Tuesday 4 Mangshir, 2075 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

भारतीय आन्दोलनमा नेपाली

(0 votes)
भारतको स्वतन्त्रता संग्राम सम्पूर्ण दक्षिण पूर्व एसियाका भारत भन्नाले सन् १९४७ पूर्वको पाकिस्तान र बंगलादेशसमेतले बर्मा ( म्यानमार) र श्रीलंकाका लागि सदैव प्रेरणाप्रद् बनिरहनेछ। 
राजेश्वर नेपाली

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-june
अंग्रेज को भारत सन् १९४७ मा खण्डित भएको पाकिस्तान र पछिको बंगलादेश समेत, अहिलेको म्यानमार, श्रीलंका र माल्दिभ्स आदिमा पनि उसको अधिपत्य थियो। नेपाल र अफगानिस्तान अंग्रेजी हुकुममा नरहे तापनि भारतमा सत्तासिन अंगे्रजी हुकुमकै दबदबाको कठपुतली सरकार रहेकाले भारतीय स्वाधीनता संघर्ष सबैका लागि उत्सुकताको विषय बनेको थियो। नेपालको राणा शासनबाट मुक्तिको छटपटाहटमा जनता र राजा दुवै थिए किनभने राजा नामको नै थियो र असली शासक राणा प्रधान मन्त्री हुन्थे।
भारतीय स्वाधीनता आन्दोलनको नेतृत्व महात्मा गान्धीको हातमा पर्नासाथ उनले सन् १९२१ इ. मा सविनय अवज्ञा आन्देालन र सन् १९३१ इ. मा सत्याग्रह आन्दोलनलाई निकै प्रभावकारी बनाए। त्यसपछि सन् १९४२ को अगस्टमा अंग्रेज भारत छोडको नारा दिए। भारतका हजारौं हजार युवा जेल परेका थिए भने शहादत पाउनेको संख्या पनि हजारमा थियो। त्यसबेला भारतमा अध्ययनरत नेपाली युवाहरुले पनि खुलेर भारतीय स्वाधीनता संग्राममा भाग लिए किनभने भारतको स्वाधीनताबेगर नेपालमा कुनै परिवर्तन सम्भव थिएन। त्यस क्रममा पटनामा बीपी कोइराला र भद्रकाली मिश्र अगस्ट ९ मा पक्राउ परे। वनारसमा गोपालप्रसाद भट्टराई, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, सूर्यप्रसाद उपाध्याय तथा लखनऊमा डिल्लीरमण रेग्मी आदि समातिएर जेल परेका थिए। 
त्यसभन्दा पूर्व नेपालको सन् १९५० को जनक्रान्तिमा रक्सौल क्याम्पको कमान्डर तथा तराई कांग्रेस र पछि नेपाल सद्भावना परिषद् तथा पार्टीको मूल संस्थापक रामजनम तिवारी सन् १९४१ इ. मा कलकत्तामा दरोगाको पद छाडेर महात्मा गान्धीको आन्देालनमा लागेका थिए। उता बनारसको हरिश्चन्द्र हाइस्कुलमा पढ्दै बीपी कोइराला दाजु मातृकाप्रसाद कोइरालाको साथ विदेशी बस्त्र बहिष्कार गरी सन् १९३० इ. मा हिरासतमा परिसकेका थिए। बीपी कोइरालापछि कांग्रेस सोसलिस्ट पार्टी कार्यालयको सचिव रहँदै सन् १९३९ इ. मा दरभंगाको मजदुर आन्दोलनमा तथा सन् १९४१ इ. पुनः त्यहीँ पक्राउ परिसकेका थिए भने सन् १९४२ को अगस्ट ९ मा पटनामा पक्राउ परी हजारीबाग जेलमा डा. राजेन्द्रप्रसाद, श्रीकृष्ण सिंह, अनुग्रहनारायण सिंह र जगजीवन राम आदिको साथ राखिएका थिए। ९ अगस्टकै दिन पटनामा पक्राउ परी बाँकीपुर जेलमा डा. राजेन्द्र प्रसादसँग राखिएका भद्रकाली मिश्र पछि हजारीबाग केन्द्रीय कारागारमा राखिए। त्यहाँ उनका एक जना मित्र जो पछि सांसद पनि भए अवधेशप्रसाद सिंह, जेपीका मित्र रहेकाले बीपीका पनि मित्र थिए। उनले नै जेलमा मिश्रलाई बीपी कोइरालासित भेट गराएका थिए।
