Sunday 9 Ashwin, 2073 |
Menu

अन्तर्वार्ता

istl

नाकाबन्दीको निहुँमा बढेको दाना भाउ घटेन

  • सोमबार १० फागुन, २०७२
  • मधुसुधन गुरागाईं
  • Be the first to comment!
(0 votes)
बनेपा- नाकाबन्दीमा कच्चा पदार्थ महँगिएको भन्दै कुखुरा दानाको भाउ अचाक्ली बढाएका उद्योगीले स्थिति सहज बन्दै जाँदासमेत मूल्य घटाउन आनाकानी गरिरहेका छन्।
महँगो दाना खुवाएर लागतभन्दा कम मूल्यमा कुखुरा बेच्नु पर्दा कुखुरापालकलाई मर्का थपिएको सरोकारवाला बताउँछन्। 'कच्चा सामग्रीको भाउ निरन्तर घटिरहँदासमेत दानाको मूल्य उही छ। उद्योगीलाई धेरैपटक गुनासो पोखेँ, सल्लाह गर्छाैंमात्रै भन्छन्, भाउ घटाउन्नन्,' नेपाल कुखुरापालक किसान संघका अध्यक्ष भोजराज दाहालले भने।

नाकाबन्दीको सुरुताका दाना बनाउन बढी प्रयोग हुने भटमासको पिना, मकै, ढुटो लगायत कच्चा सामग्रीको भाउ अकासिएको थियो। दाहालका अनुसार त्यतिखेर भटमासको पिना प्रतिकेजी ८० रुपैयाँ पर्नेमा अचेल ६५ मा पाइन्छ। ३५ रुपैयाँसम्म पुगेको मकै र ढुटो अहिले ३० र २३ रुपैयाँमा पाइन्छ।

आफैंले डिलरसिप लिएको सिद्धार्थ पेलेट फिडले समेत भाउ पुनर्विचार नगरेकोमा दाहालले दुःख व्यक्त गरे। 'किसानको गुनासोपछि सिद्धार्थका सञ्चालकसँग भाउ घटाइदिन धेरैपटक अनुरोध गरिसकेँ, सल्लाह गर्ने जवाफ आएको छ, घटाएको भने छैन,' उनले भने।

नाकाबन्दी अवधिमा उद्योगीले बढी मूल्य लिए पनि दानाको गुणस्तर खस्किएको दाहालको भनाइ छ। 'दानाकै कारण तोकिएको समयमा ब्रोइलरको तौल आउन सकेन। लामो समय पालेर बजार लैजाँदासमेत छाती सुकेको भन्दै कोल्ड स्टोरले किन्न नमानेको धेरै गुनासो छ,' उनले थपे।

दाहालका अनुसार लेयर्सले समेत अन्डा उत्पादन घटाएको थियो। 'त्यतिखेर उद्योगीलाई पनि मर्का परेकै हो भन्दै चुप लागेर बस्यौं। अवस्था सहज बन्दै जाँदा यस्तो मनोमानी अब किसानले सहँदैनन्,' दाहाललेे आक्रोश पोखे।

ब्रोइलर र लेयर्सका लागि अलग–अलग पौष्टिकता भएको दाना प्रयोग हुन्छ। ब्रोइलरका लागि किसानले बढी मात्रामा ब्रोइलर फिनिसर्स नं २ दाना खुवाउनुपर्छ। यही दानामा उद्योगीले बढी मूल्य लिइरहेको किसानको गुनासो छ।

'एक हजार ब्रोइलर पाल्ने किसानले एक सय बोरा ग्रोअर २ नम्बर दाना खुवाउनै पर्छ। हालको भाउमा प्रतिबोरा चार सय बढी पर्दा एकै लटमा ४० हजारसम्म बढी तिर्नुपर्ने भयो। यसबाट किसानलाई मर्का परेको हो,' पनौती–१२, खोपासीका किसान ध्रुव दुवालले गुनासो गरे।

