×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

9 Mangshir, 2074 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

प्रज्ञाको प्रतिष्ठा

(1 Vote)
प्रज्ञाको प्रतिष्ठा
देशको भाषा, साहित्य, कला, संगीत, नाटकलगायतका सिर्जनात्मक विधाको विकासका लागि तीनवटा प्रज्ञा–प्रतिष्ठान क्रियाशील भए पनि यी निकायले के गरिरहेका छन् भन्नेबारे सर्वसाधारण त के सरोकारवालालाई पनि थाहा छैन। लोकतन्त्र आएपछि स्थापना भएका दुई प्रज्ञा–प्रतिष्ठानमात्र होइन, नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि पछिल्लो समय राजनीतिक भागबण्डाको आधारमा प्राज्ञसभा गठन हुने भएकाले प्रभावकारी काम हुन नसकेको साहित्यकारहरू बताउँछन्।
nepali-patro-june
साहित्यकार तथा प्राध्यापक अभि सुवेदी यी प्रतिष्ठानहरूले आशा गरिएअनुसार काम गर्न नसकेको बताउँछन्। प्रतिष्ठानको गतिविधि नियालिरहेका उनी पछिल्लो समय सरकारी क्षेत्रभन्दा निजी क्षेत्रले कला, साहित्यमा काम गरिरहेको धारणा राख्छन्। 'लोकतन्त्र आउनुअघि राजदरबारले नेपाल प्रज्ञा–प्रतिष्ठानको नियन्त्रण गर्ने गरेकोमा अहिले राजनीतिक दलहरूले त्यसलाई भागबण्डाको थलो बनाएका छन्,' उनले भने। पञ्चायतकालदेखि नै तत्कालीन नेपाल राजकीय प्रज्ञा र संगीत र नाटकको प्रबर्द्धनमा धेरै योगदान पुर्यारएको बताउँछन्। 'साहित्य, थिएटर नाटक र संगीतमा मानिसको आशा छ, तर आशाअनुसार सरकारी एकेडेमीहरूले काम गर्न सकेका छैनन्,' नाटकको क्षेत्रमा विशेष रूचि र दख्खल भएका सुवेदी थप्छन्, 'गाह्रो भए पनि निजी क्षेत्रबाट नाटकको क्षेत्रमा ठूलो प्रगति भएको छ। गुरुकुल खुलेपछि त्यसले धेरै काम गरेको छ।' सरकारी निकायमा बसेरभन्दा बाहिर रहँदा स्वतन्त्र ढंगमा काम गर्न सकिने भएकाले पनि प्रभावकारी काम हुन सकेको उनी बताउँछन्।

नेपालमा कला र साहित्यको विकासका लागि भनेर प्रज्ञा–प्रतिष्ठान गठन भएको झण्डै ६० वर्ष भयो। २०१४ सालमा तत्कालीन राजा महेन्द्रले स्थापना गरेको नेपाल साहित्य कला प्रतिष्ठान, नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै अहिले नेपाल प्रज्ञा–प्रतिष्ठानमा रूपान्तरित भएको छ।

काठमाडौँको कमलादीको प्रज्ञा भवनमा मुख्यालय रहेको प्रज्ञाले नेपालका सबै भाषा, साहित्य तथा संस्कृतिलाई संरक्षण, सम्बर्द्धन र विकास गर्नुपर्ने कुरालाई हृदयंगम गर्दै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रको अनुसन्धान एवं मौलिक सृजनाका माध्यमद्वारा समाजोपयोगी कृतिहरू तयार गर्न, गराउन र यस क्षेत्रका विद्वान् तथा प्रतिभाको सम्मान र कदर गर्ने भनेर नेपाल प्रज्ञा–प्रतिष्ठान ऐनको प्रस्तावनामै उल्लेख छ।

