×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Sunday 17 Baishak, 2074 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

इन्द्रेको बाउ

(0 votes)
बाटोको हिलो नाप्दै चालक चन्द्र। तस्विरः भीम चपागाईं बाटोको हिलो नाप्दै चालक चन्द्र। तस्विरः भीम चपागाईं
अप्ठ्यारो काम गर्ने मान्छे धेरै हुन्छन्, तर अप्ठ्यारा काम गर्दा हाँस्न र हँसाउन सक्ने थोरैमात्र हुन्छन् ।

इन्द्रेको बाउ दिनभर हाँसिरह्यो, हामीलाई पनि हँसाइरह्यो ।

nepali-patro-june
तर हामी कुनै हाँसोलाग्दो काममा थिएनौं । दुई महिनादेखिको झरीले गलाएको माटोमा बनेको कच्ची पहाडी बाटोमा घन्टाको आठ किलोमिटरका दरले घस्रिनु त्यति रमाइलो काम होइन । गाडी ठाउँ–ठाउँमा अड्किन्छ, फँस्छ, अनि चक्कामात्र फनफनी घुम्न थाल्छ । उकालोमा पछाडिबाट ठेल्दा पछाडि नै सर्ने डर सधैं हुन्छ । त्यसो नभए पनि चक्काले छ्याप्ने हिलोका लागि तयार त हुनै पर्छ । कहिलेकाहीँ गाडी कोल्टिएर एकातिरको ढोकै नखुल्ने अवस्था आइपुग्छ । पर्मेजुङको एउटा ओरालोमा त मुटु कक्रिएर लालगेडी जत्रो भयो, हिलो माटोलाई समाउन नसकेका चक्काको गति र दिशालाई नियन्त्रणमा लिन इन्द्रेको बाउसित निकै कममात्र समय उपलब्ध थियो । उसका हातको त्यो छोटो समयमा १२ जनाको जीवनको बाँकी भाग निहित थियो । चिप्लिँदै गरेको गाडीलाई बायाँतिर मोड्नमा निमेषभरको मात्र ढिलाइ भएको भए ऊ, उसका बारेमा लेख्न मन गर्ने यो लेखक, उसका फोटा खिच्ने फोटोग्राफरलगायत कोही पनि बाँकी रहने थिएनन् ।

हाम्रा लागि त एक दिनको यात्रामात्र हो । उसको त पेसा नै यस्तो छ, जहाँ अलिकति तलबितल प¥यो भने 'जीप एक सय ५० मिटर तल' भन्ने समाचारमा सजिलै नाम आउन सक्छ ।

तर पनि इन्द्रेको बाउ हाँस्छ, थोरै बोल्छ तर बोलेपिच्छे हसाउँछ । गाडी निकै नराम्ररी फँस्यो भने खल्तीको महँगो मोबाइल निकालेर फोटा खिच्न पनि भ्याउँछ ।

'इन्द्रेको बाउ' मे अ १ ज ४६३ का चालक चन्द्र मुखियालाई हामीले दिएको पगरी । 'इन्द्रेको बाउ चन्द्रे'ले पनि नसक्ने काम पार लाउने व्यक्तिको नाम संयोगले चन्द्र नै परेछ । एउटा उकालोमा निकैबेर अड्किएर गाडी उक्सिएपछि कसैका मुखबाट फ्याट्ट निस्कियो, 'ल है पार लायो इन्द्रेको बाउले !'

पहिलोपटक भेटेको मान्छेका नाममा सिधै नभए पनि एकार लगाइएको थियो, चन्द्रलाई 'चन्द्रे' भनिएको थियो । गोली जसरी नै बोली छुटिसकेको थियो । तर उनले त्यसभित्रको परिहास बुझिदिए । कसैले जोक बुझेन भने न बिजोक हुने हो ! अगाडि–पछाडि, दायाँ–बायाँ र तल–माथि हल्लिएर बेहाल भएका यात्रीसितै उनी पनि मजाले हाँसे । अनि त दिनभर उनी इन्द्रेको बाउ नै भए ।

उनले हामीलाई इलामको फिक्कलबाट मकरजुङ, पर्मेजुङ, नयाँबजार हुँदै सोयाङको सिरान, स्यालढुंगासम्म पु¥याएर फर्काउने जिम्मेवारी लिएका थिए । हामीले १० किलोमिटर बाटोबाट जोगमाई खोलादेखि नयाँबजारसम्मको करिब एक हजार मिटरको उचाइ चढ्नुपथ्र्यो । त्यो उकालो सरदरमा १० प्रतिशतको मात्र भए पनि एकैनासको थिएन । त्यसैले गाडी जति तेर्सो हिँड्न पाउँथ्यो, भरे आउने उकालो सम्झेर हामीलाई त्यति नै डर लाग्थ्यो । उकालो चढ्दा बाटो ढिलो र अप्ठ्यारो थियो, फर्किंदा त्यही बाटो अलि छिटो तर निकै डरलाग्दो भयो ।

