Thursday 4 Magh, 2074 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

सामान्य व्यक्ति : असामान्य व्यक्तित्व

  • मङ्गलबार ६ श्रावण, २०७१
  • हरिविनोद अधिकारी
  • Be the first to comment!
(0 votes)
यो वर्षको विश्वेश्वरप्रसार कोइराला (बीपी)को शतवार्षिकीको हेा। वि सं १९७१ साल भदौ २४ गते विश्वेश्वरप्रसाद कोइरालाको जन्म भएको थियो। लोकतन्त्रका पक्षमा चट्टानी अडान र लोकतन्त्रकै नयाँ व्याख्याले निधन भएको तीन दशकभन्दा बढी हुँदा पनि नेपाली राजनीतिलाई बीपीले नै झंकृत गरिरहेका छन्। सिद्धान्तसँग सम्झौता गरेका भए सायद उनी आजीवन प्रधानमन्त्री हुन्थे तर त्यसपछि उनको सान्दर्भिकता समाप्त हुनपुग्थ्यो।
nepali-patro-june
अहिले राजनीतिले राम्रोसँग बाटो समाउन नसकेको र लोकतन्त्रको स्वरूप र त्यसको परिणाममा प्रश्न उठिरहेका बेलामा बीपी कोइरालाको नाम बारम्बार आइरहन्छ। बीपी आधुनिक नेपालका अतुलनय अभियन्ता हुन्। बीपी नेपाली कांग्रेसको संस्थापक हुन् र नेपालमा लोकतन्त्रका लागि भएका सबै सफल आन्दोलनको नेतृत्व यही दलले गरेको छ। तर, उनको पहिचान र योगदान त्यत्तिमा सीमित हुँदैन। उनी नेपालका लोकतन्त्रवादी निर्भीक सपुत र सुखी, सन्तुष्ट र समृद्ध नेपालका परिकल्पनाकार पनि हुन्। यसैले होला, ३२ वर्ष पहिले अर्थात् २०३९ साल साउन ६ गते उनको निधनपछि अनुभव भएको राजनेताको अभाव अहिलेसम्म पूरा हुनसकेको छैन। नत्र, अहिलेको जस्तो तरल राजनीतिक अवस्था पक्कै समाप्त भइसक्थ्यो।
बीपीले आजीवन प्रजातन्त्रका लागि कसैसँग सम्झौता गरेनन्। यसैले उनी प्रजातन्त्रका पर्याय बन्न पुगे। उनका विरुद्धमा लाग्नेहरू सबैजसो नेपाली इतिहासमा खलनायकको भूमिकामा देखापरे। अन्ततः मुलुक लोकतान्त्रिक बाटोमा गएको छ। यथार्थमा यो बीपीको सैद्धान्तिक विजय हो। यसैले बीपीका विचार र चिन्तनको सान्दर्भिकता अहिले झन् बढेको छ। तर बीपीका सिद्धान्तलाई मान्ने भनेर आफूलाई नेपाली राजनीतिमा चिनाउन चाहनेहरूले समेत बीपीका विचार र चिन्तनका बारेमा न त नेपाली जनतासँग कुनै अन्तरक्रिया गरे, न त उनको सिद्धान्तलाई कार्यान्वयन गर्ने कुनै कोसिस नै गरेको देखिन्छ। 
जीवनको उत्तरार्द्धमा उनको दार्शनिक छवि बनिरहेकेा थियो। मुलुकलाई मुठभेडमा जान नदिई सहकार्य, सहयात्रा र सहमतिको बाटोमा सबैलाई लिएर हिँड्ने उनको ध्येय देखिन्थ्यो।। यसलाई उनले 'राष्ट्रिय मेलमिलाप’को नीति भनेका थिए। उनको मेलमिलापको नीतिलाई राजनीतिक कमजोरी मान्नेहरू नै अहिले सबैभन्दा बढी पछुताइरहेका छन्। अहिले पनि नेपाली राजनीतिमा मेलमिलापको विकल्प देखिएको छैन। अर्थात्, आज पनि बीपी नै सही पथप्रदर्शक देखिएका छन्। लोकतन्त्रको अपरिहार्यता उनको मूल मन्त्र नै थियो। अहिले त्यसमा पनि कसैको विमति देखिँदैन। 
