Tuesday 11 Ashwin, 2073 |
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

istl

चीन-बेलायत सम्बन्ध

  • सोमबार १६ कार्तिक, २०७२
  • व्याकुल पाठक
  • Be the first to comment!
(0 votes)
महाशक्ति राष्ट्र अमेरिकाको औपचारिक राजकीय भ्रमण गरेको एक महिनापछि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोवरको १९ देखि २३ तारिखसम्म गरेको बेलायतको राजकीय भ्रमणले पश्चिमी जगतमा चीनको व्यापार र प्रविधि विस्तारमा महत्वपूर्ण आयाम थपेको छ।
nepali-patro-june
दश वर्षदेखि चिनियाँ राष्ट्राध्यक्षको बेलायत भ्रमण नभइरहेकामा यो भ्रमणले उच्च महत्व पाएको थियो। बेलायतका लागि चिनियाँ राजदूत लीउ स्याउमिङले भ्रमणको पूर्वसन्ध्यामा राष्ट्राध्यक्ष सीको बेलायत भ्रमणबाट आपसी सम्बन्ध विकासका लागि ऐतिहासिक मौका प्रदान गर्ने र पारस्परिक सहयोगलाई अझ गहन तथा व्यापकरूपमा अघि बढाउने विश्वास व्यक्त गरेअनुसार नै भ्रमण ऐतिहासिकरूपमा सफल भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

बेलायतकी महारानी एलिजावेथ द्वितीयाको आमन्त्रणमा चिनियाँ प्रथम महिला पेङ लिवानका साथ बेलायतको राजधानी लन्डन पुग्दा उनलाई भिस्काउन्ट हुड तथा बेलायती विदेश मन्त्री फिलिप ह्यामन्डले महारानी एलिजावेथका तर्फबाट स्वागत गरेका थिए। विमानस्थलमा अवतरण गरेपछि राष्ट्राध्यक्ष सीले लिखित वक्तव्य दिँदै संयुक्त अधिराज्यसँगको सम्बन्धमा थप वृद्धिका लागि चीनले ठूलो महत्व दिएको बताए। यी दुवै देशका नागरिक र देशको आधारभूत चाहनाका आधारमा द्विपक्षीय हितमा केन्›ित रही सम्बन्धको विकास गर्नेमा चीन प्रतिबद्ध रहेको धारणा पनि उनले सो वक्तव्यमा राखेका थिए। दुई देशबीचको आगामी सम्बन्ध विकासका साथै भावी सहयोग र समन्वयका क्षेत्रहरू पहिचान गर्नका लागि आफूले बेलायती समाजका विभिन्न क्षेत्रका नागरिकहरुसँग पनि भेटावर्ता गर्न चाहेको उनले बताएका थिए। बेलायत भ्रमणमा निस्कनुअघि बेलायती समाचार समिति रोयटर्सलाई अन्तर्वार्ता दिँदै राष्ट्राध्यक्ष सिले यो समय भनेको चीन–बेलायत सम्बन्ध सुधारका लागि एक स्वर्ण समय भएको धारणा राखेका थिए। दुई देशकाबीचमा सुरु भएको बृहत् रणनीतिक साझेदारी कार्यक्रमको यो दोस्रो दशकको सुरुवातको समय भएकाले यसका माध्यमबाट आफूले एक स्वर्ण सम्बन्धको विकास गर्न चाहेको धारणा पनि उनले राखेका थिए।

राष्ट्राध्यक्ष सीको यो भ्रमण सन् २००५ पछि भएको चिनियाँ राष्ट्रपतिको हैसियतको पहिलो थियो। सी चिनफिङ राष्ट्रपतिमा निर्वाचित भएपछिको पनि यो पहिलो बेलायत भ्रमण भएकाले चीन तथा बेलायत दुवै देशमा यो भ्रमणले उच्च महत्व पाएको थियो। चिनियाँ राष्ट्राध्यक्ष सीको भ्रमणको महत्वपूर्ण उपलब्धि बेलायतले चिनियाँ न्युक्लियर प्रविधि अपनाउनेसम्बन्धी छ। यसअन्तर्गत चीनले हिन्क्ली पोइन्ट न्युक्लियर प्रोजेक्टमा ९ बिलियन डलर लगानी गर्ने भएको छ र यो प्रविधि बेलायत पठाइनेछ। बेलायतमा चिनियाँ न्युक्लियर प्रविधिको प्रवेश भनेको पश्चिमी मुलुकमा चीनको प्रविधि क्षेत्रमा दरो उपस्थिति हुनु हो। यदि यो योजना सफलरूपमा कार्यान्वयन भएमा पश्चिमी जगतमा चीनको साख अझै बढ्ने विश्वास चाइना जनरल न्युक्लियर पावर कर्पोरेसनका अध्यक्ष हि युले गरेका छन्। चीनले केही समयअघिदेखि नै तेस्रो जेनेरेसनको न्युक्लियर पावर टेक्नोलोजी प्रयोग गरिरहेको छ। यसलाई हुवालोङ वान भन्ने गरिन्छ र यसलाई दुई वटा चिनियाँ कम्पनीले विकास गरिरहेका छन्। ती हुन् चाइना जनरल न्युक्लियर पावर कर्पोरेसन (सिजिएन) र चाइना नेसनल न्युक्लियर कर्पोरेसन (सिएनएनसी)। सीजीएनका प्रमुख मार्केटिङ अधिकृत जेङ हुवाले यदि बेलायतमा चिनियाँ न्युक्लियर प्रविधि भित्रिएमा अन्य विश्वका लागि पनि चिनियाँ प्रविधिको साख बढ्ने र यसको प्रभाव सकारात्मक हुने विश्वास व्यक्त गरेका छन्।

