Wednesday 28 Kartik, 2075 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

गन्तव्य : पञ्चकोशी क्षेत्र

(0 votes)
पौराणिककालमा देवताहरुले तपस्या गरेर बसेको पवित्र भूमि भएकाले देवलोकबाट अपभंस हुँदै दैलेख नामाकरण रहन गएको किम्वदन्ती पाइन्छ। सिंगो कर्णाली अञ्चलका जुम्ला, हुम्ला, तथा मानसरोवरतर्फ जाने एकमात्र बाटो दैलेख जिल्लामा धार्मिक, ऐतिहासिक पर्यटन, पर्यटकीय पदयात्राका रूपमा समेत विकास गर्न सकिने सम्भावना प्रशस्त छ। 
nepali-patro-june
भाषाको क्षेत्रमा पनि दैलेख निकै धनी छ। नेपाली भाषाको उत्पत्तिस्थल जुम्लाको सिजालाई मानिए पनि नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख दैलेखको दुल्लुमा छ। अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा पुरानो मानिएको तामुपाल, अढईपालद्वारा शाक्य ९ सय तीन तद्नुसार विक्रम संवत् १ हजार ३८ को शीलालेख दैलेखमै छ भने विक्रम संवत् १४ सय १४ को पृथ्वी मल्लले बनाएको सात हात लामो कीर्तिस्तम्भ पनि यहीँ छ। नेपाली भाषाको वि.सं. १ हजार ३८ को कीर्तिखम्ब साथै नेपाली भाषा सुरुवात्को पहिलो ९ सय ३८ वर्ष पुरानो शीलालेखसमेत दुल्लु क्षेत्रमै छ। 
त्यतिमात्र हैन, नेपालकै पवित्र तीर्थस्थलमध्ये पञ्चकोशी पनि दैलेखमै पर्छ। श्रीस्थान, नाविस्थान, कोटिला, पादुका, धुलेश्वर, भैरवी, तल्लो ढुंगेश्वर यहाँका मुख्य तीर्थस्थल हुन्। पञ्चकोशीसँगै सदरमुकाममै रहेका बेलासपुर, गणेश मन्दिर, स्वामी कार्तिक मन्दिर, सरस्वती, भगवती मन्दिर, भीमसेन, बागभैरव मन्दिर, नारायण, वज्रभैरव मन्दिर छन्। बिन्द्रासैनी, भवानीमाई, नौधारा, भैसाखोर, दुधेमष्ट, बुकिमाई, मालिकादेवी, दाणेमष्ट, जगनाथ माहावै, बडाभैरव, कालसैनी कालिकालगायत् मठमन्दिर पनि यहीँ छन्। त्यसैगरी धार्मिक तथा पुरातात्विक स्थलहरुमा दुल्लुमा रहेको नेपाली भाषाको पहिलो शीलालेख, कीर्तिखम्ब, पामथर नाउली, सातखम्ब, पञ्चदेवल, वाणगंगा, पौवा, दुल्लु दरबार, लकान्द्रको सिद्धपाइलाले पनि दैलेखको महिमा बढाएको छ। अनि गुराँसे, रानिमत्ता, राकम कर्णाली, माहाबु, तीनचुले, द्वारीको बुलबुल झरना, कुइयाँको ताल, भैरव कुण्ड, धाउरपानी गुफा, रानीगुफा, छहारी गुफा जस्ता पर्यटकीय क्षेत्रले पनि यो जिल्लाको महत्व वृद्धि गर्न सघाएको छ।
दैलेख सदरमुकाममै जोडिएको ऐतिहासिक कोतगढी, जिल्लाभर रहेका ऐतिहासिक देवलहरुमध्ये सबैभन्दा धेरै २५ देवल रहेको भुर्तीस्थित पञ्चदेवल र सोको नजिकै रहेको यो पञ्चदेवललाई युनेस्कोले ९ सय वर्ष अघि साके संवत् १३२१ वैशाखमा निर्माण गरिएको भन्दै विश्व सम्पदा सूचीमा राख्न सिफारिससमेत गरेको छ। योलगायत् बाटैभरि रहेका ढुंगाका खम्बा, कुइकाना, जाहारकोट, किमुगाउँ, काँसीकाँध, बेहुली र देउलीका पञ्चदेवलहरु पनि पुरातात्विक स्थलमध्येकै नमुनाका रूपमा पर्छन् । 
स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार सत्ययुगमा महादेवकी पत्नी सत्तीदेवीको मृत्यु भएपछि महादेवले शव काँधमा बोकेर संसार परिक्रमा गर्ने क्रममा सत्तीदेवीको हड्डी पतन भई ढुंगेश्वर कोख पतन भई कोटिला, शिर पतन भई श्रीस्थान, नाभि पतन भई नाविस्थान, पाउ पतन भई पादुका र बाँकी अंश पतन भई धुलेश्वर शक्ति पीठहरु रहन गएको उल्लेख छ। पञ्चकोशी तीर्थ यात्रा पूरा गरे जीवनमा गरेका पाप नष्ट हुने र पुण्य प्राप्त हुने विश्वास पनि उत्तिकै छ।
