Wednesday 1 Kartik, 2074 |
Menu

विचार

republica-headerdiscount-subscribe1

वैज्ञानिक क्षमताको विकास

(0 votes)
आर्थिक उन्नतिका आधारमा वर्तमान विश्वलाई 'विकसित' र 'विकासशील' राष्ट्रमा विभाजन गरिएको छ। विकसित देशमा बस्ने विश्व जनसंख्याका बीस प्रतिशत मानिसले पृथ्वीको चालीस प्रतिशत भूमि र असी प्रतिशत प्राकृतिक स्रोत उपयोग गर्दैआएका छन् भने विकासशील देशमा बस्ने असी प्रतिशत मानिसले पृथ्वीको साठी प्रतिशत भूमि र बीस प्रतिशत प्राकृतिक स्रोतको मात्र उपयोग गर्नेगरेका छन्।
दयानन्द बज्राचार्य

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-june
केही अपवादलाई छाडेर विज्ञान तथा प्रविधिमा सक्षम राष्ट्रले मात्र प्राकृतिक स्रोतको सही उपयोगबाट आफ्नो राष्ट्रको उन्नति गरेका छन्। आधारभूत रूपमा विकसित र विकासशील राष्ट्रबीचको भिन्नता तिनले प्रयोग गर्ने गरेको विज्ञान तथा प्रविधिको स्तर र दक्षतामा निर्भर हुन्छ। विकासशील र विकसित राष्ट्रको अर्थतन्त्रमा रहेको असमानता वास्तवमा विज्ञान तथा प्रविधिको क्षमतामा रहेको असमानताका कारणले सिर्जना भएको हो। अर्को शब्दमा भन्ने हो भने जनताको जीवनस्तर धेरै हदसम्म त्यस देशको विज्ञान तथा प्रविधि विकास गर्ने क्षमतामा निर्भर हुन्छ। 
विकासशील देशको आर्थिक विकासका लागि विज्ञान तथा प्रविधिका क्षेत्रमा आफ्नो क्षमता वृद्धि गर्नुबाहेक अर्को सजिलो विकल्प छैन। आज विकसित देशमा भन्दा विकासशील देशमा विज्ञान तथा प्रविधिको आवश्यकता बढी छ। हिजोआज तीव्र गतिमा नवीन प्रविधिको विकास भइरहेको छ। यस्ता प्रविधिको उचित प्रयोग र पहुँचका लागि पनि विकासशील देशले आफ्नो वैज्ञानिक क्षमता बढाउनु आवश्यक छ। यसो गर्न सकिएन भने विकासशील देशहरू आधुनिक प्रविधिको उपयोगद्वारा देश विकास र आफ्ना समस्या समाधान गर्न असमर्थ हुनेछन्। तसर्थ विज्ञान तथा प्रविधिको प्रयोगमार्फत् आर्थिक र सामाजिक समस्या समाधान गर्न प्रत्येक विकासशील देशले विज्ञान तथा प्रविधिको क्षमता बढाउने दीर्घकालीन रणनीति तयार पार्नु जरुरी छ।
विश्वका अधिकांश विकासशील देशमा विज्ञान प्रविधिको स्थिति कमजोर छ। यी देशमा विद्यमान विज्ञान तथा प्रविधिको दुर्गतिका थुप्रै कारण छन्। तीमध्ये केही मुख्य कारण हुन् – राष्ट्रिय अर्थतन्त्रको व्यापक दुरुपयोग, सर्वसाधारणमा विज्ञानको प्रचारप्रसारका लागि राष्ट्रिय प्रतिबद्धताको अभाव, दिगो प्रविधिप्रति चेतनाको अभाव, सांगठनिक तथा कानुनी रूपरेखाको कमी, जनशक्ति निर्माणमा राष्ट्रिय रणनीतिको अभाव, दक्ष जनशक्तिको विदेश पलायन र वैज्ञानिक प्रतिष्ठानहरूको सञ्चालनमा प्रभावकारी कार्यपद्धतिको अभाव।