चालक चन्द्र मुखियाको प्रोफेसनालिजमले हामीलाई साँच्चै प्रभावित पा¥यो । उनको अनुहारमा थकान, दिक्क, डर, झर्कोफर्को केही देखिएन । लगभग १० घन्टाको सहयात्रामा उनले 'सडक शब्दावली'बाट एउटा पनि शब्द साभार गरेको सुनिएन ।

कोही अप्ठ्यारा काम रहरले गर्छन् र एडभेन्चरको मजा लिन्छन् । कोही तिनै काम करले, 'कर्मै यस्तो' भन्दै गर्छन् । चन्द्र मुखिया सम्भवतः यी दुवै कोटीमा पर्दैनन् । उनी आफूखुसी यस्तो

'अफ रोडिङ'को मजा लिने पुगिसरी आएका व्यक्ति होइनन् । तर उनी यसलाई बाध्यता पनि मान्दैनन् । ड्राइभिङ उनलाई महिनाको टाकन टुकन १०­ १२ हजार जति रुपैयाँ दिने जागिर हो । उनले बीएको पढाइ नसकिँदै २० वर्षको उमेरदेखि समातेको 'गाडी लाइन' उनका लागि पेटपालोको मेलो हो । त्यही काम उनी दत्तचित्त भएर गर्छन्, त्यही मन पराउँछन् । उनलाई गाडीमा चढ्ने थरीथरीका मान्छेका कारण आफ्नो जीवनमा पनि रङ थपिएझैं लाग्छ रे ! लाग्छ, कुनै पनि 'प्रोडक्ट'मा मुस्कानको 'स्टिकर' टाँस्न सकियो भने त्यसले राम्रो मूल्य अभिवृद्धि हुन्छ भन्ने पनि उनलाई राम्रोसँग थाहा छ ।

चन्द्रलाई हामीले दिनभर 'इन्द्रेको बाउ' भने पनि उनका घरमा १० महिनाअघि जन्मिएको भुकुमुने सानु मुखियाको नाम भने इन्द्र होइन । चन्द्र र मुना मुखियाको मायाको निशानी फुच्चेको नाम पनि निशान नै हो । ऊ बाबुको बाटो हेर्ने भएको छैन । चन्द्रलाई नै कतिबेला घर पुगूँ र फुच्चेलाई खेलाऊँ जस्तो भइरहेको हुन्छ । पारिवारिक उत्तरदायित्वले यी २४ वर्षे युवकलाई अझ गम्भीर बनाएको छ । उनको गम्भीरताले धेरैलाई सुरक्षित बनाएको छ ।

मान्छेलाई गाडी चल्ने ठाउँमा हिँड्न मन लाग्दैन । गाडी चलेका बाटामा पनि मान्छे रमाइलो मानेर हिँड्ने भए पदयात्रा पर्यटनको थालनीका लागि विश्वलाई नेपाल चाहिने थिएन । इलाममा पनि अब मान्छे हिँडेर कहीँ पनि जान रुचाउँदैनन् । जिल्लाभरिमा करिब दुई हजार किलोमिटर बाटो छ, जसमा करिब सवासय किलोमिटर पक्की होला । बाँकी कतै अलिअलि प्राविधिक सेवासहितका कतै गोलियाका ठेकेदारले जबरजस्ती बनाएका बाटाहरू छन् । चन्द्र मुखियामात्र होइन, अरू धेरै इन्द्रेका बाउहरू यिनै बाटामा काठ, चिया, दूध, अदुवा, बाँस, गाई, बाछा र मान्छे बोकिरहेका हुन्छन् ।

गोडाले हिँड्ने गोरेटा, घोडा हिँड्ने घोडेटा हुन्छन् भने जीपमात्र हिँड्ने बाटालाई 'जिपेटा' भने के हुन्छ ? आखिर 'जीप' पनि त गाडीको ब्राण्डबाट अर्थ विस्तार भएर एसयुभीको नेपाली नाम भइसक्यो नि ! मरुभूमिमा गरिने डेजर्ट सफारीजस्तो हाम्रा पहाडहरूमा 'जिपेटा सफारी' को नयाँ पेसा थाले के हुन्छ ?

