Tuesday 17 Falgun, 2073 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

जसले प्रेमिकालाई डाक्टर पढ्न दिएनन्

(1 Vote)
जसले प्रेमिकालाई डाक्टर पढ्न दिएनन्
'आमा त्यो ठूलो घर कसको ?'

'व्यापारीको बाबु ।'

'अनि यी गाडी चढ्ने को हुन् नि ?'

'ती पनि व्यापारी ।'

'त्यसो भए अरू किन बन्नु त ! ठूलो घरमा बस्ने र राम्रो गाडी चढ्ने व्यापारी नै हुँदा रहेछन्,' कलिलो मस्तिष्कले 'व्यापार'मा भविष्य देखेका सुरहित घिमिरे बने पनि त्यस्तै।
nepali-patro-june
उनका बुवा हृदयराज शर्मा संस्कृत र अंग्रेजीका विद्वान । आमा पनि पढेलेखेकी । २०१० सालमै एसएलसी दिन वनारस पुग्ने आमालाई उनी त्यो जमानाको अब्बल बताउँदा गौरव गर्छन । उनले घरमा अनुकुल वातावरण पाए, करिअरको आधार त्यहीँ खडा भयो । त्यसको जस भाग्यलाई दिने उनी व्यापारी बन्नुमा आफ्नै 'कन्भिक्सन'ले काम गरेको ठान्छन् । 'घरबाट एक रुपैयाँ नलिई, जागिर नखाई यो ठाउँमा आइपुगें,' गैरीधारास्थित किया मोटर्स प्रालिको छैटौं तलामा उनी गफिए ।

सुरहितले दक्ष व्यवसायी बन्न 'इन्टरनेसनल डिग्री'को खाँचो देखेनन् । राजधानीको शंकरदेव क्याम्पसबाट बीकम गरे, पुग्यो । आयात–निर्यातको व्यापार आइकम पढ्दै सुरु गरे, विदेश घुम्ने अवसर मिलिहाल्यो । २२ वर्षबाटै व्यापारमा पाइला बढाएका उनी ३० वर्ष पुग्दा पूरै खारिइसकेका थिए ।

काममा राम्रै प्रगति देखेपछि विवाहको कुरो चल्यो ।

'मैतिदेवीकी केटी राम्री छिन्, २० वर्षकी । पढाइमा तेज, विवाह गर्छौ ?'

'पहिला हेरौं, मन नपरे कुरै सकियो, प¥यो भने एउटा सर्त छ ।'

'कस्तो सर्त ?'

उनले लमीलाई जवाफ दिए, 'एक अर्कालाई बुझ्न एक वर्षको समय चाहिन्छ । डेटिङमा हिँड्न पाउनुपर्छ, बुझ्दै जाँदा मन नपरे छोड्न पनि सकिन्छ ।' कुरो चलाउनेमार्फत् उनको सर्त हुबहु केटीकहाँ पुग्यो । उनका परिवारले भने, 'ठीकै छ नि त ।'

उनलाई केटी मनप¥यो । डिल्लीबजार बस्ने सुरहितलाई मैतिदेवीकी केटी नौलो र कतै नदेखेझैं लाग्यो । सम्झिए, 'व्यापारमा राम्रैसँग व्यस्त भइएछ । टोलकै केटी पनि चिनिनँ ।'

धेरै विवाह बिग्रिएको, अझ धेरै सम्बन्धमा फाटो आएको उनले आफ्नो समाजभित्रै देखेका थिए । 'त्यसैले बिहेअघि नै एक अर्कालाई राम्ररी चिन्न पाउनुपर्छ भन्ने लाग्यो,' आठ महिनाको संगतपछि उनले निष्कर्ष निकाले, 'बिहेको लागि योभन्दा परिपक्व हुनु पर्दैन ।'

विवाहको मिति तोकियो । खुसी उसै पनि थिए, हस्याङफस्याङ गर्दै हुनेवाला श्रीमती अर्को खुसीको खबर लिएर आइन् । 'इन्डियामा डाक्टर पढ्न मैले स्कलरसिप पाएँ,' रेखाको खुसीले सुरहितलाई छोएन । उनले ठाडै भने, 'तिमी कि डाक्टर बन्ने सपना छोड, कि मलाई ।'

'किन ?' रेखाको प्रश्नमा उनको स्पष्ट उत्तर थियो, 'तिमी ६ वर्ष उता पढेर आउँदा म ३६ वर्षको हुन्छु । अनि के बुढेसकालमा तिमीलाई कुरेर बसिरहनु ?'

