Thursday 4 Magh, 2074 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

समाजवादका नियन्ताको सम्झना

  • मङ्गलबार ६ श्रावण, २०७१
  • बद्रीप्रसाद दाहाल
  • Be the first to comment!
(0 votes)
नेपाली राजनीति र साहित्यलाई आधुनिकताको राजमार्गमा मार्च गराउन अब्बल भूमिका प्रदान गर्ने नेपालका गणनीय सुपात्रमध्ये अग्र लहरमा देखिएका महापात्र हुन् बीपी कोइराला । राजनीति र साहित्यलाई मानव जीवनको पृथक/पृथक पाटा स्वीकार गरेर पनि यी दुईको समान महत्व दिने उनी एक सशक्त चिन्तक र प्रतिभा सम्पन्न सिर्जना साधक हुन्।
nepali-patro-june
पिता कृष्णप्रसाद दम्पतीको भारत प्रवासले बीपीको जन्म र शिक्षादीक्षा त्यही भूमिमा हुन पुग्यो। बेलायती उपनिवेशविरुद्धको भारतीय स्वतन्त्रता संग्रामका विख्याति प्राप्त नेता र मूर्धन्य साहित्यकारहरुको सङ्गत एवं बस–उठले बीपीमा पनि नयाँ हौसला प्राप्त भयो। जसले साम्राज्यवादी तथा एकाधिकारवादी तागतसित जुध्ने संस्कार विकास हुन थाल्यो। त्यसैले त उनी प्रथम पटक मोतिहारी षड्यन्त्र काण्डको अभियोगमा अंग्रेज शासकद्वारा वि. सं. १९८७ मा गिरफ्तारीमा परे। वनारस कम्युनिष्ट विद्यार्थी संघका संस्थापक सचिव रहेका उनी १९९२ वि. सं.मा 'भारतीय कङ्ग्रेस सोसलिस्ट पार्टीको सक्रिय सदस्य बनेर सो पार्टीको मुखपत्र 'जनता' को सम्पादक भए । लगत्तै वि. सं. १९९३ माघमा झापाका बडाहाकिम कमलप्रसाद दाहालकी सुपुत्री सुशीलासित यिनको लगनगाँठो कसियो। राजनीतिशास्त्र, कानुन र अर्थशास्त्रमा स्नातक यिनी १९९५ वि.सं. तिर केही समय वकालत पेशा पनि गर्न पुगे। कङ्ग्रेस सोसलिस्ट पार्टी बिहार शाखाका सचिवसमेत बनेका बीपी 'भारत छोडो' भन्ने आन्दोलनमा १९९९ साउनमा अंग्रेज शासकद्वारा गिरफ्तारीमा परे। हजारीवाग जेलमा डा. राजेन्द्रप्रसाद जस्ता नेताहरुसँगै बन्दी जीवन बिताए। 
भारतीय स्वतन्त्रता संग्रामका राता र ताता महापुरुष नेताजी सुभासचन्द्र बोस जो 'सत्ता छिनने से मिलती है, मागने से नही मिलती, तुम मुझे खुन दो मै तुझे आजादी दिउङ्गा' भन्ने क्रान्तिकारी विचार राख्थे। हो, त्यो धाराले पनि बीपीमा गहिरो प्रभाव पारेको थियो। त्यसै भएर उनले वि.सं.२००३ कात्तिक १५ गते 'अखिल भारतीय नेपाली राष्ट्रिय कङ्ग्रेसको संयोजक भई सुब्बा देवीप्रसाद सापकोटा, बालचन्द्र शर्मा, कृष्णप्रसाद भट्टराई, गोपालप्रसाद भट्टराई र ईश्वर बरालजस्ता पदाधिकारी राखी सो संस्थालाई क्रियाशील बनाउन थाले। यसको उद्देश्य नेपालमा अहिंसात्मक साधनद्वारा जनताको सहयोगले उत्तरदायी शासन स्थापना गर्नु र भारतीय स्वतन्त्रता संग्राममा पनि पूर्णरूपले साथ दिनु थियो। त्यसैले त्यहाँबाट प्रकाशित हुने अंग्रेजी दैनिक 'सर्च लाइट' मा बीपीले आफ्ना अपिल प्रकाशित गरेर जहानिया राणाविरुद्ध क्रान्ति आह्वान गर्न पुगे। 
हामी यतिखेर यिनै क्रान्ति पुरुष बीपीको शतवार्षिकी मनाउन देश र विदेशमा समेत विविध सामाजिक, साहित्यिक, सांस्कृतिक तथा रचनात्मक अनुष्ठानमा क्रियाशील छौं भने अर्कोतिर साउन ६ गतेकोे तेत्तीसौं स्मृति तिथिको अनुशीलनमा अभ्यस्त पनि। मात्र केही हप्ताअघि बीपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिको आयोजनामा उनको शतवार्षिकीलाई लक्ष्य गरेर अन्तर्राष्ट्रिय स्तरको समाजवादी सम्मेलन काठमाडौंमा सम्पन्न भयो। जसको प्रमुख अतिथि नोबल पुरस्कार विजेता बर्माकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुची थिइन्। उनले मूलतः समाजवाद अधिकार उठानको अलावा उत्तरदायित्वको रुझान पनि हो भनेर झक्झक्याइन्। बीपीकै शब्दचाप पछ्याउँदै राजनीतिलाई जनसहभागितामूलक वा जनताकेन्द्रित बनाएर आर्थिक समृद्धिको