' 


'पहिले–पहिले दिनकै दुई–तीनपटक भेट्न आउँथ्यो,' पोखरा–११, रानीपौवाकी कल्पना नकर्मीले कास्की प्रहरीलाई यस्तो बयान दिइन्, 'बिहे गरेपछि मकहाँ आउँनै छाड्यो। मसँग बिहे गर्छु भनेर मेरो अस्मिता लुट्ने अनि अर्कैसँगै बिहे गर्ने? मलाई धोका दिएकाले मैले अमरलाई मारेकी हुँ।' माटेपानीका अमर रानामगरसँग उनको लामो समयदेखि प्रेमसम्बन्ध थियो। कल्पनासँग बिहे गर्ने वाचा गरेका अमरले जब उदयपुरकी अस्मितासँग विवाह गरे, कल्पना छाँगाबाट खसेझैँ भइन्। आफूलाई धोका दिएको भन्दै उनले अमरलाई साफ थर्काइन्। अमरले बिहेले आफूहरूबीचको सम्बन्धमा कुनै असर नपार्ने बताए। कल्पना केेही शान्त भइन्। तर, अमरको बोली–व्यवहार बदलियो। कल्पनाको पारो तातियो। उनले कन्ट्रयाक्ट किलरको सहयोगमा अमरको घाँटी रेटेर हत्या गरिन्।


डिएसपी चतुर्वेदीका अनुसार प्रेमसम्बन्धका कारण हुने हत्यामा प्रेमीले प्रेमिकाको हत्या गर्नेको संख्या ८० प्रतिशत छ भने २० प्रतिशत प्रेमिकाले प्रेमीको हत्या गर्ने गरेका छन् । 'केटाहरूले विवाह गर्ने सर्तमा आफ्नो स्वार्थ पूरा गर्ने र त्यसपछि प्रेमिकालाई छाडिदिने प्रवृत्ति बढिरहेको छ,' उनी भन्छन्, 'आफूलाई धोका दिएको चाल पाएपछि एकाध युवतीले प्रेमीको घाँटी अठ्याउँछन्।' प्रेम र शारीरिक सम्बन्धलाई सामान्य रूपमा लिन थालेकै कारण प्रेमीप्रेमिकाको हत्या हुने क्रम बढेको चतुर्वेदीको निष्कर्ष छ।

Leave a comment

सातो लाने स्पिड

सातो लाने स्पिड

सडकमा कानको जाली फुटाउला जस्तो चर्काे आवाज निकालेर तुफानी गतिमा हुइँकिरहेका हुन्छन् केही मोटरसाइकल । साइलेन्सर पाइप प्वाल पारिएका, अग्लो बनाइएका र रूपै फेरिएका बाइकहरू भेटिन्छन् । तिनले अरू सवारी...

वर्षा राउत भन्छिन्- 'पंखाअगाडि कपाल हल्लाउँदै नाच्थेँ'

वर्षा राउत भन्छिन्- 'पंखाअगाडि कपाल हल्लाउँदै नाच्थेँ'

म्युजिक भिडियोमा व्यस्त मोडल हुन्, वर्षा राउत। तीन वर्षमा उनले ८० भन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन्। भिडियोबाट पाएको लोकप्रियताकै कारण उनले फिल्म 'नाइँ नभन्नू ल–४' मा काम गर्ने...

झुटले ध्वस्त दाम्पत्य

झुटले ध्वस्त दाम्पत्य

भनिन्छ– एउटा झुट लुकाउन अरू सय झुट बोल्नुपर्छ। विवाहजस्तो जीवनको महत्त्वपूर्ण घटना पनि झुटको जगमा उभियो भने दाम्पत्य जीवन कसरी सुखी हुन सक्छ ? झुट र धोकाबाट जीवनको नयाँ अध्याय...

गजबकी शीला

गजबकी शीला

उमेर उकालो लाग्दै गए पनि जाँगरमा कमी नआएको देखाइदिएकी छिन्, अभिनेत्री प्रिया रिजालले। एनबी महर्जनले निर्देशन गरेको फिल्म 'सकस'मा उनले आइटम नम्बरमा ठुम्का लगाएकी छिन्। छोटो पहिरन लगाएर उत्तेजक भंगीमा...

शुक्रवार सुन्दरी : निशा अधिकारी

शुक्रवार सुन्दरी : निशा अधिकारी

निशा अधिकारी विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो टेक्न सफल अभिनेत्री हुन्। तर, उनी फिल्म करिअरमा भने अहिले पनि आधार–शिविरमा पुग्नैका लागि संघर्षरत छिन्। 

'तीस वर्षमा तीन थान डिक्सनरी फटाएँ'

'तीस वर्षमा तीन थान डिक्सनरी फटाएँ'

प्रसिद्ध लेखक खगेन्द्र संग्रौला नेपाली साहित्यमा अनुवादको जग हाल्ने व्यक्तिहरूमध्ये एक हुन्। उनले थुप्रै किताब अनुवाद गरेका छन्। 'अजम्मरी गाउ"' (भियतनामी उपन्यास), 'फूल बेच्ने केटी' (उत्तर कोरियाली अपेरा), याङ मोको...

एयर होस्टेसको माग बढ्दो

एयर होस्टेसको माग बढ्दो

एयर होस्टेस करिअरमा आकर्षण कस्तो छ? आकर्षण चुलिँदोछ। प्लस टू सकेपछि प्राथमिकतामै पर्ने करिअर हो यो। ग्ल्यामरस पेशा बन्न सफल छ एयर होस्टेस।

डुबाए आफन्तले

बाबु बिते, आमा अर्कैसँग गइन्। त्यसपछि धनकुटाको हिलेमा आफन्तसँग बस्थिन् रीमा। नाताले सानीआमा पर्नेको होटलमा भाँडा माझ्थिन्। एकदिन सानीआमाले राम्रो होटलमा काम लगाइदिने भन्दै धरान ल्याइन्। हिलेको गाडीमा धरान आएपछि...