Tuesday 10 Ashwin, 2074 |
Menu

नागरिक शनिबार

istl

धुलोमुनिको फाइल

(8 votes)
धुलोमुनिको फाइल
अहिले

विसं २०८७ वैशाख।

बुदहीको जिन्दगीको बायोडाटामा एउटा वाक्य थपियो– पशुपति प्रताप पुस्तकालयको पियन। त्यही पियनको जागिर उसको लागि भयंकर ठूलो उपलब्धि हो। त्यसैले बिहानैदेखि अनुहारमा अस्थिर र बेचैन भाव थियो। यस्तो छटपटी बुदहीले पहिले कहिल्यै भोगेन पनि।


nepali-patro-june
निमको दतिवनले दाँत माझ्न आँगनछेउ टुक्रुक्क बस्यो। आफूछेउको सानो अम्खोरामा राखेको पानीले मुख कुल्ला गर्‍यो। पल्लोपट्टि तीनवटा खटियामा भैया, अम्मा र अब्बा लम्पसार थिए।

तराईको असह्य गर्मी छल्न आँगनमा खटिया बिछ्याएर, झुल टाँगेर सुत्छन् उनीहरू। यो रित यसैगरी चल्दै आएको छ, सदियौंदेखि।

दाँत माझ्दा एफएम रेडियो बजायो। एउटी केटी राशिफल भन्दै थिई। पालो कुम्भ राशिको थियो। संयोगले ऊ पनि कुम्भ।

'कुम्भ राशि हुनेहरूले आज नयाँ रहस्य थाहा पाउने योग छ।'

उसलाई राशिमा विश्वास छैन। आज भाग्योदयको योग छ भनेको दिन उसको भाग्य कहिल्यै चम्किएको छैन।

'माकी आँख!' निधारमा धर्सा कोर्दै ऊ फुस्फुसायो, 'मनइकए उल्लू बनावथी!'

'बहुत बड्बड् करथी लवन्डी,' एफएमकी केटीले निद्रा बिथोलेको झोँकमा उसको भैया खाटबाट जुरुक्क उठेर च्याँटि्ठयो, 'बन्द कैदे रेडियो।'

रेडियो बन्द गर्‍यो। भैया घुर्‍यो निमेषमै।

बिहानदेखि बेचैन मन कतै लगेर बिसाउन पाए ऊ रम्थ्यो पनि होला।

अम्माले पकाएको भात साढे आठ बजे नै खाइसकेर तयार भयो। छोरोले जागिर खान जान लागेको पहिलो दिन, अब्बा र अम्मा खुसीले डम्म फुलेका थिए।

भोलिपल्ट अफिस जाँदा लगाउने सर्ट र पाइन्टलाई 'धारिलो' बनाउन हिजै राति पट्याएर डसनामुनि राखेको थियो उसले। नीलो पाइन्ट र सेतो सर्टमा जताततै 'धार' बस्यो।

खुसी हुँदै कपडा लगायो अनि अब्बाको थोत्रो एवन साइकलमा हुइँकियो बतासझैं। ऊ पर पुगुन्जेल अब्बा र अम्माले आँखा चिम्म पनि गरेनन्। धुलोको मुस्लोले उसलाई ओझेल पारुन्जेल हेरिरहे। एसएलसी पास गरेपछि उसले जागिर पाउँदा परिवारका सबैलाई नागमणि पाएझैं भएको छ। गरिबलाई त्यही जागिर त हो नागमणि!

