Thursday 7 Mangshir, 2074 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

नेपाली हुने कि नहुने?

(0 votes)
विश्वको राजनीतिक इतिहासमा विचारधाराहीन आन्दोलनहरू हिंसामा रूपान्तरित भएका र लाखौं मानिसको ज्यान गएका घटना धेरै नै छन्। फ्रेन्च क्रान्तिको 'रोबेसपिएर' नायक रहेको आन्दोलन 'विचारधाराहीन आन्दोलनको प्रतिनिधि घटना हो।
डा युवराज संग्रौला

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-june
यस्तो आन्दोलनको राजनीतिक उद्देश्य र कार्यक्रम हुँदैन। मूलतः यस्तो आन्दोलन 'कुनै एक दुई' लहडी नेताको निजी भावनामा आधारित हुन्छ। यस्तो आन्दोलनको जग 'मानिसमा कहिल्यै पूरा गर्न नसकिने सपनामा आधारित हुन्छ'। लक्ष्यहीन आन्दोलन पनि अन्ततः हिंसामा रूपान्तरित हुन्छ। संसारभरका 'भावनावादी वामपन्थी युवा मिलेर स्पेनमा गरेको कथित क्रान्ति' लक्ष्यहीन आन्दोलनको अर्को प्रतिनिधि उदाहरण हो। त्रू्करता र हिंसाकै बलमा अडेको आन्दोलन त स्वाभाविकरूपमा 'हिंसात्मक' हुन्छ नै। श्रीलंकाको तामिल टाइगर्सले गरेको आन्दोलन यसको उदाहरण हो। 'बदलाको भावनाले' गरिएको आन्दोलन पनि 'हिंसात्मक' नै हुन्छ। अरबमा भइरहेका अनेकौं घटना यसका प्रतिनिधि उदाहरण हुन्। नेपालमा अहिले यस्तै आन्दोलन जताततै देखिएका छन्। यी कथित आन्दोलन हिंसात्मक छन् र नेपालीलाई आपसमा भिडाउने विदेशी शक्तिका लागि मलिला बनेका छन्।

यस्ता आन्दोलनका केही विशेषता हुन्छन्। इतिहासका यी प्रतिनिधी घटनाको अध्ययन गर्दा के देखिन्छ भने 'कुनै व्यक्ति यस्ता घटनाको 'आकर्षक पात्र' का रूपमा स्थापित भएको हुन्छ। ऊ उग्र भाषण गर्न माहिर हुन्छ। उसले 'युवा जोस'को शोषणबाट आन्दोलनको आगो बाल्न सकिन्छ भन्ने बुझेको हुन्छ। अर्थात्, उसले 'युवाको उत्साहयुक्त' प्रवृत्तिको चरम शोषण गर्छ। यस्तो नेता भनिने व्यक्तिले 'मानवता र त्रू्करतामा' फरक गर्दैन। अर्थात्, ऊ जिम्मेवारीविहीन हिंसा नै परिवर्तनको आधार हो भन्ने त्रुटिपूर्ण अवधारणद्वारा प्रेरित हुन्छ। मूलतः यस्तो व्यक्ति उसले भोगेको कुनै 'घटनाद्वारा प्रभावित भएको हुन्छ'। तर कतिपय अवस्थामा 'समाज परिवर्तन' का क्रममा आफूलाई नायक स्थापित गर्ने 'युटोपियन' (स्वप्नील) आंकाक्षाबाट पनि यस्तो व्यक्ति प्रभावित हुन्छ। उसको आन्दोलन पनि अन्ततः हिंसाकै बाटोमा समाप्त हुन्छ। रुसी उपन्यासकार दोस्तोयभेस्कीले 'क्राइम एन्ड पनिसमेन्ट' मा रोसकोल्निकोभको चरित्रलाई 'हिंसा र त्यसका नायक' का रूपमा चित्रण गरेको छन्।