शताब्दिऔँदेखि केही विकासशील देश औपनिवेशिक शक्तिबाट शोषित भएका छन्। औपनिवेशिक कालको अन्त्यपछि पनि शासकहरूले त्यहाँको अर्थतन्त्रलाई तहसनहस पार्ने प्रवृत्ति यथावत् छ। धेरै विकासशील देशमा भ्रष्टाचार व्याप्त छ। अनेकौँ राष्ट्र वैदेशिक ऋणको भारले थिचिएका छन्। विकासशील राष्ट्रले औसतमा राष्ट्रिय आयको लगभग शून्य दशमलव दुई प्रतिशत धनराशिमात्र विज्ञान तथा प्रविधिका क्षेत्रमा लगानी गर्छन् भने विकसित देशले यसको दसगुणाभन्दा बढी लगानी गर्छन्। यसले गर्दा विकसित र विकासशील राष्ट्रबीचको वैज्ञानिक क्षमताको दूरी निरन्तर बढीरहेको छ। फलस्वरूप, विकसित र विकासशील राष्ट्रबीचको आर्थिक खाडल पनि निरन्तर बढीरहेको छ। 
विशेषज्ञहरूका अनुसार विकसित र विकासशील राष्ट्रबीचको वैज्ञानिक क्षमताको दूरी कम गर्न विकासशील देशले लामो समयसम्म आफ्नो राष्ट्रिय आयको कम्तीमा तीन प्रतिशत धनराशी विज्ञान तथा प्रविधिका क्षेत्रमा लगानी गर्न आवश्यक छ। झट्ट सुन्दा विकासशील देशलाई राष्ट्रिय आयको त्यति ठूलो रकम विज्ञान प्रविधिको विकासका लागि लगानी गर्न कठिन देखिएला। तर विज्ञहरूका अनुसार विकासशील देशमा व्याप्त भ्रष्टाचारको मात्र अन्त्य गर्ने हो भने पनि सामाजिक विकासका अन्य क्षेत्रमा कुनै खर्च कटौती नगरीकनै विज्ञान तथा प्रविधिका क्षेत्रमा यथेष्ट लगानी गर्न सकिन्छ। 
विकासशील देशमा राजनीतिक प्रतिबद्धता र जनचेतनाको अभावले पनि विज्ञान तथा प्रविधिको विकासमा अवरोध पुर्यातएको छ। राजनीतिकर्मी, नीतिनिर्माता र साधारण जनसमुदायमा वैज्ञानिक ज्ञानको अभावका कारण विकासशील देशमा विज्ञान प्रविधिको उचित विकास हुन र यो क्षेत्र देश विकासको प्राथमिकता सूचीमा पर्न सकेको छैन। विकासशील देशका राजनीतिकर्मी र नीतिनिर्मातामा देशको विकास र समृद्धिमा विज्ञान तथा प्रविधिको महत्वपूर्ण भूमिकाका बारे स्पष्ट ज्ञानको अभाव छ। राज्य संचालकमा विज्ञान तथा प्रविधिका क्षेत्रमा लगानी गरेमा वैज्ञानिकले उपयुक्त परिणाम हासिल गर्न सक्छन् भन्नेमा शंका रहने गरेको छ। त्यसैगरी वैज्ञानिकहरूले पनि राजनीतिकर्मीलाई आफूले परिणाम हासिल गर्न सक्ने क्षमताबारे आश्वस्त पार्न सकेका छैनन्।
विकासशील मुलुकका कतिपय वैज्ञानिकहले विज्ञान तथा प्रविधिको महत्ता राजनीतिक व्यक्तिलाई बुझाउन खोज्नु नै व्यर्थ ठान्छन्। उनीहरू नेता र नीतिनिर्मातालाई विज्ञान तथा प्रविधिको महत्व बुझाएर समय नष्ट गर्नुभन्दा विकसित देशमा अवसरको खोजीमा लाग्छन्। अर्थात्, विकासशील देशका वैज्ञानिक र राजनीतिकर्मीबीचमा आपसी समझदारीको अभाव छ। वैज्ञानिक र राजनीतिकर्मीबीच समझदारी भएका देशमा ठूलो आर्थिक उन्नति भएको छ। उदाहरणका लागि भारतको हरित क्रान्तिलाई लिन सकिन्छ। कृषि वैज्ञानिकहरूको विश्वासमा भारतको राजनीतिक नेतृत्वले त्यतिबेला हरितक्रान्तिलाई नसघाएको भए भारत छोटो अवधिमा नै खाद्यान्नमा आत्मनिर्भर हुनसक्ने थिएन।