सन् १९४५ इ. को आरम्भमा बीपी र भद्रकाली मिश्र पनि मुक्त भए। युवक मिश्र आफ्नो बाँकी समय अध्ययनमा लागे। त्यसैक्रममा भारत स्वतन्त्र भएपछि कलकत्तामा भएको साम्प्रदायिक दंगामा हिन्दु–मुस्लिम एकताको प्रयास गरेर फर्कँदा महात्मा गान्धी पटनामा केही सप्ताह बिताउँदा त्यहाँका शिक्षा मन्त्री सैयद अहमदकहाँ रहेका भद्रकाली मिश्र गान्धीको निजी सहायक बनेका थिए। उनी आफ्नो अध्ययन एमए, एलएलबी सकिनासाथ लोकसेवक संघ स्थापना गरेर जनकपुरधाममा ग्राम सफाइ, प्रार्थना सभा र अग्निपीडितहरुलाई राहत पुर्यांई महोत्तरीमा जनजागरण ल्याउन सफल भएका थिए।
यस्तै नेपालको लोकतान्त्रिक आन्दोलनका महारथि गणेशमान सिंह कोलकाताामा आइएस्सी गर्दा महात्मा गान्धी, सुवाषचन्द्र वोस, जवाहरलाल नेहरु आदिका भाषण सुनेर भारतीय स्वाधीनता संग्राममा लागेका थिए। त्यहीँ अध्ययनरत रुद्रप्रसाद गिरी नेपाली कांग्रेसको संस्थापक सदस्य बनेका थिए। त्यस्तै भारतको जयनगरस्थित हाइस्कुलमा अध्ययनरत बरिष्ठ समाजसेवी रामचन्द्र साह र बरिष्ठ प्रजातन्त्र सेनानी बलराम नायक तथा मधुबनीमा अध्ययनरत गोवर्द्धनबहादुर कार्की, मोरङ कांगे्रसको स्थापनाकालीन सदस्य मनमोहन गुप्ता, फारबीसगञ्जमा गजेन्द्रनारायण सिंह निर्मलीको नजिक नरपतगञ्जमा भारतीय क्रान्तिकारीहरुका साथ भारत छोडो आन्दोलनमा सहभागी भएका थिए।
भारतीय स्वाधीनता संग्रामका महान् योेद्धा जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, सुरजनारायण सिंह, कुमारी विजया पटवर्द्धन, सरदार सीताराम सिंह, शिवनन्दन मण्डल, डा. वैद्यनाथ झासमेतका क्रान्तिकारीहरु हजारीबाग जेल तोडेर नेपाल पसेका थिए। समाजवादी नेता सुरजनारायण सिंहकी बहिनी योगमाया सिंहको सप्तरीको कोइलाडी बरसाइन निवासी आनन्दीप्रसाद सिंहसित विवाह भएको थियो। त्यसैले सुरजनारायण सिंह, जेपीसमेतका नेताहरुका साथ पुपरी मटिहानी हुँदै पहिलो रात जलेश्वरमा मुन्सी दयाशंकर गुप्ताको डेरामा बिताएका थिए। दोस्रो दिन बिहान उनीहरु जनकपुरधाम लागेका थिए र रामानन्द आश्रममा रही भोलिपल्ट पूर्वतिर र कमलानदी पार गरी सप्तरी प्रवेश गरेका थिए। 