रेखाले डाक्टर पढिनन्, विवाह गरिन् । बीएस्सी गरेपछि समाजशास्त्रमा मास्टर्स गरिन् । व्यापारी पतिको संगतले उनलाई पनि व्यापारमै दक्ष बनायो ।

विवाहमा खाट, दराज, टिभीजस्ता अनेक दाइजो तयार पार्न लागेको थाहा पाएपछि उनले भनिदिएछन्, 'केटीको लुगासहित सुटकेसबाहेक कृपया केही पनि नदिनु होला ।' ससुरालीले व्यापारी ज्वाइँको कुरा काटेनन् । 'ठूलो व्यापारिक समुदायसँग चिनजान बढिसकेको थियो मेरो । सोल्टी होटलमै पार्टी दिएँ,' उनी २४ वर्ष अघिको कुरा गर्दैछन् ।

विवाहको भोलिपल्ट साँझ उनले श्रीमतीसँग बियर मागे । बाबु–छोरा सँगै थिए, रेखाले एक बोत्तल बियर र दुइटा ग्लास लगिन् । हृदयराजले ठाउँको ठाउँ आज्ञा दिए, 'अर्को ग्लास पनि ल्याऊ, तिम्रो लागि ।' रेखालाई ससुराको हृदय फराकिलो लाग्यो । सुरहित त बाबुको 'प्रगतिशील' विचारधारासँग परिचित थिए नै ।

'हाम्रो परिवारमा प्रचुर फ्रिडम थियो, मैले पनि त्यसलाई कायम राखेको छु,' श्रीमती र छोरी अदितीले गल्फमा फड्को मार्नुलाई उनी त्यही स्वतन्त्रताको प्रमाण मान्छन् । 'नभए मेरी श्रीमतीले कसरी नियमित गल्फ खेल्न पाउँथिन्, कसरी लगातार च्याम्पियन बन्थिन् ?,' कुराकानीको प्रसंग घिमिरे परिवारको गल्फ प्रेम तर्फ मोडियो ।

तीनजनाको सानो परिवार छ उनको । आफू, श्रीमती र छोरी । एकभन्दा बढी सन्तानको चाहना राखेनन् । 'मरेपछि बैतर्नी तार्न छोरा चाहिन्छ' भन्ने मान्यतासँग कहिल्यै सहमत भएनन् । एउटा सन्तान हुर्काउन दिनुपर्ने समयले उनलाई अर्को नजन्माउन प्रेरित ग¥यो । जति ठूलो परिवार उति ठूलो तनाव हुने ठानेपछि 'सानो परिवार सुखी परिवार'को बाटो अपनाए ।

गोकर्ण गल्फ क्लबका क्याप्टेनलाई काका र दाइले खेल्न पल्काएका रहेछन् । उनी २५ वर्षअघि नै रोयल नेपाल गल्फ क्लबको सदस्य थिए । व्यावसायिक व्यस्तताका कारण पैसा तिरे पनि उनले लामो समयसम्म खेल्न भ्याएनन् । सात वर्षदेखि भने आफूमात्र होइन परिवारसहित उनी गल्फमै रत्तिएका छन् ।

एउटा कारसँगको फोटो उनको अफिसमा झुन्डिएको छ । यी सफल व्यवसायीका लागि कार ठूलो कुरा थिएन, तस्बिरको कार रहेछ– कोरियामा गल्फ खेलेर जितेको । त्यो पनि 'होल इन वान' गरेर । तीन वर्षअघि विश्वभरिकै किया मोटर वितरकको सम्मेलन कोरियामा थियो । सम्मेलनको अन्तिम दिन गल्फ खेल्ने कार्यक्रम बन्यो । १२० ले भाग लिएकोमा उनले आश्चर्यजनक रुपमा होल इन वान गरे ।

