Sunday 8 Ashwin, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

आम्मै! तारमा काल

  • २६ पुष, २०७१
  • स्वरूप आचार्य/विजय गजमेर
  • Be the first to comment!
(0 votes)
आम्मै! तारमा काल
काठमाडौं– डेढ वर्षअघि ग्रामीण स्वरोजगार तालिमअन्तर्गत विद्युतकर्मी (इलेक्ट्रिसियन) प्रशिक्षण लिएपछि तनहुँ, माझकोटका २५ वर्षीय शिवबहादुर थापा गाउँमा सबैका 'हाई–हाई' बने। सामान्य इलेक्ट्रिसियन उनलाई हरेक दिन कोही न कोही खोजिरहेका हुन्थे।


nepali-patro-june
कसैको घरमा फ्युज जल्यो, शिवबहादुर। नयाँ घरमा बत्ती जोड्नुपर्योई, शिवबहादुर। बिजुलीसम्बन्धी सानोतिनो जे समस्या आयो, शिवबहादुर।

आफ्नो मात्र होइन, वल्लो गाउँ, पल्लो गाउँकाले पनि विद्युतसम्बन्धी केही काम पर्योि कि उनैलाई बोलाउँथे। सामान्य इलेक्ट्रिसियनको कामले उनको तीन जनाको परिवार जेनतेन गुजारा चल्न थालेको थियो।

आफूले जानेको सीपले गाउँलेको सेवा गर्दागर्दै शिवको भविष्यको गोरेटो कोरियो, खाडी मुलुक गएर आफ्नो सीप उपयोग गरी पैसा कमाउने।

उनको पासपोर्टमा साउदी अरबको भिसा लागिसकेको थियो।

तर, सोचेजस्तो नहुने रहेछ जीवन!

६ असार, २०७१।

अचानक उनको जिन्दगीमा यति ठूलो चट्याङ बर्सियो, अगाडिका सारा सपना छिनभरमै चकनाचुर भएर फुंग धुलोझैं उड्दै अनन्तमा बिलाए। सानो गल्तीले आफ्नै सीप आफ्नै जिन्दगीको अभिशाप बनेको थियो त्यस क्षण। अब उनी न इलेक्ट्रिसियन बनेर छरछिमेकलाई सघाउन सक्छन्, न विदेश गएर करिअर बनाउन।

सपना सबै उडाइदियो... आफ्नै लापरबाहीले!

त्यस दिन गाउँकै चिनेजानेका रामहरि गौतमले उनलाई काम अह्राए– विद्युत प्राधिकरणको पोल चढेर 'जम्पर' हालिदिने। प्राधिकरणका ज्यालादारी गौतम नभ्याएका बेला यसैगरी उनलाई काम लगाउँथे। त्यसदिन शिवबहादुरलाई कुनै काम गर्ने जाँगर भने थिएन। १०–१५ पटक फोनबाट आग्रह गरेपछि 'नाइँ' भन्न सकेनन्। एक जना साथी लिएर फिल्डमा पुगे।

साँझ ५:३० बजिसकेको थियो। करेन्ट बन्द गरे–नगरेको होसै नगरी उनी जम्पर जोड्न पोल चढे। चढ्दाचढ्दै उनको टाउकोले हाइभोल्टको करेन्ट बहिरहेको तार छोयो। त्यो झट्काले उनलाई सिधै २० फिट तल भुइँमा बजारिदियो। उनी एकैपटक पोखरास्थित मणिपाल शिक्षण अस्पतालको आइसियु बेडमा पाँच दिनपछि मात्र ब्युँतिए। मुख पट्टीले मोरिएको थियो। के भइरहेको छ, उनलाई केही पत्तो थिएन। कति दिनपछि ब्युँतिएँ भन्नेसम्म हेक्का थिएन। अगाडि अन्धकार मात्र देख्थे। पीडा भइरहेको थियो, तर आँसु बगाउन सक्ने स्थितिमै थिएनन्। चिच्याउन खोज्थे, बोली फुटिरहेको थिएन। खालि, एकोहोरो मेसिनको 'टुँ–टुँ' र कोही खस्याकखुसुक गर्दै बोलेको आवाज मात्र उनको कानमा ठोक्किइरहन्थ्यो।

दुई दिनपछि मात्र उनी साउदी अरबका लागि सरररर प्लेनमा उड्दै थिए। नियतिले अस्पतालको बेडमा पुर्यासइदियो।

...