नेपालका विभिन्न भाषा साहित्य तथा वाङ्मयको विकास गर्न नेपाल प्रज्ञा प्रतिष्ठानमात्र छैन, ललितकलाको प्रबर्द्धन गर्न २०६६ चैतमा ललितकला प्रज्ञा–प्रतिष्ठान र २०६७ वैशाखमा संगीत तथा नाटकको प्रबर्द्धनका निम्ति संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको स्थापना भयो।

छैन प्रभावकारी काम

नेपाल प्रज्ञा–प्रतिष्ठान ऐनमा अन्यबाहेक प्रतिष्ठानको १६ वटा काम तोकेरै उल्लेख गरिएको छ। प्रतिष्ठानको नीति तथा कार्यक्रम तर्जुमा गर्ने, नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्र सम्बन्धी विभिन्न विषयमा अध्ययन–अनुसन्धान गरी उपयोगी ग्रन्थ एवं कृति तयार गर्ने, गराउने, विभिन्न विषयमा अनुसन्धानात्मक तथा मौलिक कृतिहरूको सृजना एवं प्रकाशन गर्ने, गराउने, आवश्यकताअनुसार विदेशी भाषाबाट नेपालका सबै भाषा र नेपालका भाषाबाट विदेशी भाषामा उच्चस्तरीय कृति अनुवाद एवं प्रकाशन गर्ने, गराउने, भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, प्रदर्शनी आदि गर्ने, गराउने र सहभागिता जनाउनेलगायत काम नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख काम हुन्।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती भने आफूहरूले भाषा, साहित्य मात्र नभई सामाजिक दर्शन, संस्कृतिजस्ता पाँच विषयमा अध्ययन–अनुसन्धान र गोष्ठी सञ्चालन गरिरहेको बताउँछन्। विभिन्न ठाउँमा गएर अनुसन्धान गरिएका कुरालाई किताबको रूपमा छाप्ने काम पनि निरन्तर भइरहेको उनको दाबी छ। अनुसन्धानमूलकसहित बर्सेनि १५ देखि २० को हाराहारीमा पुस्तक प्रकाशन गर्ने र हरेक वर्ष कविता महोत्सवको आयोजना गरिरहेको उनी बताउँछन्। 'आगामी ९ गते वार्षिक उत्सव हो। त्यहाँ कविता महोत्सव हुन्छ। देशभरिबाट कविता माग गरिएको छ। तिनीहरूमध्ये पहिला, दोश्रा र तेश्रालाई पुरस्कार तथा सम्मानपत्र दिन्छौँ,' उप्रेती भन्छन्। प्रकाशन हुने पुस्तकहरूमा साहित्य पनि हुने गरेको उनको भनाइ छ।

नेपालको संगीत तथा नाटकको संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन र सर्वांगीण विकास गर्न तथा यस विषयमा अध्ययन–अनुसन्धान गर्न–गराउन र सम्बन्धित क्षेत्रका प्रतिभाको सम्मान र कदर गर्न संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको स्थापना भएको हो। ललितकलाको विकास र प्रबर्द्धनमा यस्तैखालका काम गर्नका लागि ललितकला प्रज्ञा–प्रतिष्ठानको अवधारणा अघि सारिएको हो।

ललितकला प्रज्ञा–प्रतिष्ठानले समयसमयमा चीन र नेपालको कला आदानप्रदानका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। आफ्ना गतिविधिहरू काठमाडौँ उपत्यकामात्र नभई बाहिर पनि सञ्चालन भइरहेको ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय बताउँछिन्।

