Thursday 4 Magh, 2074 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

बीपी नबिर्सने कारण

  • सोमबार १२ श्रावण, २०७१
  • ज्ञानमणि नेपाल
  • Be the first to comment!
(0 votes)
अहिले जननेता विश्वेश्वरप्रसाद कोइरालाको जन्मशताब्दी वार्षिकी समारोह मनाइँदैछ। उनी पूर्ण आयु बाँचेका भए अहिले सय वर्षका हुने थिए। परन्तु असाध्य रोग लागेर ६८ वर्षको उमेरमै २०३९ साउन ६ गते उनी परलोक भए। उनी नेपालमा जन्मेका राजनीतिक नेताहरूमा एक अनन्य साधारण सुझबुझ भएका दूरदर्शी जननेता थिए। 
nepali-patro-june
उनको दिमागमा नेपालीको जीवन सुधार्ने, देशलाई उन्नतिपथमा लाने र विकासशील बनाउने अनेकौँ विशेष व्यवहारी खाका थिए। परन्तु बीपीले आफ्नो बौद्धिकतालाई देश विकासका लागि मनमस्तिष्कमा बोकेका आफ्ना सिद्धान्त लागु गर्न पनि पाएनन्। 
सुरूदेखि नै उनले आफ्नो जीवनलाई जोखिममा पारेर राणाशाही र राजशाहीसँग जुध्नुपर्यो । ६८ वर्षको आयुमा मुस्किलले उनले पहिले १० वर्ष र पछि अस्वस्थ अवस्थामा पनि राजशाहीका निगरानीमा करिब पाँच वर्षमात्र देशभित्र बस्न पाए। त्यसमा पनि देशका लागि जनताको लागि उनले काम गर्न पाएको अवसरलाई वर्षमा होइन, महिनामा गन्नुपर्छ। पहिले गृह मन्त्री हुँदा ७।८ सालमा नौ महिना र १६ सालदेखि १७ महिना जति प्रधान मन्त्री भए। अरू समय उनको प्रवास र जेलमै बित्यो। उहीँ पढे/बढे। यता राणा शासक र राजाको कठोर जेलनेलमै वर्षौं बसे र पछिल्लो समयमा पनि निर्वासनमै वर्षौँ बसेर बिताए। विश्वेश्वरप्रसाद कोइरालाको कार्यक्षमता कुशलता र बौद्धिकता देश जनताले उपयोग वा उपभोग गर्नै पाएनन्। उनको सरकारले एक दुई कार्यकाल कार्य गर्न पाएको भए देशको कायापलट हुने थियो भन्ने कल्पना कल्पनामै सीमित रह्यो। जीवनभर उनलाई अनेक लाञ्छना र अनेक अभियोग लाएर सर्वतोभावले पन्साउनमै राज्यको सबै शक्ति खेर हालियो। 
अहिले म उनका बारेमा मनमा गडेका केही संस्मरण प्रस्तुत गर्न चाहन्छु। म सानैमा गाउँकै पाठशालामा मध्यमासम्मका ग्रन्थ पढेर काठमाडौं जाने कि काशी भन्दै घरैमा बसेको थिएँ। गाउँघरमा जहीँतहीँ चर्चा/परिचर्चा हुन थाल्यो– लौ नेपालमा पनि कांग्रेस पस्यो अब भनेर। किनभने भारतमा चाहिँ कांग्रेस पार्टीले अंग्रेज सरकारलाई निकाल्न ठूलो आन्दोलन चलाउँदैछ, दिनका दिन नारा लाग्दै जुलुस निस्कन्छन्, हिन्दु मुसलमानको दङ्गामा परेर मानिसको मारामार भागाभाग चल्छ भन्ने खबर आइरहेका थिए। उता विश्वयुद्धका कुरा पनि बराबर भारत जाने/आउने यात्रु र गोरखा पल्टनका मान्छेले ल्याइरहन्थे। बाबा उपचार गर्न जाँदा लहरियासरायमा सँगै म पनि गएको थिएँ। त्यहाँ हाम्रो डेराको अगाडि सडकमा दिनका दिन जुलुस निस्कन्थ्यो। अंग्रेजका राताकाला पोशाक लाएका रिसल्ला अघि/पछि लागिरहन्थे। पहिलोपल्ट मैले त्यस्तो जुलुस देखेको थिएँ। 