मेलमिलापको बाटो देखाउने दार्शनिकलाई आजको पुस्ताले भने लोकतन्त्रको पर्यायका रूपमा चिनेको छ। यसैले नेपालमा लोकतन्त्रको कुनै पनि सन्दर्भ बीपीको प्रसङ्गबिना अधुरो हुन्छ। उनी कठिनभन्दा कठिन अवस्थामा पनि धैर्यसाथ लोकतन्त्रका पक्षमा अडिग रहे। अहिले देशमा लोकतन्त्रको विकल्परहित हुन पुगेको छ। लोकतन्त्रविरुद्धमा पटकपटक उभिएको शक्तिशाली राजतन्त्र समाप्त भयो। लोकतन्त्रविरुद्ध बन्दुक उठाउनेहरूसमेत अहिले लोकतान्त्रिक प्रक्रियाको प्रवाहमा हेलिएका छन। 
बीपीलाई प्रेरणाका स्रोत मान्नेहरूले नै उनलाई चिनेनन्। उनलाई विदेशी आँखाबाट हेर्न खोजे। अहिले शतवार्षिकीका नाममा प्रकाशित लेख, अन्तर्वार्ताजस्ता सामग्रीमा यस्तै प्रवृत्ति बढी पढ्न, हेर्न र सुन्न पाइन्छ। बीपीको अडिटवादी फर्मुलाको चर्चा हुँदा कतिपय उनका अन्तरंग सहकर्मीले समेत त्यसलाई उपहासको विषय बनाउँछन्। तर, पूर्वराजा ज्ञानेन्द्रलाई सबैभन्दा बढी जानकारी होला नेपालका कम्युनिस्टहरूले राजतन्त्रलाई कसरी ककसका विरुद्ध प्रयोग गरेका थिए भन्ने! आजको अवस्थ्ाासम्म आइपुग्दा २००७ साल देखिकै समग्र राजनीतिको विश्लेषण गर्दा राजाले आफूलाई मात्र राष्ट्रवादी शक्ति ठानेको र राष्ट्रवादको नारा दिने कम्युनिस्ट हौँ भन्नेहरूलाई विश्वास गर्नु नै मूलतः राजतन्त्रको विनाशका कारण हो। राजतन्त्र माओवादीसँगको आफ्नै अपवित्र संसर्गसमेतका कारण देशबाट विस्थापित हुनुपरेकेा हो। यसको पछिल्लो प्रमाण त तत्कालीन गृहमन्त्री कमल थापाले गरेको खुलासा नै हो। माओवादी र राजाका बीचमा हुने कुराकानीको थापा मध्यस्थ रहेको र धेरै राजनीतिक अराजनीतिक सम्झौता भएको थाहा हुन्छ। ती गोप्य सम्झौताको एउटा पाटोमा सशस्त्र प्रहरीको स्थापना र हतियार आपूर्तिका विषयमा बाहिर पनि देखिएको नै थियो। यस्ता गोप्य सम्झौताविरुद्ध सचेत रहन नै बीपीले इन्डोनेसियाका राष्ट्रपति सुकार्नोलाई विश्वास दिलाएर घेर्ने र सत्ता हातमा लिने त्यहाँको कम्युनिस्ट पार्टीका महासचिव आइडिटको विफल प्रयोगका बारेमा पटकपटक स्मरण गराएका हुन्। आइडिटको षड्यन्त्र त सेनाको हस्तक्षेपका कारण सफल भएन तर त्यसपछि इन्डोनेसियामा दशकौंसम्म सुहार्ताेको निरङ्कुश शासन चल्यो। नेपालमा पनि गिरिजाप्रसाद कोइरालाले माओवादी विद्रोहीलाई लोकतन्त्रको मूलधारमा ल्याउने जोखिम नउठाएको भए आजकेा नेपाल दक्षिणपन्थी र वामपन्थी उग्रवादको भासमा जाकिएको हुन्थ्यो। 