ललितकला प्रतिष्ठानअन्तर्गत ६ वटा विभाग छन्। ती विभागले आफ्नो क्षेत्रअनुसारको काम गर्छन्। 'प्रदर्शनी गर्नेमात्रै हाम्रो काम होइन। तालिम दिने, अनुसन्धान गर्ने र कलाको प्रबर्द्धन हाम्रो मुख्य काम हो,' उपाध्याय भन्छिन्। ऐनले दिएको क्षेत्राधिकारभित्र रहेर उपलब्ध स्रोतको उच्चतम प्रयोग गरेर प्रतिष्ठानको उद्देश्य हासिल गर्ने प्रयास गरिरहेको उनको दाबी छ। अन्तर्राष्ट्रियस्तरमा नेपालको कला र शिल्पदेखि धातुकला, काष्ठकला संसारभर देखाउनका लागि आफूहरू प्रयासरत रहेको उनी बताउँछिन्। गत फेब्रुअरीमा भारतमा १५ दिन लामो प्रदर्शनी गर्ने भनेर योजना बनाए पनि नाकाबन्दीका कारण त्यो हुन नसकेको उनले बताइन्। 'अन्तर्राष्टियतहमा पनि बु‰न सहज होस् भनेर अनुसन्धानहरू सकेसम्म अंग्रेजीमा गर्ने प्रयास गरिरहेका छौँ,' उपाध्याय भन्छिन्।

संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले अहिले दोलखा सदरमुकाम चरिकोटमा राष्ट्रिय नाटक महोत्सव सञ्चालन गरिरहेको छ। पाँच दिनसम्म चल्न यो महोत्सवमा देशका विभिन्न क्षेत्रका ९ ओटा नाटकको प्रस्तुति छ। प्रतिष्ठानले नाटक महोत्सवका साथै नृत्य र संगीत महोत्सवको आयोजना पनि गर्छ। त्यसबाहेक, ठाउँठाउँमा सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। प्रतिष्ठानअन्तर्गत संगीत, नाटक, नृत्य, श्रव्य–दृश्यलगायत ७ वटा विभाग छन्। यी विभागले निरन्तर देशव्यापी कार्यक्रमहरू सञ्चालन गरिरहेको नाट्य तथा संगीत प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्त बताउँछन्। 'राष्ट्रिय नाटक महोत्सवपछि असारमा जनकपुरमा भारत र नेपालको मैथिली नाटक गर्दैछौँ,' उनले भने, 'त्यसबाहेक, शास्त्रीय संगीत र लोकभाकाका कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ। नाटक, संगीत र नृत्य विधामा अनुसन्धान पनि गरिरहेका छौँ।' प्रतिष्ठानले आवश्यकताअनुसार पुस्तक प्रकाशनको सिलसिला पनि सुरु गरेको उनी बताउँछन्।

राजनीतिक भागबण्डा

अंग्रेजी साहित्यका प्राध्यापक तथा लेखक सञ्जीव उप्रेती राजनीतिक दलका आधारमा प्रज्ञा–प्रतिष्ठानहरूमा भागबण्डा हुन थालेपछि आफूलाई यसको मतलब लाग्न छाडेको बताउँछन्। 'अहिले मलाई चासो नै नभएकाले उहाँ (प्राज्ञ)हरू के गर्दै हुनुहुन्छ भनेर फलो पनि गरेको छैन,' उनी भन्छन्। साहित्य, कला, नाटक, संगीत दलगत कुराभन्दा माथि हुनुपर्नेमा सर्जकहरूलाई पनि दलको आँखाले हेर्न थालेको उनलाई चित्त बुझेको छैन।

तीनवटै प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी नियुक्ति सरकारले गर्छ। क्षमता र योग्यताका आधारमा भन्दा पनि राजनीतिक दलनिकट भएकै आधारमा नियुक्ति गरिने भएकाले गैरराजनीतिक सर्जकको यसमा आकर्षण छैन, प्रतिभाका आधारमा तिनको खोजी गरी नियुक्ति पनि गरिँदैन। अधिकांश योग्यता नपुगेका व्यक्तिको नियुक्ति हुने हुनाले प्रभावकारी काम पनि हुन नसकेको सर्जकहरू बताउँछन्। कामचलाउ ढंगमा नियमितरूपमा भइरहेको क्रियाकलापभन्दा नयाँ कुनै कार्यक्रम ल्याउन नसकेको उनीहरूको आरोप छ।

