Wednesday 31 Ashwin, 2075 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

भान्सामा विष

(0 votes)
काठमाडौं उपत्यकाका अधिकांश भान्सामा तरकारीसँगै विष पाक्ने गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको तरकारीमा विषाक्त पदार्थको अवशेषको परीक्षणमा केही तरकारीमा ९० प्रतिशतसम्म विषालु पदार्थको अवशेष भेटिएको छ। 
सम्पादकीय

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
यो विषालु पदार्थ कीरा मार्न प्रयोग गरिएको विषादीको अवशेष हो। सामान्यतया यस्तो विषाक्तताको ३५ प्रतिशतसम्म अवशेषमात्र मानव प्रयोगका लागि उपयुक्त मानिन्छ। कालीमाटी फलपूल तथा तरकारी बजार उपत्यका प्रमुख थोक तरकारी बजार हो। सहरका अधिकांश व्यापारीले त्यहीँबाट तरकारी किनेर बेच्छन्। सम्बन्धित सरकारी अधिकारीहरूको टोलीले गरेको छड्के परीक्षणमा कालीमाटी तरकारी बजारमा बेचिने खुर्सानी, भेडे खुर्सानी, आलुजस्ता तरकारीमा विषादीको अवशेषको मात्रा धेरै पाइएको छ। यस्ता विषाक्त पदार्थ खाँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अनुसन्धानहरूबाट पुष्टि भएको छ। विषादीको अवशेष भएको खानेकुरा खानेहरूको स्वाथ्यमा पर्ने असर केही तत्काल देखिन्छ भने केही धेरै कालपछि देखापर्छ र गम्भीर प्रकृतिका रोगहरूको कारक बन्नपुग्छ। 
कृषिको आधुनिकीकरण गर्ने प्रयाससँगै कथित उन्नत जातका बीउको प्रयोग बढ्न थाल्यो। त्यसपछि स्थानीय बीउमा नलाग्ने रोग र कीरा विकासे बालीमा लाग्न थालेपछि कीरा मार्ने विषादी पनि प्रयोग गर्नुपर्ने भयो। किसानहरूलाई सुरुमा त्यस्तो विषादीको प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्नेसमेत थाहा थिएन। विकासे मल र बीउ किन्न गरेको खर्च उठाउनैका लागि पनि किसानहरू बालीमा विष छर्न बाध्य भए। रैथाने बीउ मासिँदै जाने र प्रांगारिक मलबाट मात्र बाली नसप्रने भएपछि किसानहरू विकासे खेतीको चक्रमा परे। त्यही चक्रबाट उम्किन नसकेपछि अधिकांश किसानले जानीजानी खानेकुरामा विष हाल्ने गरेका छन्। विडम्बना, तिनले थाहा जानीजानी आफ्नै सन्तानलाई समेत विष खुवाउने गरेका छन्।
अब किसानलाई गुजारामुखी खेतीमा फर्काउन सकिँदैन। उन्नत बीउ, प्रविधि र रासायनिक मल र केही हदसम्म कीटाणु नाशक विषादीको प्रयोग पनि अब किसानका लागि अपरिहार्य भइसकेको छ। किसानलाई यस अवस्थामा सरकारकै गलत नीतिले पुर्या एको हो। आयात प्रतिस्थापनका लागि पनि देशभित्र तरकारी खेतीको उत्पादकत्व बढाउनु आवश्यक छ। केही वर्ष यता हरियो तरकारीमा देश क्रमशः आत्मनिर्भर पनि भइरहेको छ। तर, किसानको आर्थिक हित रक्षाकै लागि सम्पूर्ण उपभोक्ताको स्वास्थ्यमा हेलचेक्य्राइँ गरिरहन त सकिँदैन। सायद, यही कारणले कालीमाटी फलफूल तथा तरकारी बजारमा तत्काल विषादीको अवशेष परीक्षण गर्न सकिने क्षमतायुक्त प्रयोगशाला स्थापना गरिएको हुनुपर्छ। त्यस्तो प्रयोगशालाको प्रयोग र त्यसको परिणामप्रति संवेदनशील हुने हो भने स्थितिमा सुधार हुनसक्छ। 
तरकारीलाई विषमुक्त बनाउन सरकार, किसान, व्यापारी र उपभोक्ता सबैको संयुक्त प्रयासबाट मात्र सकिन्छ। सबैभन्दा पहिले त सरकारले खाद्य पदार्थको गुणस्तर कायम राख्न विशेष प्रयास गर्नुपर्छ। बजारमा आउने तरकारीलगायतका खाद्य पदार्थको उपभोग्यताको परीक्षण हुने व्यवस्था मिलाउनुपर्छ। तरकारीजस्तै बजारमा बेचिने मासु, माछा पनि अस्वथ्य भेटिने गरेको छ। खाद्य पदार्थको गुणस्तरमा सम्झौता गर्न हुँदैन। मानव उपभोग्य स्तरको नभए खाद्य पदार्थ बजारमा बेच्न नदिने हो भने तरकारी किसानमात्र हैन अरू खाद्य पदार्थका उत्पादक र व्यापारी पनि सचेत हुनेछन्। यसैले सबैभन्दा पहिले सरकारले आवश्यक नियमकानुन, जनशक्ति, भौतिक साधनस्रोतको पर्याप्त व्यवस्था मिलाएर खाद्य परीक्षण र गुणस्तर निर्धारण क्षमता बढाउनुपर्छ र प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्छ। त्यसपछि किसान र व्यापारीलाई विषाक्त पदार्थ बेचबिखन गर्दा हुने हानिका बारेमा राम्ररी जानकारी दिनुपर्छ। किसानलाई त चेतनासँगै विषादी र रासायनिक मलको पनि विकल्पका बारेमा जानकारी दिनुपर्छ। रासायनिक मल र कीटाणु नाशक विषादीको मानव स्वास्थ्यमा असर नगर्ने विकल्प खोज्न र प्रयोग गर्न पनि किसानलाई सिकाउने र सगाउने दायित्व पनि सरकारकै हो। किसान पनि आफ्नै सन्तानलाई विष खुवाउने कृषि अभ्यासको विकल्प खोज्न अग्रसर हुनुपर्छ। उपभोक्ताले विषको मात्र बढी भएको तरकारी नकिन्ने, पकाउँदा सकेसम्म विषमुक्त बनाउन प्रयास गर्नेजस्ता सावधानी अपनाउनुपर्छ। अहिले सबै पक्षले बेवास्त गर्ने हो भने यसको स्वास्थ्यमा पर्ने असरको कहालीलाग्दो मूल्य चुकाउनु पर्नेछ।

प्रतिक्रिया