एउटै रफ्तारमा कुदाइरह्यो साइकल। घरिघरि एफएमकी केटीको आवाजको बतासले छोएर जान्थ्यो। केटी कानमा आएर फुस्फुसाएझैं लाग्थ्यो, 'कुम्भ राशि हुनेहरूले आज नयाँ रहस्य थाहा पाउने योग छ ...।'

केहीबेरमा अफिस पुग्यो। साइकल बाहिर थन्काएर भित्र पस्यो। स्टाफ रूमको ढोकामा गएर उभियो। रामभरोसले उसलाई हाजिरी कापी ल्याएर दियो। पुछारको पाना पल्टाउँदै पुस्तिका ऊतिर बढायो।

नाउँ : बुदही हरिजन

दर्जा : पियन

हाजिरी कपीमा आफू दर्ता भइसकेको देखेर उसलाई पाठोझैं बुरुक्क उफ्रन मन लाग्यो।

दिलखुस भएर छिटोछिटो हस्ताक्षर गर्‍यो।

'फाइलिङ गरेर राखिएका पत्रिका कीरा, साङ्लाले बिगारे कि स्टोरमा गएर एकपटक चेक गरिलिनू,' हाजिर कापी दिने रामभरोस उसलाई अह्राएर अलप भयो।

'भै हाल्छ हजुर!' भन्दै बुदही स्टोरमा पस्यो।

ठूलो स्टोर रूममा फाइलिङ गरी राखिएका पुराना पत्रिका, किताब, म्यागजिन, केेके हो केके थिए। पत्रिका भएको खण्डतिर ऊ लम्क्यो। धुलोको च्यादर ओढेर निदाएका फाइलहरू सर्सरी नियाल्यो। इतिहासका असली गवाह त्यसरी धुलाम्मे र अर्धमृत थिए। सबैमा लागेका धुलो आफ्नै अँगोछाले सफा गरिदिन मन लाग्छ उसलाई।

सरसफाई त गर्ने, तर कहाँबाट सुरु गर्ने? कोठाको सबैतिर वाल्ल परेर नियाल्यो। धुलोको यतिविधि साम्राज्य उसले कहिल्यै देखेको थिएन। माकुराको जालोले कोठालाई फन्को मारेका थिए, साङ्ला अनि मुसाहरू खुरुरुरु दगुरेर छुन्छुनीयाँ खेल्दै थिए।

ढोकाको दाहिने छेउमा एउटा जीर्ण दराज थियो। खिया लागेको। दराजमाथि एकजोडी बिरालाले चिम्सा तर चम्किला आँखाले बुदहीलाई हेरिरहे।

'भाग्!!!' बिरालोलाई धपाउन खोज्यो उसले।

'म्याउँ!' गर्दै दुवै बिराला ढोकानिर फुत्त हामफाले र बगैंचातिर अलप भए। बिराला भुइँमा हामफाल्दा फाइलिङ गरी राखिएका पत्रिकाका रास ‰वाम्म भुइँमा खसे। दराजमाथिबाट भुइँमा पत्रिका खस्दा कोठाभरि धुलोको साम्राज्य फैलियो। धुलोबाट अलिकति भए पनि जोगिन बुदहीले आफ्नो अँगोछाले टाउको र अनुहार छोप्यो।

भुइँमा खसेको पत्रिका उठाउन निहुरी पर्दा एउटा फाइल देख्यो। फाइलको बाहिरी गातामा '२०७१ वैशाख' लेखिएको थियो। त्यो मिति देख्नेबित्तिकै उसलाई इतिहासको रेल छेउमा आएर टक्क रोकिएझैं लाग्यो। किनकि २०७१ वैशाखमै ऊ जन्मिएको थियो। १६ वर्षअघि।

धुलोलाई आफ्नो हातले टकटकाएर खोल्यो फाइल।

२०७१ वैशाख १, २, ३, ४, ५, ६, ७, ८, ९, १० गतेका पत्रिका सर्सरी पल्टायो।

११ गतेको पत्रिका पल्टाउँदा ऊ रोकियो। पत्रिकाको मुखपृष्ठमा लेखिएको खबरले उसलाई तान्यो एकनासले।

त्यसपछि ऊ धुलोको चकटीमाथि ड्याम्मै पलेँटी कसेर बस्यो र पढ्न थाल्यो खबर।

एक्कैछिन अघिसम्म सहिसलामत उसका हात पत्रिका पढिरहँदा काँप्न थाले। गुडिरहेको गाडीभित्र किताब पढ्दा अक्षरहरू आफै उफ्रिन थालेझैं लाग्यो उसलाई। पत्रिका समाएका आफ्नै हात आफ्ना हैनन् झैँ भए। खल्खली पसिना आए। लाग्यो, ऊ भर्खरै पसिनाको तलाउमा झ्वाम्म हाम फालेर किनारिएको छ!

