11 Bhadra, 2073 |
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

istl

खडेरीले हजारौं हेक्टरको धान सुक्यो

(0 votes)
खडेरीले हजारौं हेक्टरको धान सुक्यो
कोहलपुर- साउनको तेस्रो सातादेखि तराईमा पानी नपर्दा हजारौं हेक्टर जमिनमा किसानले रोपेको धान खडेरीले सुकेको छ। दुई महिना लामो खडेरीले खेतमा धाँजा फाटेर पसाउने समयमा धान सुकेको छ।

nepali-patro-june
पसाउने बेलामा सुकेपछि किसान अहिले धान काटेर चौपायालाई खुवाउन थालेका छन्। जिल्लाको सीतापुर, गनापुर, मनिकापुर, समशेरगन्ज, बागेश्वरी, उढरापुर, सोनपुर, राधापुर, साईगाउँ, कम्दी, पुरैना, बेतहनी, नौवस्ता, बेलहरी, खजुराखुर्द, ईन्द्रपुरलगायत क्षेत्रमा धान सुकेको हो।

गनापुर–२ का कृषक सुरेश यादवले दुई बिघामा लगाएको धान सुकेको बताए। 'अहिलेसम्म यसरी खेतमा लगाएको धान सुकेको थिएन्, यसपाली पराल समेत नहुने गरि धान सुक्यो,' उनले भने, 'खडेरीले धान सुक्दा बिउ, मल, मजदुरीमा लागेको ६० हजार रुपैयाँ खेर गयो।' सरकारले खेतीयोग्य जमिनमा सिंचाई, समयमा रासायनिक मल, बिउबिजन, विद्युत पहूँच, भोल्टेज नहुनु र डिजेल अभावले धानबाली सुकेको उनले भने। उनले खडेरीबाट पीडित कृषकलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरे।

यसअघि यस क्षेत्रमा हजारौं बिघा जग्गाको धानबाली यसरी सुकेको थिएन भन्छन् स्थानीय। खोला र नहरको सिंचाइ पहूँच रहेको स्थानबाहेक अन्य आकासे, बोरिङ, पम्पसेट सिंचाइ हुने क्षेत्रमा समेत धान सुकेको छ। साउन पहिलो साता तराईमा बर्खा सुरु भएको थियो। साउन अन्तिम सातादेखि असोज तेस्रो सातासम्म एक थोपो पानी परेको छैन्। बेलहरी–५ की राबिया अन्सारीले यसपाला खडेरीले एक बिघामा लगाएको धान सुकेर नष्ट भएको बताइन्। 'यसअघि धान सुकेको थिएन, यसपाली गेडै नफल्ने भयो,' उनले भनिन्, 'सुकेको धान काट्न सुरु गरेकी छु।'

एक बिघा खेतमा वर्षेनी ३० देखि ४० क्विन्टल धान फल्ने धान यसपल्ट गाईगोरुलाई खुवाउने परालसमेत नहुने भएको छ। धान रोप्दै ५० हजार खर्च भएको उनले बताइन्। वर्षभर गाईभैसीका लागि पुग्ने परालसमेत नआउने गरी धान सुकेपछि अब गाईभैंसी कसरी पाल्ने उनी चिन्तित छिन्।

कृषकहरू सरकारी उदासिनताका कारण पीडित भएको बताउँछन्। राज्यले समयमा बिउ, रासायनिक मल, सिंचाई, विद्युत, डिजेल समयमा व्यवस्था गर्न नसक्दा खडेरीका बेला धान खेतीमा समस्या आएको बताए। तराईमा साउन २६ यताको बन्दले डिजेलबाट चल्ने बोरिङ र पम्पसेटले तेल नपाउँदा सिंचाई गर्न सकिएको छैन।

यस्तै सरकारले बन्दका कारण आपूर्ति गर्न नसकिएको भन्दै धान पसाउने समयमा हाल्नुपर्ने युरिया मल उपलब्ध गराउन सकेको छैन। विद्युतबाट सिंचाइ हुने क्षेत्रमा भोल्टेज कम छ। जिल्ला कृषि कार्यालय प्रमुख राजेन्द्रप्रसाद प्रधानले धान पसाउने बेलाम युरिया मल उपलब्ध गराउन र पानी नपर्दा धान सुकेको बताए।

'बोरिङ, पम्पसेट र विद्युतीय मोटरबाट सिंचाई हुने क्षेत्रको समेत धान सुकेको छ,' उनले भने,' सिंचाइ नहुनु र भएको ठाउँमा समेत आवश्यक सामग्रि नपाउँदा धान सुक्यो।' धान पसाउने समयमा कृषकले युरिया मल नपाउँदा पनि धान सुक्नमा सहयोग भएको उनले भने। कृषि कार्यालयका अनुसार जिल्लाको हजारौं हेक्टर जमिनमा लगाएको धान सुकेको छ।

धान काटेर तोरी, मसुरो, चना, तरकारी लगाउने सिजन भैसक्दा धान पसाउन सकेको छैन। राम्रो धान फल्ने क्षेत्रमा पनि सिंचाइ गर्न नसक्दा धान सुक्ने निश्चित देखिएको छ। विद्युत, डिजेल र युरिया मलको अभावमा कृषि कार्यालय र कृषक दुवैले धान फल्ने आशा मारेका छन्।

बाँके जिल्लाको २५ प्रतिशत जमिनमा मात्र सिंचाइ हुन्छ। जिल्लाको कुल ५७ हजार २ सय ५२ हेक्टर खेतीयोग्य जमिनमध्ये ५२ हजार ८ सय ३८ हेक्टरमा खेती गरिन्छ। ३६ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा मात्र धान रोपाई गरिन्छ। ३६ हजार ५ सय हेक्टर जमिनमा कुलो नहर र मोटरपम्पबाट सिंचाइ व्यवस्था हुन्छ, भने २१ हजार ७ सय हेक्टरमा खेती गर्न आकाशको भर पर्नुपर्छ।

प्रतिक्रिया