प्राध्यापक सुवेदीले सरकारी निकायमा बसेर काम गर्ने वातावरण नभएकाले आफूले नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपतिको प्रस्ताव अस्वीकार गरेको खुलाए। राजनीतिक दलले नियुक्ति गर्ने भएकाले त्यहाँ जानेहरूमा पनि उत्साह कम हुने गरेको उनको बुझाइ छ। 'त्यहाँ अहिले गएका मानिस नराम्रा होइनन्, तर काम गर्न गाह्रो छ,' उनी भन्छन्। राज्यले लगानी गरेका हुनाले उद्देश्यअनुसार काम गर्नुपर्नेमा उनको जोड छ।

लेखक तथा समीक्षक हरि अधिकारी तीनवटै एकेडेमीमा प्राज्ञ–सभामा रहेका व्यक्तिहरू त्यो पदका लागि योग्य नभएको खरो टिप्पणी गर्छन्। राजनीतिक आस्थाका आधारमा नियुक्ति हुने भएकाले योग्य मान्छेले स्थान नपाउने उनको भनाइ छ। 'हलुका मान्छेलाई जिम्मेवारी दिएपछि काम राम्रो होस् भनेर कसरी कामना गर्न सकिन्छ,' उनी प्रतिप्रश्न गर्छन्। सत्तामा पुगेका दल अथवा प्रमुख प्रतिपक्षीको कोटामा पदाधिकारी नियुक्त हुने भएकाले केही अपेक्षा गर्न नसकिने उनी बताउँछन्।

आकर्षण घट्दो

पञ्चायतकाल र बहुदल आएपछिका केही वर्षसम्म प्रतिष्ठानले आयोजना गर्ने कविता महोत्सवमा कविहरूको निकै आकर्षण थियो। देशका विभिन्न क्षेत्रबाट भाग लिन कविहरू आउँथे। कविता महोत्सव भव्य हुन्थ्यो। प्रथम हुनेलाई राजाले स्वर्ण पदक दिन्थे, पुरस्कृत कविका कविता मुलुकका विभिन्न राष्ट्रिय पत्रपत्रिकाले छाप्थे। 'कविता महोत्सवमा भाग लिने र पुरस्कार पाउनेको जीवनले त्यसपछि युटर्न लिने गर्थ्यो,' उपन्यासका अमर न्यौपाने सम्झन्छन्, 'पुरस्कृतहरूको अन्तर्वार्ता रेडियोमा आउँथ्यो।' पछिल्लो केही वर्षदेखि प्रज्ञाले बर्सेनि आयोजना गर्ने कविता महोत्सव औपचारिकतामा सीमित भएको छ। यसको बारेमा न बजारमा चर्चा नै सुनिन्छ, न कुनै आकर्षण नै छ। केही वर्षदेखि कविता प्रतियोगितामा कार्यक्रमअगावै को प्रथम हुन्छ र कोको निर्णायक मण्डलीमा थिए भन्नेसमेत बजारमा थाहा हुन्छ।

पछिल्ला वर्ष सरकारी क्षेत्रबाट साहित्यको प्रबर्द्धनमा उल्लेखनीय काम नभएको न्यौपाने बताउँछन्। निजी क्षेत्रबाट साहित्य र कलाबारे विभिन्न कार्यक्रम आयोजना गरिएको भए पनि प्रज्ञा–प्रतिष्ठानले त्यसो गर्न नसकेको उनको गुनासो छ। 'निजी प्रकाशन गृहहरूले प्रज्ञा–प्रतिष्ठानको आँगनमा त्यत्रो कार्यक्रम गर्छन्, तर उसले आफैले केही गरेको देखिँदैन,' उनी भन्छन्। प्रतिष्ठानले यसो कहिलेकाहीँ आयोजना गर्ने कार्यक्रम आकर्षक हुन नसकेको उनको भनाइ छ।

