Thursday 4 Magh, 2074 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

मोदिआइन र मोदी माया

(0 votes)
लडाका र राजनीतिकर्मी हुनुका साथै बेलायतका प्रधानमन्त्री विन्सटन चर्चिल लेखक पनि थिए। शब्दको शक्ति र वाक्यहरूको अमरत्व बुझेर उनले घोषणा गरेका थिए- 'इतिहासले मलाई कसरी सम्भि्कनेछ भन्ने मलाई राम्ररी थाहा छ। म स्वयं जो इतिहास लेख्नेवाला छु।’ तर वृत्तान्त होस् वा आख्यान पाठलाई अर्थ पाठकले दिने हो। र चर्चिललाई सबैले उनले चाहेजस्तो मात्र सधैँभर सम्भि्कँदैनन्। गान्धीको सालिक अब बेलायतमा जो पुगेको छ।
सीके लाल

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-june
बीपी कोइरालाले आफ्नो समय लेखे। उनका वृत्तान्त एवं आख्यान इतिहासका कच्चा पदार्थ हुन्। झन्डै आधा शताब्दीसम्म नेपालको इतिहासका प्रमुख पात्र भएकाले उनका कृतिले उनको विभिन्न कालखण्डका मनःस्थिति एवं उत्प्रेरणाले घटनाक्रमलाई कसरी प्रभावित गरेको थियो भन्ने ठम्याउन पनि सघाउन सक्छ। त्यस किसिमका अध्ययनहरू समयक्रममा हुँदै जानेछन्।
सन् १९६४ जनवरी महिनाको ठिहिरोले सुन्दरीजल बन्दी गृहभित्र बीपीको मस्तिष्कलाई समेत चिसो तुल्याएको हुनुपर्छ। दुई तिहाइ बहुमतका प्रधानमन्त्री जेलमा जाकिँदा पनि मुलुकमा पातसमेत हल्लिएको थिएन। उनले पत्याएका युवा सहकर्मीमध्ये थोरैमात्र उनीसँग बाँकी थिए। नेहरु, केनेडी र माओमध्ये कसैले पनि विश्व र एसियाली प्रजातान्त्रिक आन्दोलनका अगुवामध्ये एक प्रमुख पात्र मानिने बीपी कोइरालाका पक्षमा औपचारिकता पूरा गर्ने टिप्पाीबाहेक अरू केही गरेका थिएनन्। मनमस्तिष्क चिसिएको त्यस्तो मनःस्थितिमा ऊर्जा नवीकरणका लागि उनी बाल्यकालतिर फर्किएको हुनुपर्छ। आखिर ज्ञान भनेकै चिर बालसुलभ सहजता र उत्सुकता न हो।
तीन दिनमा लेखिसिध्याइएको लघु उपन्यास मोदिआइन आकारका आधारमा लामो कथाजस्तो मात्रै छ। गोजीमा राख्न मिल्ने किसिमको पुस्तिकामा जम्माजम्मी ४२ पृष्ट छन्। कथावस्तुको गहनता हेर्दा भने यो साँच्चिकै उपन्यास नै हो। आधुनिक युगको एउटा 'एपिक' महागाथा, गद्यात्मक महाकाव्य। सानो पुस्तिकाभित्र युद्ध, प्रेम, लैंगिकता, सौन्दर्य, लालसा, आक्रोश, नैतिकता इमान, भय, बहादुरी, छल, त्याग, निस्सारता एवं अदमय आकांक्षाजस्ता भावलाई बालसुलभ सहजताका साथ दर्शाइएको छ। कुनै पनि कृतिको महत्व मापनका लागि आधा शताब्दी लामो कालखण्ड होइन। तर, निरन्तर सान्दर्भिकतालाई कालजयी कृतिको स्वीकार्य परिभाषा मान्ने हो भने 'मोदिआइन’लाई पटकपटक पढिनुपर्ने ग्रन्थमा गणना गर्नुपर्छ।
