Tuesday 12 Baishak, 2074 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

सुनकोसी तालको उपयोग

(0 votes)
जुरेको पहिरोले सुनकोसीमा बनाएको ताल फुट्छ कि फुट्दैन? त्यसको जोखिम कति छ? अनि उक्त प्राकृतिक ताललाई जस्ताको तस्तै रहन दिएर स्थानीय जनताको जीकिोपार्जनको स्रोत बनाए के हुन्छ?
डा सुबोध ढकाल

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-june
अथवा पर्यटन स्थलका रूपमा प्रयोग गर्दा कसो होला भन्ने जस्ता प्रश्नमा अहिले सर्वसाधारण जनतामा मात्र हैन जानकार विशेषज्ञहरूबीच पनि बहस, चर्चा, परिचर्चा भइरहेको पाइन्छ । यस्तो बहसबाट आउने नतिजा स्थानीय समाज एवं वातावरणका लागि लाभदायी हुनसक्छ। तर यस्तो बहसमा सम्बन्धित सबै निकाय, विज्ञ, स्थानीय जनता र अन्य सरोकारावाला सबैको सहभगिता हुनुपर्ने देखिन्छ। किनभने सुनकोसी विपत्तिको प्रकृति धेरै जटिल र संवेदनशील छ र उपयुक्त निर्णय हुन नसके यसले एउटा क्षेत्रमा मात्र नभई समाजको धेरै क्षेत्रमा लामो समयसम्म स्थानीय जनताको सुरक्षा, जीविकोपार्जन, व्यापार व्यवसाय, पर्यटन, बिजुली उत्पादन, पानीको उपयोग, कृषि, वन, वातावरण क्षेत्रमा गम्भीर असर पुर्यारउनेछ। यसैगरी अहिले विचार पुगेन भने यस्तै विपत्ति पनि दोहोरिन सक्छ। 
यस तालको भविष्यका विषयमा निर्णय गर्दा तीन चार ओटा प्रमुख विषयलाई दृष्टिगत गर्नु जरुरी देखिन्छ। पहिलो त पहिरोले आँफै बनाएको यो बाँध कति बलियो होला भन्ने नै हो। विशेष अनुसन्धान नगरी यो ताल जोखिमरहित छ भन्नसकिने कुनै आधार देखिँदैन। तर, अहिलेसम्म यस सम्बन्धमा कुनै सूक्ष्म अनुसन्धान गर्नेतिर ध्यान दिइएको छैन। सरकारको सम्पूर्ण संयन्त्र बाँध फुटाउने काममै केन्द्रित भएर लागिपरेको छ। 
अहिलेसम्मको हाम्रो सतही अनुसन्धानअनुसार पहिरो कम्तीमा पनि दुई मुख्य चरणमा गएको देखिन्छ। पहिलो चरणमा मानव बस्ती भएको पहाडको मध्य र तल्लो भागमा रहेको माटो र कमजोर चट्टानसहितको भूभाग तल खसेको र दोस्रो चरणमा पहाडको माथिल्लो मुख्य चट्टानी भूभाग अति तीव्र्र गतिमा एक अर्कासँग ठोक्किई खोलातिर खसेको हुनुपर्छ। यसैले दोस्रो चरणमा खसेको चट्टानी भाग पहिलो चरणमा खसेको सानो आकारको माटाको थुप्रोमाथि बसेको हुनुसक्छ। यसले गर्दा माटो र ढुङ्गाको विभिन्न तह यस बाँधको मुख्य संरचना हुनुपर्ने देखिन्छ। दोस्रो चरणमा खसेको चट्टानी भूभागमा पनि चट्टान एक आपसमा ठोक्किँदा बनेका चट्टानका साना साना टुक्रा, चट्टानी धुलो र उँडेका चट्टानबाहेक