हाम्रो घरमाथि भञ्ज्याङमा एउटा बाँडाको घर थियो। उसको भाडाको दोकानमा मान्छे भेला भइरहन्थे, म पनि पुगेँ। भोजपुरबाट एक जना बाँडाकै नातेदार त्यहीँ बसेर गफ गर्दा रहेछन्। विराटनगर जूट मिलमा भारतको जस्तै मजदुर आन्दोलन चलाएबापत राणाका सिपाहीले आन्दोलन गराउने भनेर धेरै नेतालाई पक्रेर जेल हालेछन्। मनमोहन अधिकारीलगायत् धेरै उतै थुनिएछन्। बीपीलाई चाहिँ अड्डासार गर्दै नेपाल (काठमाडौं) लैजान लागेका रहेछन्। उनी जहाँ टुसुक्क बस्यो, जहाँ बिसायो, त्यही मान्छे जम्मा हुनासाथ भाषण गर्दारहेछन्– 'अब राणा सरकार मासिन्छ र नेपालमा पनि प्रजातन्त्र आउँछ, हामी तपाईँहरू सबै मिलेर भारतको जस्तै प्रजातन्त्रका लागि, स्वतन्त्रताका लागि आन्दोलन गर्नुपर्छ। तपाईँ सबैलाई आन्दोलनको आह्वान गर्दै म हिँडेको।' सिपाहीले समातेर ल्याएको मान्छे नडराइकन यस्ता कुरा गर्छ भनेर उनैले सुनाए। मेरा भान्दाजु देवनारायण पनि भोजपुर गएका रहेछन्। उनले पनि घरमा आएर आँखो देखाहाल बताए– 'कस्तो चपर्चण्ड मान्छे, कति नडराउने, गाउँमा एउटा कालो लुगा लाएको सिपाही आयो भने डरले मान्छे ढोका थुनेर लुक्छन्, अघिपछि बन्दूकका सङ्गीन ठड्याएका सिपाही छन्, बीचमा सुकिला लुगा लाएका गोरा युवक भने कत्ति नडराई मुसुमुसु हाँस्दै हात उठाएर सबैलाई स्वागत गर्दै बजार पस्छन्। बजारका मान्छे झुरुम्म झुम्मिए, सडकपेटीमै बसेर पानी मागेर खाए र आफूले टेकेको कठबाँसको लठ्ठी ढुंगा छापेको सडकमा बेसरी बजारे, बाँसको लाठी फुट्यो। अनि भने कि 'लौ हेर्नुहोस् अहिलेसम्म मैले टेक्दै आएको यो लाठी कति बलियो थियो। एकपल्ट भुँइमा बजार्नासाथ चारचिरम भएर फुट्यो भने तपाईँले देखेको/भोगेको राणा राज्य बाहिरबाट हेर्दा यो लाठीजस्तै बलियो देखिन्छ, भित्र खोक्रो भइसकेको छ। तपाईँ हामी सबै मिलेर एक धक्का लाउने हो भने यो बाँसको लाठी जस्तै चारचिरम भएर फुट्छ, म त्यसैका लागि काठमाडौं जाँदैछु। 
उनी यति प्रभावित भएछन् कि थप्दै गए– कत्रो साहस, कत्रो आँट! मान्छे हेर्दा सुइखुट्टे छन् तिमीजस्तै। नाक पनि (मेरो नाक समातेर) तिम्रो जस्तै रहेछ, मान्छे भने कुइरेजस्तै गोरो, अग्लो, छोरोे भनेको बुझ्यौ, यस्तै निडर चंखचतुर साहसी हुनुपर्छ। कोइरालाले छोरो पाएकै हुन् है। त्यतिबेला दाइले सुनाएका कुरा अहिले पनि मेरो स्मरणमा ताजै छ। पछि ८ सालमा काठमाडौंबाट पहाडको बाटो घर जाँदा बीपीलाई अड्डासार गरेर ल्याइएको, आन्दोलन चलेको, राणा हटेको, बीपी गृह मन्त्री भएको कुरा मानिस गरिरहन्थे। कोही निन्दाको भावनाले त कोही प्रशंसाको। त्यसबेला राणा सरकारले थुन्न भनेर अड्डासार ल्याएको त बीपीको लेखा खुदो पल्टियो। पहिलो पल्ट खुलेआम जिल्ला जिल्लामा, गाउँ सहरमा राणाको विरोधमा कांग्रेसको प्रचार फैलियो। प्रजातन्त्रका कुरा मानिसका मुखमुखमा चल्न