गल्फले उनलाई रमाइलो मात्र गराएको छैन, अन्तर्राष्ट्रिय जगतमै सफल व्यक्तिसँग परिचित पनि गराएको छ । भारतका प्रख्यात व्यवसायी रतन टाटासँगको भेटलाई गल्फले अविस्मरणीय बनाएको ठान्छन् । भेट्न निकै गाह्रो पर्ने व्यापारीसँग गल्फ कोर्समा चार घन्टा बिताउन पाउँदा उनलाई राम्रै खेलमा लागेको अनुभूति हुन्छ । 'त्यसरी बनेको सम्वन्ध दिगो र अविस्मरणीय हुँदो रहेछ,' विदेशका विभिन्न व्यवसायीसँगको सम्बन्धबारे उनी भन्छन् ।

गल्फ कोर्स उनलाई मन बहलाउने र खेल कौसल देखाउने थलोमात्र लाग्दैन । 'कम्पनी मर्जरदेखि मोलतोल छिन्ने काम र अफिसमा गर्न नसकेको महŒवपूर्ण निर्णय गल्फ कोर्समा गरिन्छ । त्यहाँ दिमाग शान्त हुन्छ, निर्णय क्षमता बढ्छ, लामो छलफलमा नमिलेको कुरा गल्फ कोर्समा मिल्छ' यस्तो अभ्यास नेपालमा पनि हुन थालेको उनी बताउँछन् ।

पौडीमा मख्ख छोरीलाई उनले व्यापारमा सघाउने खेल ठानेरै गल्फमा ल्याए । 'एउटै सन्तान, भोलि मेरो व्यापार ह्यान्डल गर्नुपर्ने मान्छे, गल्फमा लाग, पछि सजिलो हुन्छ भनेको उनले मानिन्,' हप्तामा तीन दिन गल्फ खेल्न जाने उनले छोरीलाई पनि खेलमा पारंगत बनाइसकेका छन् । छोरीले पनि आमाले महिलामा जस्तै जुनियरका धेरै पदक जितिसकेकी छिन् ।

गल्फप्रति थप आकर्षण पैदा गर्न घरमै ग्रिन बनाएका छन्, गोकर्ण गल्फ क्लबसँग मिल्ने गरी । उनी शरीर फुर्तिलो राख्न 'आउट डोर' गेम अपरिहार्य मान्छन् । नेताहरू खेल्दैनन् त्यसैले फुर्तिला छैनन् भन्छन् । 'नेताहरूले राम्रो काम गर्न नसकेको आफैंलाई अन्याय गरेकाले हो,' उनी खेलको महŒव दर्शाउँछन्, 'धेरै नेताको शरीर ठेगानमा छैन, आफैं अस्वस्थ छन् । अनि उनीहरूबाट कसरी स्वस्थ निर्णय हुन सक्छ ?' नेताका शरीर देखेरै तिनबाट केही हुँदैन भन्ने निष्कर्षमा उनी पुगिसके ।

खेलपछि उनको प्राथमिकतामा पर्छ घुमफिर । घुम्न जाँदा आमा, बुवा, श्रीमती र छोरीलाई सँगै लैजान्छन् । 'बुवालाई अमेरिका घुमाएँ । सिंगापुर, हङकङ, थाइल्यान्ड त कयौंपटक सबै गएका छौं,' घुम्न निस्कँदा परिवारलाई प्रशस्त समय दिन पाएको ठान्छन् । हरेक वर्ष १२ देखि १५ दिन सपरिवार भ्रमणको योजना बनाउँछन् उनी ।

व्यापारको व्यस्तताले सामाजिक काममा समय दिन नसकेको पनि स्वीकार्छन् । २००० सालमा बाबुको सक्रियताबाट रामेछापमा खुलेको मन्थली उच्च माविलाई उनले आर्थिक सहायता गरिरहेका छन् । 'अदिती घिमिरे स्पोर्ट इभेन्टस्' वर्षेनि आयोजना हुन्छ । २० वर्षअघि डाक्टर सन्दुक रुइतसँग मिलेर खोलेको तिलगंगा आँखा अस्पतालको इज्जतले उनलाई सन्तुष्टि दिलाउँछ ।

'सामाजिक कार्यमा ठूलो आत्मसन्तुष्टि मिल्छ, अरू केहीले नदिने । अब कार्यतालिका अलि घटाएर यस्ता काममा सक्रिय हुन्छु,' उनको अठोट छ ।

Leave a comment

कलम भन्दा तरवार बलियो?