अरू बिस्तारै चिप्लिएका चट्टानले आँफूसँगै लिएर आएको माटो पनि सँगै मिसिएर यो बाँध ढुङ्गा र माटोको संयुक्त संरचनाका रूपमा बनेको हुनुपर्छ। यसलाई बाँधबाट देखिने गरी पानी नचुहिएको (सिपेज नभएको ) अहिलेको स्थितिले प्रमाणित गर्छ। चट्टानमा माटो नमिसिएको भए ढुङ्गाढुङ्गाका बीचमा खाली ठाउँ हुन्थ्यो अथवा टाँड पर्न जान्थ्यो र त्यहीँबाट केही न केही पानी चुहिएको (सिपेज) देखिन्थ्यो। तर, यसलाई पनि प्रमाणित गर्ने अनुसन्धान भने भएको छैन। अहिलेको अवस्थामा त माथि गरिएको अनुमान नै यथार्थ रहेछ भने पनि बाँधको दिगोपनामा अर्को प्रश्न जन्मिन्छ। माटोमा त वनस्पतिजन्य र प्राणीजन्य पदार्थ पनि पक्कै मिसिएका छन्। किनभने मान्छे, जनावर र बोटबिरुवा पनि पहिरोमा मिसिएर त्यहीँ झरेका छन्। तिनीहरु केही समयपछि त अवश्य पनि कुहिएर जान्छन्। अनि तिनले ओगटेको ठाउँमा प्वाल र भ्वाङ्ग पर्न थाल्छन् र त्यहाँबाट बिस्तारै पानीले खोल्दै जान्छ। अनि त्यस्तो भ्वाङ ठूलो हुँदै जान्छ र बाँध फुट्न सक्छ। यसरी बाँध फुटेमा तल्लो तटीय क्षेत्रमा बाढीले ठूलो जनधनको क्षतिलाई कसैले पनि टार्न सक्नेछैन। संसारका अन्य यस्तै प्रकृतिका ताललाई हेर्ने हो भने धेरै ठाउँमा डेढ दुई महिनामा यस्ता ताल आफँै फुटेका उदाहरण छन् र तिनले जनधनको ठूलो क्षति गरेका छन्। यसको तात्पर्य के हो भने बाँधको स्थायित्वका सम्बन्धमा हामीले बाँधको सतहदेखि पिँधसम्मको ढुङ्गा माटाको किसिम, संरचना र विवरणजस्ता विषयकोसूक्ष्म अध्ययन गर्नु जरुरी छ। यसैगरी तालमा भएको पानी, यसको शक्ति र चाप अनि बाँधले धान्न सक्ने क्षमताबीचको सन्तुलन र बाँधलाई फुटाइदिनसक्ने गरी भविष्यमा आइपर्न सक्ने ‘पाइपिङ' को समस्या आदि विषयको पनि अनुसन्धान जरुरी छ। त्यसैले यस विषयमा हतारमा निर्णय गर्नु उचित देखिँदैन। एकपटक पानीको सतह घटाएर तल्लो तटीय क्षेत्रलाई पूर्णरूपमा जोखिम मुक्त बनाएपछि सूक्ष्म अध्ययन गरेरमात्र निर्णय लिनु वाञ्छनीय हुने देखिन्छ। यद्यपि, यसैका लागि पनि समय चाहिँ धेरै गुजि्रसकेको छ।
बाँधको सदुपयोग गर्ने सन्दर्भमा विशेष ध्यान दिनुपर्ने अर्को विषय जुरेको असन्तुलित भौगर्भिक बनोट पनि हो। अहिले पहिरो गएको ठाउँ आफँै पनि पूर्णरूपमा सन्तुलित भइसकेको छैन। यहाँ अझै पनि माटाका ससाना पहिरा झरिराखेका छन् र चट्टानी भाग पनि असन्तुलित छ। पहिरो गएको ठाउँ वरपर सुनकोसी खोलाको दायाँ र बायाँ दुवैतर्फको भूभागमा पनि धेरै ठाउँ पुराना पहिरोमा अवस्थित छन् र तिनको स्थायित्व