हिंसात्मक आन्दोलनका नेताहरूको जगजगी छ नेपालमा। त्यस्ता आन्दोलन एकातिर 'भावनात्मक, अमूर्त र अर्कातिर राजनीतिक विचारधाराको विहीनता' ले गर्दा 'नियम, मूल्य, नैतिकता र मान्यता' को घेराभित्र हुँदैनन् भने यस्ता आन्दोलन गर्ने संगठनका समर्थकमा हीनताबोधको कुण्ठा भरिएको हुन्छ। सिर्जना र क्रिया होइन प्रतिक्रियामात्र व्यक्त गर्ने कथित बौद्धिकहरूको समर्थन हुन्छ भने आन्दोलनमा हत्या र तोडफोड गर्ने आपराधिक प्रवृत्ति भएका व्यक्तिहरूको संलग्नता पनि उत्तिकै रहेको हुन्छ।

यस्ता आन्दोलनको नियति पनि नकारात्मक नै हुन्छ। विश्वका अनेकौं भागमा पटकपटक उर्लिएका यस्ता आन्दोलनको इतिहास हेर्दा अधिकांश यस्ता नायक आन्दोलनकारीद्वारा नै समाप्त भएका देखिन्छन्। रसियामा यस्ता अनेकौं व्यक्ति थिए जसको अन्त्य त्यही संगठनको हिंसामा विश्वास गर्ने अर्को व्यक्तिद्वारा भयो। रोवेसपियर र उनका अनेकौं साथीहरूको अन्त्य उनीहरू मध्येकैबाट भयो। यस्ता उदाहरण अनगिन्ति छन्। यस्ता आन्दोलनहरू अति महत्वकांक्षी र यथार्थहीनतामा आधारित हुने हुनाले जनताको लामो संलग्नता रहँदैन। अर्को डरलाग्दो पक्ष पनि हुन्छ – उनीहरू 'बाहिरी शक्ति'बाट सञ्चालित हुन्छन्। विदेशी राज्यका जासुसी संस्थाले यस्ता संगठनभित्र मानिसमा उत्तेजना भर्न अधिक भूमिका खेलिरहेका हुन्छन्।

यस्ता आन्दोलन र संगठनहरू 'रोमान्टिक' रणनीतिमा विश्वास गर्छन्। उनीहरू 'शक्तिका बलमा' जुनसुकै उद्देश्य क्षणभरमा प्राप्त गर्न सकिन्छ भन्ने ठान्छन्। यसको प्रभाव सञ्चार जगतमा व्यापकरूपमा परेको हुन्छ। आन्दोलनका नायकको क्षणिक 'करिस्मा', उसको दुस्साहस, उसका समर्थकले गरेका तोडफोड र त्यस क्रममा भएका मृत्युका घटना पत्रकारहरूका लागि आकर्षक सामग्री बन्छन्। त्यसैले परोक्ष वा अपरोक्षरूपमा संचार माध्यमले पनि यस्ता 'हिंसा'लाई प्रचारप्रसार गरेर उक्साइरहेका हुन्छन्। त्यस्ता आन्दोलनका नाराहरू, त्यस्त्ाा आन्दोलन गर्ने नेताका अन्तर्वार्ता र भिडन्त संचार माध्यमका नियमित गतिविधि बन्छन्। यस्तो प्रचारले 'सर्वसाधारण' को मनोविज्ञान प्रतिकूलरूपमा प्रभावित हुन्छ। सर्वसाधारण जनता भयभीत हुन्छन्। उनीहरू अतालिन्छन्। 'अब बर्बाद भयो', 'भविष्य अन्धकार भयो' यस्तै कुराबाट समुदाय ग्रस्त हुन्छ। 'यस्तो मनोविज्ञानले हिंसाजन्य' आन्दोलन गर्नेलाई आफू सफल भएको भ्रम हुन्छ र उसले कहिले काँही वैधानिक राज्य सत्तासमेत कब्जा गर्छ। त्यसैले भन्ने गरिन्छ हिंसात्मक आन्दोलन गर्नेलेभन्दा 'गलत कुरालाई टुलुटुलु हेरेर बस्नेले समाजलाई बढी नोक्सानी गर्छन्।'