दिशातिर देशलाई उठाउन समावेशीपरक राजनीतिक यात्राका लागि राजनीतिक दलहरु लाग्नुपर्ने मुद्दा उचालिन् लोकतान्त्रिक आन्दोलनकी उज्ज्वल ताराले। आधा दर्जनभन्दा बढी नेपालका पूर्वप्रधान मन्त्रीसित एक दिनमै आफ्नो कुराकानी भएको प्रसङ्ग जोडेर एकातिर प्रजातन्त्रको उज्यालोलाई आलिङ्गन गरिन् भने अर्कोतिर नेपालका नेताहरुको सत्तामुखी सोचमा व्यञ्जना ध्वनि पनि पस्कन पुगिन्। भेलामा समाजवादको शास्त्रीय परिभाषा र जटिल भाष्यतिर नअलमलिई आर्थिक र सामाजिक रूपान्तरणको सशक्त लोकतन्त्र उनको केन्द्रस्थल बन्यो। 
जननायक बीपी न कट्टर भौतिकवादी थिए न त घोर अध्यात्मवादी। त्यसै भएर उनले साहससाथ मुख खोले— 'भौतिकवादको चरम स्थिति स्वार्थ, इन्द्रिय सुख र असन्तोषको हाहाकार हो भने अध्यात्मवादको चरम स्थिति पनि रुढीगत विश्वास, व्यवहार र बौद्धिक अन्धता हो।' उनी यी दुवैलाई सम्झौता गराएर मानव जीवनको जटिलता चिर्दै व्यावहारिकरूपमा प्रस्तुत हुने मानव कल्याण चिन्तनतिर उज्यालो आँखा लगाउँथे । त्यसै भएर बीपी बोले- मानिस उसको विगतका सिर्जनामात्र होइन, बरु उसको भावी आकाङ्क्षा र ऊ के हुन चाहन्छको नतिजा पनि हो। भविष्य केवल मानिसका लागि हुन्छ, ईश्वर वा जनावरका निम्ति होइन। ईश्वर र पशुहरुका लागि भोलि भन्ने कुरै हुँदैन, मानिसका लागि भने भोलि सधैँ रहिरहन्छ।' यति यथार्थ र गम्भीर दृष्टिकोण मुखर भएको छ यी चिन्तनपरक वाणीमा जसले हाम्रो मुटु छुन्छ र दिमाग हल्लाउँछ । 
बीपीवादका तीन सबल आयाम छन्- राष्ट्रियता, लोकतन्त्र र समाजवाद। राष्ट्रियता मानव प्राण वा आदर्शको आलोक हो भने जनतन्त्र सिद्धान्त वा मानव शरीर अनि समाजवाद कार्यक्रम अथवा इन्द्रियहरुको क्रियाशीलता हो। प्लेटोको शब्दमा भन्नुपर्दा 'विवेक, साहस र बुभुक्षाको त्रिकोण।' पूर्वीय आचार्यहरुका भाषामा- धर्म, अर्थ, काम। सत्व, रज, तम वा ब्रह्मा, विष्णु, शिव अथवा सिर्जना, उन्नयन र कल्याण। 
बीपीको अनुभव र चिन्तनको गहिरो संयोजनबाट नेपालमा 'प्रजातान्त्रिक समाजवाद' को मार्ग प्रशस्त भएको हो। उनले लोकतन्त्र मिसिएको समाजवाद तेस्रो विश्व र असंलग्न आन्दोलनको प्राकृतिक मित्र हो भनेर ठोकुवा नै गरिदिए। उनले निश्चय गरेर बोले– 'समाजवादको अंकुशबिना तेस्रो विश्वका देश या फासिस्ट सैनिकवादतिर वा तानाशाही साम्यवादतर्फ या जडसूत्रवादी, प्रतिक्रियावादी धार्मिक अतिवादतिर बहकिने छन्। यसैले नेपालको भविष्य सुनिश्चित गर्ने हो भने राजनीतिकरूपमा प्रजातन्त्र र आमजनताका लागि न्यायपूर्ण आर्थिक विकास यी दुई नै समाजवादका मुख्य यात्रा हुन्। यी दुईको अभावमा गरिबी उन्मूलनका लागि भनिने आर्थिक विकास तथा राजनीतिक स्वतन्त्रता कोरा कल्पनामात्र हुनेछन्। यो आदर्शवादी वा जीवनका उच्च्ा मूल्यप्रतिको निष्ठाको प्रश्नमात्र होइन, अस्तित्वको कुरा पनि हो।' वास्तवमा आज नेपालमा कम्युनिस्ट भनेर आफूलाई चिनाउन गर्व गर्ने ठूला भनिने दलहरु यही बीपीको अधिकल्पना घुमाउरो तरिकाले ग्रहण गरेर आफ्ना विचार र सिद्धान्तलाई जनतासमक्ष लैजाने कसरतमा छन्। नेपाली कङ्ग्रेस भने आफ्नो नाभिको विना बिर्सिएर समाजपरक राजनीतिक अवधारणा पूर्वीय उत्सवमात्र हो भन्ने कर्मकाण्डी सोचबाट अधिग्रस्त छ। छ—छ पटक अर्थ मन्त्रीको अनुभव संगालेका वर्तमान अर्थ मन्त्रीको 'आर्थिक कार्यपातो' जाँतोको खुकुलो हातो र समाजवादको सातो लिने कनिका छराइ झारातिराइ बनेको छ। यसैले बीपीप्रति सच्चा स्मृति गर्ने हो भने राष्ट्रियता, लोकतन्त्र र समाजवादका नियन्ता बीपीका विचारबिन्दुमा समाहित भएर राज्यको बागडोर हाँकियोस्। हैन भने नेपालको राजनीतिक भविष्य अँध्यारो सुरुङतिर जाने पक्का छ।

प्रतिक्रिया