×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 19 Mangshir, 2073 |
Menu

स्वास्थ्य

republica-headerdiscount-subscribe1

istl

'गलत भ्याक्सिन दिँदा' बर्डफ्लु महामारी

  • बुधबार २३ श्रावण, २०७०
  • दीपक दाहाल
  • Be the first to comment!
(0 votes)
काठमाडौं - बर्डफ्लु नियन्त्रणका नाममा सरकारले अनुमति नै नदिएका भ्याक्सिन अवैध रूपमा भित्र्याएर जथाभावी कुखुरामा प्रयोग गरिनुले संक्रमण तीव्र रूपमा फैलिएको सरोकारवाला विज्ञहरूले बताएका छन्। प्रमाणित नभएका गलत भ्याक्सिन आफूखुसी प्रयोग गर्दा 'नियन्त्रण गर्नै गाह्रो पर्ने गरी छिटो फैलिने शक्तिशाली भाइरस बढेको' र 'नयाँ खालका भाइरस प्रजातिसमेत विकास भएर महामारी रूप लिएको' उनीहरूको दाबी छ।
nepali-patro-june


'बर्डफ्लु नियन्त्रणका लागि सरकारले कुनै पनि किसिमको भ्याक्सिन प्रयोग गर्ने अनुमति दिएको छैन,' सरकारद्वारा सञ्चालित बर्डफ्लु नियन्त्रण अभियानका प्रवक्ता तथा पशु चिकित्सक परिषद्का रजिस्ट्रार डा. नारायण घिमिरेले मंगलबार नागरिकसँग भने, 'बजारमा भने जथाभावी प्रयोग भइरहेको छ।'

उनका अनुसार कुनै पनि रोग नियन्त्रणका लागि भ्याक्सिन प्रयोग गर्दा सबभन्दा पहिला भाइरसको प्रजाति निर्क्याेल हुनुपर्छ। 'एउटा प्रजातिको भाइरसमा अर्को खालको भ्याक्सिन परे केही समय रोगको लक्षण दबिए पनि पछि भाइरस गुणात्मक रूपमा फैलिन्छ,' उनले भने, 'नयाँ प्रजातिसमेत विकास हुनसक्छ।'

बर्डफ्लुको सन्दर्भमा कुन प्रजातिको भाइरस संक्रमण भएको निर्क्याेलै नभई जथाभावी भ्याक्सिन प्रयोग हुनुले समस्या बल्भि्कएको हुनसक्ने उनले बताए। उनका अनुसार सरकारले आयात अनुमति नदिएका भ्याक्सिन भित्र्याएको केही कुखुरा व्यवसायीले स्वीकार गरिसकेका छन्। बजारमा प्रयोग भइरहेको एउटा कुखुरामा लगाइने भ्याक्सिनको मूल्य ५ देखि ७ रुपैयाँ पर्छ।

नेपालमा हालसम्म तीन उपप्रजातिका बर्डफ्लु भाइरस फेला परेका छन्। पछिल्लो महामारी कुन प्रजातिले फैलाएको यकिन गर्न बाँकी छ। यसको निम्ति बेलायतको प्रयोगशालामा नमूना पठाइएको छ। प्रतिवेदन आइसकेको छैन।

बर्डफ्लु रोगको प्रजाति बढी परिवर्तनशील भएकाले यसअघि जापान, इन्डोनेसियालगायत देशले भ्याक्सिनमा करोडौं खर्च गर्दा पनि रोकथाम हुनुको सट्टा फैलिएको थियो। नेपालमा त्यही अवस्था आएको हुनसक्ने घिमिरेले बताए।
कृषि मन्त्रालयले नेपालमा कुन प्रकारको भ्याक्सिन प्रयोग गर्ने भनी अध्ययन गर्न एक महिनाअघि समिति गठन गरेको थियो। पशु सेवा विभागका उपमहानिर्देशक डा. रामकृष्ण खतिवडाको संयोजकत्वमा गठित उक्त समितिको निमन्त्रणामा खाद्य तथा कृषि संगठन (एफएओ) र विश्व स्वास्थ्य संगठनको टोली अर्को साता नेपाल आएर अध्ययन गर्दैछ।
'अध्ययनपछि मात्रै कस्तो भ्याक्सिन ल्याएर कसरी दिने भन्ने निर्णयमा पुगिन्छ,' खतिवडाले भने।
यसबीच, सरकारको बर्डफ्लु नियन्त्रण टोलीले दिनैपिच्छे हाँपदाँप गर्दै बथानका बथान कुखुरा मारिरहँदा पनि रोग नियन्त्रण हुन सकेको छैन। एक दिन एउटा फार्मका कुखुरा मारिइन्छ, दोस्रो दिन अर्को फार्ममा संक्रमण भेटिन्छ। मंगलबार पनि भक्तपुरका दुई नयाँ कुखुरा फार्ममा संक्रमण फेला पर्‍यो। सोमबार आठ फार्ममा फेला परेको थियो। कुखुरा तथा पन्छीजन्य वस्तु ओसारपसारमा प्रतिबन्ध लागेको मंगलबार छैठौं दिन हो। थप १० दिन प्रतिबन्ध लगाउन बर्डफ्लु नियन्त्रण अभियानले माग गरिरहेको छ।
२०६५ माघयता १ सय ३५ स्थानमा बर्डफ्लु पुष्टि भएको छ। त्यसमध्ये सय स्थानमा अघिल्लो र यो आर्थिक वर्ष देखिएको हो। साउनयता उपत्यकामा मात्रै ३६ ठाउँमा बर्डफ्लु भेटिएको छ। यति द्रुत गतिमा रोग फैलिनुले भाइरसको नयाँ प्रजाति विकास भएको पुष्टि हुने अधिकारीहरू बताउँछन्।
'जुन गतिमा संक्रमण भेटिएको छ, त्यसले पनि गम्भीर त्रुटि पुष्टि गर्छ,' घिमिरेले भने।
व्यवसायीले अवैध रूपमा भ्याक्सिन भित्र्याएर प्रयोग गरिरहेको देख्दादेख्दै प्रभावकारी कानुन अभाव र भ्याक्सिन माफियाको गहिरो जालोले कारबाही गर्न नसकेको पनि पशु सेवा विभागका अधिकारीहरू बताउँछन्।
केही कुखुरा व्यवसायीले पछिल्लो एक वर्षदेखि जबर्जस्ती भ्याक्सिन भित्र्याउन सरकारलाई दबाब दिँदै आएका थिए। सरकारले भने 'संसारमा सफल नभएका भ्याक्सिन भित्र्याउँदा खर्च र समस्या दुवै बढ्ने' भन्दै व्यवसायीलाई नहतारिन आग्रह गरेको प्रवक्ता घिमिरेले जानकारी दिए।
नेपाल भेटेनेरी एसोसियसनका महासचिव डा. शीतलकाजी श्रेष्ठ पनि गलत भ्याक्सिन प्रयोगले भाइरस संक्रमण बढेको हुनसक्ने स्विकार गर्छन्। उनका अनुसार भ्याक्सिन बनाउँदा सम्बन्धित रोगकै भाइरस लिने हो। त्यसपछि मात्रै भाइरसले रोगसँग लड्ने क्षमता बढाउँछ।
'नेपालमा फैलिएको भाइरसको प्रजाति थाहा पाएपछि त्यसैबाट भ्याक्सिन बनाउनुपर्छ,' उनले भने, 'भ्याक्सिन लगाउँदा सरकारकै निगरानी र सुपरिवेक्षण हुनुपर्छ।'

प्रतिक्रिया