सुनिश्चित छैन। जुरेको माथिल्लो तटीय क्षेत्रमा यस्तै ठूल्ठूला पहिरो जानसक्ने जोखिम धेरै छ भने तल्लो तटीय भागमा पनि यस्ता जोखिम उत्तिकै छन्। यस्ता पहिराले यस ताललाई असर गर्न सक्छन्। अहिलेको जुरे बजार पनि पहिरोको उच्च जोखिमै छ। किनभने यस बजारको माथिल्लो भागमा पनि पुरानो पहिरोसन्तुलित भएर बसेको अवस्थामा मात्र छ र अहिले पहिरो गएको भाग फैलिएर जुरे बजारतिर जानसक्ने अवस्थालाई अस्वीकार गर्न सकिँदैन। 
यसपछि, तालले नजिकैका अहिलेका बस्तीलाई कसरी असर गर्छ भन्ने पनि उत्तिकै महत्वपूर्ण हुन आउँछ। त्यसका बारेमा पनि गहिरो अध्ययन आवश्यक छ। साथै सुनकोसी र भोटेकोसी नदी अति वेगवान् छन्। यी नदीहरू माथिल्लो तटमा कमजोर भौगर्भिक बनोट भएको धरातलबाट बग्ने भएकोले यिनले दायाँबायाँ खियाउन सक्ने जोखिम पनि धेरै छ। यसरी उत्पादन हुने ‘सेडिमेन्ट' बोक्ने क्षमता पनि धेरै नै भएकोले यी नदीले त्यसरी बगाएर ल्याउने ठूलो मात्राको ढुङगा माटोप्रति पनि यस सन्दर्भमा ध्यान दिनु जरुरी हुन्छ। यसले पानी अट्ने क्षमता घटाएर तालको उपयोगितालाई पनि सजिलै घटाउन सक्छ। साथै यत्रो ठूलो नदीको माथिल्लो तटमा जुरेको जस्तै अर्को भवितव्य आइपर्योप भने हामीले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ। यस्तो जोखिम छँदैछैन भन्न पनि सकिँदैन। यससँगै जोडिएको र बारम्बार उठिरहेको अर्को विषय यसको मुहानतिरका गतिशील हिमताल र तिनको फुट्ने खतरा अनि त्यसले निम्त्याउन सक्ने बाढीको जोखिम पनि हो। यो विषय अहिलेको जलवायु परिवर्तनको असर अत्याधिक मात्रामा परिरहेको हाम्रोजस्तो देशको लागि झनै चिन्ताजनक हुनसक्छ। 
अहिलेसम्मको सतही अनुसन्धानले जुरे पहिरोले बनाएको ताललाई पर्यटन स्थलका रूपमा प्रयोग गर्न सकिने आधार कमै देखिन्छ। तर, माथि औँल्याइएका अनुसन्धानपछि पर्यटन स्थलका रूपमा उपयोग गर्न सकिने आधार देखिएमा तालमा कतिसम्म पानी राख्दा वातावरण सुहाउँदो हुने हो र तल्लो तटीय क्षेत्रमा पनि कुनै नकारात्मक असर पर्दैन भन्ने विषयको पनि निर्णय गरेरमात्र कुनै पाहिला चाल्नु उपयुक्त हुने देखिन्छ। माथि उठाइएका प्रश्नको भरपर्दोे उत्तर आउनेगरी अनुसन्धान भइनसकेको अहिलेको अवस्थामा कसैले पनि सुनकोसी तालको भविश्यका बारेमा ‘ग्यारेन्टी' गर्न सत्तै्कन। त्यसैले यस्तो अवस्थामा कसैले ताल फुट्दैन भन्दैमा सर्बसाधारण जनताले पत्याएर ढुक्कसँग बस्नसक्ने स्थिति हुँदैन।
उपप्राध्यापक, भूगर्भ शास्त्र विभाग, त्रिचन्द्र क्याम्पस

प्रतिक्रिया