×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Monday 7 Jestha, 2075 |
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

istl

हामी प्रचण्डकै स्कुलिङमा छौं

(2 votes)
नागरिकलाई अन्तरवार्ता दिँदै नेत्रविक्रम चन्द। नागरिकलाई अन्तरवार्ता दिँदै नेत्रविक्रम चन्द। तस्विरः विकास कार्की
'विप्लव'को छोटकरी नामले बढी चिनिनुहुने नेत्रविक्रम चन्द माओवादको आदर्शबाट प्रेरित युवा हुनुहुन्छ र माओवादी युवाबीच उहाँको लोकप्रियता पनि स्थापित छ। कुनैबेला उहाँ प्रचण्डका निकट हुनुहुन्थ्यो भने अहिले राजनीतिक हिसावले निमेसिस। एकीकृत कम्युनिष्ट पार्टी माओवादीदेखि नेपाल कम्युनिष्ट पार्टी–माओवादीसम्मको छोटो यात्रामा पनि विप्लवलाई विवादले पछ्याउन छाडेको छैन। संविधान सभाको आगामी निर्वाचनका सन्दर्भमा विप्लव एकपटक फेरि चर्चामा आउनुभएको छ। विप्लवसँग किशोर नेपालको अन्तर्वार्ता :
nepali-patro-june
तपाईँले आफ्ना जवानीका दिन युद्धमा लगाउनुभयो। प्रचण्डसँग तपाईँको सम्बन्ध पनि निकै आन्तरिक थियो। अचानक पार्टी छोड्नुभयो, विभाजित गर्नुभयो। पार्टी विभाजन गर्नुमा 'ड्राइभिङ फोर्स' तपाईँको महत्वाकांक्षा पनि एक महत्वपूर्ण पक्ष थियो भन्ने चर्चा छ। वास्तविकता के हो?
प्रचारमा आएको कुरा त अलि बढी हो जस्तो लाग्छ मलाई। पहिलो कुरा के हो भने हामी युवा हुँदा हामीले मानेको योग्य र आदर्श नेताचाहिँ प्रचण्ड नै हो। त्यसैले पनि उहाँसँग विशेष प्रकारको लगाव र सहकार्य थियो। त्यो घनिष्ठ थियो। दोस्रो कुरा उहाँभित्र हामीले जे खोजेका थियौं र जे हेरेको थियौँ, जे कुरा उहाँले गर्नुहुन्छ भन्ने आशा थियो, त्यो पूरा भएन। यसले गर्दा हाम्रो व्यावहारिक जीवन र राजनीतिमा, हाम्रो आदर्शमा चोट पुग्यो। तपाईँले भनेजस्तो पार्टी विभाजनको योजना नै हामीले बनाएको चाहिँ होइन। विभाजन नभइदिएको भए हुन्थ्यो भन्ने नै थियो। अहिले हामी जहाँ छौँ, त्यहा" प्रचण्डले सुरुमा दिएको स्कुलिङअनुसार नै छौँ।

तपाईँ र अनन्त दुवैलाई प्रचण्डले नेतृत्व तहका लागि तयार गर्नुभएको थियो। पछि गएर उहाँले 'मगर' अनन्तलाई समात्नुभयो र 'ठकुरी' विप्लवलाई छोड्नुभयो भन्ने चर्चा पनि छ। त्यसले तपाईँलाई आक्रोशित बनाएको हुनुपर्छ। के भन्नुहुन्छ?
होइन। साँचो कुरा के भने नि राजनीतिक मान्यता र विचार मानवीय भावनाभन्दा पृथक कुरा हो जस्तो लाग्छ मलाई। प्रचण्डजीले जे कुरामा हामीलाई स्कुलिङ गर्नुभएको थियो, पुरानो जीवनबाट नयाँ जीवन, पुरानो व्यवस्थाबाट नयाँ व्यवस्था, पुरानो समाजबाट नयाँ समाज बनाउने भन्ने जुन स्कुलिङ थियो, म त्यसैमा छु। उहाँहरु अलिकति ब्याक हुनुभयो जस्तो लाग्छ। अन्तरविरोध त्यही हो। हामी छुट्टिँदा उहा"लाई पनि भावनात्मकरूपमा चोट पर्‍यो होला, त्यो कुराचाहिँ म मान्छु।