चन्द्र मुखियाले कुदाउने ४६३ को मात्र होइन, यस भेकका धेरै गाडीको कुनै थर–जात बाँकी छैन । गाडीको बडी, चेसिस र इन्जिन फेर्न पाइँदैन भन्ने कानुनका दृष्टिबाट हेर्दा यहाँका धेरै गाडी कानुनविपरीत छन् । उहिले सतखुइलेका ल्यान्डरोभर गाडीमा बडी र चेसिसमात्र ल्यान्डरोभरका छन्, तीमध्ये धेरैमा महिन्द्राका डाइरेक्ट इन्जेक्टिङ इन्जिन लगाइएका छन् । त्यसैले निर्माण र उपयोगिता दुवै हिसाबले यिनलाई खच्चर गाडी भने हुन्छ । यी नियमविपरीत छन्, तर मेची अञ्चलको पहाडी भेकको कृषि अर्थतन्त्र यी खच्चर गाडीहरूमा नै निर्भर छ । त्यस्तै उस्तै पर्दा जिल्लाका हाकिमसाबहरू समेत यिनै 'एसयुभी' नचढी धर पाउँदैनन् । हाम्रा इन्द्रेका बाउहरूले कुदाउने यी गाडीमा प्रतिबन्ध लगाउन सरकारबाट पनि इन्द्रेको बाउ नै आउनुपर्छ ।

राम्ररी कुदिरहेका यी खच्चर गाडीलाई अवैध भनिराख्नुभन्दा वैधता दिएर र 'जिपेटा सफारी' सुरु गरेर पर्यटनमा एकैपटक दुईवटा खुट्किला थप्ने हो कि ? बरु सजिलो त यो पो हुने देखिन्छ !

Leave a comment

सोसल मिडिया, अभिव्यक्ति अस्त्र

सोसल मिडिया, अभिव्यक्ति अस्त्र

काठमाडौं– एकीकृत माओवादी नेता बाबुराम भट्टराईलाई ‘नयाँ शक्ति'को प्रचार गर्न खुलामञ्चमा आमसभा गर्नुपरेन। उनले हरेक दिन सामाजिक सञ्जालमार्फत आफ्ना विचार प्रवाह गरे। प्रतिक्रिया सुने। आफ्नो र आफूलाई राम्रो लागेका लेख–रचना...

जीवनमा फूलमार्क्स नै पाएनन्

जीवनमा फूलमार्क्स नै पाएनन्

बलिउडका अहिलेका चर्चित अभिनेता नसिरुद्दीन शाहले आफ्नो विवाहोत्तर रोमान्स र आफूमाथि एक पञ्जाबी साथीले गरेको आत्मघाती हमलाका बारेमा लेख्दा जीवनको त्यो क्षीण अवस्थामा आफ्ना सहृदयी नेपाली कलाकार मित्रलाई पनि सम्झे...

एक युगपुरुषको सम्झना

कला गुरु एवंम मुर्धन्य कलाकार कालिदाश श्रेष्ठको ९३ वर्षको उमेरमा हालै त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा निमोनिया उपचार क्रममा देहान्त भयो। यो आकस्मिक घट्नाले सम्पूर्ण कलाक्षेत्रलाई नै स्तब्ध तुल्यायो। नेपालका प्रायः कलाकार...

प्राज्ञिक काममा राजनीति मिसिनुहुन्न

प्राज्ञिक काममा राजनीति मिसिनुहुन्न

नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको सन्दर्भ पारेर हरेक असार ९ गते गर्दै आएको ‘राष्ट्रिय कविता महोत्सव' यो वर्ष माघ २५ र २६ गते गर्ने भएको छ। विगतका वर्षहरूमा महोत्सवमा सहभागी...

सिंगापुरमा १२ लाख

सिंगापुरमा १२ लाख

हामी दिनभर पसलमा बस्छौं। एकनासको दिनचर्याले बोर हुन्छ। त्यसैले बेलाबेला घुम्न जान्छौं। रात बस्न कहिले नगरकोट, कहिले धुलिखेल पुग्छौं। वर्षको एकपटक दसैं मानेर नेपालभित्र घुम्छौं। तीन वर्षमा एकचोटि विदेश जान्छौं।

आइबी सरका अनेक चेहरा

आइबी सरका अनेक चेहरा

दार्जिलिङ बसपार्क छेउबाट चौरस्तातिर उकालो चढ्न बाटो काट्तै थियौं। म पछि थिएँ। मुलबाटोमा हुलका हुल मोटरगाडी कुदिरहेका थिए। कुनै मोटर आँखै नभएजस्ता, कुनै कता पुग्ने थाहै नपाई कुदेजस्ता र कुनै...

बल्झिएका सपनाहरू

बल्झिएका सपनाहरू

दिउँसो चार बजे आँखा खुल्दा मानिसहरू सलबलाइरहेका थिए। तर को हुन्, के बोलिरहेका छन्, पत्तो पाइनँ। आँखा आधासरो खुल्थ्यो अनि फेरि मान्छे र बोली ठम्याउन नपाउँदै कताकता हराउन पुग्थेँ म।...

म्यागेजिन मन्थन

विश्वमा आधुनिक म्यागेजिन पत्रकारिताले साढे दुई शताब्दी पूरा गरिसक्यो। नेपाली भाषामा छापाको सुरुवात म्यागेजिनबाटै भएको मानिन्छ। 'लुज सिट' गोरखापत्रको थालनीबाट सुरु भएको पत्रकारितामा म्यागेजिनको बलियो उपस्थिति २०४६ सालको राजनीतिक परिवर्तनपछि...