हरेक वर्ष ठूलो संख्यामा वैज्ञानिकहरू विकासशील मुलुकबाट विकसित देशतिर पलायन हुनेगरेका छन्। यो संख्या विकासशील देशका विकास योजनाहरूमा प्राविधिक सहयोग गर्न आउने विकसित देशका दक्ष जनशक्तिभन्दा कैयौँ गुणाले बढी छ। आज कतिपय विकसित देश विकासशील देशका वैज्ञानिकको सहयोगबिना विज्ञान तथा प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुन नसक्ने अवस्थामा पुगेका छन्। विकसित देशका प्रतिष्ठित वैज्ञानिक संस्थामा काम गर्ने विकासशील देशका वैज्ञानिकको संख्या उल्लेखनीय छ। उनीहरूको योगदान विकसित राष्ट्रका वैज्ञानिकको भन्दा कम छैन। प्रतिभा पलायनका कारण विकासशील देशका वैज्ञानिकले विदेशमा ठूलो योगदान पुर्या उँदै आए पनि स्वदेशको विकासमा भने यथोचित योगदान दिन सकेका छैनन्। विकासशील देशहरूले आफ्नै देशभित्र वैज्ञानिकका लागि उचित वातावरणको सिर्जना गर्न नसक्ने हो भने भविष्यमा प्रतिभा पलायन हुने प्रवृत्ति झन् बढेर जानेछ। कालान्तरमा विकासशील देशका लागि यो ठूलो दुर्भाग्य हुनेछ। 
धेरैजसो विकासशील देशमा मानवस्रोतको विकासका लागि निश्चित रणनीति तयार भएको पाइँदैन। वैज्ञानिक मानवस्रोतको उचित उत्पादन र उपयोगबिना प्राकृतिक स्रोतले सम्पन्न राष्ट्रहरूले पनि दिगो आर्थिक विकास गर्न सक्दैनन्। प्राकृतिक स्रोत समाप्त हुन सक्छ तर मानवस्रोत एक पटक उत्पादन भएपछि समाप्त हुँदैन। एकातिर प्राकृतिक साधन सम्पन्न भएर पनि मानवस्रोतको विकास नभएका कारण गरिब भएर बस्ने राष्ट्र थुप्रै छन् भने अर्कोतिर प्राकृतिक साधनको कमी भए पनि विज्ञान तथा प्रविधिमा मानवस्रोतको विकास गरेर सम्पन्न हुने राष्ट्रको पनि कमी छैन। त्यसैले प्राकृतिक स्रोतले सम्पन्न विकासशील देशहरूले पनि आफ्नो विज्ञान तथा प्रविधिको जनशक्ति विकसित गर्नु अति आवश्यक छ। त्यसका लागि राज्यले विज्ञान तथा प्रविधिको शिक्षामा यथोचित ध्यान दिनु पर्छ। 