अनन्तजी र तपाईँबीच कुनै मनमुटाव छैन त?
छैन। मैले अनन्तजीलाई यही कोठामा सोधेको थिएँ– बाहिर यस्तो चर्चा छ। यो कुरा हो त? उहाँले हाँसेर जवाफ दिनुभएको थियो– हामी यो पार्टीमा नआउँदै प्रचण्डजीहरु लडिरहनुभएको थियो। बाहिर बाबुरामजीलाई एउटाले ब्याकिङ गर्छ र प्रचण्डजीलाई अर्कोले ब्याकिङ गर्छ भन्ने पनि त चर्चा थियो।

राजनीतिमा तपाईँहरू एकअर्काबाट टाढा हुनुभयो। व्यक्तिगत जीवनमा कस्तो छ सम्बन्ध?
सरल छ। ठीक छ।

बाहिर भनिएजस्तो कटुता छैन?
हैन। हैन। त्यसलाई उहाँले स्वाभाविकरूपमा लिनुभएको छ होला। राजनीतिमा आफ्नो कन्भिक्सनको कुरा हो। आफ्नो सोचाई, विचारको कुरा हो। त्यसमा व्यक्तिगत कटुता, तिक्तता र पूर्वाग्रहको खास अर्थ हुँदैन।

तपाईँको बहुमूल्य समय त्यो पार्टी बनाउन खर्च भएको छ। त्यसमा रगत–पसिना परेको छ। अन्तमा तपाईँहरु पार्टी नै छाडेर हिँडिदिनुभयो। त्यहीँभित्रै बसेर संघर्ष गर्न सक्ने अवस्था थिएन?
मेरो आफ्नो हेराइमा त पार्टी छाडेको होइन। हामी पुनर्गठन गरेको भन्छौँ।

त्यो त लिखितम्को कुरामात्र हो, हैन?
यथार्थ के हो म भन्छु। पार्टी छाडेको भए माओवादीको आधारभूत मान्यता छाडेको प्रचण्डजीले हो। यो मेरो आफ्नो मान्यता हो। त्यसैले हामीले पार्टी छाडेको त भन्न मिल्दैन।

पार्टीको नीतिगत तहमा बसेको मान्छे, तपाईँहरुले नै अध्यक्ष बनाउनुभएको, प्रचण्डपथ भनेर उहाँको मार्गमा हिँड्नुभएको। त्यो मान्छेले नीतिगत परिवर्तन त गर्न सक्छ नि, हैन?
त्यो सबै हुन हार्मोनी मिल्नुपर्छ । सृजना भनेको वैज्ञानिक मान्यताका आधारमा हुनुपर्छ। काल्पनिक कुरा गरेर त्यसलाई सृजना भन्न मिल्दैन। नयाँ राज्य निर्माण गर्ने भनेर हामी अगाडि बढ्यौँ। त्यसमा परिवर्तन गरेर फेरि पछाडि नै जाने कुरा त मान्य हुँदैन नि त। त्यसैले हामी जुन बाटोमा छौँ, त्यो ठिक छ।

तपाईँहरु ठीक हुनुहुन्छ भन्ने पुष्टि कसरी गर्नुहुन्छ?
जनयुद्धका केही मान्यता थिए। जनता र राज्यबीचको अन्तरविरोधलाई हल गर्ने एउटा। दोस्रो, जनताका अधिकारलाई उपभोग्य हुनेगरी संस्थागत गर्ने। तेस्रो, हाम्रो राष्ट्रलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुपर्छ भन्ने थियो। पछिल्लो शान्ति प्रक्रियासम्म आइपुग्दा यी विचारहरु नराम्रो ढंगमा विघटनतिर लागेको छ जस्तो हामीलाई लागेको छ। हामीले जे कुराको प्रतिबद्धता जनता र नागरिकलाई गरेका थियौँ, त्यो नै ठीक छ। त्यसकारण हामीले गरेको तर्क कुनै काल्पनिक आधारमा होइन।