पहिले एउटै प्रज्ञा–प्रतिष्ठान रहेकोमा अहिले तीनवटा भएकोबाहेक अरु खास केही नभएको समीक्षक अधिकारी बताउँछन्। केही नियमित गतिविधि भइरहे पनि खासै प्रभावकारी काम गर्न नसकेको उनको आरोप छ। युवा लेखक, साहित्यकार, कलाकार र संगीतकारको सरकारी संस्थाप्रतिको आकर्षण घटेको उनको भनाइ छ। औसतभन्दा तल्लोस्तरका मान्छेलाई नियुक्ति दिएपछि काम प्रभावकारी हुन नसकेको उनी बताउँछन्। 'सबैभन्दा ठूलो कुरो तिनमा कायम मनोवैज्ञानिक समस्या हो। ती मानिस योगदान गरेका र प्रतिभाशाली सर्जकहरूसँग आँखा जुधाएर हेर्नै सक्दैनन्,' उनी भन्छन्। यसले गर्दा संस्थाको प्रतिष्ठा धराशायी भएको अधिकारीको ठहर छ।

युवा लेखकलाई अपनत्वको महसुस हुँदैन भन्ने कुरामा कुलपति उप्रेतीको विमति छ। अहिले प्रज्ञा–प्रतिष्ठानमा काम गर्ने धेरै युवा रहेको जानकारी दिँदै उनी प्रतिष्ठानले कसरी काम गर्नुपर्छ भनेर युवा लेखकलाई उल्टै प्रतिप्रश्न गर्छन्। 'युवाका लागि कार्यक्रमहरू गरेका छौँ। कविता महोत्सव गर्छौं, पुरस्कार दिन्छौँ। अध्ययन गर्न आउनेलाई अवसर दिन्छौँ। उनीहरूको किताब राम्रा भए छाप्छौँ,' उनी भन्छन्। युवा साहित्यकारले प्रज्ञा–प्रतिष्ठानको गतिविधि हेर्दैनहेरी हचुवाको भरमा सडकछाप गफ गरेर आलोचना गरिरहेको उनको आरोप छ।

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त भने अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार्छन्। सरकारी अनुदानमा स्थापित संस्था भएकाले केही सीमितता भए पनि आफ्नो क्षमताले भ्याएसम्म निरन्तर काम गरिरहेको र गुणात्मकरूपमा अगाडि बढिरहेको उनको दाबी छ। 'पछिल्ला समय कार्यक्रमहरू निरन्तररूपमा गरिरहेका छौँ। जनमानसमा पनि राम्रै छाप परेको छ,' उनी भन्छन्। नयाँनयाँ कार्यक्रमहरू सञ्चालन गर्न आफू प्रयत्नशील रहेको उनी बताउँछन्।

साहित्यको बजार विश्वव्यापी तहमा बिस्तार भइरहँदा प्रज्ञा–प्रतिष्ठानले नेपाली कला र साहित्यलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्यााउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने साहित्यकारहरू बताउँछन्। हरेक वर्ष थोरै संख्यामा भए पनि पुस्तक, नाटक अनुवाद वा त्यससम्बन्धी अनुसन्धान गरेर गरेर तीनवटै प्रतिष्ठानले अन्तर्राष्ट्रिय बजारमा लैजाने र नोबेल पुरस्कारमा दर्ता गराउनुपर्ने कलाकार र साहित्यकारहहरूको सुझाव छ। 'बाहिरका लेखक, साहित्यकार बोलाएर नेपाली लेखकहरूसँग एकेडेमीले अन्तर्क्रिया गराओस्, अनि पो सम्बन्ध स्थापित हुन्छ,' उनी भन्छन्।

बजेट अभाव

कुलपति उप्रेती नेपाल प्रज्ञा–प्रतिष्ठानमा बजेट अभाव भएको बताउँछन्। साना काम नरोकिए पनि ठूला काम गर्न बजेट अभाव भएको उनको गुनासो छ। 'सीमित बजेटमा गरिएको कामबाट एकदमै सन्तुष्ट छौँ। उद्देश्य पनि हासिल भएको छ,' उनी भन्छन्। प्रतिष्ठानले अन्तर्राष्टिय सम्बन्ध बढाउनु आवश्यक भए पनि त्यसका लागि आवश्यक पैसा नभएकाले खुम्चिनुपरेको उनको गुनासो छ। 'पहिलाको तुलनामा अहिले बहुजाति, बहुभाषी र बहुसंस्कृतिमा काम गर्नुपरेको छ। त्यसैले पर्याप्त मात्रामा बजेट नहुँदासम्म सबैको अपेक्षा पूरा गर्न सकिँदैन,' उनी भन्छन्।

