×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Sunday 12 Bhadra, 2073 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

एउटा नयराज पन्त नजन्मेको भए ...

(1 Vote)
एउटा नयराज पन्त नजन्मेको भए ...
'शब्द नाउँ भएको यस ज्योतिले संसारभरि प्रकाश नगर्ने हो भने पूरापूर तीनै लोकमा निस्पट्ट अन्धकार हुने थियो' भनी प्रसिद्ध अलंकारशास्त्री दण्डीले आफ्नो काव्यादर्शमा लेखेको परम्परामा एउटा नयराज पन्त नजन्मेको भए नेपालको विद्याको क्षेत्रमा कस्तो अवस्था हुन्थ्यो भन्ने देखाउन यो लेख लेखिएको छ।
nepali-patro-june

विसं १९७० श्रावण शुक्ल नवमी (साउन २६ गते)मा जन्मी, जिन्दगीभर विद्याभ्यासमा लागी विसं २०५९ लक्ष्मीपूजाको दिन (कार्तिक १८ गते) परलोक भएका नयराज पन्तको कामले गर्दा नेपालको इतिहासको खोजीले निकै ठूलो फड्को मार्‍यो। उनले काम गर्नुभन्दा अगाडि विद्याका अरू–अरू हाँगाबिँगामा जस्तै नेपालको इतिहासको क्षेत्रमा पनि विदेशी विद्वान्हरूकै बोलवाला थियो। नेपालको इतिहासका चल्तीका पुस्तक हेर्दा तिनमा कर्क्प्याटि्रक, ह्यामिल्टन, भगवान्लाल इन्द्रजी, सेसिल बेन्डल, हरप्रसाद शास्त्री, सिल्विँ लेवि, पर्सिभल ल्यान्डन, काशीप्रसाद जायसवाल आदिको नाउँ मात्र देखिन्थ्यो र अलि–पछि त्यस हूलमा आकलझुकल बाबुराम आचार्य पनि देखिन थालेका थिए। विसं १९९६ देखि नेपालको इतिहासको उपकरणको खोजी गर्न लागेका नयराज पन्तले विसं १९९९ मा एसएलसीको लागि एउटा पुस्तक तयार पारे। त्यो पुस्तक उनले आफ्नो खुसीले लेखेका थिएनन्। धेरै वर्ष दरबार हाई स्कुलका हेडमास्टर र त्रि–चन्द्र कलेजका प्रिन्सिपल भएका, पाठ्यपुस्तक लेखी धनमान कमाउन अभ्यस्त रुद्रराज पाण्डेयको आग्रहमा लेखिएको थियो। इतिहास भन्नेबित्तिकै यसै तर्सिने त्यस जमानामा त्यो इतिहास छाप्न सम्भव भएन र पद्मशमशेर अलि उदार प्रकृतिका भएकाले उनको पालामा इतिहासको त्यो पुस्तक छापिने भयो। प्रिन्सिपल जस्तो उच्च पदमा बसेका रुद्रराज पाण्डेयले भरखर पढेर आई सरकारी जागिरमा प्रवेश गरेका नयराज पन्तस“ग मिलेर पुस्तक निकाल्न यता उनलाई संकोच लाग्नु स्वाभाविक थियो त, उता पाठ्यपुस्तक छापेर कमाइने द्रव्यको लोभले पनि उनलाई उत्तिकै गा“जेको थियो। त्यसैले उनका ठाहि“ला भाइ तोत्रराजले पनि इतिहासै पढेकाले र उनलाई बिकाउनु पनि परेकोले रुद्रराजले अब छापिने त्यस इतिहासमा तोत्रराज र नयराजको नाउ“ राखेर छाप्ने प्रबन्ध मिलाए। अनि नेपालको संक्षिप्त इतिहास नाउँ राखी त्यो पुस्तक रुद्रराजको खर्चमा छापियो। एसएलसीको पाठ्यपुस्तकको रूपमा नेपालको संक्षिप्त इतिहास लेखिएको भए पनि त्यस पुस्तकमा अन्त कतै नपाइने नयाँ–नयाँ कुराको खजानै थियो। अर्को शब्दमा भन्नुपर्दा नयराज पन्तको नेपालको इतिहाससम्बन्धी ८ वर्षको अन्वेषणको परिणाम त्यहाँ झल्किएको थियो।
