Thursday 4 Magh, 2074 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

शताब्दी विचार यात्रा

  • मङ्गलबार ६ श्रावण, २०७१
  • रामचन्द्र पोखरेल
  • Be the first to comment!
(0 votes)
जननायक बीपी कोइराला जन्म शताब्दी वर्ष एवं ३२ औँ स्मृति दिवसलाई नेपाली कांग्रेसले 'बीपी विचार यात्रा'का रूपमा पदयात्रासमेत गरी मनाउने भएको छ। यस कार्यक्रमले नयाँ पुस्तालाई बीपीका विचारसंग नजिक बनाउनुका साथै उहाँका सघर्षपूर्ण जीवनसँग समेत नजिक बनाउनेछ।
nepali-patro-june
वि.सं. २००४ सालको विराटनगर मजदुर हड्ताल नेपाली जनआन्दोलनको विशिष्ट प्रस्थान विन्दुमात्र नभई 'निरन्तर संघर्षको मसाल' ज्वलन पनि थियो। त्यतिखेर त्यस आन्दोलनलाई दमन गर्न राणा फौजले गोलीसमेत चलायो, व्यापक धरपकड गर्योव र कठोर दमनकारी नीति लियो। तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस (पछि नेपाली कांगे्रस) को कलकत्ता सम्मेलनको निर्णयप्रति पनि राणा सरकारले पूरै बेवास्ता गर्यो्। हड्तालमा समातिएका अन्य राजबन्दी रिहा गरिए पनि विश्वेश्वरप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मालाई भने अड्डासार गरी धनकुटा हँुदै पैदल काठमाडौं लैजाने निधो गर्योर। 
यसरी काठमाडौं लगिँदा तीन साताको पैदल यात्रा कडा सुरक्षा पहराबीच गराइएको थियो। हड्तालमा गिरफ्तार महिला– बीपीका आमा, दुई जना बहिनी र कामिनी देवी एवं बालचन्द्र शर्मा, गोपालप्रसाद उपाध्याय, युवराज अधिकारीहरूलाई भने धनकुटा जेलमा राखियो। हड्तालकारीलाई 'दस रुपियाँ' चन्दा दिएबापत पक्राउ परेका वीरप्रसाद श्रेष्ठ पनि साथै धनकुटा जेलमा राखिए। 
करिब ३०/३५ जनाको लस्करसाथ राजधानीतर्फ लगिँदा उहाँहरू बसेका वास, थकाइ मारिएका चौतारी, हिडाइएका बाटा र भेटिएका तथा हेर्न आएका मानिस अब धेरैजसो इतिहास भइसके। तथापि चर्चित त्यो 'जेल पदयात्रा' नेपालको लोकतान्त्रिक संघर्षको इतिहासमा अविस्मरणीय भएर रहेको छ। राणाहरुको सोच थियो त्रू्कर यातनाको प्रदर्शनले जनमानस त्रसित हुनेछ। तर त्यसो भएन। बरु त्यस 'पैदल चलान'ले पूर्वी नेपालको मध्यपहाडी भागको पूर्वपश्चिम हुलाकी मार्ग र त्यसको छिमेकका जिल्लामा एक प्रकारको राजनीतिक जागरणको लहर जनस्तरको गहिराइ एवं व्यापक क्षेत्रसम्म पुर्यामयो। यसले सयौं चेतनशील व्यक्तिमात्र होइन निरक्षर एवं शोषण दमन तथा उपेक्षित उत्पीडित ठूलो जनसमुदायमा 'चेतनाको सन्देश' समेत छरिदियो। फलतः त्यो पदयात्रा, 'विचार यात्रा'को जननीजस्तो पनि हुन गयो। सात सालको जनक्रान्तिमा पूर्वाञ्चलको संघर्षका लागि त्यसले पूर्वाधारको काम गर्यो भने देशको वल्लोपल्लो कुनासम्म चर्चा पायो। स्वयं बीपीका विचार एवं चिन्तनलाई मधेसदेखि पहाडैपहाडको कठिन यात्राले एउटा धरातलीय गहिराइसम्म पुर्यांयो। पहाडको अभावग्रस्त एवं दारुण जीवनयापनको अवस्थासँग साक्षात्कार गरायो। 
यसै पृष्ठभूमिमा 'नेपाली कांग्रेसको घोषणपत्र, १९५०' लेखिएको थियो। त्यसमा भनिएको छ –'देशको दयनीय स्थिति यति चरम सीमासम्म पुगिसकेको छ कि ७५ प्रतिशत पहाडीहरू एकछाक अन्न र एउटा धरोका लागी हाहा छन्।' त्यसमा अगाडि भनिएको छ– '.दसहजारभन्दा बढी दाजुभाइ रोजीरोटीको खोजीमा प्रतिवर्ष भारत पस्छन्। फलतः अहिले दुई आर्थिक वर्ग शेष छन् १. शासक वर्ग– जोसँग कुवेरको ढुकुटी छ। २. गरिब प्रजा–जो प्रतिदिन लुटिँदैछ।'
सात सालको जनक्रान्तिमा सर्वप्रथम नेपाली कांग्रेसको नेतृत्वमा मुक्ति सेना आफ्नो योजनाअनुसार १० र ११ नोभेम्वर १९५० को राति १२ 'शून्य घडीमा' वीरगंज प्रवेश गरेको थियो। मुक्ति सेनाले सर्वप्रथम वीरगंजमा अधिकार जमाएपछि त्यहाँ भएको पहिलो आमसभामा बोल्दै बीपीले भन्नुभएको थियो– 'राणा सरकार त समाप्त हुन्छ हुन्छ। तर त्यसपछि हामीले के गर्नुपर्ने हो, त्यो पनि अहिलेदेखि नै विचार गर्नुपर्छ।' उहाँले त्यसै ऐतिहासिक आमसभामा भन्नु भएको थियो–'हाम्रो यो संघर्ष मुख्य दुई चिजको प्राप्तिका लागि हो; पहिलो हो – राजनीतिक स्वतन्त्रता र दोस्रो हो– आर्थिक समानता।'
आफ्नो भनाइलाई अझ स्पष्ट पार्दै बीपीले भन्नुभएको थियो – 'राजनीतिक स्वतन्त्रतामा वाक् स्वतन्त्रता, संघ संस्था खोल्ने स्वतन्त्रता इत्यादि हुनेछन्। आर्थिक स्वतन्त्रतामा धनी र गरिबको बीचको आर्थिक असमानतालाई हटाइन्छ र गरिबमाथिको आर्थिक शोषणलाई रोकिन्छ।'
पूर्वाञ्चलको मध्यपहाडी भागको त्यो 'जेल पदयात्रा' नेपालको लोकतान्त्रिक संघर्षको आफ्नै प्रकृतिको प्रथम र ऐतिहासिक पदमार्गको यात्रा थियो जसले बीपीलाई प्रथम पटक अत्यन्त अभावग्रस्त जीवन भोगिरहेको मधेस र पहाडी जनजीवनसँग समेत प्रत्यक्ष अनुभव गरायो – प्रत्येक कदमले उहाँलाई ठूलो राजनीतिक शिक्षा र प्रेरणा दिलायो। संभवतः 'प्रजातान्त्रिक समाजवादी विचार' को एउटा व्यावहारिक उत्प्रेरणाको विशिष्ट शृंखलाको श्रीगणेश गरायो।

प्रतिक्रिया