बेलायतले पूर्वी चीनमा सन् सन् १८७६ मा ९ माइल लामो रेलमार्ग बनाएर रेलसेवाको सुरुवात गरेको थियो। यसको पाँच वर्षपछि सन् १८८१ मा चीनमा ताङ्सु रेलमार्ग निर्माण गरिएको थियो, यो नै चिनियाँ जनताद्वारा डिजाइन र निर्माण गरिएको पहिलो रेलमार्ग थियो। यसपछि चीनमा रेलमार्गको निर्माणले दू्रत गति लिएको छ। पछिल्ला दशकमा त दू्रत गतिको रेलमार्ग निर्माणमा चीनले विश्वमै अगुवाइ गरिरहेको छ। चीनले सन् २००७ मा हाई स्पिड रेलको औपचारिकरूपमै सुरुवात गरेको थियो। अहिले चीनभरि १० हजार माइल रेलमार्ग विस्तार भइसकेको छ, यो विश्वकै ठूलो हाइस्पिड रेल सञ्जाल हो। हाइस्पिड रेल मार्ग निर्माणमा पनि चीनले विश्वमा अगुवाइ गरेको छ। चीनको रेल प्रविधि अहिले विश्वमै स्वीकार्य छ र उच्च माग रहेको छ। यसै कारण लन्डनदेखि बर्मिङघमसम्म हाइस्पिड रेलमार्ग विस्तार गर्न गत महिना बेलायतले चीनलाई आग्रह गरेको थियो। यदि यो योजना कार्यान्वयन भएमा दुई शताब्दीपछि इतिहास फेरिनेछ। कुनै समय रेलमार्ग निर्माणमा बेलायतले कायम गरेको छवि र एकाधिकार अहिले तोडिएको छ र त्यसको ठाउँ चीनले लिएको छ। प्रविधि क्षेत्रमा चीनले कायम गरेको यो प्रगति विश्वकै लागि आश्चर्यजनक भएको छ। चीनको नेतृत्व वर्गले लिएको नीतिकै कारण यो सम्भव भएको हो। खासगरी स्थिर सरकार र स्पष्ट राष्ट्रिय–अन्तर्राष्ट्रिय नीतिका कारण यो सम्भव भएको हो। राष्ट्राध्यक्ष सिको यस पटकको भ्रमण चिनियाँ रेल प्रविधि बेलायतमा भिœयाउनेसम्बन्धी योजनालाई अघि बढाउने सम्बन्धमा पनि फलदायी भएको छ।

फुटबल फ्यान सिले भ्रमणका क्रममा इंगलिस प्रिमियर लिगको पावरहाउसका रूपमा चिनिने म्यान्चेस्टर सिटी फुटबल क्लबको भ्रमण गर्न पनि भ्याए। त्यहाँ राष्ट्राध्यक्ष सिलाई बेलायती प्रधान मन्त्री डेभिड क्यामरुन र क्लबका अध्यक्ष खाल्दोन मुबारकले स्वागत गरेका थिए। म्यान्चेस्टर सिटीका चर्चित अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुरियोसँग चिनियाँ राष्ट्राध्यक्ष र बेलायती सरकार प्रमुखको सेल्फी तस्बिर सामाजिक सञ्जालहरूमा भाइरल बनेको थियो। चिनियाँ राष्ट्राध्यक्ष सिको यस किसिमका कामले बेलायती जनताको मन जित्न सफल भएको थियो। चिनियाँ राष्ट्राध्यक्ष सीले सन् २०११ मा मुलुकको फुटबल विकासका लागि तीनवटा प्रतिबद्धता जनाएका थिए– विश्वकप खेल्नका लागि योग्य हुने, विश्वकप खेल आयोजना गर्ने र विश्वकप जित्ने। यी प्रतिबद्धता पूरा गर्ने दिशामा पनि उनको यस पटकको बेलायत भ्रमण फलदायी भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

प्रधान सम्पादक, हट नेपाल मासिक

प्रतिक्रिया