देश विकासका लागि विकासशील देशका वैज्ञानिक, सरकार, गैरसरकारी निकाय र समाजका बुद्धिजीवी एकापसमा मिलेर काम गर्नु आवश्यक हुन्छ। यस्तै, विकासशील देशका विशेषज्ञहरूले विकसित देशका वैज्ञानिकसँग मिलेर सहकार्य गर्नु पनि उत्तिकै जरुरी छ। विकासशील देशमा वैज्ञानिक क्रान्ति गर्न सकिँदैन भन्ने सत्य होइन। यसका लागि दूरदर्शी नेतृत्व र प्रतिबद्धताको भने खाँचो हुन्छ। भारत र चीनजस्ता हाम्रा छिमेकी मुलुकले यसको उदाहरण देखाइसकेका छन्। केही दशकअघिसम्म नेपालकैजस्तो अवस्था भएका यी राष्ट्र आज विश्वका वैज्ञानिक महाशक्ति बनेका छन्। पूर्वी एसियाका कोरिया, मलेसिया, सिङ्गापुर र ताइवानजस्ता मुलुक विज्ञान तथा प्रविधिको विकासका माध्यमले आर्थिक उन्नतिको पथमा अग्रसर छन्। केही दशकअघि विकासशील देशको कोटीमा रहेका यी देशहरू आज विकसित देश बनिसकेका छन्। 
नेपालका कतिपय राजनीतिकर्मी, विद्वत्वर्ग र नीतिनिर्माता अझै पनि विज्ञान तथा प्रविधिका क्षेत्रमा गरिने पुँजी निवेशलाई अनुत्पादक क्षेत्रमा भएको लगानी ठान्छन्। देशमा भएका सीमित आर्थिक स्रोत विज्ञान तथा प्रविधिजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्नुभन्दा अन्य अति आवश्यक समाजिक विकासका क्षेत्रमा लगानी गर्नुपर्ने तिनको धारणा भएको पाइन्छ। विज्ञान प्रविधिको विकासका लागि सर्वप्रथम यस प्रकारको गलत मानसिकतामा परिवर्तन आवश्यक हुन्छ। सन् १९६० को दशकमा भारत, चीन, दक्षिण कोरियाजस्ता देशले विज्ञान तथा प्रविधिको विकासका लागि नीतिनिर्माण र पुँजी निवेश गर्दा उनीहरूको प्रतिव्यक्ति आय नेपालीको भन्दा धेरै फरक थिएन। तथापि उनीहरूले विज्ञान प्रविधिको क्षेत्रमा उचित लगानी गरे। आज यी राष्ट्रको वैज्ञानिक क्षमतामा ठूलो वृद्धि र आर्थिक उन्नति भएको छ। 
गरिबी र वैज्ञानिक दक्षताको सकारात्मक सहसम्बन्ध रहेको हुन्छ। हामी विज्ञान तथा प्रविधिमा लगानी गर्न सक्दैनौँ किनभने हामी गरीब छौँ र हामी गरिब छौँ किनभने हामी विज्ञान तथा प्रविधिको क्षमतामा कमजोर छौँ। जबसम्म हामी यो दुश्चक्रबाट बाहिर निस्किन सक्दैनौँ हामी आर्थिक उन्नति, समृद्धिबाट पनि टाढै रहनेछौँ। विज्ञान तथा प्रविधिमा यथोचित लगानी गरेरमात्र यस्तो परिस्थितिबाट मुक्ति पाउन सकिन्छ। भारत, चीन, कोरियालगायतका कैयौँ राष्ट्रले यस्तो दुश्चक्रबाट सफलतापूर्वक बाहिर निस्किन सकिन्छ भन्ने तथ्य प्रमाणित गरिसकेका छन्। राष्ट्रिय अठोट भए नेपालले पनि यस्तै सफलता हासिल गर्नसक्छ।
नेपाल प्राकृतिक स्रोतमा निकै धनी राष्ट्र मानिन्छ। तर हामीले अहिलेसम्म त्यस्ता प्राकृतिक स्रोतको उचित उपयोग गर्नसकेका छैनौँ। हाम्रो वैज्ञानिक क्षमताको विकास र विस्तार गर्न सकेमात्र हामी उपलब्ध प्राकृतिक स्रोतको उचित परिचालन र प्रयोग गरी राष्ट्रको आर्थिक उन्नति गर्न सफल हुनेछौँ।
स्वतन्त्र हौँ भनेर जति चर्को स्वरमा कुर्ले पनि जनताले पत्याउन सकेका छैनन्। सरकारमा ल्याउनेहरूको आज्ञा उलंघन गर्ने सामर्थ्य यिनमा छैन।

प्रतिक्रिया