आफ्नो परीक्षाको प्रश्नपत्रमा समेत गल्ती भेट्टाउन सक्ने ल्याकत भए पनि आफ्नो पढाइ अपूरो भएको अनुभव गरेका नयराज पन्तले विसं १९९५ मा पढाइ सिद्ध्याई बनारसबाट फर्केपछि आफूले विचार गरेको ढंगले पढाउन भनी एउटा संस्कृत पाठशाला चलाए। चलनचल्तीको पढाइमा तीन खण्डको एक खण्ड मात्र पढे पनि परीक्षा पास गर्न सकिने भएकोले समग्र पाठ्यवस्तु उपस्थित गराई विद्यार्थीहरूलाई योग्य बनाउनु त्यस पाठशालाको उद्देश्य थियो। हुन पनि त्यस पाठशालामा २/३ वर्ष मात्र पढेका विद्यार्थीको पनि आफ्नो जन्मभाषामा जस्तै संस्कृतभाषामा अधिकार भएको कुराको अनुभव पारखीहरूले गरिसकेका थिए। संस्कृत भाषामा यसरी अधिकार भएपछि ती विद्यार्थीहरूलाई नेपालको इतिहासका उपकरणमा उपयोग गरिएका थरीथरीका लिपि सिकाउने काम भयो। नेपालको इतिहासका सयौँ वर्षका उपकरण खास गरी संस्कृत भाषामा भएकाले संस्कृत जानिसकेका ती विद्यार्थीहरू लिपि चिनेपछि ती उपकरण पढ्न र तिनको अर्थ गर्न सक्ने भए। ती विद्यार्थीमध्ये केही नेवार भएकाले तिनीहरूले र तिनीहरूको संगतले अरू विद्यार्थीहरूले पनि नेवारीमा लेखिएका उपकरणको पनि अर्थ क्रमशः गर्न थाले र पुरानो नेवारीमा लेखिएका उपकरणमा भएका तथ्य पनि बिस्तारै खोतलिन गयो। अघिबाटै केही ज्यौतिष पढेका विद्यार्थीहरूले इतिहासका उपकरणमा पाइएका तिथिमिति जाँच्ने काम गर्न थाले। यसरी नेपालको इतिहासको खोजीको लागि चाहिने मुख्य–मुख्य ज्ञान त्यस पाठशालाका केही विद्यार्थीमा भएपछि चलनचल्तीमा भएका पुस्तकमा परेका गल्तीको संशोधन गर्ने काम नेपालमा भरखरै जस्तो आएको प्रजातन्त्रको अधिकारको उपभोग गरी विसं २००९ देखि इतिहास–संशोधनको नाउँले ससाना कृति त्यस पाठशालाका विद्यार्थीहरूको नाउँमा छापिन लागे। त्यसले गर्दा चलनचल्तीको ढंगले इतिहास पढेका मानिसहरू खासमा केही जान्ने रहेनछन् भन्ने भाव जनमानसमा पर्न गयो। यी इतिहास–संशोधनमा पहिले थाहा नभएका प्रशस्त कुरा भएकाले नेपालको इतिहासको खोजीले एकदमै फड्को मार्‍यो। विसं २०१८ देखि संशोधन–मण्डलको नाउँले यिनीहरूले काम गर्न थाले। साँच्चि भन्ने हो भने नेपालको इतिहासका जति तथ्य बाहिर आएका छन्, त्यसको सयकडा पचहत्तर नयराज पन्त र उनका पाठशालाका विद्यार्थीहरूको खोजीबाट आएको हो। यस कामले गर्दा नेपालको इतिहासको गुरुकिल्ली विदेशबाट नेपालमा फर्किसकेको छ। एउटा नयराज पन्त नजन्मेको भए यो सम्भव हुँदैनथ्यो।
हुन त नेपालको इतिहासको खोजी हाम्रा विश्वविद्यालयहरू र प्रज्ञाप्रतिष्ठान आदिमा भए पनि आफ्नै ढर्राले हुँदै गए पनि ती अन्वेषण कुन तहका छन् भन्ने कुरा गम्भीर रूपले परिशीलन गर्नेहरूलाई थाहा नभएको होइन। अरू त के, पीएचडीका धेरैजसो शोधपत्रमा पनि नयाँ कुरा भेट्टाउन मुस्किलै पर्छ।