अफगानस्तानमा नजिबुल्लाको सरकार थियो। उसले समाजवादी व्यवस्थाको घोषणा गर्यो्। त्यस सरकारले महिलाहरूले 'बुर्का' लगाउनुपर्ने नियम खारेज गर्यो्। महिलाहरूलाई विश्वविद्यालयमा पढ्न प्रेरित गर्योे। तर पश्चिमी मुलुकका शासकहरूले मुल्लाह ओमारको तालिवानलाई समर्थन गर्न थाले। अफगानस्तानमा मानव अधिकारको उल्लघंन भएको आरोप लाग्न थाले। बिस्तारै ओसामा विन लादेनको उदय भयो। अफगानिस्तानमा 'जातिवाद' लाई 'समाजवाद' को विकल्पका रूपमा प्रस्तुत गरियो। जातिवादबाट 'धार्मिक कट्टरतावाद' को जन्म भयो। तालिवानले राज्य सत्ता कब्जा गर्योप। त्यसपछि त्यही तालिबान अमेरिकाविरुद्ध खनियो र अनि त्यसविरुद्ध 'नाटो' ले लडाई छेड्यो। हजारौं मानिसको मृत्यु भयो। नेपाली आन्दोलनकारी यसबाट सिक्नुपर्छ।

नेपालमा जातीयताको प्रवर्धन कसले गर्योस? हजारौं वर्षको जातीय सहिष्णुतामा 'विषाणु' कसले हाल्यो? अहिले देशका अनेक भागमा हिंसात्मक आन्दोलन चलिरहेको छ। 'माग अधिकारको छ' तर आन्दोलनका नाममा निकालिएका जुलुसमा 'बन्चरो, भाला, बन्दुक' बोकिएका छन्। त्यस आन्दोलनका केही नेताले भाषण गरे 'हतियार लिएर बाहिर' निक्ल। तर यस्ता हिंसात्मक आन्दोलनबाट 'मानव अधिकारको' उल्लंघन हुन्छ भन्ने वक्तव्य अन्तर्राष्ट्रिय संस्थाहरूबाट जारी भएन। तर राज्यले 'मानव अधिकारको उल्लघंन गरेको' कुराप्रति भने त्यस्ता संस्थाको ध्यान गएछ। आन्दोलन गर्ने नेतालाई सरकारले दुईवटा पत्र पठाइसकेछ। आन्दोलन गर्ने नेता काठमाडौं आएका छन्। उनीहरूले भनेछन् – 'हामी वार्ता गर्न आएका होइनौ'। संविधान निर्माणलाई निष्कर्षमा पुर्यानउने 'तार्किक वार्ता' भन्दा युरोपेली राज्यका कूटनीतिक व्यक्तिहरूसँग उनीहरूको भेटघाट भएछ।

एकथरी मानिसहरूले नागरिक समाजका नाममा केही आह्वान पनि गरेछन्। प्रश्न अहिले देशको अखण्डताको छ। देशको अखण्डतालाई संरक्षण गर्न संविधानको निर्माण गर्नुपर्ने हो। संविधान निर्माणको प्रक्रिया अहिले क्रियाशील छ। माग राख्ने ठाउँ संविधान सभा हो। कस्तो संघीयताले माग पूरा हुन्छ, वा आफ्नो अधिकार प्रत्याभूत हुन्छ भन्ने ढाँचासहितको संघीयताको प्रस्ताव संविधान सभामै राख्नुपर्ने हो। तर 'लिखित प्रस्ताव' राख्नुपर्छ भनेर हो वा किन हो उनीहरू संविधान सभाभित्र राजनीति गर्दैनन्। माग अमूर्त छ 'पहिलेका सम्झौताहरू पूरा