अंग्रेजी भाषामा विदियाधर सुरजप्रसाद नैपौललाई शब्द र भाव संयोजनका अद्वितीय शिल्पकार मानिन्छ। उनलाई प्रदान गरिएको स्कानेडेभियन पुरस्कारमा भूराजनीतिको भूमिका पनि हुनसक्छ। शब्द कर्मका लागि प्राप्त गरेको पाठकको सम्मान भने उनको नितान्त निजी उपलब्धि हो। उत्कृष्ट लेखनको गहनताका बारेमा नैपौलको भनाइ जर्ज अरवेलको भन्दा ठ्याक्कै उल्टो छ। अरवेल भन्छन् — लेखन पारदर्शी सिसाजस्तो होस् जहाँबाट हेर्दा संसार देखियोस्। समसामयिक टिप्पणी सायद त्यस्तै हुनुपर्छ। तर, पारदर्शी ऐनामा अनुहार त देखिँदैन। त्यसैले साहित्यिक लेखनमा प्रत्येक शब्द र वाक्यले एकभन्दा बढी कुरा बोल्न सक्नुपर्छ। अनिमात्र पाठकले प्रत्येक पाठभित्र आआफ्नो समय र संसार भेट्टाउन सक्छन्। त्यसैले मोदिआइनजस्ता पुस्तकहरू इमान र नैतिकता बुझ्न बारम्बार पढ्नुपर्ने हुन्छ।
जीवन बोध 
बीपीको जीवनशैलीका अन्तरविरोध उनको कालखण्डका असंगतिहरूबाट जन्मिएका थिए। एकातिर उनलाई नेहरूको बौद्धिकता र विलासिताले प्रभावित गरेको थियो भने अर्कोतिर गान्धीको सादा जीवन उच्च विचारयुक्त नैतिकताले पनि उत्तिकै उत्साहित बनाएको थियो। राजा महेन्द्रलाई हेर्थे, बेलायतको इतिहास सम्झन्थे। गणेशमान सिंहतर्फ नजर उठाउँदा भने फ्रान्सेली क्रान्तिको चित्र आँखा अगाडि आउँथ्यो। सुन्दरीजल बन्दी गृहले शास्वत राजनीतिक प्रश्नहरूबारे घोत्लिन बीपीलाई स्थान, समय र परिस्थिति सबैको संयोग एकैसाथ जोडिदिएको थियो। सुन्दरीजलपछिका बीपी शस्त्र उठाउन लाग्दा होस् वा शास्त्रार्थ गर्दा क्रान्तिकारीभन्दा पनि कर्मयोगीजस्ता भएर देखापरेका छन्।
राजनीतिक उत्प्रेरणाका रूपमा मोदिआइनको बोली बीपीको कानमा पछि भोला चटर्जीलाई अन्तर्वार्ता दिँदासम्म पनि गुन्जिरहन्छ- 'नानी, ठूलो नहुनु, वीर नहुनु। असल हुनु असल।’ निर्देशको पहिलो भाग निषेधात्मक छ। मायालोकको आकर्षण जो बलियो हुन्छ। स्वर्णमयी लंकाले नपुगेर रावणका आँखा असम्भवहरूतिर भौँतारिन्छन्। राजपाठ छाडेकी युवराज्ञी सुनौलो मृगचर्मको लोभ संवरण गर्न सक्तिनन्। अरूभन्दा फरकमात्र हैन माथि पनि हुने लोभ अधिकांश पापको कारण हो। र, त्यसका लागि वीर बन्नुपर्छ। किनभने, शास्त्रले भन्छ 'वीर भोग्या बसुन्धरा'। तर, भोग र सुख भने भिन्दाभिन्दै अनुभूति हुन्। महाभारतको पुनर्कथनद्वारा मोदिआइन देखाउँछिन् क्षणिकताबाहेक भोग र सुखमा अरू कुनै तारतम्य छैन।
असल हुने अर्ती अझ बढी जटिल भएकाले त्यो निर्देश दोहोर्याकइएको छ। असल हुनलाई नियतिबोध हुनुपर्ने हुन्छ। जे छ, त्यसभन्दा राम्रो हुनुपर्छ। तर, व्यक्तिको प्रयत्नले घटनाक्रम बदल्न सकिन्छ। परिणाम त ऐतिहासिक शक्तिहरूको परस्पर संयोजनबाट आउने हो। कर्ममा मात्र नियन्त्रण छ भन्ने उक्ति भाग्यवाद नभएर नियतिबोध हो। असल हुनु भनेको तयार रहनु हो जस्तोसुकै सम्भावनाका लागि पनि। असल हुनु भनेको कमसल नहुनु हो। अर्थात्, निरन्तर उत्कृष्ठताको खोजमा लागिरहनु हो। अथक र अपराजित तर निरन्तर नम्र।