पश्चिमा आविष्कार भनी प्रचारमा आएका, गणित–ज्यौतिषका केही सिद्धान्त हाम्रा प्राचीन ग्रन्थमा पाइएकाले तिनको बारे नयराज पन्तले लेखमाला र प्रवचनमाला चलाएका थिए। यसै गरी हाम्रो र ग्रीकहरूको सिद्धान्तज्यौतिषको तुलना गरी उनले केही लेख लेखेका छन्। यसरी गणित–ज्यौतिषको इतिहासको परिशीलन गर्ने एक मात्र नेपाली उनी हुन् भन्ने मलाई लाग्छ। एउटा नयराज पन्त नजन्मेको भए यो सम्भव हुने थिएन।
अहिले यहाँका अरू–अरू गणितज्ञहरूले पनि यसमा चाख देखाउँदै आएका छन्, तापनि त्यसको लागि चाहिने आधारभूत ज्ञान उनीहरूमा नभएकोले नयराज पन्तकै लेखलाई ओल्टाइपल्टाइ गर्ने किंवा शास्त्रीय शब्दमा भन्दा चर्वितचर्वण वा पिष्टपेषण गर्ने काम मात्र भएको छ।
हाम्रो यतातिर सिद्धान्तज्यौतिषको विकास हुनुभन्दा अगाडि वेदका ६ अंगमध्ये १ अंग भइरहेको वेदांगज्यौतिषको कालमानपद्धति चलेको थियो। त्यसबेला वर्षको सुरूवात माघशुक्लको परेवामा र अन्त्य पुसे आँैसीमा हुन्थ्यो। त्यस पद्धतिअनुसार कि त असारमा, कि त पुसमा मात्र अधिमास पर्थ्यो। त्यो पद्धति भारतमा पहिल्यै लुप्त भइसकेको भए पनि नेपालमा भने वेदांगज्यौतिषअनुसारको कालमानमा सुधार गरी वर्तमान कालमानअनुसारको अधिमासपद्धति चलनचल्तीमा आइसकेपछि पनि पुरानो र नयाँ पद्धतिमा सामञ्जस्य राख्न चेतदेखि भदौभित्र अधिमास परे सो अधिमास असारमा मान्ने र असोजदेखि फागुनभित्र अधिमास परे सो अधिमास पुसमा मान्ने अथवा साउनदेखि पुसभित्र अधिमास परे सो अधिमास असारमा मान्ने र माघदेखि असारभित्र अधिमास परे सो अधिमास पुसमा मान्ने चलन विक्रमको पन्ध्रौँ शताब्दीसम्म थियो। वेदांगज्यौतिषको कालमानअनुसार नेपालको इतिहासको कालनिर्धारण गर्ने काम एउटा नयराज पन्त नजन्मेको भए हुनु असम्भव थियो।
त्यसमाथि, नेपालमा वेदांगज्यौतिषको परिशीलन गरी त्यसका निकै तथ्यको उजागर गर्ने काम पनि उनैले गरेका हुन्। तर उनको अवदानको कतै चर्चै नगरी उनले गरेका खोजीलाई नै पल्लवित गरी गजूर हाल्ने काम मात्र यहाँ भइरहेछ भन्नुपर्दा दुःख लाग्छ।
प्राचीनकालमा हाम्रो यहाँ त्रयी, आन्वीक्षिकी, वार्ता र दण्डनीति गरी विद्यालाई मोटामोटी रूपमा ४ समूहमा बाँडिएको थियो। त्रयीको अर्थ ३ वेद अर्थात् ऋग्वेद, यजुर्वेद र सामवेद भन्ने भए पनि अहिलेको भाषामा भन्ने हो भने ह्युमानिटीभित्र पर्ने विषय त्रयीभित्र पर्थे। आन्वीक्षिकीभित्र दर्शनका शाखाप्रशाखा सबै पर्थे। वार्ता भनेको कृषि, पाशुपाल्य र वाणिज्यको सामूहिक नाउँ हो। दण्डनीति भनेकोचाहिँ राजनीति हो।
कालान्तरमा अध्यात्मवादको बाढी आउँदा लोकोपयोगी वार्ता र दण्डनीतिको पठनपाठन पूरै बन्द भयो, त्रयी र आन्वीक्षिकीको पनि निकै शाखाप्रशाखाको पठनपाठन बन्द भई ती २ विद्या आंशिक रूपमा मात्र बाँकी रहन गए। उदाहरणको लागि आन्वीक्षिकीमा भौतिकवादी चार्वाकदर्शनको पठनपाठन कहीँ पनि छैन। साँच्चै भन्ने हो भने एउटा तत्त्वोपप्लवसिंह छोडेर चार्वाकदर्शनका कुनै ग्रन्थ बाँकी छैनन्। त्यस दर्शनको विषयमा जे जति कुरा हामीलाई थाहा छ, त्यो त त्यस दर्शनका विरोधीहरूले त्यसको खण्डन वा उपहास गर्न उद्धरण गरेका अंशबाट नै भएको हो।
