Thursday 4 Magh, 2074 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

बीपीसँगको चिनारी

  • मङ्गलबार ६ श्रावण, २०७१
  • रामचन्द्र पौडेल
  • Be the first to comment!
(0 votes)
मैले सानै उमेरमा बीपीको नाम सुनेको थिएँ। काठमाडौं आएपछि सडकबाटै मोटरमा देखेको र कहिलेकाहीँ टाढैबाट सभामा भाषण गरिरहेको देखेको थिएँ। 
nepali-patro-june
एकपटक ठमेलबाट लैनचौर डेरा सर्दा त्यहाँको ठूलो चौरमा (अहिले त मिचिसके) केशरमहल र नारायणहिटी दरबारहरुतिर औंलो देखाउँदै 'पुर्पुरोमा जे लेखियोस्, जग्गा हुन्छ जोत्नेको...' यस्तै कुरा भनिरहेको अल्को कदको बीपी देखेको थिएँ। बिर्ता उन्मूलनको सन्दर्भ थियो क्यारे त्यो। तर प्रत्यक्षमा भने २०२५ सालमा जब बीपी ८ वर्षको काराबासपछि सुन्दरीजलबाट छुट्नुभयो, भद्रगोल जेलमा रहेका हामी– मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, कमल कोइराला र मलाई भेट्न आउँदा सेन्ट्रल जेलका जेलर अफिसमा पहिलो भेट भएको हो। साह्रै नै लौरी लिङ्गन र गालामा छाला टाँसिएको अवस्था देख्यौं, सहानुभूति प्रकट गर्यौंह। तर पनि केही राजनीतिक कुरा पनि गर्यौंा। त्यसबेला हामी जेलभित्र सल्लाह गरेर उहाँसँग भनेको कुरा मलाई अहिले पनि याद छ। हामीले भन्यौं– बीपी अब तपाईँ एक पटक नेपालका विभिन्न ठाउँ पुग्नुहोस् र जनता भेट्नुहोस्। त्यसको धेरै ठूलो असर हुन्छ। आफ्नो स्वास्थ्यको ख्याल पनि गर्नुहोस्। ...उठ्ने बेलामा कमल कोइरालातिर फर्केर भन्नुभयो– म पर्सि विराटनगर जाँदैछु, घरतिर केही भन्नु छ कि? कमलले टाउको कन्याउँदै भनेका थिए– सान्दाजु आमासित अलिकति..., यत्तिकैमा उहाँले भन्नुभयो– खर्च भनको होलास्, प्रधान मन्त्रीको छोरा भन्ठानेर धेरै खर्च गर्नुहुन्न, जेलमा लेखपढ धेरै गर्नुपर्छ। अनि पचास रुपियाँ झिकेर कमललाई र पचास रुपियाँ मलाई दिनुभयो। हामी फुरुङ्ग भइहाल्यौं। 
बीपी विराटनगर पुगेपछि त्यहाँ ठूलो सभा भयो। त्यहाँ बीपीले गर्नुभएको भाषणबारे कोइराला निवासमा भेला भएका केही व्यक्तिले असन्तोष व्यक्त गरे। 'युवाहरु जोशिलो कुरा चाहन्थे, बीपीको आह्वानमा मर्न पनि तयार थिए...' आदि/इत्यादि। भोलिपल्ट इलिट क्लबमा उहाँको भाषण केही कडा भयो। पर्सिपल्ट धरानमा झन् कडा। त्यहाँ उहाँले भन्नुभयो– बच्चा दश महिना भएपछि पैदा भएन भने आमाको पेट चिरेर भने पनि निकाल्नुपर्छ... आदि। नेपाल टाइम्स भन्ने पत्रिकाले छाँटकाँटका साथ सबै खबर लेखिरहेको थियो। अन्त्यमा काठमाडौंबाट खबर गयो– बीपी अब तपाईँलाई नेपालमा जोगाउन नसकिने भयो, स्वास्थ्यकै लागि भने पनि केही समय बाहिरै रहनुपर्योप। अर्को दिन झापा जान भनी निस्केको उहाँको गाडी जोगमनीतिर सोझियो, नेपालको राजनीतिले फेरि अर्कै मोड लियो। 