झापा, शिवगन्जस्थित श्रीभगवती उच्च माविमा कक्षा ६ पढ्दै गरेका ११ वर्षीय सुशील कार्की भदौ १२ गते सधैंझैं बिहान ९ बजेतिर स्कुल पुगे।

कक्षा सुरु हुने बेला भएको थिएन। साथीहरूसँग लुकामारी खेल्न थाले। नजिकै स्कुलको नयाँ भवन बन्दै थियो। भवननजिकै विद्युतको हाइटेन्सन तार थियो।

लुक्ने ठाउँ खोज्दै उनी त्यही भवन छिरे। स्कुल प्रशासनले विद्यार्थीलाई त्यता नजान भनेको थियो। बाँसको बारले घेरेको पनि थियो। तर, सुशीलले त्यही ठाउँ उपयुक्त देखे, लुक्न। लुकामारीमा उनको दाहिने हातले हाइटेन्सन तार छुन पुग्यो। तत्कालै उनी इन्तु न चिन्तु भएर लडे। तुरुन्तै नजिकको ठूलो अस्पताल बिपी कोइराला मेमोरियल, धरान पुर्या।इयो।

एक महिना अस्पताल बसाइपछि पनि उनको अवस्थामा कुनै सुधार आएन। परिवारको सल्लाहअनुसार अस्पतालले उनलाई डिस्चार्ज गर्योप। असोज १८ गते काठमाडौंको टिचिङ अस्पताल ल्याइयो। काठमाडौं ल्याउँदा उनको दायाँ हात काटिएको थियो भने बायाँ हात राम्ररी चल्न सक्ने अवस्थामा थिएन। लगभग तीन महिना उपचारपछि अहिले उनको स्वास्थ्यमा केही सुधार आएको छ। बायाँ हातले केही समाउनसम्म हुन्छ।

सानो लापरबाहीले सुशीलको जिन्दगीकै रुपरेखा खलबल्याइदिने दुर्घटना निम्तियो।

...

शिव र सुशील प्रतिनिधि पात्र मात्र हुन्। विद्युत प्राधिकरणकै तथ्यांक हेर्दा हाइटेन्सनको झड्काबाट वर्षदिनमा सयौं मानिस घाइते हुन्छन्, तीमध्ये धेरैजसोले अकालमा ज्यान गुमाउँछन्। लापरबाही र सामान्य त्रुटि सच्याएर यस्ता घटना रोक्नेतर्फ भने कतैबाट पहल भइरहेको छैन। प्राधिकरण उपभोक्ता र आफ्नै कर्मचारीलाई दोष देखाएर पन्छन खोज्छ, उपभोक्ता प्राधिकरणलाई गाली गरेर कमजोरी लुकाउन खोज्छन्।

नेपाल विद्युत प्राधिकरण, काठमाडौं क्षेत्रीय कार्यालयअन्तर्गतका वितरण केन्द्रमा भएको दुर्घटनाको विवरणअनुसार २०६९ देखि २०७१ मंसिर मसान्तसम्म २४ सर्वसाधारणको हाइटेन्सन लाइनमै परेर मृत्यु भइसकेको छ भने १५ जना घाइते छन्। यो तथ्यांकलाई आधार मान्ने हो भने पनि अन्य क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रबाट भएका हताहती योभन्दा कम्ती नरहेको अनुमान गर्न सकिन्छ।

कसरी हुन्छन् त यस्ता दुर्घटना?
काठमाडौं क्षेत्रीय वितरण केन्द्रका प्रमुख रामेश्वरप्रसाद कलवारका अनुसार दुर्घटनाका दुई प्रमुख कारण छन्, एउटा उपकरण बिग्रिएर, अर्को लापरबाहीले।

'उपकरण बिग्रेर हुने दुर्घटनामा सर्वसाधारणभन्दा बढी हाम्रै कर्मचारी पर्छन्,' उनले भने, 'सर्वसाधारण हताहत हुनुको प्रमुख कारण लापरबाही नै हो।'

