Wednesday 15 Bhadra, 2073 |
Menu

स्वास्थ्य

republica-headerdiscount-subscribe1

istl

जन्डिसः मुख बार्नु पर्दैन

  • आइतबार ३० असार, २०७०
  • डा. अनन्त श्रेष्ठ
  • Be the first to comment!
(0 votes)

जन्डिसको प्रकोप

हरेक वर्ष वर्षायाम सुरु भएसँगै जन्डिसबाट प्रभावित हुनेको संख्या बढ्ने गरेको देखिन्छ। असोजसम्म पनि जन्डिसका रोगीहरू बढी देखिन्छन् र त्यसपछि मात्रै यसको समस्या घट्दै जान्छ। तर वर्षामा बाहेक अरू समयमा पनि फाट्टफुट्ट यो समस्या देखिने गर्छ।

nepali-patro-june
वर्षासँग नजिकको सम्बन्ध राख्ने यस प्रकारको जन्डिस प्रायः अल्पकालीन हेपाटाइटिस (एक्युट हेपाटाइटिस)बाट हुने गर्छ। यसको प्रमुख कारण पानीबाट सर्ने 'हेपाटाइटीस–इ' 'हेपाटाइटीस–ए' नाम गरेका जीवाणु हुन्। वर्षामा पानीको सरसफाइ र स्वच्छतामा ध्यान नदिएमा एक्युट हेपाटाइटिसको सिकार हुन समय लाग्दैन।
एक्युट हेपाटाइटिसको समस्या प्रायः युवा वर्गमा (१६­३५ वर्ष) बढी देखिने गरेको छ। अझ बाहिरबाट काठमाडौंमा अध्ययन गर्न आउने युवा यसबाट बढी प्रभावित देखिन्छन्।
एक्युट हेपाटाइटिसका लक्षण
यस समस्याको सुरुवात सामान्य रुघा र ज्वरोको लक्षणबाट हुन्छ। ज्वरो आउने, खानामा अरुचि हुने, खाने कुरा देख्ने वा खानाको बास्ना थाहा पाउनेबित्तिकै वाकवाकी लाग्ने र वान्ता हुने एक्युट हेपाटाइटिसको सुरुवाती लक्षण हुन्। यी लक्षण देखापरेको केही दिनमा पिसाबको रङ गाढा पहेंलो हुने र दिसा सेतो रङको हुने गर्छ। बिस्तारै आँखा र शरीर पहेंलो हुंदै जान्छ। शरीर पहेंलो हुने अवस्थालाई जन्डिस भनिन्छ। एक्युट हेपाटाइटिस जन्डिसको धेरै कारणमध्ये एउटा प्रमुख कारण हो। यसबाहेक धेरै कारणबाट जन्डिस हुन सक्छ। 
पहेंलोपन बढ्दै गएमा शरीर चिलाउने समस्या देखा पर्न सक्छ। केही हप्ता वा महिनापछि खानाको रुचिमा बिस्तारै सुधार आउँछ र वाकवाकी आउने समस्या घट्दै जान्छ। पहेंलोपन पनि क्रमशः कम हुँदै जान्छ। यी सबै लक्षण एक्युट हेपाटाइपटिस निको हुँदै गएका लक्षण हुन्। यो रोग निको हुन एकदेखि तीन महिना लाग्छ। तर कसैकसैमा एक्युट हेपाटाइटिसले चर्को रूप लिन सक्छ। यस्तो अवस्थामा कलेजो फेल पनि हुन सक्छ। 
उपचार 
एक्युट हेपाटाइटिस निको हुने प्रक्रिया हाम्रै शरीरबाट नै हुन्छ। कुनै औषधि (एलोपाथिक वा अयुर्वेदिक)कै कारण यो रोग निको हुने प्रमाण चिकित्सा विज्ञानमा भेटिएको छैन। एक–तीन महिनाभित्र ९९ प्रतिशतमा कलेजो सामान्य अवस्थामा आउने गर्छ र यसको केही असर बाँकी रहन्न। पूरा आराम, पोषिलो खाना खाने तथा अनावश्यक औषधि प्रयोग नगर्ने हो भने एक्युट हेपाटाइटिस निको हुन्छ।
विशेषज्ञको भूमिका 
यो रोगमा कुनै पनि औषधिको भूमिका रहन्न। तर चिकित्सबाट परामर्श लिने कि नलिने? सर्वप्रथम जन्डिसको कारण पत्ता लगाउनु आवश्यक हुन्छ। एक्युट हेपाटाइटिसबाहेक अरू कारणले जन्डिस हुन सक्छ। अन्य प्रकारका जन्डिसमा भने कारणबमोजिम भिन्नै उपचार गर्नुपर्ने हुन्छ। एक्युट हेपाटाइटिसको सुरुवातमा अधिक मात्रामा वान्ता हुँदा र राम्ररी खाना खान नसक्दा शरीरमा पानीको मात्रामा गड्बडी हुने सम्भावना अधिक हुन्छ। यस्तो अवस्थामा बिरामीलाई वान्ता नहुने औषधि दिनुपर्ने हुन्छ। कसैकसैलाई अस्पतालमै भर्नासमेत गर्नुपर्ने हुन सक्छ। करिब सय जनामध्ये एक जनामा एक्युट हेपाटाइटिसले अति चर्को रूप लिन सक्छ र कलेजोले काम नगर्ने हुन्छ। त्यसो भएमा कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले समय­समयमा रगत जाँच गरेर निको हुने क्रमको निरीक्षण गर्न आवश्यक हुन्छ।
हेपाटाइटिस र खानपिन 
एक्युट हेपाटाइटिस र जन्डिसमा खान हुने/नहुने विषयमा धेरै भ्रम पाइन्छ। नुन, चिल्लो, बेसारयुक्त खाना, माछा, मासु तथा दही बार्ने चलन परम्परागत रूपमा चलिआएको पाइन्छ। तर, यस्तो परम्परा हाम्रो देशमा मात्रै देखिन्छ। पश्चिमा मुलुकमा एक्युट हेपाटाइटिस भएका व्यक्तिलाई अझ बढी पोषिलो आहार, माछा, मासु दिने गरिन्छ। सामाजिक परम्पराअनुसार मुख बार्ने बिरामीभन्दा मुख नबार्ने बिरामी चाँडै निको हुने देखिन्छ। तसर्थ, पुरानो परम्परालाई छाडी वैज्ञानिक प्रमाणका अधारमा खानामा पहरेज गर्नुको साटो एक्युट हेपाटाइटिसमा पौष्टिक आहार दिनु नै बुद्धिमानी हुन्छ। प्रमाणका आधारमा सोचमा परिवर्तन ल्याउनु नै मानव विकासक्रम र विज्ञानको मूल मन्त्र हो। यो कुरा यस रोगमा पनि उत्तिकै लागु हुन्छ। 
यस रोगबाट बच्न खाना र पानीको सरसफाईमा ध्यान दिन जरुरी छ। जथाभावी खाना नखाने, पानी उमालेरमात्रै पिउने गरेमा एक्युट हेपाटाइटिस र यसका जटिलताबाट सजिलै बच्न सकिन्छ।
(लेखक निजामती कर्मचारी अस्पतालका कलेजो रोग विशेषज्ञ हुन्।)

प्रतिक्रिया