मैले बीपीलाई दोस्रो चोटी वनारसको मेहमुरगञ्जमा प्रत्यक्ष भेटें । त्यसबेला हामी केही विद्यार्थी भारत भ्रमणमा थियौं। त्यसबेला हामीलाई बीपीको बहुमुखी व्यावहारिक प्रतिभाको ज्ञान भयो। वनारसमा कुन धर्मशाला राम्रो छ, कति पैसा लिन्छ, कुन पसलमा तरकारी किन्ने, कुन कलेजमा कस्तो पढाइ छ, रेल कुन स्टेसनमा कति बजे आइपुग्छ र छुट्छ, कहाँदेखि कहाँसम्म भाडा कति लाग्छ भन्ने कुरादेखि राजनीति, अर्थशास्त्र, इतिहास र भूगोलमात्र हैन साहित्य, संस्कृति र दर्शनसम्मका यावत् कुराको उत्तिकै जानकारी। हामीसँग नेपालको राजनीति र नेपाली समाजको आर्थिक सामाजिक स्थितिबारे पनि कुरा गरिरहनुभएको छ, जर्मनीका बिली ब्रान्टदेखि भुटानका नरबहादुरसम्मलाई टेलिग्राम पनि पठाइरहनुभएको छ। सबै देखेर हामी अचम्मित र प्रभावित भयौं। हामीले क्रान्तिमा जे भूमिका दिए पनि निर्वाह गर्छाैं भनिरहेका थियौं। उहाँले सोझै भन्नुभयो– म तिमीहरुलाई तिमीहरु लायकको काम दिन्छु, तिमीहरुले भोलिको नेपाल सम्हाल्नुपर्ने हुन्छ। 
हामीले सेन्टर जेलमा देखेको अवस्थाविपरीत उहाँको चेहरा भरिलो र रातोपिरो पायौं। मैले भने– बीपी तपाईँ त झन्झन् युवा देखिनुभयो। उहाँले भन्नुभयो– 'लाइनको कारण हो, हेर न सुवर्णजी र म सँगैका हौं। उहाँलाई सबै कुरा पुगेको छ, डक्टर हरदम सँगै हुन्छ, कुनै कुराको कमी छैन, तैपनि उहाँ बूढो र कमजोर देखिनुहुन्छ किनभने उहाँको लाइन प्यासिभ लाइन। राजाले देला प्रजातन्त्र र पाइएला भन्ने आशावादी लाइन। मेरो भने लडेर लिन्छु भन्ने एक्टिभ लाइन। त्यसले मलाई जवान बनायो। म अहिले पनि तिम्रो मिर्लुङ्गको डाँडामा थ्री नट थ्री राइफल बोकेर फटाफट उक्लन सक्छु भन्नेमा छु।' त्यो २०२७ सालको पुस–माघको कुरा थियो। 
बीपीले हाम्रो महत्व र भूमिकाबारे पछि पनि एक ठाउँमा हामीलाई सम्झाउनुभएको थियो– म जब ४ वर्षको लगातारको जेल जीवन बिताउने क्रममा नख्खु जेलमा थिएँ। भीमबहादुर तामाङ, पुरुषोत्तम बस्नेत र मच्छेन्द्र पाठक सँगै बस्थ्यौं। एक दिन आत्माराम ओझाले आएर भन्नुभयो– यो जेल पहिले टक्सार थियो। यसैको पश्चिमबाट ठूलो ढल नक्खु खोला पुग्छ, केही दिन लगाएर खन्यो भने त्यो ढलनिर पुगिन्छ। मसँग केही ठूला डाँकु सरदार छन्, तिनैद्वारा सबै काम गराउन सक्छु, यहाँबाट निस्कौं। त्यतिबेला वनारसबाट क्रान्तिका लागि पठाइएका हाम्रा होनहार साथीहरु वनारसदेखिकै सुराकीका कारण दनादन पक्रिँदै र मारिँदै थिए। म विचार गरिरहेको थिएँ, बीपीले भरपर्दा मान्छे चिन्ने सहयोगी पाउन सक्नुभएन। तसर्थ हामी नै त्यहाँ पुग्नसके उहाँलाई मद्दत हुने थियो। त्यसैले हामीले आत्मारामजीको प्रस्तावलाई उचित मान्यौं। तर यसबारे बीपीलाई एकपटक जानकारी दिने कुरा भयो, हामीले त्यो खबर वनारस पठायौं। तर उहाँले त्यो प्रस्ताव अस्वीकार गर्दै खबर पठाउनुभयो– तिमीहरुले खतरा मोल्ने हैन। यहाँ कुरा अरु पनि छ। त्यो जवाफ आएपछि मात्र नख्खुमै रहनुभएका किसुनजीसँग हामीले त्यो कुरा खोल्यौं। उहाँ हामीसँग रिसाउनुभयो र बीपीलाई धन्यवाद दिनुभयो।
मेरो बीपीसँग अर्को भेट २०३३ सालको मंसिरमा सारनाथमा भयो, जो अत्यन्त ऐतिहासिक थियो। किसुनजी र म २०३२ सालको मंसिर अन्तमा छुटेर बाहिरै थियौं। म तनहुँमा थिएँ। बीपीले खबर पठाउनुभयो– म सारनाथ गएँ। उहाँ त्यहीबेला नेपाल आउनेबारे सबैसँग छपलफल चलाइरहनुभएको थियो। मसँग पनि कुरा गर्नुभयो। तर मैले सोझै भनेँ– क्रान्ति बीचैमा छाडेर जाने हो भने पहिले मेरा भाइ राम–लक्ष्मण फिर्ता गर्नोस्! लीला ठगी फिर्ता गर्नोस्। यस्तो खरो जवाफ दिँदा पनि कति नरिसाइकन उहाँले मलाई सम्झाउने प्रयास गर्नुभयो। तीन दिनसम्म खानाअघि र खानापछि समेत लगातार अनेक तर्कद्वारा