अडिटवादको जोखिमबाट नेपाल अहिले पनि मुक्त भइसकेका छैन। चीनमा राजतन्त्र हटाएको ३८ वर्षपछि कम्युनिस्टले लोकतन्त्रवादीलाई विस्थापित गरेका हुन्। सन् १९११ मा राजतन्त्र विस्थापित भएको ३८ वर्षपछिमात्र कोमिन्ताङ सदाका लागि सत्ताबाट बाहिर पारिएको थियो। अहिले चीनमा छिन, हान, मिङ वंशको बखान गरिन्छ तर आधुनिक चीनका वास्तविक निर्माता डा. सन यात सेनको कोमिन्ताङको सकारात्मक पक्ष देखाइँदैन। नेपालमा बेलाबेलामा संविधान निर्माणका प्रसंगमा सुनिने हठवादमा त्यस्तै कुनै दुरभिसन्धिको गन्ध आउँछ। 
विसं २०३८ सालको श्रीपञ्चमीका दिन साहित्यिक पत्रकार संघले बीपीको सम्मानमा एउटा समारोह आयोजना गरेको थियो। बीपीले त्यस दिन धेरै महत्वपूर्ण विचार व्यक्त गरेका थिए। उनले त्यस समारोहमा आफू 'लेफ्ट ह्यान्डेड क्रिटिक’ अर्थात् पक्ष बढी नै समर्थक र विपक्ष बढी नै आक्रामक हुने प्रवृत्तिको सिकार भएको गुनासो गरेका थिए। 
जेहोस्, अब बीपी राजनीतिक, साहित्यिक र समाजशास्त्रीय अनुसन्धानको विषय भएका छन्। हुनत, परस्पर विरोधी विचारमा एकैसाथ अडिग देखिने बीपीलाई दुई व्यक्तित्वमा चेपिएको अव्यावहारिक व्यक्तिका रूपमा समेत चित्रित गर्न थालिएको छ। तर, आफूलाई एकैसाथ 'समाजवादी’ र 'अराजकतावादी’ भएको घोषणा बीपीजस्ता पात्रलाई जे पनि छुट दिने कल्पनाशील लेखकले मात्र गर्नसक्छ। 
शतवार्षिकी समारोह जजसले मनाए पनि उनका व्यक्तित्वका वारेमा, समाजमा देखिएका र उजागर हुन बाँकी सामाजिक, राजनीतिक तथा साहित्यिक पाटोलाई विश्वसामु देखाउने अभीष्ट राखिनुपर्छ। यसका लागि व्यवस्थित र वैज्ञानिक अनुसन्धान आवश्यक हुन्छ। यसमा नेपाल सरकार, नेपाली कांग्रेस, र लोकतन्त्रका आस्था हुने सबै नेपालीको चासो र सहयोग आवश्यक छ। खासगरी उनका विभिन्न राजनीतिक, दार्शनिक लेख, साहित्यिक कृति तथा बेला मौकामा दिएका भाषणहरूको संग्रह यस अवसरमा संग्रहित र प्रकाशित हुनु जरुरी छ। जेल जर्नल र आत्मवृत्तान्तले जस्तै उनको जीवनका नयाँ नयाँ पाटाको उद्घाटन गर्ने अरू कति कृति होलान्, स्मरण होलान्।
महान् राजनेता, ठूला साहित्यकार, अनि मानवतावादी स्वप्नद्रष्टा दार्शनिकका रूपमा भने नेपालको अस्तित्व रहुन्जेलसम्म बीपी नेपाली मानसपटलमा रहिरहनेछन्।

प्रतिक्रिया