थाले। बीपी बोल्दा वा भाषण गर्दा मानिसले बुझ्ने भाषामा मन छुने मार्मिक भाव व्यक्त गर्थे, मान्छे त्यसरी नै प्रभावित हुन्थे। उनका तर्कले जोकोही उनीबाट प्रभावित नभई रहन सक्दैनथे। बीपीलाई ल्याएर थुनेको बेला पद्मशमशेरको शासन अलिकति खुकुलो थियो। त्यसैबेला अर्थात् ४ साल असारमा विद्यार्थीको 'जयतु संस्कृतम्' आन्दोलन चलेको थियो। भारतीय नेताको आग्रहमा बीपी चाँडै छुटेर गएका थिए। 
अधिक पढ्न भनेर ४ साल माघमा म काठमाडौं आएँ। आएकै महिना चन्द्र र जुद्धका छोराहरूको दपेटाइमा पद्मशमशेर रुँदैरुँदै राज्य छाडेर हिँडे। ५ साल लाग्दा/नलाग्दै मोहनशमशेरले सत्ता हत्याए। उनकै पालामा फेरि बीपी कांग्रेसको प्रचारप्रसारका लागि केही साथीभाइ लिएर काठमाडौं आए। केही दिनपछि सुराकीबाट पत्ता लाएर मोहनशमशेरले उनलाई पक्रेर कठोर यातना दिए। राणा शासकले पक्रेर खोरमा राखेको मान्छेलाई ३ मुठी चिउरा र नून खोर्सानी खान दिन्थे भन्ने सुनेको थिएँ। बीपीलाई पनि त्यस्तै खान्की ख्वाएर राडी ओडाएर बडो सास्ती दिएछन्। सुकुमार युवकले सो पीडा खप्न नसक्दा आत्महत्या गर्ने सोच पनि लिए। त्यसका लागि चपटेको बन्दुक मागेर त्यसबाट आफ्नो प्राण आफैँले लिन सकिन्छ कि भनी हेरे। जेलमा बस्न, सुत्न, खान पनि यस्तै संकष्ट भोग्नुपर्दा प्राण त्याग्ने विचारले आमरण अनशन पनि बसे। यस कालकोठरीबाट बडो जुक्तिले यो खबर बाहिर पुर्यािए। २३ दिनसम्म मोहनशमशेर मरे मरोस् भनेरै कानमा तेल हालेर बसे। अनि माफी मगाउन प्रयत्न गरे, केही नचल्दा आमा र पत्नीलाई झिकाएर 'छोरालाई बचाउँछ्यौ भने बज्यै माफी माग्न लाऊ, होइन भने छोरो मर्छ' भने। तत्काल दिव्या कोइरालाले जवाफ फर्काइन्– 'महाराज मेरा पतिलाई पनि जेलमै मार्यौग, यही कालमोचन घाटमा सद्गति गरेर गएँ, छोरालाई पनि मार्छौ भने मार, यही घाटमा दाहसंस्कार गर्छु, माफीचाहिँ हर्गिज मगाउन्न।' यी वीरङ्गनाको जवाफ सुनेर महाराज नाजवाफ भए, लज्जित पनि। आखिर भारतीय नेताको दबाबमा परेर मोहनशमशेरले बीपीलाई नछोडी धर पाएनन्। लाज पचाउन 'मैले अरूले भनेर छाडेको होइन, बाहुनको छोरो जेलमा मर्छ भनेर धर्म सम्झेर छोडेको हुँ' भन्थे। 
२००७ सालको क्रान्तिपछि बीपी शक्तिशाली गृह मन्त्री भएका थिए। उनको सिद्धान्तले आफ्नो राष्ट्रवादी अडानले गर्दा त्यसबेलादेखि नै लोकप्रिय भए पनि दरबार र छिमेकीको चाहिँ आँखाका कसिंगरै बने। उनी संविधान सभाको कट्टर समर्थक थिए, राजाले संविधानमाथि होइन, मुनि बस्नुपर्छ भन्ने कुरामा अडिग थिए। यसबाट पनि दरबार उनीदेखि भित्रभित्रै टाढिँदै गयो। बाबु राजाले दिएको संविधान सभाको चुनाव रोकेर छोरा राजाले बाबुको वाणी उल्लंघन गरी संसदको चुनाव गराए। बीपी संविधान सभाका लागि अदालतसम्म गए तर केही लागेन। दरबारले नदिएको कुरा त्यसबेला अदालतले के गर्न सक्थ्यो र?