असल शब्द मोदिआइनको निर्देशमा दोहोरिँदा भने जोड दिइनुका साथै नयाँ अर्थ बोकेर आउँछ। नैपौलका शब्दमा भन्ने हो भने तथ्य, भाव वा विचारको विवरणमात्र नभएर कृति हुनका लागि लेखनले पाठकमा सिर्जनात्मक शक्ति सञ्चार गर्न सक्नुपर्छ। त्यसपछि मात्र अर्थहरू एकपछि अर्को खुल्दै जान्छन्। सायद, त्यसैले पढ्न योग्य पुस्तक एक पटकमात्र पढेर हुँदैन। पटकपटक पाठमात्रै गरेर पनि 'पाठ’को भेउ पाउन सकिँदैन। अर्थ्याउने सामर्थ्यका लागि पृष्ठभूमि, सन्दर्भ एवं सम्भावनाको आलोकमा पाठहरूको बारम्बार पठन गरिनुपर्छ। कुनै क्रिया वा विशेषणबिनाको दोस्रो 'असल’ले मोदिआइनको अर्तीमा आदर्शतिर इंगित गर्छ। निरन्तर सुधारबारे सोच्न बाध्य बनाउँछ।
आदर्श भन्ने शुद्धता होइन। शुद्धताको अवधारणामा पतित भएको व्यक्ति पुनः पवित्र हुनसत्तै्कन। आदर्शले भने डाँकालाई महाकविका रूपमा प्रतिष्ठापित हुने अवसर प्रदान गर्छ। मूल प्रश्न सफा नियतका साथ निरन्तर गरिने प्रयात्नको हो। सुन्दरीजलपछिका बीपी इतिहास बदल्ने राजनेताभन्दा पनि राज्य र समाज रूपान्तरण गर्ने अभियानप्रति समर्पित अगुवाका रूपमा देखिन थाल्छन्। अगुवाको अर्थ राजनीतिक वादहरूभन्दा पनि आदर्श अभिप्रेरित बन्न पुग्छ। आदर्शमा प्रश्नहरू हुन्छन् वादजस्तो एकोहोरोपन हुँदैन।
आदर्श अभिप्रेरित परिकल्पनामा सर्वोच्च नेतृत्व, सोपान तन्त्र, पूर्वनिर्दिष्ट कार्यसूचीभन्दा सरसल्लाहको संस्कृति निर्माण महत्वपूर्ण बन्नपुग्छ। त्यसैले उनको संसदीय परम्पराप्रतिको प्रतिबद्धता बढेर जान्छ। आर्थिकरूपमा भने उनी स्वावलम्बन खोज्न चाहन्छन्। नेहरुको दिग्दृष्टि एवं गान्धीको ग्राम्य चेतनाबीच तारतम्यको खोजी गर्दागर्दै उनी समाजवादलाई पुनर्परिभाषित गर्ने अभिभारा भावि पुस्ताको काँधमा बिसाएर जुलाई २१, १९८२ मा अनन्त यात्रामा हिँडिदिन्छन्। उनका पाठहरू भने पठनका लागि खुला छन्।
मोदिआइन एक ठाउँमा भन्छिन् — ' ठूला मानिस थरीथरीका हुन्छन्। असल मानिस भने एकथरीका मात्र हुन्छन्।’ समसामयिक अर्थराजनीतिमा ठूलो मानिस बन्ने होड छ। त्यसले द्वन्द्व त निम्तिने नै भयो। प्रत्येक शान्तिकाल आसन्न युद्धको निरन्तर तयारी आधुनिक राज्य व्यवस्थाको अवधारणामै अन्तर्निहित छ। सायद त्यसैले दुनियाभर नै निरन्तर बढ्दै गएको राजस्व खर्च चाहिँ आन्तरिक र बाह्य सुरक्षा भएको हो। युद्ध प्रधानता नै मानव सभ्यताको अपरिहार्य आवश्यकता हो भने मृत्यु आलिंगनको प्रतीक्षामा रहेको व्यक्तिले सबै सुख भोग्न चाहन्छ भने त्यसमा के आश्चर्य? आकांक्षा असीमित भए पनि स्रोत जति नै प्रचुर भए पनि अपुग नै रहिरहन्छन्। असमान वितरणले गर्दा पछाडि पारिएकाहरूका लागि धर्म अफिम हुने गर्थ्यो। आजभोलि धर्म र वाद एकसाथ जोडिएर झन् ठूलो उन्माद उत्पन्न गराउने उत्तेजक तत्व बन्नपुगेको छ। यस्ता विसंगतिहरू बीच राजनीतिमार्फत् 'असल’ कसरी हुने? बीपी विश्लेषक, विचारक वा दार्शनिक नभएर लगनशील राजनीतिकर्मी थिए। र दर्शनको साटो दृष्टान्त, विचारका ठाउँमा व्यावहारिक राय एवं लाभहानिको लेखाजोखाभन्दा आदर्श कायम गरेका छन्।
