Sunday 4 Bhadra, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

चिनी बजारमा चरम कालोबजारी

(1 Vote)
चिनी बजारमा चरम कालोबजारी
काठमाडौं- किसानलाई उखु खरिदबापत करोडौं रुपैयाँ भुक्तानीमा आलटाल गरिरहेका उद्योगीले अभावको मौका छोपेर चिनीमा चरम कालोबजारी गरेका छन्।
nepali-patro-june
चिनी आपूर्ति गर्ने मुख्य जिम्मेवारी पाएको साल्ट ट्रेडिङ कर्पोरेसन (एसटिसी) सँग चिनी मौज्दात सकिएपछि उत्पादन घटेको बहाना बनाएर उद्योगीले एकाएक भाउ बढाएर उपभोक्तासँग चर्को मूल्य असुलिरहेका छन्।

बजारमा ६५ रुपैयाँ किलोमा किनबेच भइरहेको चिनीको भाउ अहिले करिब ८५ रुपैयाँ पुर्याौइएको छ। एक महिना अवधिमा उद्योगी र व्यापारी मिलेर किलोमा २० रुपैयाँ भाउ बढाउँदा पनि सरकारी निकाय मौन छ।

चिनीको मूल्य ६२ रुपैयाँ भन्दा धेरै बनाउन नपाइने सर्तमा उखुको मूल्य ४ सय ४८ रुपैयाँ (एक क्विन्टल उखु) निर्धारण गरेको भए पनि एक्कासि मूल्य बढाएर किसान र उपभोक्तामाथि शोषण गरेका हुन्। एक क्विन्टल उखुबाट करिब १० किलो चिनी उत्पादन हुन्छ।

उपभोक्तालाई सहज रुपमा चिनीको व्यवस्था गनुपर्ने सरकारी निकायको गैरजिम्मेवारीका कारण चिनीमा कालोबजारी भएको बिक्रेताको आरोप छ। सरकार स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसन (एसटिसी) मा स्टक चिनी सकिएको थाहा पाएपछि उद्योगीले एकाएक भाउ बढाएको खुद्रा व्यापार संघका अध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए।

'साल्ट ट्रेडिङको कमजोरीको फाइदा उठाउँदै चिनीको बजार भाउ बढ्यो,' उनले नागरिकसँग भने, 'सरकार स्वामित्वको निकायले चिनी रित्याएर बस्न मिल्छ? एसटिसीसँग चिनी सकिएपछि बजार भाउ बढ्छ भन्ने थाहा हुँदाहुँदै चिनी सिध्याइएकाले भाउ अचाक्ली बढेको उनले आरोप लगाए।

नेपालमा चिनी २ लाख ५० हजार मेटि्रक टन खपत हुने गरेको छ। स्वदेशी उद्योगले करिब १ लाख ६५ हजार मेटि्रक टन चिनी उत्पादन गर्ने गरेका छन्। अपुग हुने करिब ८५ हजार मेटि्रक टन चिनी विदेशबाट ल्याउनुपर्ने हुन्छ।

चिनी खरिद गर्ने विषयमा आपूर्ति र अर्थ मन्त्रालयले ढिलाइ गर्दा यसको मार उपभोक्तामा परेको हो। सरकारसँग मौज्दात नहुँदा चिनीमा कालोबजारी भएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए। 'व्यापारी अभावको मौका हेरेर बस्छन्,' उनले भने, 'साल्ट ट्रेडिङसँग चिनी सकिएपछि चिनीको भाउ बढाएर कालोबजारी गरिरहेका छन्।'

मौज्दात सकिएको चाल पाएपछि उत्पादन कम भएको बहानामा उद्योगीले एकाएक भाउ बढाएका थिए। स्रोतका अनुसार साल्ट ट्रेडिङले चिनी भारतबाट ल्याउन अनुमति दिन ढिलाइ गरेपछि यो समस्या आएको हो।