झगरुदेवी हरिजन उसकै आमा! रामतलाहा उसकै गाउँको नाम! अनि पत्रिकामा समेटिएको घटनाको नायक ऊ आफैं! परिवारबारेको त्यत्रो ठूलो रहस्य उसलाई अहिलेसम्म थाहै नाइ। कसैले उसलाई केही सुनाएन। आफै नायक भएको डरलाग्दो सिनेमाजस्तै घटना उसले १६ वर्षपछि थाहा पाउँदैछ! शान्त पृथ्वी अचानक विस्फोट भएझै लाग्यो उसलाई। शरीरका रौं ठाडा भए, अलकत्रा पग्लिने गर्मीमा पनि उसको ज्यान चिसियो। पिसाब लागेझैं भयो। आत्तिएर पिसाब फेर्न गयो, तर तुरुक्कमात्रै भयो।

१६ वर्षअगाडिको घटनाबारे बाआमाले उसलाई किन बताएनन्?

ऊ असिनपसिन थियो। बिहान एफएममा बोलेकी केटी अचानक गुञ्जन थाली उसको मस्तिष्कमा 'कुम्भ राशि हुनेहरू ...'

बैशाखको घामले होइन आफ्नै जिन्दगीको सूर्यले भत्भती पोल्न थाल्छ उसलाई। त्यसैले घरतिर हानिन्छ।

'अब्बा! ए अब्बा!' बुदही चिच्याउँछ। गोठमा उसका बाले गोरुलाई स्याहार गरिरहेका थिए।

जागिर खान गएको छोरो किन केहीबेरमै घर आयो?

अब्बाले देख्छन् छोराको हातमा पुरानो देखिने पत्रिका छ। पसिनाले निथु्रक्कै भिजेको छ ऊ। आँखा टिलपिल छन्।

'का भए रे बेटवा? एत्ना हाली काहे आइगए अड्डासे?' अब्बाले सोध्छन्।

'यी का होए? हम्मए कब्बए नाही बताएरह्यो?' धमिलो भइसकेको पत्रिकाको मुखपृष्ठ बुदहीले देखाउँदै अब्बालाई प्रश्न गर्छ।

पत्रिका देख्नेबित्तिकै बुदहीका अब्बा झस्किए। १६ वर्षअगाडिको भयानक सम्झनाले आत्तिँदै उनी थचक्कै बसे, टाउको समाउँदै!

उहिले

२०७१ वैशाख।

म त्यसदिन पुजारी बाबुको घर बनाउन गएको थिएँ। फर्कंदा खुब थाकेको थिएँ। घरमा हल्लीखल्ली मच्चिएको रहेछ। सुत्केरी व्यथाले बूढी आत्तिइरहेकी थिई। ऊ भएको कोठाभित्र गएँ, केही महिलाले घेरिरहेका थिए। आँसुको टाटा बूढीका गालाभरि बसेका थिए। मलाई देखेर बरर्र आँसु झारी उसले। लाग्यो, ती आँसु म आएपछि पोखिन आँखाको डिलमा कुरेर बसेका हुन्।