त्यसो भए तपाईँहरु शान्ति प्रक्रियामा आउँदाखेरि नै तपाईँहरुबीच असहमति थियो।
होइन। त्यो थिएन। शान्ति प्रक्रियामा आउँदाखेरि हामी सहमत थियौँ। शान्ति प्रक्रियाको नतिजा हामीले के चाहेका थियौँ भने राज्य र जनताबीचको अन्तरविरोध हटोस्। जनयुद्धका उपलब्धि महसुस हुनेगरी र उपभोग गर्ने तहसम्म लैजानेमा हाम्रो सहमति थियो। यसैमा हामीलाई घात भयो भन्ने लागिरहेको छ।

शान्ति प्रक्रियामा आएपछि कम्युनिष्ट समाज निर्माण हुनुपर्छ भन्ने तपाईँहरुको धारणा थियो?
होइन। त्योमात्र पनि होइन। हामीले अर्को समझदारी गरेका थियौँ। त्यो के भने माओवादीले भनेजस्तो नौलो जनवादी व्यवस्था पनि अहिलेका लागि त्यति व्यावहारिक नहोला। किन नहोला भन्दा कांग्रेस, प्रजातन्त्रवादीहरुले हामीसँग सहकार्य गर्न उचित ठानेको बेलामा, त्यो व्यावहारिक नहोला भन्ने थियो। अनि उनीहरुले पनि पुरानो संसदीय व्यवस्थाबाट अब चल्दैन भन्ने महसुस गरेको बेला हो यो भन्ने हामीलाई पनि परेको थियो। यहाँ सात दल, आठ दल पनि थियो। तर यथार्थमा भन्नुपर्दा शान्ति प्रक्रियाको पार्टनर भनेको प्रजातन्त्रवादी र कम्युनिष्टमात्रै थिए। यो दुईवटा धारबीचको सम्झौता थियो त्यो। यो दुईवटा धारको सहकार्यमा जनतालाई अधिकार सम्पन्न बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास थियो। त्यो भएन।

कांग्रेस र माओवादीबीचको सम्भौता मात्र हो भन्नुहुन्छ?
काँग्रेस र माओवादीमात्र भन्दा उचित नहोला। प्रजातन्त्रवादीहरुको नेतृत्व काँग्रेसले गरेको र कम्युनिष्टहरुको नेतृत्वचाहिँ माओवादीले गरेको भन्ने लाग्छ।

त्यो सहकार्यबाटै त गणतन्त्र आयो नि आखिर। आएन र?
गणतन्त्र त आयो। गणतन्त्र भनेको राज्यको उपल्लो तहको संरचनामा हेरफेर हो। जसले जनताको दैनिक जीवनमा केही परिवर्तन ल्याउँदैन। जनता जे कारणले परिवर्तनको पछाडि लागेको थियो, त्यसलाई सम्बोधन गर्न सकिएन। समात्न सकिएन।

के समात्न सक्नुभएन?
हामीले किसानको कुरा गरेको थियौँ। उनीहरुको हक अधिकार सुनिश्चित गर्ने कुरा। नेपालमा उत्पीडित जातिहरुको विशिष्ट प्रकारका समस्या छन्। राज्यले त्यसलाई पनि वैधानिकरूपमै सम्बोधन गरोस् भन्ने थियो। त्यसपछि राष्ट्रवादको कुरा, जनजातिका कुरा, युवाहरुको कुरा। त्यो सबैलाई राज्यले सम्बोधन गर्न सक्नुपर्थ्यो। आन्दोलनको नारा सबै पार्टीले बनाए तर वैधानिकता दिन सकेनन्।

पार्टी त्यसै कारणले फुटेको हो त?
हो, चुरो कुरा यही हो। अझ मैले जनमुक्ति सेनाको कुरा छुटाएछु। दुईवटा सेना मिलाएर राष्ट्रिय सेना बनाउने भन्नेमा सहमति थियो। प्रचण्डजी यसैमा ब्याक हुनुभयो। यस्तो कुरामा ब्याक भएपछि पार्टीमा कसरी कुरा मिल्छ?