उनका अनुसार करेन्ट लाग्छ भनेर जान्दाजान्दै खेलाँची गर्दा अधिकांश दुर्घटना हुने गरेका छन्। 'केही समयअघि जोरपाटीमा एक बालिकाको घरमै हाइटेन्सन तार छोएर मृत्यु भयो,' उनले भने, 'त्यति नजिक घर बनाउन दिनै हुँदैनथ्यो। नगरपालिकाले नक्सा पास गरिदिन्छ, वडाले हेर्दैन। अनि केही भएपछि दोष प्राधिकरणलाई दिइन्छ।'

क्षेत्रीय प्रमुख कलवारका अनुसार सर्वसाधारण मात्र होइन, राजनीतिक दलका नेता र सभासद पनि आफैं जनतालाई मनलागी गर्न उस्काउँछन्। 'मेलम्चीमा साँखुको ११ केभिएको फिडरबाट लाइन दिइएको छ। यसमा लोडसेडिङ हुन्छ। स्थानीयलाई लोडसेडिङ नहुने इन्द्रवती फिडरको लाइन चाहियो,' उनले सुनाए, 'हामीले जनताको माग पूरा गर्न टेन्डर गरेर सबै प्रक्रिया अघि बढाएका छौं, तर उहाँहरूले दुई महिना पनि कुर्न चाहनुभएन। आफैं लाइन परिवर्तन गर्नुभयो। अब भन्नुस्, त्यहाँ कुनै दुर्घटना भए जिम्मा कसले लिने?'

उनका अनुसार त्यहाँका केही सभासद नै अहिले गाउँलेले परिवर्तन गरिसकेको लाइन नकाट्न दबाब दिइरहेका छन्। 'स्थानीयले आफैं जोडेको तारले विद्युतको भार थेग्न नसकी पग्लियो वा सर्ट भयो भने के गर्ने?' उनले प्रश्न गरे।

दुर्घटना भएपछि मानवीय पक्ष अगाडि सारेर सबैले बार्गेनिङ गरे पनि प्राविधिक पक्षतर्फ कसैको ध्यान नजाने जिकिर उनको छ। 'पुस ६ गते सिन्धुपाल्चोकमा बसमा करेन्ट लागेर जुन दुर्घटना भयो, त्यसमा प्राधिकरणको मात्र हात छ भन्नु गलत हो,' उनले भने, 'त्यो बाटोमा दिनहुँ सयौं गाडी गुड्छन्, त्यसैमा मात्र किन करेन्ट लाग्यो, हेर्नुपर्दैन?'

प्राधिकरणका हाकिमले जे–जस्ता तर्क गरे पनि फिल्डका तथ्य भने फरक देखिन्छ।

११ वर्षीय सुशीललाई करेन्ट लाग्नुभन्दा धेरैअघि स्कुल हाताबाट हाइटेन्सन लाइन सार्न निवेदन दिइएको दाबी स्कुलका प्रिन्सिपल रमेश दाहालको छ। 'हामीले २०६५ सालमै पोल सार्न निवेदन दिएका थियौं, तर विद्युत प्राधिकरणले वास्ता नै गरेन,' उनले नागरिकसँग फोनमा भने, 'करेन्ट लागेर सुशीलको हात गुमेको दुई महिनाजतिमा मात्र पोल हटाइयो।'

सुशीलको उपचारमा संलग्न टिचिङ अस्पताल, बर्न वार्डमा २७ वर्ष बिताइसकेकी नर्स सुपरभाइजर कल्पना सिटौलाका अनुसार हरेक वर्ष टिचिङमा मात्र १० देखि १२ जना यस्ता बिरामी आउँछन्। 'हामीकहाँ हरेक वर्ष करेन्टले जलेर आउनेको संख्या १० भन्दा माथि हुन्छ,' उनले भनिन्, 'मजदुर वा निम्न आय भएकाहरूको संख्या बेसी हुन्छ।'

धेरैजसो बिरामी आफ्नै लापरबाहीले करेन्ट लागेर अस्पताल आइपुग्ने गरेका छन्। 'विद्युतको काम गर्दा सावधानी नअपनाउँदा धेरै करेन्ट लागेर घाइते हुन्छन्,' उनले भनिन्, 'मजदुरलाई आफ्नो सुरक्षा कसरी हुन्छ भन्ने ज्ञान हुँदैन, उनीहरूलाई काममा लगाउनेले पनि वास्ता गरेको देखिँदैन।'

क्षेत्रीय प्रमुख कलवारका अनुसार घाइतेमध्ये धेरै कर्मचारी सुरक्षा उपाय बेवास्ता गर्दा दुर्घटनामा पर्ने गरेका छन्। 'दुर्घटना भएपछि के गर्नेभन्दा दुर्घटना न्यूनीकरणमा ध्यान दिनुपर्छ,' उनले भने, 'त्यसका लागि प्राधिकरण मात्र सचेत भएर पुग्दैन, सर्वसाधारणले पनि सामान्य नियम पालना गर्नुपर्छ। कानुनको अनभिज्ञता कसैलाई क्षम्य हुँदैन।'

...