ललितकलाकी कुलपति उपाध्याय पनि सरकारी बजेट पर्याप्त नभएको बताउँछिन्। भूकम्पले कार्यालय भवन भत्काएपछि पालमुनि बसेर काम गर्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ। बजेट अभावले गर्दा आफूहरूले चाहेअनुसारको कार्यक्रम सञ्चालन गर्न नसकेको उनको भनाइ छ। 'पर्याप्त बजेट परोस् भन्नेे प्रस्ताव मन्त्रीसमक्ष राखेको थिएँ,' उनी भन्छिन्, 'कमसेकम हरेक तीन वर्षमा अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शनी गर्न पाए हुन्थ्यो।'

देशको आधुनिक र लोकमात्र नभई देशका विभिन्न जातका संगीत, नाच र नाटकलाई जगेर्ना गर्न प्रतिष्ठानको स्थापना भए पनि यी कामका निम्ति सरकारबाट आवश्यक बजेट नपाएको गुनासो सरुभक्तको पनि छ। 'भनेजति काम गर्न हामीलाई समस्या छ। सरकारलाई घच्घचाइरहेका छौँ,' उनी भन्छन्। आर्थिक सीमितताका बीच पनि देशभरका कलाकारलाई प्रोत्साहन गर्न आफूहरू लागिपरेको उनको जिकिर छ।

बजेट अभावले काम गर्न नसकेको भन्ने गुनासो अर्थहीन भएको लेखक न्यौपाने बताउँछन्। 'निजीमा ५/७ जना कर्मचारीले नियमित कार्यक्रमका साथै पुस्तक प्रकाशन पनि गरिरहेका हुन्छन्। एकेडेमीमा त्यत्रा कर्मचारी के गरेर बस्छन्?,' उनी भन्छन्, 'निजी क्षेत्रले निकै सीमित रकममा काम गरिरहेको छ। बर्सेनि करोडौँ बजेट प्राप्त गर्ने प्रज्ञा–प्रतिष्ठानले बजेट अभाव भन्न सुहाउँदैन।' एकेडेमीले एकदिनको हल भाडामात्रै ७० हजार लिन्छ। 'के गर्छन् त त्यो पैसा,' न्यौपाने प्रश्न गर्छन्। प्रज्ञा–प्रतिष्ठानसँग पर्याप्त आर्थिक स्रोत भएको र चाहेमा अन्तर्राष्ट्रिय महोत्सवसमेत आयोजना गर्न सक्ने उनको भनाइ छ।


युवालेखकका आँखामा प्रज्ञा

नयनराज पाण्डे

एकेडेमीले कथासंग्रह, निबन्ध, कविता छापेर बस्ने होइन। अनुसन्धानमुलक कृति निकालोस्। लेखक र प्राज्ञिकलाई अनुसन्धान गर्न प्रेरित गर्नुपर्छ। त्यस्तो काम अलिअलि भइरहेको जस्तो लाग्छ। अहिले कथा, उपन्यास निस्केको समाचार त आउँछ, तर कुनै अनुसन्धानमूलक कृति निस्केको सुन्न पाइँदैन। एकेडेमी जति सक्रिय हुनुपर्ने हो, भइरहेको छैन।