'अस्पताल...?' बूढीलाई सोधेँ।

उत्तर उसले फर्काइन। ओठ टम्म बाँधेर हिक्क गरी। आँखा चिम्लिई। आँसु बरर्र झरे।

रेडक्रसको कार्यालय गएर एम्बुलेन्स बोलाउन घमालुलाई पठाएँ। अनि कोठाभित्र पसेँ पैसा झिक्न। बूढीको ओखती गर्न चाहिएला भनेर केही पैसा जोगाएको थिएँ। काम लाग्यो। सर्टको च्यातिएको खल्तीमा पैसा राख्न मिल्दैनथ्यो। त्यसैले त्यसलाई लुंगीको फेरोमा कसेर बाँधे।

एकैछिनमा एम्बुलेन्स आयो, 'टुँ˜˜˜' गर्दै। त्यसको आवाज मलाई कत्ति पनि मन पर्दैन। एम्बुलेन्सको आवाज त मान्छेहरू मलामी जाँदा बजाउने शंखध्वनिझैं लाग्छ। त्यो सुन्नेबित्तिकै डर लागेर शरीर कक्रिन्छ। आज पनि कक्रिएँ।

घरअगाडि एम्बुलेन्स रोकिँदा मोहल्लाका सबै मान्छे ओइरिएका थिए। सबैले 'मेरी बूढी सकुसल सुत्केरी होस्'को याचना गर्दै उपरवालासँग प्रार्थना गरेझैं लाग्यो।

चार–पाँचजनाले बूढीलाई झ्याइँकुटी पार्दै एम्बुलेन्समा राखे। म पछिपछि लागेँ। मेरो पछिपछि मोछाडे काका आए। बूढीको टाउको काखमा राखेर एम्बुलेन्समा बसेँ म। काकाचाहिँ म अघिल्तिर बसे। एम्बुलेन्स बत्तिएर अस्पताल दगुर्‍यो।

सेता कपडा लगाएका नर्स आएर हातले उचाल्ने खटियामा राखेर बूढीलाई लगे। छुट्टिँदा उसले मलाई हेरिरहेकी थिई, अनि मैले उसलाई। उसले देख्ने गरी म रोइनँ। ऊ भित्र गएपछि रोएँ। पीडाले छटपटिएकी बूढीभन्दा धेरै रोएँ म। हरेक खानेकुरा 'बाँडेर खाऔं' भन्ने बूढीले पीडाचाहिँ बाँडिन!

उसलाई भित्र लगेको धेरैबेरसम्म डाक्टरहरू बाहिर आएनन्। म बाहिर रन्थनिएँको थिएँ, बूढीचाहिँ भित्र। नजिकैको मन्दिरमा गएर भगवानसामु हात जोरेर उभिएँ।

सँगसँगै हिँडेका काकाले भने, 'नरो रे! कुछ नाही होइ!'

रातको समय। मच्छड खुब लागेका थिए। एकछिन पनि उभिएर बस्न नसकिने। लामखुट्टेले हैरान पारेका थिए। पाइखानाको गन्धले अस्पतालको आकाश ढाकेको थियो। औंला पड्काएर झोक्राउँदै बसेको थिएँ।

नीलो कपडा लगाएकी मोटी दिदी आएर मलाई झक्झक्याउँदै भनिन्, 'बधाई हो! बेटा होइगए!'

खुसीले पिलपिल भएँ। भुइँमा बरर्र आँसु झरे। अघि दुःखी हुँदा आँखाको जुन बाटोबाट आएका थिए आँसु, अहिले खुसी हुँदा पनि सोही बाटो भएर आएका हुन् कि!

'उसलाई ठिक छ?' ती दिदीलाई सोधेँ।

'बिलकुल। तर...' बोल्दाबोल्दै रोकिइन् उनी। मेरो निधारमा पीरका बांगाटिंगा रेखा सलबलाए। रौं ठाडा भए। अनि छातीमाथि रेल कुदेझैं भयो।

'के भयो?' सोधेँ।

'तपाईंको छोरा रुँदै रोएको छैन,' उनले भनिन्।

मैले अर्कै सोचेको थिएँ। डर हरायो। अनि सास तानेर आँखा चिम्लिएँ।

त्यहीबेला दुई जना डाक्टर आए। मेरो कुम थुम्थमाउँदै बोले, 'बधाई छ। तपाईंको बच्चा रोइरहेको छैन तर सकुशल छ। हामीले त्यो उपचार यहाँ गर्न सक्दैनौं। अर्को अस्पताल लैजानू।'