यतिखेर दुवाल र उनीसँग आवद्ध किसानको खोरमा चार हजार ब्रोइलर हुर्कंदैछ। उनकै हिसाबले पनि चार हजार ब्रोइलर बेचेर कमाउने नाफा करिब अढाई लाख रुपैयाँ दाना उद्योगीलाई बुझाउनुपर्ने भएको छ।

'हिजो मास (धुलो) दाना खुवाइन्थ्यो। ६० हाराहारी दाना उद्योग थिए। प्रतिस्पर्धा हुन्थ्यो। कच्चा सामानको भाउ बढ्दा बढेको दानाको भाउ, घट्नेबित्तिकै घट्थ्यो,' दुवालले भने, 'अहिले दर्जन हाराहारी पेलेट (कुड्के) दाना उद्योगीको सिन्डिकेट र कार्टेलिङले नाफा जति उनीहरुलाई नै बुझाउनुपर्ने अवस्था आयो,' उनले गुनासो गरे।

अहिलेकै कच्चा सामग्रीको मूल्यमा ब्रोइलर २ नम्बर दाना बनाउँदा प्रतिबोरा (५० केजी) दुई हजार दुई सय रुपैयाँ पर्ने दुवालले दाबी गरे। 'यो मूल्यमा पनि नाफा हुन्छ। मास दानाको खर्चमा प्रतिबोरा रुपैयाँ थप्दा पनि पेलेट उद्योगले बोरामा चार सय रुपैयाँ बढी मूल्य लिइरहेको देखिन्छ,' उनले थपे।

चितवनपछि कुखुरापालन व्यवसायले फड्को मारेको जिल्ला काभ्रेपलाञ्चोक हो। यहाँ ब्रोइलर र लेयर्सका गरी दैनिक तीन हजार बोरा (डेढ सय टन) दाना खपत हुन्छ।

पेलेट दानाले मास दाना उद्योगलाई विस्थापन गरेपछि उद्योगीको मनोमानी बढेको कुखुरा व्यवसायी मञ्च नेपालका सचिव दयाराम महतको भनाइ छ।

नेपालमा दर्जनभन्दा बढी उद्योगले कुखुराको उमेरअनुसारका पेलेट दाना उत्पादन गर्छन्। दाना उद्योगको नियमन प्रभावकारी हुन नसक्दा दानामा के–कस्ता सामग्री हालेको छ र कति पौष्टिकता छ भनेर किसानले पत्तै नपाउने उनको भनाइ छ।

'१० रुपैयाँमा बिक्ने बिस्कुटमा समेत उत्पादकले सबै विवरण र पौष्टिक मात्रा उल्लेख गर्छ। बोराको तीन हजार रुपैयाँ हाराहारी पर्ने दानाको बोराभित्र के र कस्तो पोषण भएको छ र मैले कति र कस्तो दाना खुवाइरहेको छु भन्ने किसानले भेउ पाउँदैन,' महतले थपे। नाकाबन्दीताका ब्रोइलर राम्ररी नबढ्नु र छाती सुक्नुको प्रमुख कारण आवश्यक पौष्टिक सामग्री नहालिएको हुन सक्ने उनको तर्क छ।

नेपाल दाना उद्योग संघका महासचिव रबिन पुरी नाकाबन्दीमा समेत विज्ञको फर्मुलेसनअनुसार सदस्य उद्योगले दाना बनाउँदै आएको हुँदा गुणस्तरमा कमी नआएको दाबी गर्छन्। 'ब्रोइलरको तौल नआउनुमा दानामात्रै प्रमुख कारण होइन। व्यवस्थापन, रोगव्याधि लगायत समस्या पनि हुन सक्छन्,' पुरीले थपे।

उनले तीन पटकसम्म दानाको भाउमा तीन रुपैयाँ घटाइएको जानकारी दिए। 'दाना उत्पादनमा चाहिने अधिकांश कच्चा सामग्री र औषधिमा बढ्दो परनिर्भरताले गर्दा उद्योगीले चाहेर पनि भाउ घटाउन नसकेका हुन्। केही दिनमा थोरै भए पनि घटाउनेतर्फ प्रयास भइरहेको छ,' पुरीले भने।

प्रतिक्रिया