हुनुपर्छ।' पहिलेका सम्झौतामा रहेको एउटा माग छ – 'एक मधेस एक प्रदेश'। नागरिक समाजका अगुवाहरूले बोल्नु पर्योर – के यस्तो संघीयता संभव छ? अनि आफ्नो 'थातथलो' लाई भिन्नभिन्न प्रान्त माग गर्ने दुई दर्जनभन्दा बढी नेताहरूको 'जमघट' बनेको छ। 'लिम्बुवानको माग गर्नेलाई अरुण पूर्वका नौ जिल्लाको राज्य चाहिएको छ। त्यसभित्र 'झापा, मोरङ्ग र सुनसरी' पर्छन। तिनै तीन जिल्ला आफूलाई 'मधेसवादी' भन्नेलाई पनि चाहिएको छ। अब राज्यले ती तीन जिल्ला 'कसलाई दिने लिम्बुवान वा मधेसवादीलाई'? अचम्म त ती दुवैथरीले राज्यविरुद्ध मोर्चा बनाएका छन् र एउटै मञ्चबाट चार दललाई गाली गरिरहेका छन्। 'उनीहरू राज्यलाई दरो बनाउन होला, हिंसात्मक आन्दोलन गरिरहेका छन्'! नागरिक समाजले राज्यलाई सुझाव दिनुपर्ला 'ती जिल्ला कसलाई दिने?' त्यही तीन जिल्लाको एउटा 'सुनसरी' थरुहटलाई पनि चाहिएको छ। थरुहट संघर्ष समिति पनि त्यही मोर्चामा छ। यो मोर्चा हो वा नेपाल राज्यलाई विखण्डित गर्ने 'घेराबन्दी'। नागरिक समाजले सोच्नुपर्ने हो यो पनि।

पंक्तिकार एकपटक कतारबाट म्युनिख जाँदा प्लेनमा जर्मनीका प्रसिद्ध फिल्म निर्देशकसँग सँगै परेछ। परिचयपछि थाहा भयो उनी पटकपटक नेपाल आएका रहेछन्। सन्दर्भवश पंक्तिकारले भन्यो 'नेपाल गरिब छ' अन्यथा संसारकै एउट राम्रो देश हो। उनले भने 'तल हेर त्यो धपधपी बलिरहेको मरुभूमिमा। त्यहाँ न पानी छ, न रुख विरुवा न केही। त्यहाँ केबल 'पेट्रोलियम' छ। त्यही बेचेर उनीहरू सबैथोक किन्छन्। पिउने पानी समेत'। तर तिम्रो देश एउटा आकर्षक पार्कजस्तो छ। सफा पानीका खोला बगिरहेका छन्। जंगलभर फलफूल छन्। उत्तरमा 'मेजेस्टिक' हिमालहरू छन्। तिनले जीवनको आधार पानी दिन्छन्। दक्षिणमा समथर भूमि छ, त्यहा अन्न उब्जन्छ। तिम्रो देश एउटा सभ्यताको प्रतीक मानिन्छ। प्रकृतिले अरबलाई केही दिएन, तेल दियो। प्रकृतिले तिम्रो देशलाई सबैथोक दियो। त्यसैले 'धन' पनि दियो भने अरूमाथि असमानता हुन्छ। त्यति भनेर उनी मुस्कुराए। त्यस दिनदेखि पंक्तिकारले 'नेपाल गरिब छ' भन्न छोड्यो। यस्तो देशको नागरिक हुन पाउनु त गौरवको विषय हो।