मलाई सम्झाइरहनुहुन्थ्यो। म कहिले कहिले त भनिहाल्थेँ– किन यहाँ आउनुभो त! हामीले सेन्ट्रल जेलमा भेट्न आउँदा नै नेपालभित्रै जनसम्पर्कमा रहन भनेका थियौं... आदि। तर उहाँका तर्कअगाडि मेरो केही जोड चलिरहेको थिएन। आखिर मैले सम्झौतापरस्त प्रस्ताव राखें– यदि जाने नै हो भने तीन वटा कुरा गरेर आउनोस्, म एयरपोर्टमा तपाईँको स्वागतका लागि आउँछु– १) कांग्रेस अध्यक्षका हैसियतमा एउटा वक्तव्य जारी गर्नोस्। २) काठमाडौं गएर तपाईँ जेल परेपछि हामीले के गर्ने? भन्ने लाइन स्पष्ट दिनोस् र ३) त्यो लाइनको नेतृत्व गर्न किसुनजीलाई कार्यबाहक सभापति घोषित गर्नोस्। अनि उहाँ प्रसन्न हुनुभयो– 'हो, त्यसो भनन्, यस्तो कुरा त म मानिहाल्छु नि! ल ल जाउ र किसुनजीलाई यहाँ पठाउ।'
मैले काठमाडौं आएर किसुनजीलाई सबै कुरा भनेँ तर किसुनजी भारत जान मान्नुभएन। पछि जेलबाटै राजाले औषधी गर्न अमेरिका पठाएपछि भारत हुँदै फर्किनुहुँदा पटनामा किसुनजीलाई कार्यकर्तामाझ कार्यबाहक घोषित गरेर बीपी फेरि नेपालको जेलमै फर्कनुभयो। सात–सात वटा संगिन मुद्दा खेपिरहनुभयो। 
बीपीसँग मेरो दोस्रो बहस २०३६ सालको विद्यार्थी आन्दोलनका सन्दर्भमा चल्यो। मेरो एउटा बानी छ– मेरो दिमागले सोझो र सपाट कुरालाई मात्र सहजरूपमा स्वीकार गर्छ। पाकिस्तानमा एउटा निर्वाचित प्रधान मन्त्रीलाई त्यहाँको सैनिक तानाशाहले फाँसीमा झुण्ड्यायो। मेरो दिमागले त्यो सोझो र सपाट देखिएको कुराबाहेक अरु ग्रहण गर्न मानेन। मैले बीपीसँग भनेँ– 'एउटा तानाशाहले एउटा जननेतालाई झुण्ड्याएको छ, त्यसको विरोध गर्नु यहाँको तानाशाहलाई पनि चेतावनी हुन्छ। म त्यसको अघिल्लो दिन विराटनगर हवाई मैदानको दृश्य हरेर फर्केको थिएँ। पञ्चायती गुण्डाहरुले कसरी बीपीको जहाजलाई त्यहाँ ओर्लन नदिन हवाई मैदान कब्जा गरेका थिए र कसरी हामीमाथि ढुंगा बर्साएका थिएँ भन्नेबारे। पोखरा होस् वा विराटनगरका ती घटनालाई राजाको इसारमा चलेको पञ्चायती शासनको गुण्डागर्दीबाहेक अरुरूपमा बुझ्न मेरो मनले मानेकै थिएन। तर बीपीले त्यो कुरालाई सोझोरूपमा मात्र हेरिरहनुभएको थिएन। उहाँको अर्कै मर्म थियो होला। त्यसलाई मेरो सरल दिमागले भेट्टाउन सकेन होला। मैले तर्क गरेँ, धेरै जोड गरेँ, अनि गणेशमानजी र किसुनजीले पनि मेरो पक्ष लिनुभयो। बीपीले पनि आखिरमा भन्नुभयो– त्यसो भए तिमीहरु पूर्वविद्यार्थी भइसकेका फ्रन्टमा नजाओ, रेगुलर विद्यार्थीलाई पठाओ। 
पर्सिपल्ट विद्यार्थी आन्दोलन चर्कियो, खुसी हुँदै बीपीकहाँ हामी पुग्यौं। उहाँ झोक्किएर बस्नुभएको रहेछ, तिमीहरु घोडा बनेका छौ, लगाम अर्कैले समातेको छ। मैले भनेँ– लगाम समात्न कतिले खोज्लान्, घोडा त हामीले दौडाउनैपर्छ, कति सहने? बीस वर्ष भइसक्यो। मेरो त उही सोझो कुरा। बीपीको मेलमिलापको दर्शनलाई आ–आफ्नै किसिमले अर्थ्याउने कोसिस गरिरहन्थे। त्यसबेला आन्दोलनमै आफूमाथि अत्याचार गर्नेउपर पनि क्षमाशील हुने आदर्श र लक्ष्यका सामु आफूउपरका अन्यायलाई केही नठान्ने उहाँको महानता। कार्यकर्ताको महत्व बुझ्ने र उसलाई सम्झाउन कोसिस गर्ने, नभए आफैं महसुस पनि गर्ने। अरुबारे मलाई लाग्थ्यो, न हामीलाई कन्भिन्स गर्छन् न आफू कन्भिन्स हुन्छन्।

प्रतिक्रिया