सेना त मिल्यो नि, मिलेन?
भन्न त मिल्छ। तर, रियालिटी के हो? त्यो त तपाईँलाइ पनि थाहा छ नि।

सेना समायोजन भयो। तपाईँका लडाकुहरु बुट बजारेर तालिम लिँदैछन्। अब मेजर, कर्नेल जस्ता पदको खोजी हुँदैछ। तपाईँ कसरी मिलेन भन्नुहुन्छ?
दबाएको मित्रता र साँच्चिकैको मित्रतामा त फरक हुन्छ नि। सम्पन्नशाली र एउटा निमुखाबीचको मित्रता जस्तो हुन्छ नि, त्यस्तै समायोजन भयो। उन्नाइस हजार जनमुक्ति सेनालाई रुवाउँदै घर फर्काएको समायोजनको अर्थ र औचित्य कहाँ छ?

अब तिनीहरुलाई पुनर्संगठित गर्न थाल्नुभएको छ, हैन?
तिनीहरुलाई पुनर्संगठित गर्नैपर्दैन नि। उनीहरु त्यसै संगठित छन्।

पोलिटिकल मुभमेन्टका लागि संगठित गर्दै हुनुहुन्छ?
पोलिटिकल मुभमेन्ट त कसरी जान्छ, त्यो हामीले पछि हेर्ने कुरा हो। तर, ती प्रायःजसो हाम्रा संगठित सदस्य नै हुन्। उनीहरु कार्य विभाजनअनुसार जनमुक्ति सेनामा थिए। तर, उनीहरु पार्टीकै संगठित कार्यकर्ता नै हुन् नि।

तपाईँहरु कम्युनिष्ट डक्ट्राइनबाट प्रेरित र संगठित सेनालाई नेपाली सेनामा लगेर मिसाउन चाहनुहुन्थ्यो, जसले गर्दा तपाईँहरुलाई भोलि नेपाली सेनाकै रुपान्तरणमा सहयोग होस्।
होइन। सेनाका सम्बन्धमा प्रजातन्त्रवादी र कम्युनिष्टको मान्यतामा जानुभयो भने केही भिन्नता होला। तर, त्यसको समृद्धीकरणमा हामी दुवैको मत मिल्छ। सेना भनेको हतियारधारी फोर्समात्र होइन। सेना भनेको जनताको सेवक पनि हो। समायोजनमा सबैलाई ठाउ" दिनुपर्थ्यो। त्यसो गर्दा के बिग्रन्थ्यो होला त? एउटा ब्यारेकमा थुनिएर खाएर बस्ने भन्दा त जनताको जीवनमा सहयोग गर्ने सेनाका रूपमा जनमुक्ति सेनाले लान्थ्यो भने के नराम्रो थियो त?

तर लडाकु बिदा गर्दा तपाईँ पनि यही राज्य व्यवस्थाको एउटा अंग हुनुहुन्थ्यो। सम्पूर्ण प्रक्रिया भइरहँदा सक्रिय हुनुहुन्थ्यो, त्यसमा सहमत हुनुहुन्थ्यो। हैन?
साँचो कुरा के हो भने शान्ति प्रक्रियाको दुई वर्षसम्म हाम्राबीच कुनै विवाद थिएन। हामी सबैलाई के विश्वास थियो भने हामी नेपाललाई केही दिन सक्छौँ। चाहे संस्थागत ढंगले होस्, चाहे व्यक्तिगत ढंगले होस्। त्यो हुँदासम्म हाम्रो केही विवाद थिएन। जब हामीले सबै कुरा हेर्न थाल्यौँ, बुझ्न थाल्यौँ, आफैँले अध्ययन गर्न थाल्यौँ, नेताहरु ठूलो घेराबन्दीमा परेको फिल हुन थाल्यो। उहाँहरुको इच्छाविपरित पो हो कि त यो भन्ने पनि लाग्यो। उहाँहरु त अगाडि नै लैजान चाहनुहुन्थ्यो, उहाँहरुलाई परिवेशले घेराबन्दीमा पार्‍यो कि क्या हो? त्यसपछि त्यो घेराबन्दीबाट मुक्त गर्न हामीले प्रयास गर्‍यौँ। मैत्रीपूर्णरूपमा हाम्रो कुरा पनि राख्यौँ र फेरि लिडर त तपाईँ नै हो नि है पनि भन्यौँ। त्यसपछि उहाँ मनोगतरूपमा पनि चल्न थालेको जस्तो लाग्यो। अनि यो विभाजन भएको हो।