समृद्धि स्वप्न
'एक हल गोरु र दुधालु गाई' स्वावलम्बी उत्पादन प्रणालीको प्रतीक हो। त्यसलाई हाते ट्य्राक्टर एवं सुँगुर पालन वा ससाना औजार बनाउने मेसिन र हतौडाजस्ता चिह्नहरूसँग जोडेर पनि बु‰न सकिन्छ। तर, मानव श्रम निर्यातबाहेक अरू सबैथोक आयात गर्ने परावलम्बी अर्थराजनीतिमा बीपीको सामान्य मानिसको सपना चित्रित गर्ने प्रयत्न खिसी गर्ने कथा बन्न पुगेको छ। डोजर लगाएर दस वर्षभित्रमा करिब ५५ हजार किलोमिटर भन्दा बढी ग्रामीण सडक खन्न भ्याएको विकासे बुद्धिमा 'सबै पत्रकारलाई कार ’ जस्तो बेकार उद्घोषबाहेक अरू कुरा फुर्दैन। नेपाली राजनीतिकर्मीमध्ये थोरैले मात्र अब बीपीको प्रासंगिकतालाई स्वीकार गर्ने गर्छन्। उनी तस्बिर र सालिकमा सीमित भइसकेका छन्।
एक त बीपीलाई पढ्ने नै थोरै छन्। तिनमा पनि उनलाई बुझ्ने कति होलान्? बुझ्नेले पनि गम्ने प्रयास गर्दैनन्। सोच्न सबैभन्दा बढी ऊर्जा खर्च जो हुन्छ। र, प्राणी भने स्वभावतः ऊर्जा सञ्चय गर्ने प्रवृत्ति लिएर जन्मेको हुन्छ। गम्नेहरू झन् अत्तालिन्छन्। किनभने बीपीले न कुनै सूत्र दिन्छन् न समाधान। बरु विकल्पबारे मनन गर्ने खुला चुनौती पो प्रस्तुत गर्छन्। त्यसैले फूल अक्षता चढाउने, शान्ति स्वस्ति गर्ने र श्लोक वाचन गर्नेबाहेक प्रजातात्रिक समाजवादको अवधारणाबारे खासै चर्चा हुँदैन। राष्ट्रियता संवर्धन गर्ने संघीयताको अवघारणा घाँडोजस्तो विषय बन्न पुगेको छ। चर्चा छ, भने चारैतिर मोदीको। हरहर मोदी, मध्यमवर्गको घरघर मोदी।
'अँ, मोदी कहिले नेपाल आउने रे? साउनको सोमबार पारेर आउँछन् रे नि त! विकासका बडेमानको पोको बोकेर आउने भएका छन्। र अन्त्यमा हिन्दी नारा : अच्छे दिन आने वाले है!’ यस्तै यस्तै गफ आजभोलि भजनमण्डीदेखि भोजन मण्डलसम्म सुन्न सकिन्छ। नेपालका मिडियामा एकताका नीतिशकुमारको जयजय हुने गर्थ्यो। अहिले मोदीनोमिक्स चल्तीको थेगो भएको छ। नेपालका लागि मोदी मोह भने अनपेक्षित परिणाम दिने ठहरिनसक्छ।
बीपीकी मोदिआइन असल बन्ने अर्ती दिन्छिन्। भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी ठूलो बन्ने ध्येयमा दत्तचित्त भएर लागेका छन्। सरकार त उनको नियन्त्रणमा थियो नै हत्या र अपहरणका साथै घृणात्मक नारावाजीका आरोपीलाई सत्ताधारी दलको सर्वोच्च पदमा सर्वसम्मत अध्यक्ष बनाउन लगाएर भारतीय जनता पार्टीलाई समेत आफ्नो काँधे झोलामा हाल्न भ्याएका छन्। उनको बजेटले गरिबीको साटो गरिबका विरुद्ध अभियान सञ्चालन गर्नेछ। आखिर विकास 'युद्धस्तर’मै न गर्ने गरिन्छ। युद्धस्तरको मानसिकताले त्यही अनुकूल सोच पनि उत्पन्न गराउँछ। अधिकारको केन्द्रीकरण आवश्यक लाग्न थाल्छ। आलोचकहरू शत्रुजस्ता देखिन्छन्। र, प्रक्रियाभन्दा परिणाम महत्वपूर्ण बन्नपुग्छ। अर्जुन दृष्टि, योद्धाभाव!