तीनवटै एकेडेमीका प्राज्ञका गतिविधिअनुसार एकेडेमी अन्तर्राष्ट्रियस्तरमा पुग्ने हो। उहाँहरू कति सक्रिय हुनुहुन्छ र विदेशका निकायसँग कति सम्बन्ध राख्नुभएको छ भन्नेमा भर पर्छ। नेपालका प्राज्ञिक व्यक्तित्वहरूले सकारात्मकरूपमा काम गरेको देखिँदैन। विदेश गएको त सुनिन्छ, तर त्यसबाट के उपलब्धि हासिल भयो? त्यसले साहित्य, कला, नाटक, संगीतलाई के फाइदा भयो भन्नेचाहिँ देखिँदैन।

राजनीतिक हस्तक्षेपका कारण प्रतिभाशाली मान्छे त्यहाँ पुग्ने अवस्था छैन। सामान्य लेखक–दलका कार्यकर्ता ठूलै लेखक भएर, संगीतकारको रूपमा त्यहाँ पुग्छन्। उनीहरूको कुनै व्यक्तित्व हुँदैन, सोच हुँदैन। तर, नेतासँगको पहुँच र मन्त्रीसँगको सम्बन्धले नियुक्ति भएको हुनाले पनि प्रज्ञा–प्रतिष्ठानहरू कमजोर भएका छन्।

युवापुस्ताले एकेडेमीबारे वास्तै गर्न छोडिसकेका छन्। एकेडेमीले केही गर्छ भनेर तिनलाई कुनै विश्वास छैन। युवापुस्ता त आफ्नै किसिमले लेखन, अनुसन्धान गरिरहेको छ।

बुद्धिसागर

एकेडेमीले छाप्ने किताबहरूको सीमित संख्या हुने भएकाले यसको व्यापकता छैन। नेपालमा साहित्यक म्यागेजिनको अभाव देख्छु। म्यागेजिन नहुँदा लामा समालोचना छापिँदैन, यसको नेपाली साहित्यमा खाँचो छ। एकेडेमीहरूले देखाउनको लागि काम गरिरहेका होलान्। साहित्य एकेडेमीले राम्रा साहित्यक म्यागेजिनहरू निकाल्नुपर्छ।

बजेट अभाव भन्ने त सदाको बहाना हो। बरु निजी क्षेत्रको योगदान बढी छ। एकेडेमीभित्रका संयन्त्र नै मिलेको छैनजस्तो लाग्छ। विभिन्न खालको आइडियोलोजीले डोर्यारइएका मानिस छन्। कुनै एउटा दल त कुनै अर्कोका मान्छे छन्। सबैका आआफ्ना सर्तहरू होलान्। केही लेखकलाई फाइदा भएको होला, तर नयाँ लेखकलाई त एकेडेमी धेरै टाढाको वस्तु भइसक्यो। कविता महोत्सवको पनि कुनै ग्ल्यामर छैन।

आन्विका गिरी

कला, साहित्य, संस्कृतिको खोज र प्रबर्द्धन गर्ने सरकारी निकायमा यस्ता कार्यमा रूचि राख्ने अनुसन्धानकर्ता तथा प्राज्ञको सहज पहुँच हुनुपर्थ्यो। हराउन लागिसकेका कुरालाई खोज गरेर तिनको संरक्षणमा सरकारलाई कार्यक्रम बनाउन सघाउ पुर्याहउन सक्ने हुनुपर्थ्यो। सबैभन्दा महŒवपूर्ण कुरा त प्रज्ञामा विशुद्ध प्राज्ञ हुनुपर्नेमा अहिले त दलीय भागबण्डा व्याप्त छ। कोही विशुद्ध प्राज्ञ छ भने पनि ऊ कुनै न कुनै पार्टीको कोटाबाटै मनोनित हुन्छ।

प्रज्ञामा दलीय भागबण्डाको धमिरा लागेको छ। सत्ताको वरिपरि हुनेले मात्र त्यहाँ पहुँच पाउँछन्। त्यहाँ के भइरहेको छ, कस्ता योजना बनेका छन् भन्ने कुरा त्यहीँभित्रै रहन्छ। आमलेखक, अनुसन्धानकर्तासम्म पुग्नुपर्ने प्रज्ञा सानो घेरामा साँघुरिँदै गएको छ। यस्ता संस्थाहरू राजनीतिक आग्रह–पूर्वाग्रहबाट मुक्त हुनुपर्छ। बहस, छलफल चलाउनुपर्छ। अहिले त तीनवटै प्रज्ञामा के भइरहेको छ भन्नेसमेत थाहा नहुने अवस्था छ।