अध्यात्मवादको चपेटामा परेर दण्डनीतिको कालजयी ग्रन्थ कौटलीय अर्थशास्त्र सयौँ वर्ष लुप्त भई फेरि प्रकाशमा आएको पनि सय वर्ष नाघिसक्यो। त्यो अर्थशास्त्र प्रकाशमा आएदेखि अहिलेसम्म संसारभरका पचासौँ संस्कृतज्ञहरूले यसको परिशीलनमा दिमाग खपाए पनि त्यसको राम्रो व्याख्या अझ हुन सकेको छैन। त्यो नहुनुको कारण अर्थशास्त्रको परम्परा उच्छिन्न हुँदा त्यसका कैयन् शब्द दुर्बोध्य किंवा अबोध्य हुनु हो।
नेपालमा कौटलीय अर्थशास्त्रको पुनरुद्धार गर्ने कामको सुरूवात नयराज पन्तबाट भएको हो। विभिन्न सिद्धान्तको आधारमा इतिहासको व्याख्या गर्ने परम्परा चलेकोले मार्क्सवादको दृष्टिले इतिहासको व्याख्या गरिए जस्तै कौटलीय अर्थशास्त्रको दृष्टिले नेपालको इतिहासका केही कालखण्डको व्याख्या नयराज पन्तले गरेका छन्। एउटा नयराज पन्त नभएको भए कौटलीय अर्थशास्त्रको दृष्टिले नेपालको इतिहासको व्याख्या हुँदैनथ्यो।
नयराज पन्तपछि अरूको त के कुरा, अर्थशास्त्रको दृष्टिले नेपालको इतिहासको व्याख्या गर्ने काममा उनले खटाएका चेला सुद्धा यतातिर नलागी गणतन्त्रको व्याख्यातिर लागेको देख्दा यस परम्पराको पुनरुद्धार यहाँ हुन गाह्रै छ।  
आफ्नोे जमानाका, प्रख्यात कवि लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा आदिका कवितामा मौकापरस्ती छ, यसले गर्दा उनीहरूले कविको होइन, भाटको चरित्र देखाइरहेका छन् भन्ने कुरा सप्रमाण सिद्ध गरी नयराज पन्तले केही लेख लेखेका छन्। ती कविहरूले आफूले लेख्न थालेदेखि जीवन नबिसाएसम्म नयराज पन्तको शब्दमा यसरी–
अहिले कसको छ हातमा प्रभु–शक्ति, प्रभुको विचारमा।
कुन वस्तु छ, के गरीकन हुन जाला प्रभुको खुशी मन।।
यति वस्तु गरेर चिन्तन कवितामा त्यति वस्तु ल्याउन।
अतिरम्य पदावली तथा अतिआकर्षक भावका कथा।।
रचना जुन गर्न जान्दछन्, कविमा श्रेष्ठ तिनै कहाउँछन्।
प्रभु–शक्ति हुँदा चलाचल कविको भाव रहन्छ चञ्चल।।
विपरीत विचारका कुरा कवितामा क्रमसाथ आउँदा।
कुन सत्य असत्य हो कुन यति भन्नाकन हुन्न साधन।।
कविजी कुन सत्य हो भनी यदि सोधे कविजी रिसाउँछन्।
बुझ कालहरू तिमी अनि यसको उत्तर मिल्छ भन्दछन्।।
कुन सत्य असत्य हो कुन यतिमै छैन भने विवेचन।
व्यवहार परेर आउँदा कुन विद्या मनमा उदाउला।।
(के पढ्ने, विश्रान्ति, पूर्णिमा, २४ पूर्णांक, २०२६, ३३१–३३२ पृ.)
लेख्ने गरेकाले उनको कामबाट तिनीहरूको कविकर्मउपर औँला ठडिन गएको छ। एउटा नयराज पन्त नजन्मेका भए तिनीहरूको रचनामा भाटगिरी झल्किन्छ भन्ने कुरा त्यति चाँडै प्रचारमा आउने थिएन कि!