एनेकपा माओवादी भने पनि, नेकपा–माओवादी भने पनि नेपालको सामाजिक संरचनामा आमूल परिर्वतन गर्न त सफल भएको छ। त्यसलाई मान्नुहुन्छ?
त्यो कुरा म मान्छु। जागरण भएको छ। यो जागरण निकै महŒवपूर्ण छ। तर, जागरण ठोस हुन्छ कि हुन्न भन्नेमा चाहिँ चिन्ता छ। जागरणमात्र ठूलो कुरा होइन।

त्यो जागरण लिएर आउन नेताका रूपमा त प्रचण्डलाई नै अघि सार्नुभएको होइन?
हो। एकदमै हो। र, त्यति बेला हामीले निर्णय गलत गर्‍यौँ भन्ने पनि हामीलाई परेको छैन। हामीले उचित पात्र नै छानेका थियौँ भन्ने हामीलाई थियो।

प्रचण्डका बारेमा बारम्बार यो कुरा तपाईँलाई किन सोधिरहेको छु भने नेकपा–माओवादीको फाउन्डेसनमा धेरै योगदान तपाईँको पनि छ। तपाईँले मोहन वैद्यजीहरुलाई पार्टी विभाजनतर्फ लान प्रेरित गर्नुभयो भन्छन्। वास्तवमा के हो बताउनूस् न?
यो कुरा सत्य हैन।

यो कुरा कति प्रतिशत सत्य होइन?
तपाईँलाई किरण कमरेडका बारेमा थाहै छ। उहाँ अहिलेको संघर्षमा मात्र हैन, धेरै पहिलेदेखि भित्री संघर्षमा जुद्धै आउनुभएको छ। बादलजी पनि र अरु पनि। त्यसैले जे कुरा बाहिर प्रचारमा आएको छ, त्यो सत्य होइन। जहाँसम्म पछिल्लो समयमा देशभरका युवाहरुसँगको सहकार्य, जनतासँग भेटघाटका हिसाबले उत्प्रेरित गरेको भन्ने छ, त्यो हो र त्यसलाई म मान्छु।

नेकपा–माओवादी भन्नेबित्तिकै मान्छेको मनमा विप्लवकै तस्बिर आउँछ। तपाईँ बिस्तारै यस्तो नेताका रूपमा चित्रित गरिँदै जानुभएको छ, जसले सकारात्मक र नकारात्मक दुवै प्रतिफल दिन सक्छ। के भन्नुहुन्छ?
अब हाम्रो कार्यकर्ता, नागरिक, बुद्धिजीवीको सवालमा त्यो अपेक्षा हो भने त्यो मेरो निम्ति च्यालेन्ज नै हो। तर यदि त्यो अतिरञ्जित हो भने त्यो सही कुरा होइन। हामी राष्ट्रका सचेत नागरिक हौँ। र, राज्यप्रतिको दायित्व पूरा गर्नुपर्छ भन्नेमा सचेत छौँ।

व्यक्तिगतरूपमा पनि तपाईँ ठकुरी क्लासको मान्छे, कम्युनिष्ट आन्दोलनमा होमिनुभएको छ। तपाईँलाई लाग्दैन कि तपाईँजस्तो साहस गर्न सक्ने ठकुरी निकै कम छन् ? आफैँलाई कसरी मूल्यांकन गर्नुहुन्छ?
मार्क्स पनि सम्पन्न र शिक्षित परिवारकै मान्छे हुनुहुन्थ्यो। एंगल्स त झन् कम्युनिष्ट विरोधी परिवारकै मान्छे। त्यसैले सभ्यताको अन्वेषण र आत्मशक्तीकरणमा कुनै जाति विशेष वा पुरानो विश्वासले फरक पार्छ भन्ने कुरा मलाईचाहिँ लाग्दैन। त्यसकारण मलाई त्यो कुरा ठूलो लाग्दैन। तर, नेपालको पुरातन सोचबाट हेर्ने हो भने ठकुरी परिवारबाट म आएँ।

तपाईँहरु त रुलिङ क्लास नै हो नि? हाहा...
हो। र, इतिहासमा हेर्नुभयो भने सबैभन्दा पहिला संघर्षमा होमिने पनि त हामी नै हौँ नि। हाहा...