Leave a comment

उदयपुरगढीमा स्वागत

उदयपुरगढीमा स्वागत

उदयपुरगढी रमणीय छ। उदयपुरको पञ्चावती गाविस–१ मा अवस्थित गढी (१,३०० मिटर) बाट खुम्बु हिमाल, महाभारत र चुरे पर्वतका साथै तराईको दृश्य देखिन्छ। सूर्योदय र सूर्यास्त पनि सुन्दर देखिन्छ।

लटरम्म लप्सी

गएको मंगलबार। पुसको बिहानी धुम्म हुस्सु लागेकाले मौसम चिसिएको थियो। वरिपरि पहाड र डाँडाले घेरिएको गोदावरीमा सूर्यका चिसा किरण आइपुगे। जंगलै जंगल भएको गोदावरीमा चराहरू चिर्बिराउँदै थिए। वातावारण मनमोहक थियो।

अन्तरिक्षमा बस्ती!

अन्तरिक्षमा बस्ती!

एउटा सुन्दर घर! धर्तीका धेरैको सपना हो। तर, तपाईँले अन्तरिक्षमा घर बनाउने सोच्नुभएको छ? पक्कै छैन। धेरैका लागि यो कल्पनाभन्दा निकै टाढाको विषय हो।तर, अमेरिकाको नेशनल एरोनोटिक्स एन्ड स्पेश एडमिनिस्ट्रेसन...

खानपान गाइड

‘औषधिविज्ञान'का पिता ग्रीकका हिपोक्रेट्सले करिब साढे पन्ध्र सय वर्षअघि भनेका थिए, ‘तिम्रा लागि खानेकुरा औषधि बनोस् अनि औषधि खानेकुरा।' सुन्दा सामान्य लागे पनि स्वस्थ जीवनका लागि अचूक सूत्र हो यो,...

पर्यटकलाई पारिवारिक माया

पर्यटकलाई पारिवारिक माया

मुलुकभर होमस्टेको लहर चलेको छ। पर्यटकलाई गाउँलेकै भान्छामा खानपिन गराएर घरमा बसाइन्छ। त्यसैले होटलभन्दा सस्तो हुन्छ। मायालु वातावरण पाइन्छ।

मेरो पहिलो पुरस्कार

मैले जीवनमा पहिलो आकाशवाणी पाएँ। लेखिएको थियो, 'तु आउनु... एक जोर दौरासुरूवाल ल्याउनू...।'पोखराको आवा कार्यालयका कुनै एक कर्मचारीले दिएर गए, अहिले मलाई सम्झना छैन। सम्झना त मलाई हिजोआजका बैङ्क भौचरजस्तो...

क्रिसमस मुड अन

क्रिसमस मुड अन

काठमाडौं असनकी उपासना श्रेष्ठ क्रिसमस इभको प्रतीक्षामा छिन्। आउँदो शुक्रबार परेको क्रिसमस उनका लागि साथीहरूसँग 'आउटिङ' र 'ह्याङआउट'को राम्रो बहाना हो। 'पाँच वर्षदेखि म लगातार क्रिसमस इभ र क्रिसमसको दिन...

कोचाकोच कारागार

कोचाकोच कारागार

ललितपुरका धेरै सामुदायिक विद्यालयमा विद्यार्थीको सख्ंया न्युन हुँदै गएको छ । जिल्ला शिक्षा कार्यालयले हालसालै अनुगमनको क्रममा १० जना विद्यार्थीको भरमा सञ्चालन हुँदै आएका विद्यालयसमेत फेला पार्योो। विद्यार्थी ज्यादै कम...