Leave a comment

मायाका भोका डाँडामाथिका घाम

पशुपति वृद्धाश्रमस्थित पञ्चदेवल मन्दिरको पूर्वतर्फ बसेर ६४ वर्षीया भगवती ढकाल कपासको बाती कात्दै छिन्। कमजोर हातले कात्दै गरेका कपासका धागो छिनछिनमा चुँडिन्छन्, खरानी हातमा लिएर उनी टुटेको धागोलाई जोड्छिन्। पुनः...

जहानियाँ पुँजीवादको विपक्षमा

‘आँधीबेहरी जस्तै गरी आएको यो अर्थशास्त्रको किताब हो, द इकोनोमिस्टले थोमस पिकेटीको ‘क्यापिटल इन द ट्वेन्टी फस्ट सेन्चुरीलाई यसरी चिनाएको छ।

प्राध्यापनबाट परराष्ट्र

प्राध्यापनबाट परराष्ट्र

सचिव र राजदूत समेतका उच्च सरकारी ओहदमा रहेर काम गर्नुभयो, तर यदुनाथ खनालको स्थायी चिनारी 'प्रोफेसर’ हुन गयो। किनभने अंग्रेजी साहित्यमा एमए गरेपछिको उहाँको पहिलो कार्यस्थल त्रिचन्द्र कलेज थियो। जहानियाँ...

अर्ग्यानिक लभ

अर्ग्यानिक लभ

काँडामा टेकेर गुलाव नै किन टिप्नु पर्यो,म यही देव्रे छातीको रातो मुटु टिपेर दिन्छु तिम्रो अन्जुलीमा!विनय अक्सर यस्ता प्रेमिल हरफहरू लेखेर पठाइरहन्छ भाइवरमा।ऊ सधैँ एउटै प्रश्न सोधेर हैरान पार्छ– 'इन्द्रेणी...

अनुशासित मार्गले सफल

'म त्यस्तो अनुशासनमा हुर्किएँ, जो अहिले कल्पना पनि गर्न सकिँदैन। परिवारको कडा अनुशासनकै कारण म अहिले यो स्थानमा छु,' आफ्नो बाल्यकाल सम्झँदै नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्याल यसो भन्छन्।

जोखिमको यात्रा

चाबहिलबाट सहिदगेट चल्ने सफा टेम्पोमा पुरानो बानेश्वरबाट एक महिला चढिन्। यो रूटमा चल्ने टेम्पो प्रायः भरिभराउ नै हुन्छ।मैतीदेवी चोकमा केही यात्रु ओर्लिए, केही चढे। अरूलाई झर्न र उक्लिन सजिलो बनाउन...

घनचक्करमा मकैको अर्कै खेती

घनचक्करमा मकैको अर्कै खेती

सञ्जीव उप्रेतीद्वारा लिखित र थिएटर भिलेजका लागि विमल सुवेदीले निर्देशन गरेको 'मकैको अर्कै खेती' नामक नाट्य प्रस्तुति हेरेर निस्केको दर्शक मञ्चविधान, अभिनय र निर्देशकीय पक्षलाई एकछिन थाती राख्छ। उसको चेतनाको...

प्रेमको कठोर परीक्षा

प्रेमको कठोर परीक्षा

कहिलेकाहीँ सोध्नलाई केही प्रश्न हुन्नन् तर मन आफैं विनाप्रश्नका जवाफहरू फलाउँछन्— लटरम्म। म प्रश्न बनाउँथेँ, उसका रहस्यमयी आँखा हेरेर। हरेक समाधान अर्को समस्या बनाउँदै जान्थ्यो। र, हरेक जवाफ अर्को प्रश्न...