तुरुन्तै त्यहाँबाट अर्को अस्पताल लग्यौं। कुन्नि केमा राखेर बच्चाको उपचार हुन थाल्यो।

परिवारका केही मानिसलगायत हामी बाहिरै बसिरह्यौं। डाक्टरहरू आउजाउ गरिरहन्थे। तर कसैले केही बताउँदैनथे। बिरामीका मान्छे भुइँमा असरल्ल पल्टिएका थिए। सिमेन्टी उक्किएको भित्तामा हेरेर कोही टोलाइरहेका थिए।

अँध्यारो पूरै हटेको थिएन, बिहान पनि भएको थिएन। त्यहीबेला एउटी नर्स आइन् र भनिन्, 'माफ गर्नुस्, बच्चालाई बचाउन सकिएन।'

त्यो नर्स त्यसपछि पनि केके गुनगुन गर्दै थिई। मैले उसको बोली बुझिनँ। भनन्न रिंगटा छुट्यो। आँखाअगाडि एक्कासि कालो पर्दा लाग्यो। पर्दा खुल्दा देखेँ– वरिपरि उभिएका मानिसको आँखा उक्सिएको रोटीझैं सुन्निएका थिए। सेतो कपडामा बेरिएको मृत बच्चा हेर्दै सबै आफन्त रोइरहेका थिए। आँखा मेरा पनि रसाएका थिए।

'बूढी खोइ?' पिन्चे स्वरमा सोधेँ।

'अस्पतालमए, उपचार होथए। उन्नहएँ यी सब बतिया केहु नाही बताए है!' भीडबीचबाट कसैको आवाज आयो। सोचेँ ठिकै गरे उसलाई अहिल्यै नभनेर।

'अब् अन्तिम संस्कार करेक परी,' कोही बोल्यो।

त्यसपछि भीड छितरबितर भयो। संस्कार पूरा गर्न मृत बच्चालाई तेल लगाइदिन छिमेकीलगायत आफन्तले तयारी गरे। मचाहिँ त्यही सेतो कपडाले बेरिएको चिसो शरीर नजिकै टोलाएर बसिरहेँ।

काका म नजिक आए। अनि शव बेरिएको लुगा रुँदै खोले। बेरिएको लुगा टाउकोपट्टिबाट खुट्टातिर झार्दै थिए। कम्मरमुनि पुर्‍याएपछि उनी रोकिए। घुँडामा मुख जोतेर रोइरहेको मलाई घच्घच्याएर बच्चातिर इसारा गरे। मैले उतै हेरेँ।

हे भगवान के देखेँ मैले! मुख सुके, निधारमा पसिना आए। ज्यान लुलो भयो!

काका पनि ठूल्ठुला आँखा बनाउँदै भीडतिर वरिपरि हेरे। हल्लीखल्ली मच्चियो।

मेरी बूढीले छोरा पाएकी थिई। डाक्टरहरूले ऊ मरेको घोषणा गरे। तर शवचाहिँ छोरीको थियो! के भयो? कसरी भयो? किन भयो? छिमेकीहरू हल्लाखोर गर्न थाले।

काकाले तुरुन्त अस्पतालमा फोन गरे। उताबाट के आवाज आयो थाहा पाइनँ। काका बेस्सरी झोँक्किए।

'तिमीहरूलाई काटेर मासु खान्छु!'

'...'

'बिरामीसँग बोल्ने यही हो तेरो तमिज ए लवण्डी! पख् हामी आउँदैछौं!'