'गोदाममा चिनी घटेपछि भन्सार छुटमा चिनी ल्याउने अनुमति माग्यौं,' एसटिसीका एक कर्मचारीले भने, 'सरकारले समयमै अनुमति नदिँदा उपभोक्ता महँगोमा चिनी किन्न बाध्य छन्।'

उद्योगीले किसान र उपभोक्तालाई ठगेको उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमणि मैनालीले बताए। 'विभिन्न जिल्लामा किसानलाई अबर्ौं रुपैयाँ भुक्तानी गर्न बाँकी छ,' अध्यक्ष मैनालीले भने, 'अझै भाउ बढाएर उपभोक्ताको ढाड सेकेका छन्।' चिनीको मूल्य ६३ रुपैयाँभन्दा बढाउन नपाइने सर्तमा उखुको मूल्य निर्धारण भएको भए पनि अहिले भाउ बढाएको उनले बताए।

रौतहतमा करिब ९० करोड रुपैयाँ उद्योगले नदिएको किसानको गुनासो छ। स्टन र श्रीराम सुगर मिलले तीन वर्षदेखि उखुको मूल्य नदिएको उखुउत्पादक संघ, रौतहटका अध्यक्ष अशोक यादवले बताए।

'किसानले पैसा नपाएपछि पेसाबाट पलायन हुन थालेका छन्,' यादवले भने, 'यता किसानलाई ठग्ने उता चिनीको भाउ बढाउने गरेका छन्।' रौतहटका किसानले मूल्य नपाएपछि उद्योग, कृषि मन्त्रालयमा हारगुहार गर्दा पनि सुनुवाइ नभएको उनले बताए। 'उद्योगीले किसान र उपभोक्ता ठगे,' उनले भने, 'सरकार केही कारबाही गर्न सक्दैन।'

नेपालमा चिनीका १३ उद्योग रहेका छन्। रौतहट मात्र नभए बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सुनसरी, नवलपरासी, कपिलबस्तु, कञ्चनपुरका किसानले पनि मूल्य पाएका छैनन्। मौज्दात सकिएको चाल पाएपछि उत्पादन कम भएको बहानामा उद्योगीले एकाएक भाउ बढाएका थिए।

उद्योगीले किसानलाई समयमा भाउ नदिएको कृषि विभागले जनाएको छ। सरकारले परल मूल्य तोके पनि किसानले उचित मूल्य नपाएको विभागका महानिर्देशक युवकध्वज जिसीले बताए। 'उद्योगीले किसानलाई उचित मूल्य नदिएको गुनासो आएको छ,' उनले भने, 'परल मूल्य तोके पनि सरकार स्वामित्वमा चिनी मिल नहुँदा किसानको उखु किन्दिने क्षमता छैन।' बजारमा चिनीको मूल्य नियन्त्रण र किसानलाई मूल्य दिनका लागि सरकार आफैंले उद्योग चलाउनुपर्ने उनको तर्क छ। 'किसानलाई पैसा दिन निर्देशन दिए पनि कार्यान्वयन भएको छैन,' उनले भने।

यता, चिनीको भाउ बढेर बजारमा कालोबजारी भएपछि मात्र मन्त्रिपरिषदले एसटिसीलाई एक प्रतिशत भन्सार छुटमा भारतबाट चिनी ल्याउने अनुमति दिएको छ। अहिले एसटिसीले भारतबाट ३० हजार मेटि्रक टन चिनी ल्याउने प्रक्रिया सुरु गरेको छ। 'चिनी ल्याउन टेन्डर गरिसकेका छौं,' एसटिसीका विभागीय मेनेजर ब्रजेशकुमार झाले भने, 'अब छिट्टै चिनी ल्याउने प्रक्रियामा छौं।' स्टन सुगर र श्रीराम चिनी उद्योगका सञ्चालक दिवाकर गोल्छाले चिनीको भाउ र किसानले पाउने मूल्यको विषयमा कुरा गर्न इन्कार गरे।

प्रतिक्रिया