पञ्चकोशी : शिरस्थान
ज्वाला क्षेत्र भएको एक महत्वपूर्ण धार्मिक क्षेत्र हो शिरस्थान। यो मन्दिरको ज्वाला दर्शनका लागी दैलेख बजारबाट १ घण्टा पैदल र आधा घण्टा सवारी साधनमा श्रीस्थान पुग्न सकिन्छ। नेपालकै भूमिमा सबैभन्दा महत्वपूर्ण मानिने पानीमाथि सदियौदेखि निरन्तर बलिरहेको ज्वाला बलेको देख्न सकिन्छ। खोलाको भित्ताभित्ता पनि बलिरहेको ज्वाला यहाँ देख्न सकिन्छ।
दैलेख सदरमुकामदेखि ८ किलोमिटर पश्चिम गमौडी गाविसमा पर्ने श्रीस्थानमा ज्वाला अहिले पनि बलिरहेका छन्। यस ठाउँमा खोलाको पानीमा देखिने भुल्काहरुमा समेत आगो बलेको हेर्न पाइन्छ। वि.सं.१६२५ मा दुल्लुका राजा प्रताप शाही र वेलासपुरका राजा संग्राम शाहीले संयुक्तरूपमा श्रीस्थान ज्वाला मन्दिर निर्माण गरेको शीलालेखमा उल्लेख छ। जिल्लामा मानिसको मृत्यु हुँदा श्रीस्थान र नाविस्थानमा रहेको ज्वालाको आगोबाट दाहसंस्कार गरे स्वर्गलोक पुग्ने मान्यता रहिआएकाले जिल्लाभरका मानिसको शव दाहसंस्कार गर्न श्रीस्थान र नाविस्थान आर्यघाट पुर्यालउने परम्परा छ।
पञ्चकोशी : कोटिला
कोटिला सदरमुकामदेखी पैदल १ घण्टामा पुगीन्छ भने सवारी साधनमा आधा घण्टामै पुगिन्छ। यहाँ सत्तीदेवीको कोख पतन भएकाले त्यस क्षेत्रलाई कोटिला नामाकरण गरिएको हो। सुमेरु पर्वतका रूपमा पहिला छामघाट र कोटिला खोलाले घेरेको टापुमा दधीचि ऋषिले तपस्या गरेको वरपीपलको बुटाहरु सँगै देखिन्छ। कोटिला मन्दिर क्षेत्रमा दिनरात पूजाआजाका लागि साधु सन्त र माई बस्ने आश्रमसमेत निर्माण गरिएको छ। 
यहाँका अन्य धार्मिक स्थानको पनि कम महत्व छैन। श्रीस्थानबाट आधा घण्टाको पैदल यात्रापछि उत्तरतर्फ पर्ने नाविस्थान पुगिन्छ। श्रीस्थानमा जस्तै नाविस्थानमा पनि इन्द्र ज्वाला र बडी ज्वालाका नामले दुईवटा ज्वाला अहोरात्र बलिरहेको देखिन्छ। यहाँ कालभैरबको मन्दिर छ जसलाई पूजा गर्ने दिन पुजारीले बाहेक अरु कसैले हेर्न नहुने मान्यता छ। नविस्थानबाट दुई घण्टा पैदल यात्रापछि उत्तर पश्चिममा पर्ने टाकुरा पुगिन्छ जहाँ धुलेश्वर मन्दिर छ। महादेव पार्वती र राधा कृष्णको प्रसन्न मुद्राको महत्वपूर्ण मूर्तिहरु यहाँ देख्न पाइन्छ। यो नेपालको एकमात्र ज्वालामुखीको चिह्न भएको स्थान हो। 
पादुका पञ्चकोशी तीर्थस्थलको अन्तिम महत्वपूर्ण क्षेत्र हो। धुलेश्वरबाट दुई घण्टा पैदल यात्रा गरी यस क्षेत्र पुगिन्छ। मध्यपहाडी लोकमार्ग भएर गएर १ घण्टामै पादुका मन्दिर क्षेत्रमा पुगिन्छ। धार्मिक र पुरातात्विकरूपमा पादुका निकै महत्वपूर्ण मानिन्छ। पादुका मन्दिरमा कुनै कालखण्डमा बौद्ध विहारसमेत रहेको त्यहाँका अवशेषले देखाएका छन्। 
महत्वपूर्ण मूर्तिहरु रहेको यस क्षेत्रमा पश्चिम नेपालका तत्कालीन शक्तिशाली शासक अशोक मल्लको पालामा पादुकाको २ मिटर अग्लो ४५ सेन्टिमिटर चाक्लो ढुंगाको स्तम्भमा इ.सं. १२४० मा कुदिएको एसियाकै दुर्लभ मानिने बुद्धको मूर्ति पनि छ। सँगै दुर्लभ चार हाते गणेशको मूर्तिसमेत छ। धार्मिक दृष्टिकोणले पञ्चकोशी क्षेत्रको निकै ठूलो महत्व हुँदाहुँदै यो क्षेत्रमा निरन्तर बलिरहेका ज्वालाकै कारण नेपालको कुनै भू–भागमा पेट्रोलियम पदार्थ हुनसक्ने अनुमान बेलाबेलामा सार्वजनिक हुने गरेका छन्।

प्रतिक्रिया