'के भयो काका?' उत्रिएको स्वरमा सोधेँ।

हाम्रो छोरा साटेर अरू कसैको मरेकी छोरी दिएका रहेछन्! थाहा पाउँदा भनन्न रिंगटा छुट्यो। संसार भास्सिएर कतै पुग्दैछ जस्तो लाग्यो।

काकाले अस्पतालमा फेरि गरे। फोन उठाउनेले राम्रोसँग कुरा गरेनन्। पटकपटक फोन गरे पनि भद्र भएर कुरै गरेनन्। प्रत्येकपटक हामीलाई नै गाली गरिरहे।

एकपटक त भनेछन्, 'छोरी र छोरा पनि छुट्याउन नसक्ने? तिम्रो सन्तान हाम्ले अरूलाई किन दिन्छौं? हामी पागल हौं र?'

'चलि अस्पताल!' काका जुर्मुराउँदै उठे। मलाई अन्य केही मान्छेले समाउँदै उठाए।

एकैछिनमा हामी एक दर्जनजति भएर अस्पताल लाग्यौं।

घरमा रहेका महिलाहरूलाई भन्यौं, 'लासलाई केही नचलाऊ। हामी आउँछौं।'

बच्चा जन्मिएको अस्पतालमा पुगेर डाक्टरलाई सबै बेलिविस्तार लगायौं। उनी स्तब्ध भए। केहीबेरअघि जन्मिएको छोरोबारेका प्रमाण जुटाएर अर्को अस्पताल पुग्यौं।

डाक्टरसँग कुरा गर्न काका र म गयौं। सबै प्रमाण देखाएपछि डाक्टर बोले, 'गल्ती भएछ!'

'मान्छेसँग यस्तो खेलबाड गर्ने!' काकाले त्यस डाक्टरलाई घुच्याए। डाक्टर डङ्ग्रङ्ङ लड्यो। उठाएर एक चड्कन हाने। ऊ रुन थाल्यो। त्यतिन्जेल हाम्रा आफन्त र छिमेकीले अस्पताल भरिभराउ थियो।

'मेरो छोरा फिर्ता लेऊ!' अब डाक्टरसँग च्याँठि्ठने पालो मेरो।

'के भएको रहेछ म बुझ्छु बाबु ,' डाक्टरले पिन्चे स्वर लगायो।

अस्पतालमा तनाव भयो भनेर सायद कसैले प्रहरीलाई खबर गरेछ। दर्जनौं प्रहरी उतिखेरै अस्पतालभरि छरिए। तीनजना प्रहरीले ती डाक्टरलाई सुरक्षा दिँदै अर्को कोठाभित्र लगे।

'तपाईंको बच्चा अस्पतालको गल्ती र लापरबाहीले साटिएको रहेछ। अर्को जिल्लाकी एकजना महिलाको मृत छोरीसँग साटिएको रहेछ!' एउटा प्रहरी हामी भएठाउँ आएर भन्यो, 'छोरा फिर्ता पाउनुहुनेछ। तनाव नलिनूस्।'

केहीबेरपछि हरियो कपडामा बेरिएको बच्चा मलाई जिम्मा लगाए। मैले बच्चा बोकेँ। आँखा पनि राम्ररी नउघारिएको छोरो कतिखेर छातीमा टाँसियो, कतिखेर म भक्कानिएँ, थाहा पाइनँ।

अहिले

२०८७ वैशाख

'त्यो शिशु तँ थिइस् बेटा,' बुदहीका अब्बाले खुइऒ्ढय गरे।

बुदही केही नबोली उठेर नल्कातिर गयो। मुख धुन खोजेको थियो। नधोई फर्कियो। कोठाभित्र पस्यो। आफू सुत्ने खटियाको सिरानीमुनि त्यही पत्रिका राख्यो।

बाहिर सिसौका पात हलुका बतासले हल्लाइरहेका थिए। एउटा हाँगा र अर्को हाँगाबीचको दुरी त्यही बतासले छोट्याउने र बढाउने गरिरहेका थिए।

ठिक त्यही बेला, बुदहीले राशिफल भन्ने केटीलाई एकपटक फेरि सम्झ्यो!