शिवबहादुर अहिले पनि काठमाडौं, साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालको बेडमै छन्।

मणिपालमा २० दिनको लगातार उपचारले उनको स्थितिमा कुनै सुधार ल्याएन। मणिपालले साँखु रेफर गरिदियो। मणिपालमै ७/८ लाख खर्च भइसकेको थियो। गाउँलेले ५ लाखजति चन्दा उठाएर दिएका थिए। अरू पैसा कसरी जोहो भइरहेको छ, उनलाई पत्तो छैन। साँखु आएयताको सबै उपचार यही अस्पतालले बेहोर्दै आएको छ।

'विद्युतकर्ममै भविष्यको सपना देखेको थिएँ,' अस्पतालको बेडमा पल्टिरहेका शिवबहादुर भन्छन्, 'त्यो सबै करेन्टले नै डढाइदियो।'

मणिपालबाट साँखु ल्याउँदा शिवको अवस्था हेरिसक्नु थिएन। सुन्दा नै आङ जिरिंग बनाउने। करेन्टले अनुहार नराम्रोसँग जलेको, देव्रे आँखा पूरै झिकिएको, दायाँ आँखा टालिएको। नाक पूरै थिएन। घाँटीमा सास फेर्न र औषधी दिन पाइप जोडिएको।

'शिवको सानाठूला ६ वटा अप्रेसन भइसकेको छ,' शिवको उपचारमा संलग्न सुष्मा कोइराला मेमोरियल अस्पतालका निर्देशक एवं प्लास्टिक सर्जन डा. जसवन शाक्य भन्छन्, 'अहिले हामीले अर्को ठाउँबाट मासु झिकेर उनको मुखमा राखेका छौं, लगभग १० घन्टा लगाएर।'

डा. शाक्यका अनुसार शिवलाई पूर्ण रूपमा ठीक हुन अझै धेरै समय लाग्छ। 'उनको आँखाको पनि एक चरणको अप्रेसन तीलगंगाका डा. रोहित सैंजूले गरिसक्नुभयो, अब अर्को चरणमा कोर्नियाको अप्रेसन हुन्छ,' उनले भने, 'त्यो गरेपछि उनको आँखाले दिन–रात भने छुट्ट्याउन सक्ने हुन्छ।' चिकित्सकका अनुसार उनको देव्रे आँखा र नाक भने नक्कली नै हुनेछ, जुन बनाउन अझै केही समय लाग्छ।

'करेन्ट लागेयता मैले मेरो अनुहार देखेको छैन, सायद अब कहिल्यै देख्दिनँ,' उनी भारी मन बिसाउँछन्, 'नदेखेकै ठीक भयो, आफ्नै आमाबाबुले पनि हेर्न नसकेको मुख मैले कसरी हेर्नू?'

त्यो अनुहार उनकी पत्नी संगीता भने साथै रहेर एकटकले नियालिरहन्छिन्। शिवको पुरानो फोटो देखाउँदै संगीताले भनिन्, 'ल हेर्नुस्, पहिला कस्तो हुनुहुन्थ्यो, अहिले कस्तो हुनुभयो।'

कुनै दिन यस्तो पनि होला भन्ने शिवलाई कुनै हेक्का थिएन। 'यस्तो गति होला भन्ने थाहा पाएको भए त तालिम नै लिने थिइनँ,' उनी सुस्ताउँछन्, 'पहिले धेरैपटक पोल चढियो, त्यस दिन गाउँमा अन्तिमपटक त हो भनेर चढ्दा यो हबिगत भयो।'

नेपाल विद्युत प्राधिकरण, व्यास नगरपालिका, तनहुँका कार्यालय प्रमुख वीरेन्द्र सिंहका अुनसार माझकोटमा रहेको नो–लाइट स्टेसनमा प्राधिकरणका एक जना मात्र कर्मचारी छन्। 'एक जनाले नभ्याएका बेला ज्यालामा अरूलाई काम दिन्थ्यो,' सिंहले भने, 'त्यसो गर्न प्राधिकरणको नियमले त मिल्दैन, तर मान्छे नभएपछि के गर्ने?'