तेस्रो दिन पूर्वतिर लागेका थिए। उनीहरु जनकपुरधाम छाडिसकेपछि मात्र बडाहाकिम रामशमशेरले थाहा पाउँदा उनले सेनाका साथ रामानन्द आश्रममा छापा मारेका थिए। त्यहाँ अन्य मानिस भेटिए पनि जेपी, डा. लोहिया, सुरजनारायण सिंह आदि कोही भेटिएनन्। भारतीय क्रान्तिकारीहरु पक्राउ नपरेपछि र उनीहरु पूर्वतिर लागेको सुराकअनुसार केन्द्रलाई सप्तरीतिर लागेको खबर गरेका थिए। त्यसपछि सप्तरीमा उनीहरुको खोजतलासी भएको थियो। क्रान्तिकारीहरु कैयौं दिनमा सप्तरीको पूर्वी भागमा रहेको कोइलाडी बरसाइन गई बहिनीकहाँ विश्राम गरेका थिए।
क्रान्तिकारी आनन्दीप्रसाद सिंहकहाँ रहेका बेला सप्तरीकै कोशी टप्पुको सुरुङ पहाडमा क्रान्तिकारीहरुले आजाद दस्ता गठन गरी त्यहाँ सैनिक प्रशिक्षण आरम्भसमेत गरेका थिए। प्रशिक्षण दिने काम आजाद हिन्द फौजका सरदार नित्यानन्द सिंहले गरेका थिए। अंग्रेजको पिठ्ठु राणा शासकले क्रान्तिकारीहरुमाथि निगरानी राखिराखेकाले कैयौं गाउँलेलाई गुप्तचरीमा लगाएर क्रान्तिकारीहरुका प्रशिक्षणस्थलमाथि आक्रमण गरी उनलाई पक्राउ गरी हनुमानगर जेलमा राखेका थिए।
त्यस दिन कुमारी विजया पटवर्द्धन र जेपीबीच कोइलाडी बरसाइनमा कुराकानीको गुप्त मन्त्रणा भएको थियो र त्यसपछि कुमारी विजया फारबीसगञ्ज सम्वाद प्रेषित गर्न गएकाले पक्राउ परेनन्। शरणमा आएका क्रान्तिकारीहरु पक्राउ परेकामा कोइलाडीका जमिनदारहरुमाथि बडो नराम्रो प्रभाव परेको थियो। उनीहरु जसरी पनि तिनलाई जेल मुक्त गराउन चाहन्थे। उनीहरुले त्यसको योजना बनाइ २००० साल जेठ ५ गते राति हनुमाननगर जेलमाथि आक्रमण गरेर भारतीय क्रान्तिकारीलाई मुक्त गराएका थिए। त्यस घटनाको केही समयअघिमात्र बडाहाकिम तुलाविक्रम राणाको निवासको एउटा फुसको छाप्रोमा आगो लगाउँदा भएको मुठभेडमा एक जना नेपाली प्रहरी मारिएका थिए।
जेलबाट भारतीय नेताहरुलाई भगाइएको घटनाको छानबिन गर्न काठमाडांैबाट सोमशमशेरको नेतृत्वमा एउटा जाँच आयोग सप्तरी पठाइएको थियो। आयोगले भारतीय क्रान्तिकारीहरुलाई भगाएको अभियोगमा ६१ जनालाई पक्राउ गरी पैदल हिडाउँदै वीरगञ्ज हुँदै काठमाडौं पुर्याभएको थियो। त्यसमा तारिणीप्रसाद सिंह, रामेश्वरप्रसाद सिंह, जयमंगल सिंह, डिल्लीप्रसाद सिंह, गंगा मण्डल आदि प्रमुख थिए। रामराजाप्रसाद सिंह किशोरावस्थामै आफ्ना अनुज लक्ष्मणप्रसाद सिंहका साथ पिता जयमंगल सिंहको मुक्तिका लागि २००० सालमै वीरगञ्ज पुगेर राणा प्रधान मन्त्री युद्धशमशेरलाई भेटेर पिताजीको रिहाईको निवेदन गरेका थिए। तिम्रो बुबा काठमाडौंमा बिरामी छ, गएर भेट् भनेपछि किशोर अवस्थामा रामराजा भाइ लक्ष्मणका साथ पैदलै काठमाडौं पुगेका थिए। 
त्यहाँ पितासँगै उनीहरुलाई पनि जेलमा राखियो र डेढ वर्षपछि मात्र मुक्त गरिएको थियो भने अन्य राजबन्दी कैयौं वर्षसम्म जेल जीवन व्यतीत गर्न बाध्य भएका थिए। त्यहाँ जेलमै कृष्णवीर कामी र अब्दुल मियाँको मृत्यु हुन गएको थियो भने जेलमै बिरामी भएपछि मुक्त गरिएका तारिणीप्रसाद सिंह लगत्तै सहिद बनेका थिए। यसरी भारतीय क्रान्तिकारीहरुलाई जेल मुक्त गराउँदा तीन जना नेपालीले ज्यान गुमाउनुपरेको थियो भने लामो समयको कष्टप्रद् जेल जीवन व्यतीत गर्नेहरुको संख्या २२ थियो। यसरी भारतीय स्वतन्त्रता संग्राममा नेपालीहरुले महत्वपूर्ण योगदान पुर्यारएका थिए।