Leave a comment

नीलो रङकी चरी

'मृत्यूको घोषणा' पश्चिमा दर्शन र साहित्यमा नौलो कुरा होइन। उन्नाइसौं शताब्दीको अन्त्यमा जर्मन दार्शनिक नित्सेले ईश्वर मृत्यूको घोषणा गरे। बीसौं शताब्दीको उत्तरार्धमा फ्रेन्च दार्शनिक रोलाँ बार्थले लेखकको मृत्यूको उद्घोष गरे...

'प्रेम कसैले लेखेर सकिने चिज होइन'

'प्रेम कसैले लेखेर सकिने चिज होइन'

अघिल्लो हप्ता मंसिर १२ गते काठमाडौंमा सार्वजनिक उपन्यास 'डार्लिङ हार्बर' निष्प्रभ सजीको पहिलो आख्यान कृति हो। अस्ट्रेलियाको सिड्नीमा रहँदै आएका उनका 'भूपरिवेष्टित खुट्टाहरू' (२०६१) र 'इजलासमा लाहुरे फूल' (२०६७) दुई...

मुसायरामा चम्केकाहरु

मुसायरामा चम्केकाहरु

'बिजुली तुफान कातिल रहजन, किस किस की तुम बात करोगे?एक है जान और लाखोँ दुश्मन, किस किस की तुम बात करोगे?

गजबका किट्स

गजबका किट्स

तिमीले पजल खेलेका छौं? घरमा नभए स्कुलमा खेलको हुनुपर्छ। पजल खेल्न खुब मज्जा हुन्छ है। आफुलाई मनपर्ने कार्टुन पात्र वा फिल्मको पजल खेल्न पाए त झन् मज्जा। अनि दिमागी कसरत...

पहिलोपटक भोट हाल्दै करिश्मा

पहिलोपटक भोट हाल्दै करिश्मा

करिश्मा मानन्धरले अहिलेसम्म भोट हालेकी छैनन्। मतदाता नामावलीमा नाम नभएर होइन। 'मैले अहिलेसम्म भोटको महत्त्व नै बुझिनँ। अहिले बल्ल महसुस गरेकी छु। यसपटक चाहिँ पक्कै भोट हाल्छु,' उनी भन्छिन्, 'राजनीतिक...

‘धनरजाइ' को भर

‘धनरजाइ' को भर

वीरगन्ज-पराललाई मधेसमा ‘पुअरा' भनिन्छ। जाडोयाममा कठ्यांग्रिदो रात काट्न यसलाई सिरकको रुपमा ओढ्ने गरिन्छ। पुअराबाट बुनिएको ‘चटाइ' लाई त्यतिबेला ‘धनरजाइ' भनिन्छ। हरेक वर्ष झन्झन् ‘निर्दयी' बन्दै गएको शीतलहरलाई ग्रामीण भेगका विपन्न...

राष्ट्र भएर बाँच्ने कि कबिला?

विश्वको इतिहासमा सबभन्दा पहिले धेरै जात–जातिका समूह मिलेर 'राष्ट्रको धारणा विकसित भयो, त्यो भूमि दक्षिण एसिया नै थियो। त्यसैले विश्वको सबभन्दा प्राचीन ग्रन्थ ऋग्वेदले भन्यो– हे राजा! हामी सबै मिलेर...

बिरामीमाथि खुलेआम 'लुट'

बिरामीमाथि खुलेआम 'लुट'

– बाथरुममा लडेर घाइते भएकी चञ्चलादेवी साहलाई जेठ पहिलो साता बल्खुस्थित बयोधा अस्पताल भर्ना गरियो। आकस्मिक कक्षमा राखिएकी उनलाई अस्पतालले पछि आइसियुमा सार्योस। आइसियुमा सार्नुअघि श्रीमान शत्रुघ्नलाई वार्डमा राख्ने कि...