कलम भन्दा तरवार बलियो?

अंग्रेजी साहित्यमा एउटा भनाई सधैँ प्राथमिक्ताका साथ प्रयोग हुन्छ– 'तरवारभन्दा कलम बलियो।' यो भनाईका प्रणेता उपन्यासकार तथा नाटक लेखक इडवार्ड बुल्वेर हुन्। उनले सन् १८३९ मा आफ्नो ऐतिहासिक नाटक 'कार्डिनल...

गाउँले जिब्रोमा

गाउँले जिब्रोमा

स्पष्टीकरण : मलाई अंग्रेजी भाषा र साहित्यका पारखी नेपालीभाषी मित्रहरूले बारबार सुझाउनुहुन्छ– ‘तपाईंको लेखनमा प्रयोग हुने अंग्रेजी शब्दहरू गलत उच्चारणका साथ प्रयोग हुन्छन्। त्यसो नगर्नोस्! अन्याय हुन्छ।'

उस्तै–उस्तै व्यथा दुरुस्तै

उस्तै–उस्तै व्यथा दुरुस्तै

मकवानपुरमा हुर्किएकी एक ब्राह्मण गाउँले युवतीले आफूजस्तै अर्की युवतीलाई मन पराउन थालिन्। स्कुलमा सँगै पढ्ने दुवैको बानीव्यवहार युवकको जस्तै देखिन थाल्यो। लवाइखवाइ मात्र होइन घरमा पनि उनीहरू 'छोरोमान्छे'कै स्वभाव देखाउँथे।

गोलबजारको सन्देश

गोलबजारको सन्देश

लहान- पूर्व–पश्चिम राजमार्गको निर्माण क्रममा भारतको पटनाबाट प्राविधिक इन्जिनियरको रूपमा अशोक सिंह नेपाल आएका थिए। लहान हुँदै गोलबजार नजिकको मुसहरनिया गाउँ छिरेका उनले ०२६ सालमा सेल्टर बनाएर बसे।

बीपीका भुइँमान्छे

बीपी कोइरालाको मृत्युको खबर आगोझैं सल्केको थियो सहरमा। चारै दिशाबाट मान्छेको समुद्र उनको निवास जयवागीश्वरीतिर सलहसरी अघि बढिरहेथ्यो।

वसन्तपुरको ‘खुला पुस्तकालय'

वसन्तपुरको ‘खुला पुस्तकालय'

इन्द्रचोकका ढाका खनाल हरेक दिन वसन्तपुर आउँछन्। छानीछानी पत्रिका उठाउँछन्। कुर्सीमा बसेर धीत मरुन्जेल पढ्छन् र गन्तव्यतिर लाग्छन्। यसका लागि उनलाई कसैको अनुमति चाहिँदैन। न त पत्रिकाको लागि पैसै खर्च...

भक्ति गीतदेखि अन्डरग्राउन्डसम्म

कला–संस्कृतिको धनी उपत्यकाको सांगीतिक इतिहास कोट्याउने हो भने लिच्छवीकालसम्म पुग्नुपर्ने हुन्छ। लिखित ऐतिहासिक सामग्री पाइने लिच्छवीकालमा लेखिएका गीतहरूबारे प्रामाणिक आधार त छैनन् तर अभिलेखमा कुँदिएका भगवान स्तुति र नाचगानका दृश्यले...

मानसिंको चैते दसैं

मानसिंको चैते दसैं

मानसिंले धोबीको कुकुरको उखान पनि सुनेकै थियो। दुइटी बिहे गर्नु भनेको दुइटा नाउमा दुईतिर खुट्टा राख्नुजस्तै खतरनाक हुन्छ भनी मानसिंलाई साथीभाइले भनेका पनि थिए।