कार्यालयप्रमुख सिंहका अनुसार प्राधिकरणका कर्मचारी दुर्घटनामा परे कार्यालयले नै उपचार खर्च बेहोर्छ। तर शिव कर्मचारी नभएकाले उनको उपचार खर्च व्यवस्था प्राधिकरणले गरेन। 'मानवीय क्षति भएकै कारण हामीले क्षेत्रीय कार्यालयमा पत्राचार गरिसकेका छौं,' उनले भने, 'क्षेत्रले पनि केन्द्रमा उपचार खर्च मिलाइदिन अनुरोध गर्ने आश्वासन दिएको छ। तर, केन्द्रले के निर्णय गर्छ, भन्न सकिँदैन।'

प्राधिकरणको यो नियमप्रति थापाको गुनासो छ। 'सद्दे हुँदा काम लगाउने, नसक्ने भएपछि हाम्रो सरोकार होइन भन्ने?' उनी प्रश्न गर्छन्, 'म साउदी उड्न लागेको मान्छे, अहिले यहाँ यसरी लड्नुपरेको छ। घरपरिवार कसैले वास्ता गर्दैनन्। म कहाँ जाने?'

शिवका अनुसार काठमाडौं ल्याएपछि उनको सबै खर्च अस्पतालले नै बेहोर्दै आएको छ। 'परिवार र मैले क्यान्टिनमा खाएको पैसा मात्र ८० हजार पुग्यो रे,' उनले भने, 'कुनै दिन क्यान्टिनवालाले पैसा माग्यो भने हामी के खाने?'

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामप्रसाद रिमाल कर्मचारीलाई सचेतना तालिम नहुँदा यस्ता दुर्घटना निम्तने गरेको बताउँछन्। प्राधिकरणले कर्मचारी र सर्वसाधारणको सुरक्षाका लागि सचेतना र तालिम कार्यक्रमको कुनै पहल नगरेको गुनासो गर्दै उनले भने, 'हामीले सचेतना कार्यक्रमका लागि बजेट छुट्ट्याउन आग्रह गर्दा पनि सुनिएन, त्यो नगरी दुर्घटनामा कमी आउन सक्दैन।'

दुर्घटना भइसकेपछि क्षतिपूर्ति तथा उपचारको भार बेहोर्नुभन्दा सचेत गराएर दुर्घटना हुनै नदिन पहल गर्नुपर्ने रिमालले सुझाए

वर्षदिनमा ५ देखि ७ जना विद्युत प्राधिकरणकै कर्मचारीको यस्ता दुर्घटनामा ज्यान जाने गरेको उनको दाबी छ।

विद्युत प्राधिकरणको विनियमावलीअनुसार कर्मचारीको हकमा प्राधिकरणले नै सम्पूर्ण खर्च बेहोर्छ। सम्पूर्ण नियम पूरा गरेर ज्यालादारीमा लगाइएकामा पनि त्यो नियम लागू हुन्छ। अन्यका हकमा भने सञ्चालक समितिले नै निर्णय गर्नुपर्छ। 'विनियमावली भए पनि सञ्चालक समितिले निर्णय गरेर क्षतिपूर्ति दिने हो,' उनले भने।

दुर्घटना निम्त्याउने अर्को कारण यहाँको हाइटेन्सन लाइन प्रणाली पनि हो। सकेसम्म सिधा तार टांग्नुपर्ने भए पनि जग्गा अधिग्रहण लगायत समस्याले बांगोटिंगो टांग्नुपर्ने बाध्यता हुन्छ। 'यसले जोखिम बढाएको छ,' क्षेत्रीय प्रमुख कलवारले भने।

पहिल्यै सचेत भएर सुरक्षा उपाय अवलम्बन गरे हाइटेन्सन लाइनबाट हुने दुर्घटना न्यून गर्न सकिने उनको विश्वास छ।

प्रतिक्रिया