तपाईँ यस्तो रमाइलो कुरा गर्नुहुन्छ, पढे/लेखेको हुनुहुन्छ, लुगा पनि राम्रो मिलाएर लगाउनु हुन्छ। तर, तपाईँको राजनीतिक सोचचाहिँ किन यति साह्रो ...क्रुड' छ?
हाहा... यो एउटा अन्तरविरोध हो। यो क्रान्ति भन्ने जातै एउटा अनौठो कुरा हो। सुन्दर परिकल्पनाको केही समय क्रुड पनि हुनुपर्छ। तपाईँको शब्दलाई एकैछिन सापटी लिएको मात्र है। तपाईँले भनेजस्तो क्रुड पनि हैन। विश्वको सुन्दरता वैज्ञानिक समाजवादमै छ। त्यसमा मलाई पूर्ण विश्वास छ। र, त्यही मात्र सोचर हिँडेकाले पनि होला कि शायद?

वैज्ञानिक समाजवादको पतन भयो पूर्वी यूरोपमा, रुसमा। चीनको वैज्ञानिक समाजवाद पुँजीवादी अर्थतन्त्रको हिस्सा बन्यो। कम्युनिष्ट विचारको धेरै नया" हाँगाबिँगा फैलिएको छ। तपाईँचाहिँ किन यो पुरानो थोत्रो हाँगामै?
प्रजातन्त्रवादी जस्तो त अझै कम्युनिष्टहरु भइसकेका छैनन्। उनीहरु त एकले अर्कोलाई बन्दूकले नै तह लगाउँछन् र आफूलाई प्रजातन्त्रवादी भन्छन्। उनीहरुबीचको संघर्ष अगाडि त कम्युनिष्ट कान्छो नै हो।

दाउपेचको मामलामा त प्रजातन्त्रवादीहरु मूर्खै छन् नि। त्यसमा त तपाईँहरु माहिर हुनुहुन्छ।
हाहा... जुनसुकै किसिमको कम्युनिज्म अपनाए पनि म कम्युनिष्ट हुने कुराको सम्मान नै गर्छु। समाजवादमा जाने हो भने वस्तुगतरूपमा सोच्नुपर्छ।

ग्लोबल इकोनमीको जमाना छ अहिले। धेरै कम्युनिष्ट देशहरुले मल्टिनेसनल कम्पनी भित्र्याएका छन्। अब तपाईँहरु नेपालमा ठूला योजनाको विरोध गर्नुहुन्छ। विदेशीले केही कुरा पनि प्रमोट गर्नुहुन्न भन्नुहुन्छ। यसैगरी चल्छ?
यसमा हामीलाई के लाग्छ भने विश्व त मार्क्सवादले परिकल्पना गरेकै क्षेत्रतर्फ प्रवेश गर्दैछ– अन्तर्राष्ट्रिय। मानव जातिको क्यारेक्टर त अन्तर्राष्ट्रिय नै हुन्छ। जहाँसम्म नेपालमा पुँजीको कुरा आयो, त्यो आउनै हुँदैन, त्यो गलत हो भन्ने पक्षमा म छैन। मात्रै कुरा के हो भने यहाँ उत्पादन भएका कुरा र नाफा कसका लागि प्रयोग हुनुपर्छ त भन्ने कुरामा मात्र हाम्रो विरोध हो। पुँजी आउने तर उपभोग र वितरण बाहिर हुने हो भने नेपालीलाई के फाइदा भयो त भन्ने हाम्रो प्रश्न हो। नेपालका अहिलेकै पुँजीपतिहरूको पुँजी ६० प्रतिशत बाहिर छ भन्ने कुरामा अहिले पनि त विवाद भइरहेको छ। हाम्रो राज्यसम्बन्धी नीति छोडर हिँडेकाले प्रचण्ड बाबुरामजीहरुको सपोर्ट पुरानो राज्यलाई नै जान्छ। पुरानो राज्यको नीति नै पुँजी पलायन गर्नेखालको छ। हामी त यसलाई बचत गरेर यहीँ राख्न सक्नुपर्छ भन्छौँ।