सन् १९४२ इ. को भारत छोडो आन्दोलनका क्रममा अंग्रेजको अत्याचारबाट मुक्तिका लागि नेपाल पसेका सैकडौं क्रान्तिहरुमा बिहारको समस्तीपुर बडेवा निवासी रामफेरप्रसाद देव र लक्ष्मीनारायण ठाकुरसमेतका १४ जना रामानन्द आश्रममा शरण लिएका थिए। त्यस्तै समस्तीपुर दुभाका कवि नरेन्द्रदेव कुवा मठमा रहे। पछि २००५ सालमा राणा विरोधी गतिविधिमा महोत्तरीमा जेल परेका थिए। यस्तै भारतीय मित्रहरुको नेपालको लोकतान्त्रिक आन्दोलनमा प्राप्त योगदान महत्वपूर्ण छ। २००७ सालको जनक्रान्तिमा भारतीय समाजवादी दलका तीन सयभन्दा बढी कार्यकर्ताले विभिन्न मोर्चामा लडेका थिए। उनीमध्येका डा. कुदलीप झा सप्तरीको कोशीको कुशहाघाटमा राणाको सैनिकसित मुठभेडमा मारिएका थिए भने सुरसण्डका विन्दाप्रसाद शाही जलेश्वर जेलमा थिए।
त्यस्तै दरभंगा नरपत नगरका सुरजनारायण सिंह र मटियार वीरपुरका देवनारायण गुरुमैताले सप्तरीमा महिनाथपुर जौकी निवासी गोनौर महरा चमारका साथै जयरुद्र झा, धर्मदत्त झा, ब्रह्मानन्द झा, कुवरकान्त झा, नित्यानन्द झा, शोभा झा, रविनाथ झा, महेन्द्र झा, जगदीश मिश्र, चन्द्रकान्त चौधरी, देवनाथ गरुमैता आदिको अद्वितीय योगदान कहिल्यै बिर्सिन सकिँदैन। यस्तै गौर बैरगनियाका जोगेन्द्रप्रसाद रिगावाल, सीतामढी सोनवर्साका डा. झिंगुरसिंह आदिको योगदान पनि बिर्सन सकिँदैन। यस्तै विराटनगरमा फनिश्वरनाथ रेणुले प्रजातन्त्र रेडियो नेपालको सञ्चालन तारिणीप्रसाद कोइरालाका साथ गरेका थिए।
भारतीय स्वतन्त्रता संग्राममा मात्र होइन, सन् १९७५ जुनमा आपतकाल लागु भएपछि बिहारका पूर्वमुख्य मन्त्री कर्पुरी ठाकुर, विधान सभाका पूर्वअध्यक्ष धनिकलाल मण्डलसमेतका सैकडौँ राजनीतिक कार्यकर्ताले जनकपुरधाम, विराटनगर, काठमाडौं आदिमा शरण लिएका थिए। हाम्रो देशमा प्रजातन्त्र पुनर्स्थापनाको संघर्ष तथा राजा ज्ञानेन्द्रको तानाशाहीविरुद्धको जनआन्दोलनमा पनि भारतीय मित्रहरुको सहयोग बिर्सन सकिँदैन। नेपाल–भारतबीच हजारौँ वर्षपूर्व त्रेतामा श्रीराम सीताको विवाहदेखिको रक्त सम्बन्धले दुई देशबीचका जनतामा रहेको मैत्री सम्बन्ध कुनै पनि राजनीतिक षड्यन्त्रबाट खण्डित हुन सक्दैन। जो १७ वर्षपछि हालै भएको भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको भ्रमणको बेलामा नेपाली जनतामा देखिएको उत्साह र संविधान सभालाई उनले सम्बोधन गर्दा सभासद्हरुबाट प्राप्त समर्थनबाट प्रष्ट हुन्छ।

प्रतिक्रिया