क्रान्ति बाजा बजाउँदै र नाचगान गर्दै आउँछ। प्रतिक्रान्तिमा सैनिक परेड, बुटको पदचाप र बिगुलको आवाज मिसिएको हुन्छ। निर्वाचित निरंकुशता एवं वैधानिक अधिनायकवाद मुस्कुराउँदै हात जोड्दै र सपना बाँड्दै घरदैलोमा पुग्छ। भारत त्यतातिर उन्मुख हुने हो भने त्यहाँका प्रान्तीय सरकार छेकबार भएर देखिन सक्छन्। कमजोर भइसकेको भए पनि प्रतिपक्ष जीवन्त छ। राज्यका संयन्त्रहरू स्वतन्त्र संस्था बन्ने क्रममा छन्। देशभित्र मोदनोमिक्सले केही राम्रो पनि गर्ला तर धेरै बिगार गर्न सक्नेछैन। त्यस कार्यक्रमको प्रभावले छरछिमेकमा भने वित्यास निम्त्याउन सक्छ। 
राजा वीरेन्द्रले 'विकासका लागि राजनीति’को नारा दिएका थिए। बहुमतका नाममा गरिने 'समृद्धिका लागि राजनीति’ तात्विकरूपमा राजा वीरेन्द्रको बासी नारा फरक हो भने त्यो कुरा जनवृत्तमा आएको छैन। आसन्न बजेटमा समता र सामाजिक न्यायका मुद्दा कसरी सम्बोधित हुने हो हेर्न बाँकी छ। नाम उही, अनुहार उही। विचार त्यही व्यवहार उनी। अनि नयाँपनको आशा कहाँबाट पलाउँछ? समृद्धिकै लागि राजनीति गर्ने हो भने त आवास, मोटर एवं तजबिजी रकमजस्ता दाबी जायजै छन् नि!
मोदिआइनमा अनेकौं रूपमा अर्थ्याउनसक्ने एउटा वाक्य छ- 'अठार अध्याय गीता श्रवण गरिसकेपछि मानव रहँदैन, त्यो ईश्वरारुढ व्यक्ति हुन्छ र तसर्थ अतुल शक्तिबाट विद्युन्मय। ’ सन् १९६० कै दशकताका सम्म पनि कम्तीमा शास्त्री नभएसम्म गृहस्थले गीता पढ्नु हुन्न भन्ने मान्यता मिथिलातिर व्याप्त थियो। अब त पढ्ने कष्ट पनि गर्नुपर्दैन। उद्धरण सुनेर उद्वेलित भए पुग्छ। र, ईश्वरारुढ अरू पनि हुनसक्छन्। जे पनि गर्नसक्छन्।
गठबन्धन सरकारको दाबीलाई मान्ने हो भने नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपाका बीच नीतिगत भिन्नता केही पनि छैनन्। सबै 'समृद्धिका लागि राजनीति’को सूत्रमा एक समान प्रतिबद्ध छन्। त्यसो भए बजेट भाषणको पाठसँगै एक एक प्रति मोदिआइनको पुस्तक बाँड्न कसैलाई आपत्ति नहोला। मोदी मोहबाट मुक्तिका लागि मोदिआइनको सर्सर्ती पठन पनि सहयोगी ठहरिन सक्छ।

प्रतिक्रिया