देश गणतन्त्र भएपछि सिस्टममा बाँध्नमात्र समस्या भएको हो नि, नत्र त देशमा परिवर्तन त भएको हो नि हैन? तर पद्धति निर्माण गर्न तपाईँहरु चुक्नुभयो। त्यसको दोषी त तपाईँ पनि हो नि, हैन?
यो सही कुरा हो। म यसबाट भाग्न खोजेको हैन। हामी त्यसको दोष बोक्न तयार छौँ। तर हामीले मात्र बोक्ने त हैन नि। सबैले बोक्नुपर्छ, हाम्रो भागमा जति प्रतिशत पर्छ, हामी त्यति दोष बोक्न तयार छौँ। हामी त पार्टीभित्र बाहिर जताततै लड्यौँ। नेपाली जनतालाई हामीले सूचना पनि दियौँ। हामीले धेरै निर्णयको विरोध यो कारणले गरेका थियौँ कि त्यसले पार्टीको सत्ता त टिकाउन मद्दत गर्थ्यो होला तर देश र जनतालाई फाइदा गर्दैन थियो। परिवर्तन ठूलो कुरा हो। गणतन्त्र आएको त कालजयी परिवर्तन नै हो। तर यसलाई नेताको जीवनमा आउने हेरफेरमा मात्र सीमित रहन दिनुभएन। यसलाई जनताले भोग गर्ने तहसम्म पुर्‍याउनुपर्छ। त्यो कुरा गर्न त जनताको एजेण्डामा बहस गर्नुपर्थ्यो। त्यो भएन, बरु भाग्ने काम भयो। त्यहाँनिर राजनीति संकीर्णता, मनोत्रास नेताहरुमा पैदा भयो। जग बलियो भएन भने त माथिको संरचना जतिखेर पनि भत्कन सक्छ।

तपाईँले हाम्रो भागमा जति प्रतिशत दोष पर्छ, भोग्न तयार छौँ भन्नुभयो। तपाईँहरु छुट्टिँदा पत्रपत्रिकामा तपाईँहरु तीस प्रतिशत, बा"की एनेकपा माओवादी भन्ने पढ्न पाइएको थियो। त्यति नै प्रतिशत हो त?
हाहा... त्यो पनि रमाइलो कुरा छ। त्यो तपाईँहरुकै साथीभाइले बनाइदिनुभयो। कसले बनाइदिएको भन्ने हामीलाई थाहा छैन। त्यो सत्य थिएन। त्यो केवल मनोवैज्ञानीक कुरा थियो।

वास्तविक्ता के थियो त?
माओवादी भनेको केवल एक, दुई, तीन, चारको अंक गणितमात्र होइन। माओवादी भनेको अवधारणा हो, चिन्तन धारा हो, जीवन पद्धति हो।

तपाईँहरुले चुनाव बहिष्कार गर्ने कुरा गर्नुभएको छ। शान्तिपूर्ण राजनीतिमा पनि हतियारको सर्वोपरितालाई इन्कार गर्नुभएको छैन। कुरा के हो?
कुरा सही हो यो। किन सही हो भने शान्ति प्रक्रियामा माओवादीलाई घात भएको अनुभूति हामीलाई छ। माओवादी भनेको कुनै एउटा व्यक्ति विशेष होइन, एजेण्डा हो भन्ने बुझ्नु जरुरी छ। त्यसैले हाम्रो एजेण्डामा वस्तुगतरूपमा सहमतिबिना निकासको परिकल्पना गर्नु तर्कसंगत छैन। हामी चुनावको विरोधी पनि होइनौँ। चुनाव त हामीले पनि लडेर जितेरै आएका हौँ। तर चुनावको औचित्य सावित गर्नुपर्‍यो। एकचोटी नेपालमा संविधान सभाको चुनाव आवश्यक थियो। त्यो भयो। तर त्यो किन निस्तेज भयो भन्ने कुराको गहन समीक्षा नै नगरी त्यस्तै प्रकृतिको अर्को चुनाव थोपर्ने कुरा त मान्य हुँदैन। त्यसले राष्ट्रलाई घाटा हुन्छ।

एउटा कुरा त हो नि। बीस तीस हजार मान्छेको ज्यान गयो, अझै कयौँ लापत्ता छन्। त्यत्रो दुःखद् स्थिति पार गरेर यहाँसम्म आउँदा पनि हतियारकै सर्वाेपरितालाई मान्नुहुन्छ। तपाईँहरुलाई जनताप्रति विश्वास छैन?
हैन, जनतामा विश्वास हुनेले मात्र यो कुरा गर्न सक्छ।