बीपीको लोकप्रियताले गर्दा संसदको चुनावमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्यायो। बीपी प्रथम निर्वाचित प्रधान मन्त्री भए। तर के गर्नु? आफैँले दिएको संविधानको ५५ दफारूपी तरबारको धार प्रजातन्त्र छिमल्नेकै लागि तेर्स्याइराखेको थियो। त्यसैले १७ महिना नपुगेको शिशु प्रजातन्त्र छिमलियो। बीपीलगायत धेरै नेता जेल परे। आठ वर्षपछि जेलबाट छुटेर विराटनगर हुँदै उपचारका लागि मुम्बई गए। उहाँबाट फर्केर आउँदा लाखौं मानिसको हुल बीपीको स्वागतका लागि जोगबनीसम्मै ओइरियो। त्यहाँ संविधान सभाका प्रखर विरोधी तथा बीपीलाई सत्ताच्युत गरेपछि १७ सालमा सत्तामा पुगेका ऋषिकेश शाह सबैलाई उछिन्दै 'बीपी बाबु'! भनेर कराउँदै रेलको डिब्बैमा चढेर अंगालो हाल्न पुगेँ। धेरैले मुखामुख गरे अनि बाहिर निस्कनासाथ त्यहीँ एउटा सभा भइहाल्यो। विराटनगरको शहीद मैदानको सभामा मान्छे ओइरिएका मानिसबीच उनले भनेका थिए– अब म संवैधानिक राजतन्त्र र प्रजातन्त्रका लागि राजासँग हात मिलाउन चाहन्छु। होइन राजा हात बाँधेर बसे वा गोजीमा हाले भने यो जनआन्दोलन जारी रहनेछ। विभिन्न स्थानमा सभाका कार्यक्रम तय हुँदै थिए। १७ सालदेखि निकालिएका साथीहरूसँग भेटघाट गर्न फारविसगञ्ज जान साथीहरूले मलाई पनि जोड गरे। हामी चढेको जिप गिरिजाप्रसाद कोइरालाले हाँकेका थिए। शैलजा आचार्य र अरू ३।४ जना थियौं। 
यस हलचलले दरबारमा छटपटी बढेछ, बीपीलाई त्यसै छोड्नुहँुदैन थुन्नुपर्छ भन्ने कुरा पञ्च नेताबीच भएछ। त्यसपछि बीपी वनारस गए। म पनि उनलाई भेट्न त्यहीँ गएको थिएँ। धरानको विजयपुरस्थित छात्र संघबाट केही साथी लिएर दैवज्ञराज न्यौपाने बीपी भेट्न सारनाथ गएछन्। बीपीले घर सोधछन्, भोजपुरको सिक्तेल हो भन्नेबित्तिकै ए... ज्ञानमणि नेपाललाई चिन्छौ भनेछन्। किन नचिन्नु भन्ने जवाफ पाएपछि बीपीले 'उनको सङ्गत गर्नू, वेश मान्छे हुन्' भनेछन्। दैवज्ञको कुरा सुनेर म अचम्म भएँ किनकि उनले मलाई देखेको वा नामसम्म सुनेको हुँदो हो। तर मेरोबारे सबै जानकारी रहेछ। पछि भारत निर्वासनबाट फर्केर आएपछि भने जीवनपर्यन्त उनीसँग मेरो भेराइँचो भयो। उनीसँग छलफल, बहस पनि धेरै भए। कतिपय उनका विचारमा म मत पनि बझाउँथेँ। सही कुरा सहजै स्वीकार्ने, उनको राजनीतिक धारमा मेरो विचार मिलेन भने पनि सत्य साँचो कुरालाई ननकार्ने, स्वीकार गरिदिने जस्ता स्वभाव थियो उनको। 
साहित्यिक प्रसङ्ग चल्दा एक पटक मैले उनलाई गान्धी/नेहरूकै जस्तो आफ्नो राजनीतिक सिद्धान्तलाई आफ्नै जीवनचर्या अभिव्यक्त गर्ने ग्रन्थ लेखिदिनुपर्योे भन्ने आग्रह गरेको थिएँ। जवाफमा उनले 'पर्ने हो' मात्र भने। जेलमा बस्दा त्यहाँको दिनचर्या व्यक्त गर्ने जेल जर्नल प्रकाशमा आयो। पछिल्लो कालमा गणेशराज शर्माले बडो जुक्तिसाथ मृत्युशैय्यामा परेका विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त रिकड गरेर प्रकाशनमा ल्याइदिए। उनलाई चिनाउने ठूलो उपकार थियो यो।

प्रतिक्रिया