दुर्भाग्य, आज यो देश असफल राज्य घोषित गरी तहसनहस पार्ने षड्यन्त्रकारीहरूको घेराबन्दीमा परेको छ। अति महत्वकांक्षी, भावनावादी, चलखेल गर्नेको फन्दामा फसेकाहरूको हिंसात्मक आन्दोलनबाट आक्रान्त छ। आफु बसेको जिल्ला 'तोड्नु हुँदैन' देश बरु मरोस् भन्नेहरूको बहुलठ्ठीको सिकार भएको छ। म कबिला भएरै बाँच्छु मलाई राष्ट्रियता चाहिँदैन भन्नेहरूको 'बुद्धिहीनता' को प्रताडनाको मारमा देश परेको छ। 'धम्की र हिंसा' को भाषा बोल्नेहरू आज 'बुद्ध' लाई जिस्क्याइरहेका छन्। आलस्य र अन्धविश्वास बोकेर मानिसलाई जातमा बाँड्नेहरू, त्यसो गर्न पाउने अधिकारको माग गर्दै रथयात्रा गरिरहेका छन्।

कतै पढेको एएटा छोटो कथाको सम्झना हुन्छ। दोस्रो विश्व युद्धपछि तहसनहस जापानमा एकजना किसान छिमेकीलाई गाईको दूध बेचेर गुजारा गर्दा रहेछन्। उनको छोरो ठूलो भएछ र बाबुको काम जिम्मा लिने चाहना राखेछ। महिना दिन पुगेपछि पैसा संकलन हुँदा पहिलाको भन्दा बढी आम्दानी भएछ। बाबुले सोधेछन् छोरालाई –'दूध त त्यति नै हो, दामपनि बढाएको छैन। तर कसरी पैसा धेरै आयो छोरा? '। छोराले भनेछ – 'मैले दूधमा एक लिटर पानी थपिदिने गरेको छु, किनभने हामीलाई बढी पैसा आवश्यक छ।' बाबुलाई चिन्ता लागेछ। उनले छोरालाई भनेछन् –'हामीले बेचेको दूध जापानी बालबालिकाले पिउँछन्। जापानलाई दक्ष, वैज्ञानिक, डाक्टर, वकिल चाहिएको छ, अब फेरि देश बनाउन। उनीहरूले शुद्ध दूध खान पाएनन् भने कसरी भोलि गतिला डाक्टर, वकिल, बन्न सक्लान्? अनि कसरी जापान फेरी समृद्ध होला?" ती असल नागरिकले प्रत्येक परिवारसँग क्षमा याचना गर्दै रकम फर्काएछन्। अब प्रत्येक नागरिकले सोच्ने बेला भइसकेको छ।

हाम्रो वर्तमान आवश्यकता हो हिंसाविरुद्ध मानवीयताको प्रवर्धन गर्ने, समाजलाई अराजकताबाट मुक्त गर्ने र समृद्ध अर्थतन्त्रको निर्माण गर्ने। वैज्ञानिक शिक्षा प्रणालीको विकास गर्ने बेला हो यो। उन्नत कृषि प्रणालीको विकास गर्ने बेला हो र देशलाई औद्योगीकरण गर्ने बेला पनि हो। यस्तो नेपाल आत्मनिर्भर बन्नेछ। संघीयता यिनै कार्यक्रमलाई विकेन्द्रित गर्ने माध्यम हो। तर हामीलाई विदेशीहरूले विभाजित गरे। देशको अस्तित्व नै खतरामा परिरहेको छ। सबै जुटेर 'राष्ट्रका विरुद्धमा लाग्नेहरू'विरुद्ध उभिने र राष्ट्रलाई जोगाउनु हरेक सच्चा नेपालीको कर्तव्य हो। त्यसैले नेपाली हुन नसकेका पछाडि पारिएकाहरूको 'नेपाली हुने' शान्तिपूर्ण आन्दोलनलाई संरक्षण गर्नु र 'नेपाली नहुने' आन्दोलनलाई पर्दाफास गर्नु प्रत्येक इमानदार देशभक्त नेपालीको कर्तव्य हो। निराश हुने समय होइन बरु सचेत हुने समय हो यो। तीन हजार वर्षभन्दा पुरानो सभ्यता भएको यो देशलाई मार्न सजिलो छैन। तर 'मित्र र अमित्र' चिन्न भनेसक्नै पर्छ। अब संगठित हुने बेला भयो देशको अखण्डताका लागि।

प्रतिक्रिया