त्यो हतियारले अब कसलाई ताक्ने त? राजा छैनन्। कि प्रचण्ड, सुशील, झलनाथलाई ताक्नुपर्‍यो, कि आफैँविरुद्ध बन्दूक ताक्नुपर्‍यो...
हैन, प्रचण्डविरुद्ध नताक्ने। सुशील, झलनाथविरुद्ध पनि किन ताक्नु? तर जनतालाई हेप्नेविरुद्ध त ताक्नुपर्‍यो नि।

कसले हेप्यो जनतालाई?
जसले बीसौँ हजार मान्छेको रगतलाई संस्थागत गर्ने कुरामा अवमूल्यन गरे। जिम्मेवारी बोध गरेनन्। गणतन्त्रसम्म आयौँ, तर के अझै रगत नपुगेकै हो त?

संसारमा ठूलाठूला स्वतन्त्रता संग्राम भएका छन्, आन्दोलन र क्रान्ति भएका छन्। कसैले पनि त्यसको ब्याज मागेका छैनन्। तपाईँहरु गलत परम्पराको थालनी गर्दै हुनुहुन्छ, हैन?
हैन, हैन। हामीले हाम्रो कुरा गरेको हैन। हामीले जनताको हक अधिकार खोजेका हौँ। हामी त हिजो पनि दुःखै पाएको मान्छे, भोलि पनि दुःख पाउन तयारै छौँ। हाम्रो भनाई त के भन्दा बीस हजार मान्छे मरेको पीडाबोध त सुशीलजी, झलनाथजी, प्रचण्डजीलाई धेरै हुनुपर्छ। आमजनतालाई होइन। पीडाबोध हुनु भनेको मञ्चमा उभिएर दुई थोपा आँसु झार्नु होइन। त्यो त नेपाली जनतालाई शक्तिसम्पन्न गराउने कुरा हो। नेपालको राजनीतिमा जनताको स्थानलाई माथी उठाइदिने कुरामात्र हो। त्यो गर्न सक्नुभएन।

तपाईँ त्यत्रो वर्ष प्रचण्डजीसँगै हुनुहुन्थ्यो। किन गर्न सक्नुभएन त? गर्न नचाहेर कि नदिएर?
एक त उहाँ घेराबन्दीमा परेकै हो। अर्को उहाँले चुनौतीको सामना गर्न सक्नुभएन। त्यो मानेमा उहाँ झुकेकै हो।

तपाईँहरु पार्टीहरुलाई भोट माग्न जान नदिने सुरमै हुनुहुन्छ, हैन?
दिने। तर हामीसहित सबैजना जाने नि भोट माग्न। उहाँहरुलाई मात्र किन दुःख दिने? हामी पनि माग्छौँ नि। त्यो बनाउनुपर्‍यो नि त।

तपाईँहरुको चुनावमा भाग लिने सर्त के हुन त?
जनयुद्धकालमा गिरिजाप्रसाद कोइराला र प्रचण्डजीबीच भएको विस्तृत शान्ति सम्झौतालाई अक्षरशः पालना गर्नुपर्ने थियो। त्यो भत्कियो। अब त्यो भन्दा पनि उच्चस्तरीय सहमति आवश्यक छ।

उच्चस्तरीय सहमति भनेको के हो?
यो केही हैन। प्रमुख कुरा के भने नमिलेको डेमोक्र्याट र कम्युनिष्ट नै हो। यी दुई मिल्नुपर्‍यो भन्ने नै हो। कमसेकम माओवादीले राखेको एजेण्डामा डेमोक्र्याटहरु जे गर्न तयार भएका थिए, त्यो गर्नुपर्छ।

त्यो नमानेर तपाईँहरुलाई पन्छाएरै अगाडि गए भने के हुन्छ?
उहाँहरु कहाँसम्म पुग्न सक्नुहुन्छ, हामी भन्न सक्दैनौँ।

बन्दूक बोक्नुहुन्छ?
एकैचोटि तर्कलाई त्यहाँ पुर्‍याउनुहुँदैन। हतियार कसैले रहरले उठाउँदैन। कुरा मिल्छ नै भनेर सोचुँ न अहिले।

प्रतिक्रिया